शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
१६औँ गणतन्त्र दिवस

‘देउवा, ओली र प्रचण्डले विश्राम लिए गणतन्त्रमाथिको खतरा आफै हट्छ’

पूर्व राजातिर मात्र चोर औँला तेर्स्याएर ‘तँ प्रतिगामी होस्’ भन्ने कुरा मलाई उपयुक्त लाग्दैन : गगन थापा
सोमबार, १५ जेठ २०८०, १३ : ४६
सोमबार, १५ जेठ २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख दलका नेतृत्वका कारण गणतन्त्रमाथि खतरा उत्पन्न भएको बताएका छन् । १६ औं गणतन्त्र दिवसका अवसरमा रातोपाटीसँग कुराकानी गर्दै थापाले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कारणले गणतन्त्रमा धुलो लागेको बताएका हुन् ।

उनीहरुले राजनीतिबाट विश्राम लिए गणतन्त्रमाथिको खतरा आफै हट्ने महामन्त्री थापाको जिकिर छ । यस्तै राष्ट्रपतिको भूमिकाले पनि गणतन्त्रप्रति आस्था र विश्वास बढाउने उनले बताए । गणतन्त्र नेपालको १५ वर्षलाई दुई भागमा विभाजन गरी समीक्षा गरिनुपर्ने उनको भनाइ छ ।

प्रस्तुत छ, गणतन्त्र दिवस विशेषमा कांग्रेस महामन्त्री गगन थापासँग लोकेन्द्र भट्टले गरेको कुराकानीको सम्पादित अंश–

हामी १६ औँ गणतन्त्र मनाउँदै छौँ । गणतन्त्रको १५ वर्षको कसरी समीक्षा गरिराख्नु भएको छ ?

एउटा पक्ष– हामीले छनोट गरेको राज्य संरचना र त्यसको संस्थागत अभ्यासको सन्दर्भमा केही कुराबाहेक मुलतः सफल रह्यौं । संविधानसभाबाट संविधान निर्माण, गरी तीनै तहको निर्वाचन गर्‍यौं । अब आवधिक निर्वाचन एउटा पद्धतिजस्तै बनेको छ । यो बीचमा हामीले राष्ट्रपतिको संस्थादेखि वडा तहसम्म व्यवस्थित गर्‍यौं । त्यो ढंगबाट हेर्‍यौँ भने हामी ठीक ठाउँमा रहेको पाउँछु ।

१५ वर्षको बीचमा पहिलेको भन्दा बढी अवसर प्राप्त भइरहेको, नयाँनयाँ अवसर प्राप्त भइरहेको, देशभित्र केही गरौं भन्ने मानिसहरुलाई सहजता महसुस भइरहेको अवस्था छ त ?

एउटा हिंसात्मक युद्धबाट बाहिर निस्किसकेपछि त्यसको व्यवस्थापन गर्न नसक्दा अलि पछाडि देश फेरि एउटा गृहयुद्धमा जाने खतरा रहन्छ । नेपालको सन्दर्भमा पनि केही विषयमा डरलाग्दो दृश्य नदेखिएको होइन । तर हामीले सम्हाल्यौँ । स्थापित भएर बसेको राजसंस्थालाई परास्त गरेर गणतन्त्रात्मक शासन व्यवस्थामा गइसकेपछि ८–१० वर्षमा सम्हाल्न नसकेर पुरानै शासन व्यवस्थामा फर्किएको उदाहरण छन् । त्यो हिसाबले हेर्दा गणतन्त्रको १५–१६ वर्षको यात्रामा हामी सही बाटोमा छौं । हामी संस्थागत हुँदै गइरहेका छौं ।

यसको अर्को पक्ष पनि छ । गणतन्त्र भनेपछि त्यसलाई कसरी लिने त ? हामीले सिम्बोलिक हिसाबले हेर्‍यौं भने राजतन्त्रमा एउटा निश्चित परिवारमा जन्मिएको व्यक्तिमात्र सर्वोच्च ठाउँमा बस्न सक्दथ्यो । विधि पनि उसका निम्ति भिन्न र अरुका लागि भिन्न हुन्थ्यो । समाज एक प्रकारले कहिल्यै पनि समान हुन सक्दैन थियो । समानताको आकांक्षा सीमित हुन्थ्यो, खण्डित हुन्थ्यो । गणतन्त्रको सबैभन्दा ठूलो अर्थ भनेको जुनसुकै परिवार र जहाँ जन्मिए पनि उसले प्राप्त गर्ने अवसर बराबर हुन्छ ।

जीवनमा जुन गन्तव्यमा पुग्ने इच्छा पनि सबैले राख्न पाउँछ । त्यसका लागि चाहिने अङ्ग पनि सबैले बराबर प्राप्त गर्छ । तर केही प्रश्न उठेका छन् । जुनसुकै परिवार र ठाउँमा जन्मिएको मान्छेले गएको १५ वर्षमा समान अवसर प्राप्त गर्ने अवस्था बन्यो ? १५ वर्षको बीचमा पहिलेको भन्दा बढी अवसर प्राप्त भइरहेको, नयाँनयाँ अवसर प्राप्त भइरहेको, देशभित्र केही गरौं भन्ने मानिसहरुलाई सहजता महसुस भइरहेको अवस्था छ त ? हामीले यो पाटो हेर्‍यौं भने मैले जति दाबी गरेता पनि तथ्य र आम मानिसको भावनाले पनि समर्थन गर्दैन । यहाँनिर हामी नराम्रोसँग चुक्यौं ।

कांग्रेसभित्र गणतन्त्रका लागि सबैभन्दा पहिला सडकमा उत्रिएर आवाज उठाउनु भएको थियो । त्यतिबेला तपाईंले कल्पा गरेको गणतन्त्र कस्तो थियो ?

मैले पहिलो प्रश्नमा लामो व्याख्या गरेँ । यो मैले अहिले आएर नयाँ ज्ञान प्राप्त गरेको वा मेरो अनुभवको आधारमा भनेको होइन । २०६० सालतिर गणतन्त्रको भावभूति तयार गर्ने कुरामा म आफ्नो विचार राख्दै देशभरि दौडिँदा मैले भनेको कुरा स्मरण गरेको हुँ । मैले दुई वटा कुरा भन्थेँ ।

अहिले नागरिकमा रिस, आक्रोश छ । त्यो आक्रोश मतबाट व्यक्त गर्न खोज्छ । नयाँ ढंगले संगठित भएर व्यक्त गर्न खोज्छ । कसैले व्यवस्थाको विकल्प खोजिरहेको छैन ।

एउटा– हामी प्रजातान्त्रिक अधिकारहरु संघर्षबाट स्थापना गर्छौँ । त्यसको अभ्यास गर्दै जान्छौं । केही कमजोरी पनि हुन्छ । त्यही प्रजातन्त्रलाई उन्नत बनाउँदै जानुपर्छ । त्यहाँभित्र विकल्प खोज्नुपर्छ । त्यहाँभित्र प्रतिस्पर्धा गर्नुपर्छ । संघर्ष गर्नुपर्छ । त्यहाँ घर्षण हुन्छ । त्यसबाट नयाँ कुरा निस्कनुपर्थ्यो । तर राजालाई कायम राख्यौं भने एउटा विन्दुमा पुगेपछि हाम्रो असफलताबाट आक्रोश उत्पन्न भएको हुन्छ । १०–१५ वर्षमै प्रजातन्त्र गुमाउँछौं, फेरि राजाले टेकओभर गर्छन्, त्यसपछि हामी लड्छौं । यो चक्र घुमी राख्छ । त्यसैले अब नेपालमा लोकतन्त्रलाई संस्थागत गर्नुपर्‍यो । नेपालमा पनि सय–दुई सय वर्षको प्रजातान्त्रिक अभ्यास भन्ने दिन आओस् भन्थ्यौं । त्यो पाटोमा हामी ठीक ठाउँमा छौं ।

यो मैले पहिलो खण्डमा भनेँ । अहिले नागरिकमा रिस, आक्रोश छ । त्यो आक्रोश मतबाट व्यक्त गर्न खोज्छ । नयाँ ढंगले संगठित भएर व्यक्त गर्न खोज्छ । कसैले व्यवस्थाको विकल्प खोजिरहेको छैन । गणतन्त्रअघिको नेपाल र गणतन्त्रपछिको नेपालमा एउटा नेपालीले आफ्नो जीवनमा अवसर प्राप्ति र प्रयोग गर्ने कुरामा ठूलो परिवर्तन महसुस गर्छ ।

हिजोसम्म उसले प्राप्त गर्ने शिक्षा सर्वसुलभ थिएन । सम्पन्न र विपन्न व्यक्तिले प्राप्त गर्ने शिक्षा फरक थियो । स्वास्थ्य उपचार सहज थिएन । गणतन्त्र आइसकेपछि यो अवस्था भएन । हिजोसम्म नेपालमा केही गर्नै सकिँदैन भनेर विदेशिनु पर्थ्यो । अब विदेशिने कुरा उसको छनोट मात्र हो, बाध्यता होइन ।

यस्ता सानासाना कुराले उसको जीवनमा बदलाव आउँछ । जसले गर्दा गणतन्त्रमा उसले गर्व गर्छ । गणतन्त्रमा उसले स्वामित्व महसुस गर्छ भन्ने लाग्थ्यो । म यो कुरा भाषणमा भन्थेँ । २०६० सालमा दिएको आफ्नो भाषण फर्किएर हेर्‍यो भने म एक घण्टा ५५ मिनेट बोलेको छु । म घण्टौं बोल्दा थोत्रो कुरा गर्दिनँ थिएँ । कसैलाई म धेरै गाली गर्दिनँ थिएँ । मलाई जे लागिरहेको थियो, त्यही बोलिरहेको हुन्थेँ । गणतन्त्र नेपाल कस्तो हुन्छ भन्ने मलाई लाग्थ्यो, त्यही कुरा भन्थेँ । त्यसले मानिसहरुलाई तान्दथ्यो ।

गणतन्त्रमा तपाईंले देखेका सपना प्रतिशतका हिसाबले कति पूरा भए ? कति पूरा हुने दिशामा छन् ?

त्यसरी भन्न मलाई अप्ठ्यारो लाग्छ । त्यसले प्रश्नप्रति न्याय नगर्न सक्छ । म अघिकै कुरा संक्षिप्तमा भन्छु । केमा सन्तोष मानौँ भने– दोस्रो पटकको संविधानसभा असफल भएको भए आज हामी ठूलो कोलाहलमा गइसकेका हुन्थ्यौँ । एक प्रकारले हामी राजनीतिक हिंसाको चक्रमा परिसकेका हुन्थ्यौं । धेरै देश हिंसाबाट बाहिर निस्किए पनि सम्हाल्न नसकेर भयानक गृहयुद्धमा फसेका छन् । अहिले हामी प्रत्यक्ष युद्ध वा हिंसाको अवस्थामा छैनौं ।

हाम्रो संस्था बलियो बनाउने कुरा, न्याय दिने कुरा, अवसर दिने कुरा, नेपालको अर्थतन्त्र मजबुत बनाउने कुरामा हामी नराम्रो गरी चुक्यौं । हामीले यो १५ वर्षको अवसर खेर फाल्यौं ।

त्यो नभएको अवस्थालाई खासै गनिरहेका छैनौं । २०६० सालतिर मान्छेलाई पेट अलिपछि भरौंला, पछि पढौंला, तर यो दिनरातको हत्या हिंसाबाट मुक्ति पाए हुन्थ्यो भन्ने लाग्थ्यो । गाउँ सहर सबैतिर त्यही थियो । त्यो कोणबाट हेर्‍यौं भने सन्तोष मान्नुपर्छ । दोस्रो पटक संविधानसभा निर्वाचन गरेर भए पनि संविधान बनायौं ।

आवधिक निर्वाचनको पद्धति बसाल्यौं । हाम्रो यति बलियो सञ्चार माध्यम छ । नागरिक समाज छ । भारतको मान्छे आएर नेपालको जस्तो डेमोक्रेसी हुनुपर्छ भन्ने अवस्था छ । हाम्रो न्यायालयले प्राप्त गरेको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सरकारलाई प्रश्न गर्न सक्ने बलियो नागरिक, यी यावत कुराबाट हेर्‍यौं भने हामी ठीक बाटोमा जाँदै छौं ।

अहिले नक्कली भुटानी शरणार्थी प्रकरण चर्चामा छ । यो प्रकरणका सन्दर्भमा एकातिर लज्जाबोध हुने अवस्था छ भने अर्कोतिर हेर्दा कति बलियो प्रेस छ, प्रहरीले सहज अनुसन्धान गरिरहेको छ । न्यायपालिकामाथि ठूलो भरोसा छ । यो प्रकरण ढाकछोप होला भनेर नागरिक बलियो गरी उभिएर प्रश्न गरिरहेको अवस्था छ ।

यो गणतन्त्रभित्र प्राप्त गरेको हक अधिकारले सिर्जना गरेको अवस्था हो नि त । तर हाम्रो संस्था बलियो बनाउने कुरा, न्याय दिने कुरा, अवसर दिने कुरा, नेपालको अर्थतन्त्र मजबुत बनाउने कुरामा हामी नराम्रो गरी चुक्यौं । हामीले यो १५ वर्षको अवसर खेर फाल्यौं ।

दलको नेतृत्वमा बदलाव ल्याउनु सबैभन्दा ठूलो आवश्यकता थियो । तर यो निर्वाचन प्रणालीले नेतृत्व बदल्ने कुरामा अवरोध सिर्जना गर्‍यो ।

यहाँनिर हामी चुक्नुको कारण के देख्नु भएको छ ? नेतृत्वको अक्षमता हो कि व्यवस्थामै पनि समस्या देखियो ?

व्यवस्थाको कुरा गर्दा संघीय संरचनाबारे संविधानसभामा भएको छलफलको स्मरण गर्छु । त्यो बेलामा प्रादेशिक संरचना राख्दा ३ सयमात्र स्थानीय तह राख्न विज्ञहरुको सिफारिस थियो । हामीले हाम्रो राजनीतिक निर्णय त्यसमाथि थुपारिदियौं । त्यो राजनीतिक निर्णय नथुपारिदिएको भए सायद अहिले ३ सय हाराहारीमा स्थानीय तह हुन्थे ।

अहिले राम्रोसँग प्रदेशले काम गरिरहेका हुन्थ्यो । प्रदेशको मातहत स्थानीय तह रहेको हुन्थ्यो । यस्ता कतिपय कुरामा हामीले राजनीतिक निर्णय गर्दा चुक्यौं । जसले गर्दा अहिले प्रदेश किन चाहियो भन्ने ढंगबाट प्रश्न उठ्ने अवस्था बनिरहेको छ । निर्वाचन प्रणाली बनाउँदै गर्दा हाम्रो यस्तो सोचाइ थिएन ।

हामीले प्रतिनिधिसभालाई समानुपातिक प्रतिनिधित्व गराउन सक्यौं भने समाजका सबैको प्रतिनिधित्व हुन्छ । यसले गणतन्त्रको मर्म बोक्न सक्छ भन्ने ठान्यौं । त्यो पक्ष प्राप्त भयो । साथै दलको नेतृत्वमा बदलाव ल्याउनु सबैभन्दा ठूलो आवश्यकता थियो । तर यो निर्वाचन प्रणालीले नेतृत्व बदल्ने कुरामा अवरोध सिर्जना गर्‍यो ।

नेताहरु यो निर्वाचन प्रणालीबाट यति बलियो भए कि जसलाई चाह्यो त्यसलाई सांसद बनाउन सक्ने भए । यो स्थितिले दलभित्रको परिवर्तनलाई एक प्रकारले अवरोध सिर्जना गरिदियो । कतिपय यस्ता कुरा हामीले अनुमान र अपेक्षा गरेको भन्दा फरक रह्यो भन्ने लाग्छ मलाई ।

अहिले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि प्रश्न उठिरहेको छ । संघीयताको विपक्षमा जनमत बढ्दै गएको छ । संविधानका यी तीन आधार स्तम्भमध्ये एउटा खलबलिए वर्तमान व्यवस्थानै खतरामा पर्छ भन्ने गरिन्छ । तपाईंलाई के लाग्छ ?

म यसलाई फरक ढंगले हेर्छु । कुनै पनि विषयमा बहस, छलफल गर्‍यो भने यसले सिङ्गो व्यवस्था नै लिएर जान्छ भन्ने ढंगबाट बुझ्ने र बुझाउने गर्‍यौं भने थप समस्या सिर्जना गर्छ जस्तो लाग्छ ।

हिजो हामीले संघीयता चाहिन्छ भनेका थियौं, त्यसकारणले संघीयता नै ठीक छ भनेर मात्र भनेर भएन नि त ।

बहसलाई खुला ढंगले आउन दिनुपर्छ । हिजो राजतन्त्रमा अरु सबै विषयमा प्रश्न गरे पनि राजाबारे प्रश्न गर्न पाउँदैनथे । राजा प्रश्नभन्दा पनि माथि छ भन्ने थियो । आज गणतन्त्रमा प्रश्नभन्दा माथि केही पनि छैन । गणतन्त्र चाहिँदैन भन्ने विचार राख्न पाउनु पनि गणतन्त्रको मर्म हो । गणतन्त्र चाहिँदैन भन्ने बहससँग म असहमत छु । तर उसले त्यो राख्न पाउनुपर्छ । म यसलाई यसरी हेर्छु ।

दोस्रो कुरा, संघीयता एउटा उदाहरणको रुपमा लिऔं । हिजो संघीयता चाहिन्छ भनेर यसको पक्षपोषण गरेका, वकालत गरेका, काम गरेका हामीजस्तो पंक्तिका मानिसले के सोच्नु पर्छ भने हामीलाई लागेर मात्र भएन नि । हिजो हामीले संघीयता चाहिन्छ भनेका थियौं, त्यसकारणले संघीयता नै ठीक छ भनेर मात्र भनेर भएन नि त ।

मैले त यो पाँच वर्ष हाम्रा लागि परीक्षा हो भनेको छु । पाँच वर्षपछिको निर्वाचनमा जाँदै गर्दा संघीयता खारेज गर्नुपर्छ भन्ने आवाज यति कमजोर होस् कि त्यसका नाममा मत पाइन्छ भन्ने अवस्था कसैको नरहोस् । हामीले काम गरेर त्यो अवस्थामा पुर्‍याउनु पर्‍यो ।

पाँच वर्षमा प्रादेशिक संरचना चाहिन्छ भन्ने अवस्था सिर्जना गर्न सक्यौं भने यो आफैँ हराएर जान्छ । त्यो गर्न सकेनौ भने थर्काएर हुन्छ ? संघीयताबारे कुरा गर्नासाथ यो व्यवस्था जान्छ, त्यो कुरा नगर्नुस् भन्यो भने ‘गए जाओस्’ भन्ने ठाउँमा आइपुग्छ ।

नेताहरुले बारम्बार गणतन्त्रमाथि खतरा छ भनिरहेका छन् । गणतन्त्रमाथि खतरा चाँहि कोबाट हो ?

नेताले आफूमाथि आएको खतरालाई गणतन्त्रमाथि आएको खतरा भनिदिएको हो । आजको दिनमा नेपालमा गणतन्त्रमाथि सबैभन्दा ठूलो खतरा कोहीबाट छ भने राजनीतिक दलको सबैभन्दा माथि बसेको नेताबाट छ । कसैप्रति मेरो दुराग्रह होइन । आम नागरिकमा अहिले मैले छटपटी पाइरहेको छु ।

नेताहरुको क्रियाशीलता र आजको दिनको प्रभुत्व आम नागरिकलाई मन परेको छैन । तिमीहरु उनीहरुको प्रभुत्वलाई हटाउन सकिरहेको छैनौं भनेर विस्तारै नागरिक हामीसँग पनि रिसाउन थालेका छन् ।

उनीहरुले तर्क नै पाइरहेका छैनन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलहरुमा बिसौं वर्षदेखि नेतृत्वमा रहेका नेताहरु आज पनि किन छन् ? अझै केही वर्ष नेतृत्व गर्नेगरी किन बसेका छन् भन्ने कुराको उनीहरुले चित्तबुझ्दो उत्तर नै पाइरहेका छैनन् । उनीहरुलाई सोध्यो भने म दाबाका साथ भन्छु, यी नेताहरुले विश्राम लिनुपर्छ कि पर्दैन भन्ने सवालमा जनमत संग्रह गर्‍यो भने सीमित प्रतिशत बाहेक बाँकी नागरिकको एउटै उत्तर रहन्छ– ‘हाम्रो उहाँहरुप्रति ठूलो श्रद्धा छ । जति गर्नुभयो, हामी जीवनभर सम्झन्छौं । अब उहाँहरुले विश्राम गर्नुपर्छ ।’

नेताहरुको क्रियाशीलता र आजको दिनको प्रभुत्व आम नागरिकलाई मन परेको छैन । तिमीहरु उनीहरुको प्रभुत्वलाई हटाउन सकिरहेको छैनौं भनेर विस्तारै नागरिक हामीसँग पनि रिसाउन थालेका छन् । यही अवस्था रहिरह्यो भने उनीहरुले हाम्रो पनि साथ छोड्छन् । उनीहरु हामीले आजको दिनमा हस्तक्षेप गरेर हटाओस् भन्ने चाहन्छन् । त्यसैले गणतन्त्रमा कसैको कारणले धुलो वा पर्दा लागेको छ भने यी नेताहरु (शेरबहादुर देउवा, केपी शर्मा ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’)को कारणले लागेको छ ।

यो गणतन्त्र उहाँहरुकै कारणले आएकोमा ‘नो डाउट’ । तर यो गणतन्त्र संस्थागत होस् भन्ने उहाँहरुको चाहना हो भने एउटै कुरा गरिदिए पुग्छ । यो तहको नेताहरुले ‘यहाँसम्म ल्यायौँ । अब हामीभन्दा पछाडिको साथीमाथि विश्वास र भरोसा छ । हामी साइड लाग्यौँ’ भनेर जाने हो भने गणतन्त्रमाथि कहीँबाट पनि खतरा छैन ।

हामी ठीक ढंगले चलाउँ न, परिणाम ठीक ढंगले दिउँ न । विस्तारै पूर्व राजाको भ्रमण आफै सुक्दै जान्छ । अभिनन्दन गर्ने मान्छेको संख्या घट्दै जान्छ ।

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको चहलपहल बढेको छ । यसलाई कसरी हेरिराख्नु भएको छ ?

नेपाली नागरिकका रुपमा उहाँ (ज्ञानेन्द्र शाह)ले प्राप्त गरेको अधिकार हो । उहाँ घुम्न पाउनुहुन्छ । आफ्नो विचार राख्न पाउनुहुन्छ । नागरिकले पनि आफ्नो समर्थन देखाउन पाउछन् । हाम्रो कामबाट यो व्यवस्था यस कारणले चाहिन्छ भनेर प्रमाणित गर्ने हो ।

एउटा सानो उदहारण दिन्छु । जे जस्तो भए पनि स्थानीय सरकार हटाउनुपर्छ कसैले भनेको छैन । कसैले भन्दैन । समस्या स्थानीय सरकारमा छैन र ? छ । स्थानीय तहबीच कसले कति राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा चलिरहेको छ । तर हाम्रो समानुपातिक निर्वाचन प्रणाली, संसदको साइजमाथि र प्रदेश संरचनामाथि प्रश्न छ । आखिर नागरिक त तिनै हुन् । यसले के देखाउँछ भने हामीले हाम्रो उपादेयता कामबाट प्रमाणित गर्ने हो । हामी ठीक ढंगले चलाउँ न, परिणाम ठीक ढंगले दिउँ न । विस्तारै पूर्व राजाको भ्रमण आफै सुक्दै जान्छ । अभिनन्दन गर्ने मान्छेको संख्या घट्दै जान्छ । पूर्व राजातिर चोर औँला तेर्स्याएर ‘तँ प्रतिगामी होस्’ भन्ने कुरा मलाई उपयुक्त लाग्दैन ।

कांग्रेसमा गणतान्त्रिकरण कसरी भएको थियो ?

त्यतिबेला नेपाली कांग्रेस दुई वटा (नेपाली कांग्रेस प्रजातान्त्रिक) थिए । तत्कालीन नेपाली कांग्रेसमा नरहरि आचार्य गणतन्त्रको लिडर हुनुहुन्थ्यो । तर पार्टीभित्र सीमित मान्छे मात्र उहाँको विचारलाई बोक्ने अवस्था थियो । यो विचारलाई नागरिकका बीचमा लिएर जाने विषयका सन्दर्भमा हाम्रो नेता गुरुराज घिमिरे हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा सबैभन्दा पहिला गणतन्त्रको एजेण्डालाई मास लेबलमा लिने काम नेविसंघको फोरमबाट भयो । तर सुरुमा पार्टीको तत्कालीन नेतृत्वलाई यो कुरा पटक्कै मन परेन ।

हामी एउटा विन्दुमा पुगिसकेका थियौं । सुरुमा राजाको कदममाथि प्रश्न थियो । विस्तारै राजाको कदममात्र सच्याएर हुँदैन, अब नेपालमा राजसंस्था नै चाहिँदैन । हाम्रो दबाबले राजाले आफ्नो कदम सच्याए पनि फेरि कदम चालिहाल्छन् भन्ने हाम्रो निष्कर्ष भयो । त्यो कुरालाई जनताको तहसम्म फैलाउने कुरामा नेविसंघको मञ्च प्रयोग भयो । पार्टी नेतृत्व यसमा रुष्ट भएर हामीमाथि राजनीतिक कारबाही भयो । हामी एक प्रकारले किनारामा पुग्यौं । तर पार्टी विस्तारै गणतन्त्रको पक्षमा उभिने परिस्थिति बन्यो ।

सवारी नै चाहिने भए त राजा नै ठीक नि । हामीले हिँड्डुल गर्ने राष्ट्रपति खोजेको हो ।

पार्टीको १० औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग चुनाव लडेर नरहरि आचार्यले थेरैमात्र मत ल्याउनु भयो । तर महाधिवेशनमा विधानबाट संवैधानिक राजसंस्था हटाउन पार्टी बाध्य भयो । वैशाख ८ गते राजाले पहिलो सम्बोधन गर्दा राजासहितकै प्रजातन्त्रमा करिबकरिब सेटल भइसकेका थियौं । तर त्यो दुई अढाइ वर्षको बीचमा अब राजासँग सम्झौता गरेर यो आन्दोलन टुङ्गिनु हुन्न भन्ने ठाउँमा पार्टी पंक्ति र नागरिकलाई ल्याइसकेका थियौं ।

अहिले कांग्रेस पृष्ठभूमिकै रामचन्द्र पौडेल राष्ट्रपति हुनुहुन्छ । यो बीचमा राष्ट्रपतिको भूमिकामाथि पनि बारम्बार प्रश्न उठ्यो । यस्तो राष्ट्रपति भन्दा त राजा ठीक भन्नेसम्मको आवाज सुनियो । गणतन्त्रमाथि प्रश्न उठ्नुमा राष्ट्रपतिको भूमिकाले पनि काम गर्‍यो भन्ने छ नि ?

नागरिकहरुको स–सानो अपेक्षा हुन्छ । म राष्ट्रपतिलाई धन्यवाद पनि दिन चाहन्छु । राष्ट्रपतिजीको सामान्य भेटघाट, भ्रमण, हिँड्डुल नागरिकसँगै भइरहेको छ । राजाको सवारी हुन्थ्यो । राष्ट्रपतिको पनि सवारी नागरिकलाई असहज लागेको थियो । हामीले सवारी गर्ने राजा हटाएको हो । राष्ट्रपतिले त हिँड्डुल पो गर्छ त । सवारी सुहाउने भनेको राजालाई मात्र हो ।

सवारी नै चाहिने भए त राजा नै ठीक नि । हामीले हिँड्डुल गर्ने राष्ट्रपति खोजेको हो । अहिलेको राष्ट्रपतिले सवारी छाडेर हिँड्डुल गर्नु थाल्नुभयो । हेर्दा सानो कुरा लाग्छ । तर यस्तै कुराले अर्थ बोक्ने हो ।

राष्ट्रपति भएर कुर्सीमा बसेको दिनबाट ऊ आफ्नो राजनीतिक दलसँग मन, बचन र कर्मले अलग हुनुपर्छ । मुख्य कुरा यो हो । हाम्रो राष्ट्रपतिमा दलबाट अलग हुन नसक्ने समस्या देखिएको छ । राष्ट्रपति भएपछि पनि हिजो गरेको काम गरिराख्न मन लागिराख्ने देखियो । त्यो कुराबाट राष्ट्रपति मुक्त रहनुपर्छ ।

करिब तीन महिनाको अवधिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट यो संकेत पाउनु भएको छ कि उहाँ कांग्रेसभित्रको संघर्षमा लसपस गरिराख्नु भएको छ ?

यसबारेमा टिप्पणी गर्नु हतारो हुन्छ । सुरु सुरुमा स्वाभाविक रुपमा पनि लिन सकिन्छ । नेपाली कांग्रेसका मान्छेहरुले अहिले राष्ट्रपतिलाई भेट्दा ‘रामचन्द्र दाइ’ भन्ने भए । ४० वर्षदेखि ‘दाइ’ भनिरहेको मान्छे राष्ट्रपति हुँदै गर्दा पनि ‘दाइ’ नै लाग्ने भयो । विस्तारै हामीले अब ‘हाम्रो रामचन्द्र दाइ होइन, उहाँ राष्ट्रपति हो । अब हाम्रोमात्र दाइ होइन, सबैको हो’ भनेर आफूलाई तयार गर्नुपर्छ । हामी पनि सचेत मनका साथ तयार हुनुपर्‍यो नि । राष्ट्रपतिलाई पनि केही समय लाग्ला । तर त्यो बाटोमा हिँड्नुपर्छ भन्नेमा उहाँ तयार हुनुपर्‍यो । मलाई उहाँ त्यसमा तयार हुनुहुन्छ भन्ने ठूलो अपेक्षा छ ।

नागरिकसँगको सम्बन्धका सन्दर्भमा जुन प्रारम्भ उहाँले गर्नु भएको छ, त्यो प्रशंसनीय छ । त्यसमा अझै थप सरल भएर नागरिकले देख्न चाहेको राष्ट्रपति जस्तो कसरी हुने भन्ने उहाँले सोचिदिनु भयो भने राष्ट्रपति संस्थाको गरिमा अझ धेरै रहन्छ ।

१६ औं गणतन्त्र दिवसको सन्दर्भमा आम नागरिकलाई तपाईंको सन्देश के छ ?

मैले पहिलो प्रश्नमा भने झै सन्तोष मान्ने केही कुरा छन् । हामी आत्मसमीक्षा र मूल्याङ्कन गरौं । तर, आत्मनिन्दा नगरौं भन्छु म । गणतन्त्रका सन्दर्भमा आलोचनात्मक रुपमा हेर्नुपर्छ । केही कुरा ठीक भएको छ । गणतन्त्रको प्रभाव मान्छेको जीवनीमा ल्याउन सकिरहेका छैनौं । त्यहाँ ठूलो ग्याप भएको छ । त्यसमा काम गरौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप