बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
भारत भ्रमणबारे छलफल

भारत भ्रमणबारे एमालेले प्रधानमन्त्रीलाई दियो पाँच सुझाव

आइतबार, १४ जेठ २०८०, २३ : ०१
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जेठ १७ गतेबाट हुने भारत भ्रमणका सन्दर्भमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मुख्य पाँच सुझाव दिएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा एमालेले मुख्य गरी पाँच सुझाव दिएको एमाले उपमहासचिव तथा पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । 

ज्ञवालीका अनुसार यस्ता छन् पाँच सुझाव 

१.२०१६ मा प्रधानमन्त्रीले दुई देश बीचको सम्बन्धलाई २१औँ शताब्दी सुहाउँदो बनाउन आवश्यक सुझाव दिन भनेर बनाइएको प्रबुद्ध समूहले रिपोर्ट तयार गरेको ४ वर्ष भइसकेको छ । तर भारतको कारण यो रिपोर्ट अहिलेसम्म बुझ्ने काम पनि भएको छैन । कार्यान्वयन त टाढाको कुरा भयो, त्यसैले प्रधानमन्त्रीले त्यसमा विशेष जोड दिनुपर्छ । यो कार्यान्वयन हुँदा मात्रै दुई देश बीचको सम्बन्धलाई नयाँ आयाम दिन्छ भन्ने कुरा हामीले गरेका छौ ।  

.ऐतिहासिक तथ्य, प्रमाण सन्धि सबै कुराहरूले लिपुलेक, कालापानी, लिम्पियाधुरा सहितका भूभाग नेपालका हुन भन्ने प्रस्ट छ । यी भूभागलाई नेपालले प्रयोग गर्न पाउनुपर्ने गरी टुङ्ग्याउनुपर्छ । यसलाई गम्भीरतापूर्वक राख्न भनेका छौँ।

३.नेपाल भारत व्यापारमा असाध्यै ठुलो घाटा छ । वाणिज्य सन्धिको पुनरावलोकन, नेपालका चिया, अलैँची, अदुवा, जुट र तरकारी लगायतका वस्तुको निर्बाध प्रवेशका लागि पुनरावलोकन हुनुपर्छ । नेपालको उत्पादनका लागि भारतको उदार रवैयाका लागि पहल गर्न भनेका छौँ । 

.पञ्चेश्वर परियोजना लामो समयदेखि अड्किएको छ, २५ वर्षभन्दा बढी भइसक्यो । मुख्यतया पञ्चेश्वरमा पानीको बाँडफाँट अहिलेसम्म नटुङ्गिएको विषय हो । महाकाली सीमा नदी हो र त्यसको आधा पानीमा नेपालको हक लाग्ने कुराको सुनिश्चित गरेर मात्र यो विषय टुङ्ग्याउन भनेका छौँ । 

५.ऊर्जाका हकमा भारतले लामो समयदेखि होल्ड गरेर नेपालका नदीहरू राखेको छ । जस्तो अपर कर्णाली, पश्चिम सेती र एएसआर पनि भारतलाई दिने भनिएको छ । होल्ड मात्र हुने र नेपालले लाभ नहुने स्थिति बन्छ । त्यसैले परियोजना होल्ड मात्र नभएर त्यसको कार्यान्वयनका लागि टाइम बाउन्ड्री बनाएन र अपर कर्णालीको टुङ्गोमा पुगेर मात्र बाँकी सम्झौतामा अघि बढ्ने राम्रो हुन्छ भनेका छौँ । पूर्व समझदारी अनुसार एयर कन्ट्री रुट दिलाउने कुरामा गम्भीरतापूर्वक कुराकानी गर्न भनेका छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप