मङ्गलबार, ०१ माघ २०८१
ताजा लोकप्रिय

‘नीरफूल’ मा हामीले भोगेको समयको कथा भेटिनेछ : दयाहाङ राई

शनिबार, १३ जेठ २०८०, १२ : ५२
शनिबार, १३ जेठ २०८०

काठमाडौँ । अभिनेता दयाहाङ राईले चलचित्र ‘नीरफूल’ मा हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको बताउँदै चलचित्रमा आफूहरूले भोगेको समयको कथा भेटिने बताएका छन् । २६ जेठबाट मुलुकभर एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता राईले दावी गरेका हुन् ।

शुक्रबार साँझ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म निर्माणको समयको नालीबेली समेत सुनाए, ‘यो फिल्म खिच्न गणेश हिमाल मुनिको रुवी भ्यालीमा हामी बहुत मुस्किलले पुगेका थियौँ’, उनले भने, ‘मेहनतले राम्रै काम पनि गरेको छ । मैले अभिनय गरेको राम्रा फिल्ममध्ये यो पनि एक हुनेछ । मौलिक विषयवस्तुलाई मौलिक ढंगले नै पस्किन खोजिएको छ फिल्म हो यो ।’

यतिबेला उच्च सफलता हासिल गरिरहेको चलचित्र जारी सांस्कृतिक फिल्म भएकाले चलेको बताउँदै राईले भने, ‘मेरा कैयौँ फिल्मले ५१ दिन मनाउँदै व्यावसायिक सफलताको रेकर्ड पनि तोडेका छन् । तथापि विषयवस्तु र मौलिकताको हिसाबले मलाई जारी जस्तै अत्यन्त मन परेको अर्को फिल्म नीरफूल हो ।’

अभिनेता राईले सन १९४८ मा बनेको इटालियन नवयथार्थवादी फिल्म ‘द बाइसाइकल थिफ’ र सत्यजित रेको ‘पाथेर पाञ्चली’ जस्ता सधैँ बाँचिरहने फिल्ममा काम गर्न मन लागेको पनि सुनाए ।

कोरोना महामारीको कारण यस अघि रिलिज रोकिएको यो चलचित्र फूलमान बलले निर्देशन गरेका हुन् । चलचित्रमार्फत आफूले परिवार र समाजको कथा भन्न खोजेको निर्देशक बलले दाबी गरे,‘चलचित्रमा भूकम्प आउँछ, तर यो चलचित्र भूकम्पको कथा माथि हैन’, उनले भने, ‘हाम्रो समाज र जीवनमा आउने भूकम्प, करप्टेड सिस्टमले ल्याउने भूकम्प चाहिँ चलचित्रमा छ ।’  

नेपाल म्यान्मार फ्रेन्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको यो चलचित्रका अर्का अभिनेता बुद्धि तामाङले नीरफूलको कथावस्तु र तामाङहरुको मौलिक संस्कृतिमा काम गर्दा निकै आनन्द आएको बताए । फिल्म समसामयिक विषयसँगै मौलिक संस्कृतिमा केन्द्रित रहेको उनले जिकिर गरे । आफू यो फिल्ममा सञ्चारकर्मीको भूमिकामा रहेको पनि उनले खुलाए ।

अभिनेत्री शान्ति वाइबाले आफू रंगमञ्चबाट आएको बताउँदै रंगमञ्चबाटै स्थापित दयाहाङ राईसँग काम गर्न पाउँदा निकै खुसी लागेको बताइन् । उनले यो चलचित्रमा नायिकाको रूपमा डेब्यु गर्दैछिन् ।

जिग्मे छ्योकी घिसिङ आफू यसअघि गायिकाको रूपमा परिचित भएपनि नीरफूलले आफुलाई अभिनयमा स्थापित गराउने विश्वास व्यक्त गरिन् । भूकम्पको बेला उपचार गर्ने नाममा हराएको बालिकाको भूमिकामा आफू रहेको उनले बताइन् ।

भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको अभिनय गरेका छन् ।

डोमा सोनाम कार्यकारी निर्माता रहेको चलचित्रलाई दीपक श्रेष्ठ (युके), माया केसी (युएई), इन्द्र तामाङ (अमेरिका) उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया)सँगै नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, विके श्रेष्ठ, तेन्जिन सोनम लामा, गणेश थापा, अशोक थापा लगायतले निर्माण गरेका हुन् । चलचित्रको पटकथा सचिन घिमिरे र फुलमान बलले लेखेका हुन् । जसमा प्रमोद कार्कीको छायाङ्कन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप