इजलासमा केशव दुलाल र सागर राई

काठमाडौँ । ‘श्रीमान्, आस्तालिन लिऊँ ?’ शरणार्थी प्रकरणका आरोपित केशव प्रसाद दुलालले न्यायाधीशलाई आफ्नो स्वास्थ्य समस्याबारे थप व्याख्या गर्दै भने–‘दमको बिरामी छु ।’
काठमाडौँ जिल्ला अदालतको २५ नम्बर इजलासमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेले अनुमति दिएसँगै मोरङ घर भएका दुलालले दम नियन्त्रण गर्ने औषधी ‘आस्तालिन’ श्वास मार्फत लिए । दम नियन्त्रण गर्ने औषधी आस्तालिन, रोटाक्याप (टाइओभा र सेरोफ्लो) लिएपछि कुल्ला गर्नुपर्छ । दुलाल कुल्ला गर्न इजलास बाहिर गए, अनि फर्किएर फेरी बयान दिए ।
शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगीधन्दा चलाएको आरोपमा पक्राउ परेका दुलाल र मोरङ घर भएका सागर राईले शुक्रवार दिनभर अदालतमा बयान दिएका छन् । दुलालले ७ पाना र राईले ६ पाना बयान दिएका हुन् ।
इजलास अधिकृतले केशव दुलाललाई १४ वटा प्रश्न गरे । इजलासमा उभिएर दिनभर बयान दिएका दुलालले पटक–पटक बयान सच्याउन लगाए । प्रिन्ट कपी पढ्न दिँदा अक्षर अक्षर केलाएर सच्याउन लगाएका दुलालले फाइनल भनेर नेपाली कागजमा प्रिन्ट गरिएको बयान फेरी अक्षर–अक्षर पढ्न थालेपछि न्यायाधीशले घडी हेरे । त्यतिबेला साँझको ६ बज्दै थियो । इजलास अधिकृतले न्यायाधीशलाई भने–‘श्रीमान् उहाँ फेरी पढ्न थाल्नुभो ।’
न्यायाधीशले दुलाल तिर हेरेर हाँस्दै भने–‘तपाईंले भनेकै कुरा लेखेको हो, अदालतमा त्यस्तो दायाँ बायाँ हुँदैन ।’
शरणार्थी प्रकरणको मुख्य योजनाकार मध्येका दुलालले शरणार्थी प्रकरणमा आफैँ ठगिएको जिकिर गरेका छन् । डा. इन्द्रजीत राईलाई दिएको करोडौँ रकम बारे दुलालले अदालतमा भनेका छन्–‘घर जग्गा कारोबारको लागि राईलाई पैसा दिएको हुँ, सानु भण्डारीले दिएको रकम बारे मलाई जानकारी भएन ।’
शरणार्थीको कोटामा अमेरिका जाने आशामा आफूले पनि पैसा बुझाएको बयान दिएका दुलालले अदालतमा भनेका छन्–‘शरणार्थीको नाममा म आफैँ ठगिएको छु ।’
जिल्ला सरकारी वकिल कार्यालयले ३० जना आरोपित विरुद्ध २८ करोड ८१ लाख ७४ हजार पाँच सय मागदाबी लिएर अभियोग पत्र दायर गरेको थियो । सो प्रकरणमा १७ जना पक्राउ परेका छन् ।
बयान दिँदा दुलाल बेला बेला आफ्ना कानुन व्यवसायी अधिवक्ता विकास भट्टराईसँग सहयोग लिन खोज्थे । तर, न्यायाधीशले रोकिरहे । बयानमा सहयोग गर्न खोजेपछि अधिवक्ता भट्टराईलाई न्यायाधीशले भने–‘वकिल सा’ब हरुले बयान दिने भए त राम्रो दिनुहुन्थ्यो होला तर, बयान सम्बन्धितले नै दिनुपर्छ तपाईंहरु पछाडि बस्नुस् ।’
अधिवक्ता राजन भट्टराईले सागर राईलाई पढ्न दिएको बयानको कपी हेर्न खोजेका थिए । न्यायाधीशले रोक्दै भने–‘उहाँको बयान अहिले तपाईंले हेर्ने होइन ।’
बयानमा दुलालले सहिछाप गरेपछि न्यायाधीशले दुलालको स्वास्थ्य समस्याबारे सहानुभूति देखाए । भने–‘मलाई पनि दम थियो, निको हुन्छ ।’ बयान सकियो, दुलालले दुई हात जोडेर न्यायाधीशलाई नमस्कार गरिरहे ।
न्यायाधीश मुस्कुराए मात्र, नमस्कार फर्काएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महायज्ञमा सहभागी हुन राष्ट्रपति पौडेल पोखरामा
-
ट्रम्प र जेलेन्स्कीको भेट कसरी चर्को बहसमा परिणत भयो?
-
भूमिसम्बन्धी अध्यादेशले निम्त्याएको आपत्
-
माधवनारायण–४ का वडाध्यक्ष मुखियाको निधन
-
रिङ्कु सदाको घरमै पुगेर न्यायका लागि सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
-
३ सय १ ग्राम ब्राउन सुगर जस्तो पदार्थसहित झापाबाट दुई जना प्रहरीको नियन्त्रणमा