नेपालमा मकैखेती: विगतदेखि वर्तमानसम्म
हामी कृषिप्रधान देशका नागरिक ! हाम्रो कृषि उपज, जडिबुटी, पशुपालन आदिको इतिहास र वर्तमान नबुझी के पत्रकारिता होला ?
एक चरण देशको कृषि बाली, बिउबिजन, जडिबुटी आदिबारे सकेसम्म खोज गरेर लेख्ने निष्कर्षमा हामी पुग्यौँ । यसपालि, नेपालमा मकैखेतीको संक्षिप्त इतिहास र वर्तमान अवस्था केलाउने कोसिस गर्दै छौँ ।
मकैको नेपाल यात्रा
तराई, भित्री मधेस, पहाडी भेगदेखि हिमाली क्षेत्रमा समेत खेती हुने मकै हाम्रो मुख्य खाध्य बालीमध्ये पर्छ, तर यो हाम्रो रैथाने बाली होइन।
अनुसन्धानकर्ताद्वारा गरिएको खोजको क्रममा सन् १९४८ मा, मकैको पहिलो प्रमाण पश्चिमी न्यु–मेक्सिकोको चमेरे गुफामा भेटियो, (सन् २०१८ मा प्रकाशित जोसेफ कास्नरको पुस्तक ‘कर्न अ हिस्ट्री’) । यस्तै, बिरुवाका अवशेषको अनुसन्धानकर्ताले पानामामा ६ हजार नौ सय वर्ष अघिदेखिका र अमेजन इक्वेडरमा ६ हजार वर्षअघिदेखिका मकैको परागकणको पहिचान गरे, (सन् २०१७ मा प्रकाशित माइकल ओएन जोन्सको पुस्तक ‘कर्न अ ग्लोबल हिस्ट्री’) ।
धेरै खोजकर्ताको निष्कर्ष छ – अमेरिकामा उत्पत्ति भएको मकैलाई मानिसले सात हजार वा नौ हजार वर्षअघि खेती गर्न थालेका हुन् ।
सन् १४९२ मा (५३१ वर्षअघि) युरोपियनहरू (खासगरी क्रिस्टोफर कोलम्बस) अमेरिका पुगेपछि मकै युरोपमा भित्रियो । चिनियाँ र भारतीय व्यापारीले यसलाई ‘सिल्क रोड’ हुँदै एसिया ल्याए ।
मकैलाई क्यारेबियन सागरका ताइनो जातिले ‘माहिज’ भन्थे, स्पेनिसले मेज भने । यसलाई भारतमा मक्का, मकई हुँदै नेपालमा मकै भनियो ।
नेपालमा मकै भित्रिएको कथा रोचक छ । जगतज्योति मल्ल (कतै जगतज्योर्ति, कतै जगज्योति लेखेको पाइन्छ)को शासनकालमा पूर्व (भारततिर)बाट दाल किन्दा केही भारतीय मकै पनि मिसिएर आयो । देशका चलाख नागरिकले तुरुन्तै निर्णय गरे– यो नयाँ अन्न महामारीको कारण बन्न सक्छ, त्यसैले उनीहरूले जहाँबाट आएको हो त्यहीँ फिर्ता गरिदिए । मकैसँग कुनै अनिष्ट आएको हुन सक्छ भन्ने आशंका गरी त्यसलाई रोक्न पूजापाठ र ब्राह्मणलाई भोजन समेत गराइयो, (सन् १८७७ मा प्रकाशित डानियल राइटको पुस्तक ‘हिस्ट्री अफ नेपाल’) ।
जगज्योति मल्लले आफ्नो देशको पैदा (उब्जाउ) बढाउन पूर्वबाट मकै र कोदोको बिउ ल्याई खेती गर्न लगाउने विचार गरेका थिए, तर प्रजाले उक्त कामलाई अशुभ चिताएकाले सो विचार छाडिदिए, (२०२३ सालमा प्रकाशित लीलाभक्त मुनंकर्मीको पुस्तक ‘मल्लकालीन नेपाल’) ।
ड्यानियल र मुनंकर्मी दुवैले मकैका सम्बन्धमा प्रमाणका आधारमा लेखेका होइनन् । ड्यानियलको उपरोक्त पुस्तक इतिहास नभई वंंशावली हो, जसलाई पण्डित गुणानन्दको मद्दतबाट संग्रह गरिएको थियो । ड्यानियलको उक्त पुस्तकमा ‘मेज’लाई नेपालीमा मकै र नेवारीमा ‘कनी’ भनी उल्लेख छ ।
गोपालराज वंशावलीमा वि.सं. १३८६ को फागुनदेखि भदौसम्म महामारी फैलिएको र जसलाई कनि–मरक भनिएको उल्लेख छ, तर यहाँ आएको ‘कनि’ शब्दले मकैलाई जनाउँछ वा जनाउँदैन भन्ने प्रमाणित भइसकेको छैन । अर्कोतिर, नेवारीमा मकैलाई ‘कनि’ कसरी भनियो भन्ने पनि खोजको विषय छ र वि.सं. १३८६ मा (६९४ वर्षअघि) मकै एसिया भित्रिएको विश्वास गर्न सकिन्न ।
मुनंकर्मीले जगज्योतिको मृत्यु ने.सं. ७५३ (आजभन्दा ३९० वर्षअघि) भएको उल्लेख गरेका छन् । यस हिसाबले, एसिया भित्रिएको मकै अहिलेको नेपाल रहेको भूगोलमा चार सय वर्षअघि प्रवेश गरेको अनुमान गर्न सकिन्छ ।
नेपालमा मकैखेती
काठमाडौंलाई केन्द्र बनाएर हेर्दा, मकैलाई लिएर हाम्रो इतिहास दुःखद छ । एकातिर काठमाडौंमा मकै झुक्किएर आउँदा समेत मकैसँगै महामारी भित्रिने आशंका गरियो र फिर्ता गरियो, अर्कोतिर ‘मकैको खेती’ पुस्तक लेख्ने लेखक र यसको प्रकाशनमा जोडिएका व्यक्तिमाथि मुद्दा चलाइयो ।
कृष्णलाल अधिकारी (१९४४ माघ २४– १९८० मंसिर २५)ले ‘मकैको खेती’ नामक पुस्तक लेखेर एक हजारप्रति छपाएका थिए । त्यस पुस्तकबारे १९७७ साउन ११ गते मुद्दा प¥यो र साउन १७ गते चन्द्रशमशेरको फैसलाले लेखकलाई जेल–सजाय तोक्यो । हजारप्रति पुस्तकमध्ये ९९९ प्रति जफत भए, लेखकले एकप्रति बुझाउन नसक्दा थप जेल सजाय तोकियो ।
मदन पुस्तकालयमा ‘कृषि शिक्षावली प्रथम भाग मकैको खेती गर्ने तरिका’ नामक पुस्तक छ । राममणि आचार्य दीक्षित सम्पादक रहेको, नेपाली कागजमा छापिएको यस पुस्तकको गातामा ‘१९८२ वैशाख’ मिति उल्लेख छ । यो पुस्तकको आधार कृष्णलालकै पुस्तक हो भन्ने जिकिर पनि पाइन्छन् । २०१७ सालमा ‘ऐतिहासिक खेती’ शीर्षकमा लेख लेखेर कमल दीक्षित (सुब्बा राममणि आदीका नाति)ले सुब्बा राममणिको सो पुस्तकको आधार हिन्दी पुस्तक नभएर कृष्णलालकै पुस्तक हो भन्ने दाबी गरेका छन् ।
जेहोस्, राममणि आचार्य दीक्षित सम्पादक रहेको यस पुस्तकको भूमिकामा भनिएको छ, ‘नेपाल राज्यमा विशेष पहाडी भूमिमा मकै हुन लायकको भूमि धेरै छ । मकैको खेतीमा लगभग सय दिनको बीचमा थोरै खर्चले कम परिश्रमबाट पनि लाभ हुने हुनाले नेपालका पहाडी बासिन्दाले जताततै मकैको खेती गरेको देखिन्छ ।’
पछिल्लो समय देशभर झन्डै १० लाख हेक्टर जमिनमा मकैको खेती गरिन्छ । कृषि सूचना तथा प्रशिक्षण केन्द्रले प्रकाशन गरेको ‘कृषि तथा पशुपन्छी डायरी २०८०’ अनुसार, आर्थिक वर्ष ०७८÷७९ मा ९ लाख ८५ हजार ५६५ हेक्टर जमिनमा मकैखेती गर्दा ३१ लाख ६ हजार ३९७ मेट्रिक टन मकै उत्पादन भएको थियो । यसले देखाउँछ, मकैको औसत उत्पादन ३.१५ टनप्रति हेक्टर छ ।
पछिल्ला वर्ष मकैको खेती र उत्पादन बढ्दै गइरहेको छ । आर्थिकवर्ष ०७६÷७७ मा नौ लाख ५७ हजार ६५० हेक्टर जमिनमा मकैखेती गर्दा २८ लाख ३५ हजार ६७४ मेट्रिक टन उत्पादन भएको थियो ।
देशको पहाडी भूभागमा मकै प्रमुख बाली हो भने देशभर हेर्दा दोस्रो प्रमुख बाली हो । अहिले देशभर १४ लाख ७७ हजार ३७८ हेक्टर जमिनमा धानखेती गरिन्छ ।
आजभन्दा ५९ वर्षअघि (२०२१÷०२२) देशभर आठ लाख ५४ हजार मेट्रिक टन मकै उत्पादन भएको अनुमान गरिएको थियो । त्यतिबेला ६३ प्र्रतिशत जनसंख्याले मकै खान्थे, (कृषि विभागले २०२२ सालको चैतमा प्रकाशन गरेको ‘मकै बाली विकास योजना २०२२–२७’ पुस्तिका) ।
पाँच वर्ष पुरानो प्रतिवेदन हेर्दा, नेपालमा कूल दैनिक खानयोग्य खाद्यान्नको २६ प्रतिशत हिस्सा मकैले ओगटेको छ । नेपालमा मकै खेती गरिने जग्गाको क्षेत्रफलमध्ये ७० प्रतिशत भूभाग मध्य पहाडमा, २० प्रतिशत तराईमा र १० प्रतिशत उच्च पहाडमा पर्छ, (कृषि सूचना तथा सञ्चार केन्द्रद्वारा २०७४ सालमा प्रकाशित ‘मकै बालीका उन्नत प्रविधिहरू’) ।
यहाँनेर गम्भीर प्रश्न उब्जन्छ— चार सय वर्षअघि नेपाल भित्रिएर पहाडमा प्रमुख बालीको स्थान ओगटेको मकैले यहाँको रैथाने कुन बाली, फलफूल, जडिबुटी वा वनस्पतिलाई विस्थापित ग¥यो ? अथवा, माटो सुहाउँदो बाली (मकै) भिœयाएर नागरिकको उत्थान भयो ? यो पनि खोजको विषय होइन र ?
मकैका उन्नत जात
बढी उब्जाउ हुने जात लगाउनु समयको माग हुँदै आयो । हामीकहाँ २०२२ सालदेखि उन्नत जातका मकैका बिउ भित्रिन थाले । २०२२ मा तराई र भित्री मधेसका लागि मकैको ‘रामपुर पहेँलो’ जातको बिउ सिफारिस गरिएको थियो ।
२०५० सालमा कृषि विभागले प्रकाशन गरेको र शालग्राम अधिकारीले लेखेको ‘नेपालमा मकै खेती’ पुस्तक अनुसार, भारतबाट ल्याइएको यो जातलाई भारतमै विभिन्न १६ जातको सम्मिश्रणबाट तयार गरिएको थियो । यसलाई सुरुमा चितवनको रामपुरमा परीक्षणका रूपमा लगाइएको थियो ।
२०२२ सालमै मध्यपहाडी क्षेत्रका लागि मकैको ‘खुमल पहेँलो’ जातको बिउ सिफारिस गरिएको थियो । भारतबाट ल्याइएको यस जातलाई ललितपुरको खुमलटारमा परीक्षण गरिएको थियो ।
२०२२ सालमै उच्च पहाड (लेक)का लागि मकैको ‘ककनी पहेँलो’ जात सिफारिस गरिएको थियो । यसलाई पनि भारतबाट ल्याएर ककनी फार्ममा परीक्षण गरिएको थियो ।
कृषि सूचना शाखाबाट २०२९ असोजमा ‘धेरै उब्जनी लिन उन्नत मकै रोप्नुहोस्’ नामक पुस्तिका प्रकाशित भएको छ । जसमा भनिएको छ, ‘हाम्रो देशको दुईतिहाइभन्दा बढी जनता बसोबास गर्ने पहाडी क्षेत्रमा मकै प्रमुख खाद्यान्नको रूपमा रहिआएको छ । देशको औसत उत्पादन प्रतिहेक्टर १.६६ टन छ, जुन अरु देशका तुलनामा निकै कम हो । औसत उत्पादन बढाउन उन्नत जात, रासायनिक मल, कीटनाशक औषधि आदिको प्रयोग गर्नुका साथै आधुनिक ढंगबाट खेती गर्नुपर्नेछ ।’
हामीकहाँ २०३० सालमा आएर मात्रै उन्नत जात विकास गर्न थालियो । यस वर्ष मध्य पहाड, भित्री मधेस र बेसी तथा टारका लागि मकैको ‘हेटौँडा कम्पोजिट’ सिफारिस गरियो । १४ देशहरूबाट ल्याइएका बाहिरी जात तथा स्थानीय गरी १८० जातहरूको संकरण र छनोट प्रक्रियाद्वारा हेटौँडामा यसको विकास गरिएको थियो ।
सुरुदेखि २०५० सालसम्म मकैका १२ वटा उन्नत जात सिफारिस गरिएको थियो । यसमा माथि आएका जातसँगै रामपुर कम्पोजिट (२०३२ सालमा), सर्लाही सेतो (२०३२ मा), जानकी (२०३५ मा), अरुण २ (२०३९ मा) र मकालु–२ (२०४१ मा), मनकामना– १, रामपुर–२ (२०४६ मा) र २०४६ मै गणेश–२ सिफारिस गरिएको थियो ।
यीमध्ये मकालु–२ लाई २०३२ सालमा मेक्सिकोबाट ल्याएर यहाँका लेकाली क्षेत्रमा चार वर्षसम्म परीक्षण गरियो, तर राम्रो ठहरिएन । पछि पाख्रीबास कृषि केन्द्रमा यसका नराम्रा गुण विभिन्न छनोट विधिद्वारा सुधार गरिएको थियो ।
प्रजातन्त्रपछि, २०१३ सालदेखि सरकारले योजनाबद्ध कार्यक्रम गर्न थाल्यो । दोस्रो त्रिवर्षीय योजना (२०१९–२०२२)मा भनिएको छ, ‘अनाज विकास केन्द्रहरूमा धान, गहुँ बाली, मकै आलु, ऊखु ता तेलको उन्नत किसिम निकाल्ने काम भइरहेको छ ।’
कृषि विभागबाट २०२३ सालमा प्रकाशित ‘मकैको बिउ परीक्षण गर्ने कार्यक्रम’ पुस्तिकामा ‘कृषि प्रसार सेक्सनको सहयोगबाट विभिन्न ठाउँ (विदेश)मा रजिस्टर्ड तथा सर्टिफाइड बिउ छान्ने र यी छानिएका रजिस्टर्ड तथा सर्टिफाइड बिज उत्पादन गर्नेलाई प्रोत्साहन गर्ने’ उल्लेख छ ।
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका मकै बाली संयोजक वरिष्ठ वैज्ञानिकका तीर्थ रिजाल अनुसार, अहिले देशभर मकैका ३२ वटा उन्नत जात र नेपाली हाइब्रिडका आठवटा जात सिफारिस गरिएको छ । उन्नत जातको बिउ देशकै उत्पादनले पुग्छ, केही हाइब्रिड जात भने बाहिरबाट ल्याउने गरिएको छ ।
पोसिलो र अन्तरबाली
मकै पोसिलो छ । यसमा अधिक मात्रामा न्युट्रियन्ट (पोषकतत्व), मिनरल्स (खनिज पदार्थ), भिटामिन पाइन्छ । मकैसँगै होँचा जातका कोसेबाली (बोडी, भटमास आदि) अन्तरबालीका रूपमा लगाउन सकिन्छ । यसो गर्दा झारपातको प्र्रकोपमा कमी आउने, माटोको उर्वराशक्ति बढ्ने, धेरधोर कोशा या गेडागुडीको पनि उत्पादन हुने हुन्छ ।
अन्य पेसा वा व्यवसाय गर्ने मानिसभन्दा कृषि गर्नेहरू आशावादी हुन्छन् । एउटा किसानले माटोमा बिउ छरेदेखि आशा र विश्वास गर्न थाल्छ – यो उम्रन्छ, फुल्छ र फल्छ, मैले भित्र्याउन पाउँछु । अचेल हामी उर्वर माटोमा कंक्रिट भवन ठड्याउनमा विश्वास गर्छौं ।
खैर, व्यक्तिगत अनुभवमा मलाई यस्तो लाग्छ — कुनै पनि बाली उम्रँदा, हुर्कंदा, फुल्दा, फल्दा र पाक्दा मानिस हरेकपल्ट खुसी हुन्छ ।
स्याङ्जामा म मकैसँगै हुर्कें–बढेको हुँ । झरी पर्दा मकैको पातबाट निस्कने ध्वनि मलाई प्रिय लाग्थ्यो । तपाईंसँग मकैसम्बन्धी कुनै जानकारी वा कुनै स्मरण छ भने हामीलाई पठाउनुस् । [email protected]
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि रवि लामिछाने र छवि जोशीविरुद्ध पर्सामा पनि पक्राउ पूर्जीसम्म
-
पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान
-
स्टक ब्रोकर एशोसिएशनको नयाँ कार्यसमितिका लागि ढकाल समूहको उम्मेदवारी घोषणा
-
एनपिएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
-
कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश
-
‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन विदा’ दिने प्रस्ताव