बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
सम्झना

काललाई समेत कुराएर ऊ मेस्सीलाई विश्वकप जिताएरै गयो

सोमबार, १५ जेठ २०८०, ११ : ५६
सोमबार, १५ जेठ २०८०

‘म मेस्सीको समर्थक होइन क्या !’ लियोनल मेस्सी भनेपछि मरिहत्ते गर्ने उसको यो भनाइ मेरा लागि अप्रत्यासित थियो ।

मैले कुनै प्रतिक्रिया जनाउनुअघि उसले नै प्रस्ट्यायो– फुटबल मैदानमा मेस्सीले देखाउने जादुको समर्थक हुँ म । फुटबलमा उदाउन उसले गरेको संघर्षको समर्थक हुँ म । अनि फुटबल मैदान र सामाजिक जीवनमा पनि उसको सादगीपनको समर्थक हुँ म ।

ऊ मेस्सीको साँच्चै ‘डाइ हार्ड फ्यान’ थियो । त्यसैले ऊ अर्जेन्टिनाको समर्थक भयो । बार्सिलोनालाई आफ्नो रोजाइको क्लब बनायो । कालान्तरमा मेस्सीलाई नै पछ्याउँदै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) को समेत समर्थक बन्न पुग्यो ऊ । मेस्सी आबद्ध हुनुअघि उसलाई पीएसजीको मतलब नै थिएन ।

यद्यपि, उसलाई युरोपका पाँचवटै चर्चित व्यावसायिक लिगको बारेमा राम्रो जानकारी थियो । खेलकुद बिटमा समेत कलम चलाउने पत्रकार भएकाले मलाई पनि त्यसबारे मोटामोटी जानकारी थियो । उसलाई भने पाँचवटै लिगको सबैजसो क्लबका खेलाडीहरुको नाम, जन्म स्थान, पारिवारिक स्थिति, तिनको खेलशैली र उपलब्धि, तिनले पाउने पारिश्रमिक, क्लब स्थानान्तरणजस्ता विषय कण्ठै थियो ।

र, मेस्सी भनेपछि हुरुक्कै हुन्थ्यो ऊ । उसले फुटबल हेर्न थाले यता मेस्सीले खेलेका सायदै कुनै खेल छुटायो होला । चाहे त्यो राष्ट्रिय टोलीबाट खेल्दा होस् वा बार्सिलोना वा पीएसजीको जर्सी लगाएर खेलेको खेल नै किन नहोस् ! त्यतिमात्र हैन, उसले फुटबल हेर्न नथाल्दै वा फुटबल खेल नबुझेको बेलातिरका मेस्सीले खेलेका खेलसमेत उसले युट्युबमा हेर्न भ्याएको थियो ।

उसको विपरीत म थिएँ, ‘मेस्सी युग’का अर्का महान् फुटबलर क्रिस्टियानो रोनाल्डोको समर्थक । त्यसैले पोर्चुगल, रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड मेरो रोजाइका टोली थिए ।

त्यसैले त उसलाई मेस्सीले आफ्नो खेल जीवनमा कीर्तिमानी ६ वटा युरोपियन गोल्डेन बल र ७ वटा ब्यालेन डी’ओर, १० पल्ट ला लिगा, चारपटक युरोपियन च्याम्पियन लिग आदि इत्यादि जितेको कुरा मात्र हैन, अर्जेन्टिनाको रोसारियोमा मजदुर परिवारमा जन्मिएको एउटा बालक आफ्नी हजुरआमाको प्रेरणाले ६ वर्षकै उमेरदेखि स्थानीय न्युवेल्स ओल्ड ब्वाइजबाट फुटबल खेल्न थालेको, शारीरिक समस्याकाबीच १३ वर्षको उमेरमा युरोपको प्रतिष्ठित क्लब बार्सिलोनामा आवद्ध भएको अनि सन् २००५ मा अन्डर २० वर्ल्डकप र सन् २००८ मा बेइजिङ ओलम्पिकमा अर्जेन्टिनालाई फुटबलमा स्वर्णपदक जिताएको जस्ता यावत् कुरा पनि राम्रोसँग थाहा थियो । 

उसको विपरीत म थिएँ, ‘मेस्सी युग’का अर्का महान् फुटबलर क्रिस्टियानो रोनाल्डोको समर्थक । त्यसैले पोर्चुगल, रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड मेरो रोजाइका टोली थिए । यसरी, चिरप्रतिद्वन्द्वी खेलाडी र क्लबका समर्थक रहेका हामीले ला लिगा, प्रिमियर लिग, च्याम्पियन्स लिग र विश्वकप (कतार विश्वकपअघि) का थुप्रै खेल सँगसँगै बसेर हेरेका छौं । बार्सिलोना वा अर्जेन्टिना पराजित हुँदा म उसलाई जिस्काउँथे, खिसी गर्थें । तर, उसले रियल म्याड्रिड वा पोर्चुगल हार्दा मलाई कहिल्यै गिज्याएन ।

एकपटक रियल म्याड्रिडसँग बार्सिलोना हार्दा मैले निकै खिसिट्युरी गरेँ । तर, ऊ रिसाएन । बरु, किशोरवयको उसले मलाई प्रश्न गर्दै सम्झाएको थियो– खेलमा हार र जित स्वाभाविक होइन र ? सधैँ बार्सिलोनाले नै जित्यो भने खेल हेर्नुको मजा नै कहाँ बाँकी रहन्छ ?

उसको जवाफ मेरा लागि अनपेक्षित थियो । सामान्यतः खेलकुद संसारमा समर्थकहरु विपक्षी टोलीको सामान्य प्रशंसा सुन्नसमेत मन पराउँदैनन् । विपक्षी टोलीका समर्थक अगाडि पर्नेबित्तिकै भनाभन र तर्कबितर्क सुरु गर्छन् । म स्तब्ध भएँ, ओठमाथि जुँगाको रेखीसमेत बसी नसकेको एक किशोरको परिपक्व जवाफ सुनेर । त्यसपछि पनि मैले उसलाई जिस्क्याउन भने छाडिनँ । उसलाई जिस्क्याउन मलाई रमाइलो लाग्थ्यो ।

म कायल हुन्थेँ, उसको मेस्सीप्रतिको अति आशक्तिबाट । अचम्म पनि लाग्थ्यो, कुनै खेलाडीप्रति मोहित हुने कुन हदसम्मको पागलपन हो यो !

बेलाबखत म उसको कोठामा पनि पस्थेँ । सामानहरु कोठाभरि असरल्ल छरिएका हुन्थे । तर, उसको टिसर्टमा मेस्सी वा बार्सिलोना, रिष्ट वाच (नाडी घडी)मा बार्सिलोना, की–रिङ अर्जेन्टिनाको, कुशनका खोलहरुमा पनि बार्सिलोना र अर्जेन्टिनाकै लोगो, बार्सिलोनाकै लोगो अंकित फुटबलहरु, टेबुल घडीमा पनि बार्सिलोनाकै लोगो, अनि भित्ताभरि मेस्सीका पोष्टरहरु ।

20230529_082158

म कायल हुन्थेँ, उसको मेस्सीप्रतिको अति आशक्तिबाट । अचम्म पनि लाग्थ्यो, कुनै खेलाडीप्रति मोहित हुने कुन हदसम्मको पागलपन हो यो ! ‘मेस्सी म्याजिक’मा पागलपनको हदसम्म यसरी मोहित ऊ भनेको अरु कोही होइन, मेरो एकमात्र छोरा थियो, रोजित राउत ।

मेस्सी युगको मिर्मिरेमा जन्मिएको ऊ अर्थात् रोजित, काललाई समेत केही दिन पर्खाई मेस्सी युग अन्त्य नहुँदै तर मेस्सीलाई सफलताको उत्कर्षमा पुर्‍याएर अर्थात् मेस्सीले जित्न बाँकी एकमात्र उपाधि– विश्वकप पनि जिताएरै अस्तायो ।

सामान्यतया सञ्चारकर्मीलाई छुट छैन, आफ्नो कथा/ब्यथा लेख्ने । तर फुटबलप्रतिको रोजितको मोह अनि सर्वकालीन महान फुटबलर मेस्सीप्रतिको उसको अगाध आस्था र भरोसाका कारण, उसको जीवनको अन्तिम दिनतिर घटित ‘एउटा अपत्यारलाग्दो घटना’ लेख्ने धृष्टता गरेको हुँ । अन्यथा कुन बाउलाई पो हुन्छ र आफ्नै छोराको ‘अब्युच्युरी’ लेख्ने रहर ! यस्तो आलेख लेख्नु भनेको आँशु निख्रिएर ओभानो भइसकेका आफ्ना आँखालाई फेरि एकपटक ओसिलो पार्नु नै त हो !

००००

मेस्सीको सफलता/असफलतामा रोजितको आँखाबाट चार पटक आँशु बगेको देखेको छु मैले । आरम्भ गरौँ, चौथो पटक चुहिएको आँशुबाट ।

सन् २०२१ को जुन (२०७८ को जेठ/असार) मा ब्राजिलमा कोपा अमेरिकाको ४७औं संस्करण आयोजना भयो । ऊ अर्जेन्टिनाले कोपा अमेरिका जित्नेमा विश्वस्त थिएन, केवल आशावादी थियो । कोपा अमेरिकाको उक्त संस्करण सन् २०२० मै अर्जेन्टिना र कोलम्बियाले संयुक्त रुपमा आयोजना गर्ने तय भएको थियो । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण प्रतियोगिता स्थगित गरिएको थियो ।

कोरोना महामारी अलि मत्थर भएपछि त्यही प्रतियोगिता ब्राजिलमा सारिएको थियो । प्रतियोगिता अर्जेन्टिनाबाट ब्राजिल सारिएको समाचारले नै ऊ दुःखी थियो । रोजितलाई लागेको थियो, भाग्यले एकपटक फेरि मेस्सीलाई ठगेको छ । कोपा अमेरिकाको त्यो संस्करण अर्जेन्टिनाले आफ्नो घरेलु मैदानमै खेल्न नपाउने भएकोमा ऊ खिन्न भएको थियो । उसलाई लागेको हुनुपर्छ– घरेलु मैदान र समर्थकबीच अर्जेन्टिनालाई उपाधि जित्न सहज हुने एउटा राम्रो अवसर गुमेको थियो ।

ठूला प्रतियोगिताहरुमा मेस्सी नेतृत्वको अर्जेन्टिनाको लगातारको पराजयबाट उसको विश्वास धर्मराएको थियो । फेरि कोपा अमेरिका त्यस्तो प्रतियोगिता हो, जुन विश्व फुटबलका महान् हस्तीहरु ब्राजिलका पेले र अर्जेन्टिनाकै म्याराडोनाले समेत उपाधि चुम्न पाएका थिएनन् । त्यसैले यसपटक पनि उसलाई मेस्सीको अर्जेन्टिनाले उपाधि जित्ने विश्वास थिएन, स्वाभाविक रुपमा एउटा समर्थकमा रहने झिनो आशा भने थियो ।

इतिहासको विडम्बना र उसको विश्वास विपरीत कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो । फाइनलमा अर्जेन्टिनाले साविक विजेतासमेत रहेको घरेलु टोली ब्राजिललाई ब्राजिलमै १—० गोलले हरायो । मेस्सीले सिनियर टोलीबाट पहिलोपल्ट महादेशीय कप चुम्न पाए ।

लामो सास तानेर उसले मलाई पुलुक्क हेर्‍यो, उसको आँखामा आँशु टिलपिल थियो । ‘जितमा पनि आँशु नै आयो त केटा !’ मैले उसलाई जिस्क्याएँ । ऊ केही पनि बोल्न सकेन ।

कोपा अमेरिकाका खेलहरु नेपाली समयअनुसार बिहानपख पर्थे । फाइनल खेल रोजित र मैले सँगै बसेर हेरेका थियौं । एन्जल डी मारियाले २२औं मिनेटमा सुन्दर गोल गरेका थिए । उसलाई भने कुनै पनि बेला ब्राजिलले गोल फर्काउला भन्ने ठूलो त्रास थियो ।

एउटा समर्थक कतिसम्म अधैर्य हुन्छ भन्ने कुरा उसलाई नजिकबाट हेरेर म अनुभव गर्दै थिएँ । खेल अगाडि बढ्दै गर्दा उसमा देखिएको छटपटी र विपक्षीले गोल फर्काउला कि भन्ने भय मैले उसको आँखामा प्रत्यक्ष देखेको थिएँ ।

अर्जेन्टिनाले जितोस् कि ब्राजिलले, मेरा लागि भने खासै ठूलो अर्थ थिएन । त्यसैले पनि खेलभन्दा बढी म उसको छटपटीकै मजा लिइरहेको थिएँ । खेल अन्तिम अन्तिमतिर पुग्दा उसले कोठाबाट चार पाँच पटक भित्र/बाहिर गर्‍यो । रेफ्रीले खेल सकिएको जनाउ दिने लामो सिठी फुक्ने बेलासम्म उसको अनुहार पूरै रातो भइसकेको थियो ।

अन्ततः रेफ्रीले लामो सिठी फुके, खेल सकियो । एन्जल डी मारियाले गरेको गोल नै निर्णायक बन्यो । अनि ऊ आफै साक्षी बसेर पहिलो पटक आफ्नो प्रिय खेलाडी मेस्सीको नेतृत्वमा अर्जेन्टिनालाई कुनै ठूलो उपाधि जितायो ।

लामो सास तानेर उसले मलाई पुलुक्क हेर्‍यो, उसको आँखामा आँशु टिलपिल थियो ।

‘जितमा पनि आँशु नै आयो त केटा !’ मैले उसलाई जिस्क्याएँ । ऊ केही पनि बोल्न सकेन ।

एकछिनपछि भन्यो, ‘मैले त यो जित सोचेको पनि थिइनँ । सायद सुरुमै मैले जित्छ भनेको भए यसपटक पनि अर्जेन्टिना हार्थ्यो होला ।’

समग्रमा अर्जेन्टिनाले जितेको त्यो १५औं कोपा अमेरिका उपाधि थियो तर, उसले फुटबल हेर्न थालेयता अर्जेन्टिनाले जितेको यो नै ठुलो उपाधि थियो । त्यसमाथि पनि ब्राजिललाई उसैको घरेलु मैदानमा हराएर उपाधि जित्नुलाई उसले अझ ठूलो उपलब्धिका रुपमा लिएको थियो ।

कोपा अमेरिकाको त्यो संस्करणमा मेस्सी र कोलम्बियाका लुइस डियाजले सर्वाधिक ४/४ गोल गरेका थिए । मेस्सी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी पनि बनेका थिए । त्यसैले पनि कोपा अमेरिकाको ४७औं संस्करण उसका लागि धेरै अर्थमा विशेष थियो र अविस्मरणीय पनि ।

यसअघि पनि तीन पटक सँगै बसेर फुटबल हेर्दा उसको आँखाबाट आँशु खसेको मलाई याद छ । यी चारै अवसरमा रोजितको आँखाबाट खसेको आँशुको रङ एउटै थियो तर, अभिव्यक्ति भने फरक अनि प्रसङ्ग पनि फरक । यतिबेला अप्रत्यासित जितको खुसीमा उसको आँखा हर्षले रसाएका थिए । अघिल्ला तीन पटक भने उसको आँखाबाट पीडाका आँशु खसेका थिए ।

मेस्सीले पाएको सुनौलो रङको बलले पनि न मेस्सीको, न त रोजितकै अनुहारमा उज्यालो ल्यायो । त्यसपछिका दिनहरुमा ऊ निराश देखिन्थ्यो ।

पहिलो प्रसङ्ग हो, सन् २०१४ मा भएको विश्वकपको । संयोगले त्यो विश्वकप पनि ब्राजिलमै भएको थियो । त्यतिबेला अर्जेन्टिनाले विश्वकप जित्नेमा विश्वस्त थियो ऊ । अर्जेन्टिना त्यो विश्वकपमा नाइजेरिया, बोस्निया एन्ड हर्जगोभिना र इरानसँगै समूह ‘एफ’ मा परेको थियो ।

तीन जितसँगै समूह चरणको खेलमा पहिलो हुँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको थियो । मेस्सीले समूह चरणको तीनवटै खेलमा गोल गरेका थिए । प्रिक्वार्टरफाइनलमा स्विट्जरल्यान्ड र क्वार्टरफाइनलमा बेल्जियमलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुग्यो ।

प्रत्येक जितसँगै उसको उत्साह पनि बढ्दै गएको थियो, जितप्रति ऊ ढुक्क जो थियो । त्यसपछि सेमिफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराएर अर्जेन्टिना फाइनलमा पुग्यो । फाइनलमा अर्जेन्टिनाको प्रतिद्वन्द्वी थियो बलियो जर्मनी । फाइनल खेल निकै प्रतिस्पर्धात्मक थियो ।

मेस्सीले उपलब्ध गराएको सुन्दर पास गोन्जालो हिग्वेनले खेर फाल्दा पनि ऊ अन्तिम समयसम्मै अर्जेन्टिना विजयी हुनेमा विश्वस्त थियो । तर दूर्भाग्य, दोस्रो हाफको इन्जुरी समयको अन्त्यमा जर्मनीका मारियो गोट्जेले गोल गरे । गोट्जेले गरेको त्यो गोल खेल मैदानमा भएको गोलमात्र थिएन, अर्जेन्टिनी टोली र विश्वभरका अर्जेन्टिनी समर्थकलाई एकसाथ ढलाउने गोली थियो । र त, एक निमेष अघिसम्म चर्को तनावबीच पनि उत्साही देखिएको रोजित एकाएक स्तब्ध हुन पुगेको थियो । खेलको अन्तिम क्षणको रोमाञ्चमा उभिएर चिच्याइरहेको ऊ टाउकोमा हात राखेर सोफामा डङरङ्ग पल्टियो । उसको आँखाबाट बरर आँशु खस्यो । मैले भने उसलाई गिज्याउँदै भनेँ– रुन्चे !

उक्त विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा मेस्सी तेस्रो स्थानमा परेका थिए । उनले ४ गोल गरेका थिए । तर प्रतियोगिताभरकै उत्कृष्ट खेलाडीलाई दिइने गोल्डेन बल भने उनले नै पाएका थिए । जर्मनीका थोमस मुल्लरले सिल्भर र नेदरल्यान्ड्सका आर्यन रोबेनले ब्रोन्ज बल पाएका थिए ।

मेस्सीले पाएको सुनौलो रङको बलले पनि न मेस्सीको, न त रोजितकै अनुहारमा उज्यालो ल्यायो । त्यसपछिका दिनहरुमा ऊ निराश देखिन्थ्यो । उसलाई लाग्थ्यो, सायद विश्वकप उपाधि मेस्सीको भाग्यमै छैन ।

उसको आँखामा दोस्रो र तेस्रोपल्ट आँशु झार्दियो चिलीले । सन् २०१५ र सन् २०१६ मा पनि अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको थियो । यी दुवै फाइनलमा अर्जेन्टिना एउटै प्रतिद्वन्द्वी चिलीसँग पराजित भयो ।

सन् २०१५ को कोपा अमेरिकाको फाइनलको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको थियो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । गोन्जालो हिग्वेन र एभर बनेगा पेनाल्टीमा चुक्दा चिली ४–१ गोलले विजेता बन्यो । अर्जेन्टिनी टिमका खेलाडी पुर्पुरोमा हात लगाउँदै फुटबल ग्राउण्डमा थच्याक थुचुक्क बसे । यता, रोजितको आँखा पनि आँशुले भरिएको थियो ।

सन् २०१६ को कोपा अमेरिका फाइनल पनि अघिल्लो वर्षकै पुनरावृत्ति जस्तै भयो । फाइनलमा तिनै दुई टिम पुगे– अर्जेन्टिना र चिली ।

अघिल्लो वर्षजस्तै निर्धारित समय गोलरहित बराबरीमा सकियो । विजेताको छिनोफानो पेनाल्टी सुटआउटबाटै भयो । फरक के भने यसपटक हिग्वेन र बनेगा हैन, मेस्सी र लुकास बिग्लिआ पेनाल्टीमा चुके । फेरि चिलीले पेनाल्टी सुटआउटमा ४–२ गोलले दोस्रो वर्ष पनि उपाधि जित्यो ।

यो फाइनल मेस्सी र उनका ‘फ्यान’हरुका लागि दुई कारणले साह्रै पीडादायी रहेको थियो । पहिलो, अर्जेन्टिना लगातार तीन वर्ष फाइनलमा पुगेर पनि पराजित भएको थियो भने दोस्रो, ऐन मौकामा स्वयं मेस्सी नै पेनाल्टीमा चुकेका थिए । किशोर रोजित त्यतिबेला पनि धुरुधुरु रोएको थियो । तर, मैले उसलाई जिस्क्याउन भने बाँकी राखिनँ ।

रोजित अमेरिका गएको एक वर्ष पुग्दै थियो । यता, कतारमा विश्वकप फुटबल प्रारम्भ हुने मिति पनि नजिकिँदै थियो ।

यसरी तीन तीनवटा फाइनलमा पुगेर ‘हारको ह्याट्रिक’ व्यहोरेका कारण उसले मेस्सीसहितको अर्जेन्टिनी टोलीलाई ‘अनलक्की’ (अभागी) टोलीको संज्ञा दिन थालेको थियो । तर हर्षको आँशु झार्न पाएको सन् २०२१ को कोपा अमेरिका फाइनलपछि भने उसको आत्मविश्वास ह्वात्तै बढेको थियो । अर्को वर्ष हुने विश्व फुटबलको महाकुम्भ अर्थात विश्वकपको उपाधि मेस्सी नेतृत्वको अर्जेन्टिनाले नै जित्नेमा ऊ अन्धविश्वासको हदसम्म विश्वस्त थियो ।

००००

रोजित अमेरिका गएको एक वर्ष पुग्दै थियो । यता, कतारमा विश्वकप फुटबल प्रारम्भ हुने मिति पनि नजिकिँदै थियो । अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलबाट एसएलसी र नयाँ वानेश्वरस्थित चेल्सी इन्टरनेशल एकेडेमीबाट १२ कक्षा उत्तीर्ण गरेर एक दिन उच्च शिक्षाका लागि ऊ अमेरिका हानिएको थियो । ऊसँग म्यासेन्जरमा बेलाबखत कुरा भइरहन्थ्यो । आमा (ज्योति) र बहिनी (रोसिका) सँग उसले घरायसी कुरा गर्थ्यो । मसँग भने उसको कुराकानी खेलकुदमै बढी केन्द्रित हुन्थ्यो । उसको चासोचाहिँ अर्जेन्टिना र मेस्सीमै बढी केन्द्रित रहन्थ्यो ।

यसपटक विश्वकप सँगै बसेर हेर्न नपाइने भएकाले उसलाई पनि खल्लो लागेको थियो । यता मेरो पनि मन अमिलो भएको थियो । किनभने धेरैपछि हामीले एकसाथ विश्वकपजस्तो ठूलो प्रतियोगिता सँगै बसेर हेर्न नपाउने भएका थियौं ।

म्यासेन्जरमा कुरा हुँदा यसपटक कुनै पनि हालतमा अर्जेन्टिनाले विश्वकप जित्ने दाबी गर्थ्यो ऊ । अर्जेन्टिनालाई कोपा अमेरिका जिताउने प्रशिक्षक लियोनल स्कालोनी, मेस्सी र अर्जेन्टिनी युवा टोलीप्रति ऊ बढी नै विश्वस्त थियो । म भने यसपटक पनि अर्जेन्टिनाले विश्वकप नजित्ने तर्क गर्थेँ । उसलाई जिस्काउँदै भन्थेँ, ‘कस्ता कस्ता कहाँ गए, मुसाको चल्ला दरबार ! अर्जेन्टिनाले विश्वकप जित्ने ! नो चान्स !’

अन्ततः कतारमा मंसिर ४ गतेबाट विश्वकप महाकुम्भ सुरु भयो । मंसिर ६ गते आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग अर्जेन्टिना २–१ गोलले हार्‍यो । मैले उसको फोनको आशा गरेको थिएँ । म उसलाई जिस्काउन पनि चाहन्थेँ । तर, उसको फोन आएन । मैले आफैँले उसलाई फोन गरेँ तर, फोन उठेन । लाग्यो, कलेजमा ब्यस्त होला सायद।

त्यसपछि मंसिर १० गते भएको दोस्रो खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलले हरायो । अब त पक्कै फोन आउला भन्ने सोचेँ । तर, त्यो दिन पनि उसको फोन आएन । मेरो मनमा अनेक कुरा खेल्न थाले ।

मंसिर १४ गते भएको तेस्रो खेलमा पोल्यान्डलाई २—० गोलले हराउँदै अर्जेन्टिना प्रतियोगिताको नकआउट चरणमा पुग्यो । अर्जेन्टिना समूह ‘सी’ बाट विजेताका रुपमा नकआउट चरणमा पुगेको थियो । पहिलो र दोस्रो खेलमा गोल गरेका मेस्सीले तेस्रो खेलमा भने गोल गरेका थिएनन् ।

अर्जेन्टिना प्रिक्वार्टरफाइनलमा पुगेकै दिन मेरो म्यासेन्जरको घन्टी बज्यो । मोबाइलमा उसको नाम देखेपछि मुसुक्क हाँसेँ । रोजित निकै प्रफुल्ल देखिन्थ्यो ।

त्यसपछि आयो त्यो कालो दिन । २०७९ साल मंसिर २१ गते, दिउँसो ३ बजेतिर उसकी बहिनी हस्याङ्फस्याङ गर्दै मसामु आइन् । उनको हातमा मोबाइल थियो । सायद अर्कोतिर कोही बोलिरहेको थियो । उनले मलाई मोबाइल दिँदै भनिन्, ‘दादाको हालत सिकिस्त छ रे बाबा !’

यतिका दिन किन फोन नगरेको भनेर प्रश्न सोध्न नपाउँदै उसले खरर भन्यो, ‘पहिलो खेलमा अर्जेन्टिना हार्दा भित्रैदेखि डर लाग्यो । राष्ट्रिय टोलीबाट खेल्दा मेस्सी जहिल्यै अभागी भइदिन्छ क्या ! बल्ल, मेस्सीको खड्को कट्यो । अब त जसरी पनि अर्जेन्टिनाले विश्वकप जित्यो जित्यो ।’

उसको कुराले मनमनै हाँसो पनि उठ्यो । तर, कहिल्यै अर्जेन्टिनाको खेल मन नपराउने मेरो मुखबाट कसरी हो त्यो दिन फ्याट्ट फुत्कियो, ‘गुड लक बाबु, यो विश्वकप अर्जेन्टिनाले नै जितोस् !’

सायद मेरो जवाफ उसका लागि पनि अप्रत्यासित थियो । त्यसअघि मैले कहिल्यै ऊसँग अर्जेन्टिना र मेस्सीको सकारात्मक कुरा गरेको थिइनँ ।

मंसिर १७ गते भएको प्रिक्वार्टरफाइनल खेलमा अस्ट्रेलियालाई २–१ गोलले हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा पुग्यो । म उसको कलको प्रतीक्षामा थिएँ । म म्यासेन्जरमा उसको हर्षित अनुहार पनि हेर्न चाहन्थेँ । तर, उसको कल आएन । मैले नै म्यासेन्जमा भिडियो कल गरेँ तर उसले उठाएन । त्यसपछिका ४–५ दिन पनि हामीबीच कुराकानी भएन । म्यासेन्जरमा पनि ऊ एक्टिभ देखिन्थेन ।

त्यसपछि आयो त्यो कालो दिन ।

२०७९ साल मंसिर २१ गते, दिउँसो ३ बजेतिर उसकी बहिनी हस्याङ्फस्याङ गर्दै मसामु आइन् । उनको हातमा मोबाइल थियो । सायद अर्कोतिर कोही बोलिरहेको थियो । उनले मलाई मोबाइल दिँदै भनिन्, ‘दादाको हालत सिकिस्त छ रे बाबा !’

छोरीको एकै वाक्यले म झसङ्ग भएँ । बोली फुटेन । आँखा धमिलो भएर आयो ।

तै पनि मैले उसको हातबाट मोबाइल लिएर कुरा गरेँ । अमेरिकाबाट रोजितको कलेजकी साथीले फोन गरेकी रहिछन् । उसको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको र कलेज प्रशासनले अस्पताल पुर्‍याएको संक्षिप्त जानकारी दिइन् । उनी आफैँ पनि आत्तिएकी थिइन् ।

कुरा टुङ्गिदासम्म मेरो आँखा अगाडि अन्धकार छाइसकेको थियो । म किंकर्तब्यविमुढ अवस्थामा थिएँ । के गर्ने, कसो गर्ने केही पनि सोच्ने सामर्थ्य ममा बाँकी थिएन । अब अमेरिकाबाट आउने अर्को समाचारको प्रतीक्षा गर्नुभन्दा हामीसँग अर्को कुनै विकल्प थिएन ।

केही दिनअघिसम्म अर्जेन्टिनालाई विश्वकप जिताउने सपना बुनिरहेको एउटा २० वर्षे कलिलो केटो आज आफैँ अस्पतालको शय्यामा जीवनमरणको दोसाँधमा थियो ।

स्थानीय अस्पतालमा उपचार सम्भव नभएकाले उसलाई एयर एम्बुलेन्सबाट अर्को शहर आइडाओ फल्सको ‘आइडाओ फल्स रिजनल मेडिकल सेन्टर’मा लगिएको जानकारी पाएँ । उसको बारेमा थाहा पाउने सबै शुभचिन्तकहरु अमेरिकामा हरेक रोगको उपचार सम्भव भएकाले ऊ छिट्टै निको हुने आश्वासन दिन्थे ।

तैपनि, छोराको अचानक त्यो हालत हुँदा विश्वकप हेर्ने मेरो जाँगर मरेर गएको थियो ।

मंसिर २३ गते भएको क्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगिसकेको थियो । मंसिर २६ गते अचानक मेरो म्यासेन्जरमा रोजितको कल आयो । लर्बराउँदो हातले मैले फोन उठाएँ । उताबाट ऊ सुस्तरी बोल्यो, ‘अर्जेन्टिना सेमिफाइनल पुग्यो नि, अब त पक्कै उपाधि जित्छ ! अब भने मेस्सीको निधारबाट अभागीको दाग पनि मेटिने भो ।’ स्वर मसिनो भए पनि ऊ निकै खुसी सुनिथ्यो ।

म उसको अनुहार हेर्न चाहन्थेँ । मैले भिडियो खोल्न अनुरोध गरेँ । तर, ऊ अस्पतालको शय्यामा पल्टिरहेको आफ्नो अनुहार देखाउन कुनै पनि हालतमा तयार भएन ।

मैले अनुनय विनय गर्न नछोडेपछि उसले यत्ति भन्यो, ‘मेस्सीको अर्जेन्टिनालाई विश्वकप नजिताई म मर्दिन क्या !’

उसको जवाफ सुनेर मेरो मुटु निचोरिएर आयो । आँखाबाट बलिन्द्रधारा आँशु बगिरह्यो । केही बोल्ने आँट नै आएन ।

त्योभन्दा एक दिनअघि, अमेरिकामै बस्ने उसको काका, मेरो भाइ (राजेश)लाई चिकित्सकहरुले भनेका रहेछन्, ‘नो होप (अब आशा छैन) । ऊ अहिलेसम्म कसरी बाँचिरहेको छ, हामी आफैँ अचम्म परेका छौँ ।’

चिकित्सकहरुले भाइसँग रोजितले चाहेको कुरा खान र गर्न दिनु समेत भनेका रहेछन् । त्यो कुरा भाइले मलाई भनेको थियो ।

भाइको कुरा सुनेपछि रोजितलाई भेट्न अमेरिका जाने प्रयास थालेँ मैले ।

उता कतारमा, मंसिर २७ गते भएको सेमिफाइनलमा क्रोएसियालाई ३–०  गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुग्यो । शल्यक्रियापछि अचेत अवस्थामा रहेकाले सायद रोजितले त्यो खेलको बारेमा जानकारी पाएको थिएन होला ।

अर्जेन्टिना फाइनलमा पुगेको भोलिपल्ट भाइको कल आयो । ऊ रुँदै थियो र आँशु लुकाउने प्रयास पनि गर्दै थियो । रुन्चे स्वरमा ऊ भन्दै थियो, ‘मैले कहिल्यै अर्जेन्टिनालाई समर्थन गरिनँ । तर अहिले रोजितका लागि भए पनि म, मेरी श्रीमती र छोरा/छोरी सबैजना यो विश्वकप अर्जेन्टिनाले नै जितोस् भन्ने चाहन्छौं । हामीले परमेश्वरसँग यही प्रार्थना गरेका छौं ।’

सायद, मेस्सीको कप्तानीमा अर्जेन्टिनाले विश्वकप जितेको हेर्न चाहने रोजितको जुन बलियो इच्छाशक्ति थियो, त्यसैले नै उसलाई चिकित्सकहरुको अनुमान विपरीत पनि यतिका दिनसम्म बचाएर राखेको थियो ।

उसले त्योभन्दा बढी केही भन्न सकेन ।

यता मैले पनि यो विश्वकप कुनै पनि हालतमा अर्जेन्टिनाले जितोस् भन्ने कामना गर्न थालिसकेको थिएँ । मलाई थाहा थियो, चिकित्सकले रोजित यतिका दिन बाँच्नुको पछाडि जुन आश्चर्यको कुरा गरिरहेका थिए, त्यो अर्जेन्टिनालाई विश्वकप जिताउने उसको हुटहुटी नै थियो । मलाई त उसले प्रस्ट भनिसकेको नै थियो, ‘अर्जेन्टिनालाई विश्वकप नजिताई म मर्दिन क्या !’

सायद, मेस्सीको कप्तानीमा अर्जेन्टिनाले विश्वकप जितेको हेर्न चाहने रोजितको जुन बलियो इच्छाशक्ति थियो, त्यसैले नै उसलाई चिकित्सकहरुको अनुमान विपरीत पनि यतिका दिनसम्म बचाएर राखेको थियो । फाइनल खेल हुनुअघि नै उसलाई भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । चिकित्सकहरुको अनुमान विपरीत ऊ होसमा आइसकेको थियो ।

अन्ततः पुस ३ गते भएको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै विश्वकप जित्यो । सन् १९७८ र १९८६ मा पनि विश्वकप जितेको अर्जेन्टिनाका लागि त्यो तेस्रो विश्वकप उपाधि थियो तर मेस्सी र उनको टिमले जितेको पहिलो ।

लगत्तै रोजितले फेसबुकमा स्टाटस लेख्यो, ‘अन्ततः अर्जेन्टिनाले विश्वकप जित्यो । अभागी रहेनन् मेस्सी । हाम्रो सपना पूरा भयो ।’

उसको आदर्श र प्रिय खेलाडी मेस्सीले गोल्डेन बलसँगै सिल्भर बुट पुरस्कार पनि पाएका थिए । मेस्सीले समूहगत चरणको एउटाबाहेक हरेक खेलमा गोल गरेका थिए । मेस्सी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पनि दोस्रो भएका थिए । फ्रान्सका केलियन एमबाप्पेले आठ र मेस्सीले सात गोल गरेका थिए ।

म रोजितलाई भेट्न अमेरिका जाने कागजात मिलाउँदै थिएँ । एकपटक ऊसँग म मन खोलेर कुरा गर्न चाहन्थेँ । अस्पतालको शय्यामा बसेर उसको कपाल मुसार्दै अर्जेन्टिना र उसको प्रिय खेलाडी मेस्सीले विश्वकपको उपाधि जितेको खुसी साट्न चाहन्थेँ । कुनै पनि बेला अस्पतालको शय्यामा उसले जीवनको अन्तिम सास फेर्नेछ भन्ने कुरा चिकित्सकहरुले उसैलाई समेत बताइसकेका थिए ।

उफ ! कस्तो नियति, प्रत्येक क्षण कति पीडादायक भइरहेको होला रोजितलाई ! आफू कुनै पनि बेला मर्दैछु भन्ने थाहा पाएर जिउँदाको मनोदशा कस्तो होला ! सम्झँदा पनि मुटुमा काँडा बिझेझैं हुन्छ ।

म भने छिटोभन्दा छिटो पुगेर, आफू कुनै पनि क्षण मर्दैछु भन्ने पीडाका बीच पनि आफ्नो प्रिय खेलाडीले विश्वकप उचालेको क्षण सम्झिएर उसको मुहारमा छाइरहेको खुसीको सानो धर्का आफ्ना स्मृतिभित्र कैद गर्न आतुर थिएँ ।

अन्ततः सबै कागजात तयार भएपछि म उसलाई भेट्न निस्किएँ । काठमाडौंबाट कतारको दोहा, अमेरिकाको सनफ्रान्सिस्को, साल्टलेक सिटी हुँदै उसलाई राखिएको आइडाओ फल्सस्थित अस्पतालसम्म पुग्नु थियो । यसका लागि तीन दिन समय लाग्नेवाला थियो । सम्पूर्ण यात्राभरि मेरो मानसपटलमा उसको अनुहारमात्र नाचिरह्यो ।

म चाहन्थेँ, कम्तीमा पनि त्यहाँ नपुगुन्जेल रोजितलाई केही नहोस् ! यसका लागि जिन्दगीमा पहिलो पटक मैले आफूले सम्झिएजति भगवानको नाम लिएँ । भगवानसँग थोरै समयकै लागि भए पनि उसको जीवनको भिक्षा मागेँ ।

आफ्ना अनियन्त्रित भावनाहरुसँग जुध्दै कसरी उसलाई राखिएको अस्पतालको शय्यासम्म पुगेँ, म आफैँलाई थाहा छैन । अहिले पनि सम्झँदा सपना हो कि विपना जस्तो लाग्छ र कहाली लागेर आउँछ ।

सायद, जीवनमा पहिलो पटक ऊ मलाई जिस्क्याइरहेको थियो, ‘देख्नु भयो नि, आखिर मेरा प्रिय मेस्सी र उसको अर्जेन्टिनाले विश्वकप जित्यो कि जितेन ?’

अस्पतालमा उसलाई राखिएको कोठामा लगाइएको सिसाबाट नियालेँ । आङ् जिरिङ्ग भएर आयो । अक्सिजन लगाइएको थियो, शरीरमा हाड र छालामात्र बाँकी थियो । मैले भित्र गएर उसलाई भेट्ने हिम्मत जुटाउन सकिनँ । भाइले मेरो पाखुरामा समाउँदै रोजितसम्म पुर्‍यायो ।

उसले बिस्तारै आँखा खोल्यो अनि मलाई देखेर मुसुक्क हाँस्यो ।

सायद, जीवनमा पहिलो पटक ऊ मलाई जिस्क्याइरहेको थियो, ‘देख्नु भयो नि, आखिर मेरा प्रिय मेस्सी र उसको अर्जेन्टिनाले विश्वकप जित्यो कि जितेन ?’

शारीरिकरुपमा त्यस्तो हालतमा हुँदाहुँदै पनि रोजित मानसिकरुपमा निकै उत्साही देखिन्थ्यो, अर्जेन्टिनाले विश्वकप जितेको खुसी मसँग साट्न पाउँदा । मेरो भावना पनि भित्रैबाट उर्लिएर आयो । मैले उसको कपाल मुसार्दै भनेँ, ‘बाबु, अब म पनि जीवनभर मेस्सीको समर्थक । तिमीजस्तै ‘डाइ हार्ड फ्यान !’

उसलाई बचाउने हाम्रो सारा प्रयास असफल भयो । अमेरिकाजस्तो वैभवशाली देशका चिकित्सक र स्वास्थ्य विज्ञानसमेत रोजितलाई बचाउन अक्षम भए । एक अपराह्न ऊ हामीसँग सदासदाका लागि बिदा भएर गयो । मेरै आँखा अगाडि, मेरो हात च्याप्प समातेर उसले अन्तिम सास फेर्‍यो ।

मलाई लाग्छ, विश्वकपमा मेस्सी र अर्जेन्टिनाको उपस्थिति अनि सफलता नै यस्ता पक्ष थिए, जसले रोजितलाई रोगको प्रतिरोध गर्ने आत्मबल बढाएको थियो । ऊ कुनै पनि हालतमा मेस्सीको कप्तानीमा अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको देख्न चाहन्थ्यो । त्यसैको प्रतिफल हो, अर्जेन्टिनाले विश्वकप जित्नुअघिसम्म उसले जीवनबाट हरेस खाएन । उसले अत्यन्तै प्रतिकुल अवस्थामा पनि बाँच्न संघर्ष गरिरह्यो, कतिसम्म भने आफ्नो प्रिय खेलाडीले विश्वकप ट्रफी उचालेको हेर्नका लागि उसले काललाई समेत केही दिन कुरायो ।

धन्यवाद सर्वकालीन महान फूटबलर मेस्सी ! तिम्रै कारणले एउटा पिताले, चिकित्सकहरुले समेत माया मारिसकेको छोरासँग थोरै समय भए पनि सँगै बिताउने अवसर पायो ।

अहिले पनि मेस्सीको समाचार लेख्न बस्दा उसकै याद झल्झली आउँछ । हात त्यसैत्यसै लर्बराउन थाल्छन् । आँखा धमिलो हुन थाल्छ । अनि त्यही धमिलो आँखामा मेस्सीको अनुहारभित्र रोजितकै आकृति बनेझैं भान हुन्छ ।

                                                                                                                                                                                                                       ००००

प्रिय छोरा रोजित, तिमीले हामीलाई भौतिक रुपमा छाडेर गएको आज (जेठ १५ गते) चार महिना भयो । तर, तिमी अदृश्य रुपमा अझै पनि हामीसँगै छौ जस्तो लाग्छ । बार्दलीका गमलामा तिमीले रोपेर गएका फूलहरुमा, छिप्पिँदो रातमा छतमाथि उभिएर तिमीले हेर्ने असंख्य टिल्पिलाउँदा ताराहरुमा, पश्चिमतिरबाट हुइँकिदै आउने हावाका झोकाहरुमा अनि तिमीलाई अति नै मनपर्ने क्षण दक्षिणतिरबाट काठमाडौं विमानस्थल लक्ष्य बनाएर बेगले हानिएका हवाईजहाजका मधुरा बत्तीहरुमा जताततै तिमी हामीसँगै छौ जस्तो लाग्छ ।

अझ, टेलिभिजनका पर्दाहरुमा आउने युरोपेली लिग फुटबलको प्रत्यक्ष प्रसारण हेर्दा त तिमी छेउमै बसेको भान हुन्छ । तिमीले भौतिक रुपमा हामीलाई छाडेर गएपछि तिम्रो प्रिय खेलाडी मेस्सीले पीएसजीलाई फ्रेन्च लिगको उपाधि चुमाएका छन् । मेसीले अस्ति शनिबार राती स्ट्रासबर्गबिरुध्दको खेलमा गोल गरे । आफ्ना खेलजीवनका अधिकांश गोलजस्तै उनले देब्रे खुट्टाले गरेको भएपनि त्यो गोल बिशेष रह्यो । त्यो गोलले मेस्सीले पीएसजीलाई कीर्तिमानी एघारौं पटक फ्रेन्च लिगको उपाधि चुमाए भने क्रिस्टियानो रोनाल्डो र आफ्नो नाममा संयुक्त रुपमा रहेको युरोपका पाँच शीर्ष लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि तोडे । रोनाल्डोलाई पछि पार्दै उनले ४ सय ९६ गोलको कीर्तिमान बनाए ।

यतिमात्र होइन, तिम्रो प्रिय खेलाडी मेस्सीले आफ्नो खेलजीवनमा जितेको उपाधिको संख्या पनि ४३ पुर्‍याएका छन् । उपाधिमा उनले बार्सिलोनाकै पूर्वखेलाडी डानी आल्भेसको कीर्तिमानसँग बराबरी गरेका छन् । छिट्टैनै उनले आल्भेसको कीर्तिमानलाई पनि तोड्ने निश्चित छ ।

मेस्सीले बार्सिलोना छाड्ने चर्चा चलेदेखि नै तिमी निराश बनेको थियौ । तिमी कुनै पनि हालतमा मेस्सीले बार्सिलोना नछाडुन् भन्ने चाहन्थ्यौ । ‘एउटा क्षमतावान् खेलाडीले एउटै क्लबमा बस्नु हुन्न, अन्य क्लबबाट पनि उसले आफ्नो क्षमता देखाउन सक्नुपर्छ’ भनेर मैले तिमीलाई निकै सम्झाएको थिएँ ।

तर, तिमी मेरो विचारमा कहिल्यै सहमत हुन सकेनौ । तिमीलाई लाग्थ्यो बार्सिलोना र मेस्सी अभिन्न रुपमा जोडिएका छन् र यी दुवै एकअर्काका पर्याय हुन् । तिमी भन्थ्यौ, ‘म जन्मिनुभन्दा दुई वर्षअघि नै मेस्सी बार्सिलोनाको युवा टोलीका सदस्य भइसकेका थिए । बार्सिलोनासँग उनी अभिन्न रुपमा जोडिएका छन् । मेस्सीले आफ्नो व्यावसायिक खेल जीवनको अन्तिम खेल पनि बार्सिलोनाबाटै खेल्नुपर्छ ।’

मेस्सी बार्सिलोना छाडेर पीएसजी गए पनि एक दिन बार्सिलोनामै फर्किनेमा तिमी आशावादी थियौ । हो, अहिले फेरि मेस्सी बार्सिलोना फर्कने सम्भावना बढेको छ । बार्सिलोनाले मेस्सीका लागि कुनै पनि मूल्य चुकाउन तयार रहेको बताएको छ । सायद, तिमीले चाहेजस्तै एक दिन मेस्सी फेरि बार्सिलोना फर्कने छन् र आफ्नो व्यावसायिक खेल जीवनको अन्तिम खेल पनि बार्सिलोनाबाटै खेल्नेछन् ।

अलबिदा बाबु ! हामीले तिमीलाई बचाउन सकेनौं । तर, मेस्सीको अनुहारभित्र हामी सधैँसधैँ तिमीलाई देखिरहने छौं ।

In English-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप