मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रेशमको आममाफीसम्बन्धी प्रस्ताव फिर्तालगत्तै फेरि अर्को तनावमा राष्ट्रपति !

शुक्रबार, १२ जेठ २०८०, २३ : ०२
शुक्रबार, १२ जेठ २०८०

आज मिति २०८० साल जेठ महिनाको १२ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–

१. रेशमको आममाफीसम्बन्धी प्रस्ताव फिर्ता

राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता पठाएका छन् । शुक्रबार राष्ट्रपति कार्यालयले चौधरीको आममाफी सम्बन्धी  फाइल गृह मन्त्रालयमा फिर्ता गरेको  हो ।

कानुन नपुगेको देखिएकाले गृह मन्त्रालयमा फाइल फिर्ता गरिएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

शीतलनिवासले रेशमको आममाफीसम्बन्धी प्रस्ताव फिर्ता पठाएलगत्तै सरकारले फेरि शुक्रबारनै अर्को विवादास्पद विधेयक प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको छ । जसका कारण विवादबाट मुक्त हुने कोशिसमा रहेका राष्ट्रपति रामचन्द्र पौडेका लागि अर्को तनाव थपिएको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाउने निर्णय गरेको हो । बैठकले यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

२. प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयले शुक्रबार सूचना टाँसेर प्रतिनिधिसभाको बैठक शनिबारसम्मका लागि स्थगित भएको जनाएको हो ।

३. के हो जलहरी प्रकरण ?

जेठ १० गते बसेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले सरकारमा छँदा विभिन्न भ्रष्टाचारको काण्ड भएको उल्लेख गरेका थिए । उनले केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला नेपालको वैदेशिक ऋण ७ खरबबाट १७ खरब कसरी पुग्यो भन्दै प्रश्न गरेका थिए भने पशुपतिनाथको मन्दिरमा सुन भन्दै पित्तलको जलहरी लगाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

सो आरोपबाट आक्रोशित बनेको एमालेले बैठक अवरुद्ध गरेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा पशुपति नाथको मन्दिरको गर्भ गृहमा चाँदीको जलहरीको स्थानमा सुनको जलहरी लगाउने निर्णय गर्दै त्यसको कार्यान्वयन समेत गरेका थिए ।

पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएका बेला उनले सुनको जलहरी राख्न सरकारले ३० करोड दिने घोषणा गरेका थिए ।

२०७७ फागुन १२ गते राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा पशुपतिनाथ मन्दिरको गर्भ गृहमा रहेको शिवलिङ्गमा ९६ किलोको सुनको जलहरी राखिएको थियो ।

त्यसअघि रहेको चाँदीको जलहरीलाई विस्थापित गर्दै सुनको जलहरी राख्ने विषयमा त्यो बेला निकै विवाद समेत भएको थियो । जलहरी परिवर्तन गरिनु प्राचीन स्मारक ऐनका साथै शैव दर्शन विपरीत भएको तर्कसहित विभिन्न पक्षहरूबाट विरोध पनि भएको थियो । पूर्व वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पशुपतिनाथ मूल मन्दिरको शिव लिङ्गमुनि सुनको जलहरी राख्ने काम प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत रहेको भन्दै सर्वोच्चमा मुद्दा समेत दायर गरेका थिए । जलहरी राखिसकेपछि सर्वोच्चले तत्काल जलहरी नराख्न भन्दै अन्तरिम आदेश समेत दिएको थियो ।

महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरी राख्दा करोडौँ रुपैयाँ बराबरको सुन हराएको आशङ्का गरेको थियो । सो ५९औँ वार्षिक प्रतिवेदनमा पशुपतिमा सुनको जलहरी राख्दा १० किलो सुन हिनामिना भएको उल्लेख गरिएको छ ।

२०७० सालमै पशुपति विकास कोषले राख्ने भनेको सुनको जलहरी विवाद भएपछि तत्काललाई रोकिएको थियो भने ओली प्रधानमन्त्री भएका बेला झन्डै १ अर्ब रुपैयाँमा १०८ किलो सुनको जलहरी राख्ने प्रक्रिया अघि बढेको थियो । ९६ किलोको जलहरी राखे पनि त्यसमा १२ किलो सुन थप्न बाँकी राखिएको थियो ।

१०८ किलो सुनको जलहरी राख्न ८० करोड रुपैयाँ खर्च लागेको कोषले बताए पनि महालेखाको प्रतिवेदनले भने करोडौँ रुपैयाँको सुन हराएको आशंका गरेको थियो । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा माओवादीका सांसद दाहालले अघिल्लो बैठकमा यसबारे कुरा उठाएका थिए ।

४. सांसदमाथि कारबाहीको डण्डा

डा सिके राउत नेतृत्वको जनमत पार्टीले दुई जना सांसदलाई कारबाही गरेको छ । जनमतले ‘राइट टु कल’ भन्ने पार्टीको नीति अन्तर्गत पार्टीबाट कारबाही गरेर सांसदको भूमिकाबाट हटाउने निर्णय गरेको हो ।

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद सोनु मुर्मुर र विनीता सिंहलाई कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ ।

५. शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका दुई जनाको बयान सकिएको छ । शुक्रवार काठमाडौँ जिल्ला अदालतमा दुई जनाको बयान सकिएको हो ।

जिल्ला अदालत काठमाडौँका जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सागर राई र केशव प्रसाद दुलालको बयान सकिएको छ । उनीहरू भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए । सो प्रकरणमा अहिलेसम्म १७ जना पक्राउ परेका छन् ।

६. प्रदेश समाचार

विराटनगरमा शनिवार बिहानदेखि अनिश्चितकालिन निषेधाज्ञा तोकिएको छ ।  कोशी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकेको हो ।

विराटनगरबाट काठमाडौँ उडेको बुद्ध एयरको जहाज भैरहवामा अवतरण हुन पुगेको छ ।

शुक्रबार विराटनगरबाट काठमाडौँ उडेको ७२ सिट क्षमताको उक्त जहाज भैरहवामा अवतरण भएको हो ।

मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको चार दिन बितिसक्दा पनि माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छैनन् । माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा नदिएका कारण सो पार्टी सरकारमा रहिरहन्छ कि बाहिरिन्छ भन्नेबारे अन्योल कायमै छ ।

लुम्बिनी प्रदेश सरकारको दोस्रो अधिवेशनको पहिलो बैठकको आज शुक्रवार दिउँसो १ बजेदेखि सुरु भएको छ ।

बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।  जसअनुसार काठमाडौँ उपत्यकाबाहिर प्रदेशभित्र पुग्ने रुटहरुको बस भाडा निर्धारण भएको छ । काठमाडौ–कुरिटनटारको भाडा २९४, काठमाडौँ–खोपासी ११८, काठमाडौँ–गल्छी १३९ रुपैयाँ निर्धारण भएको छ ।

७. सेयर बजार

यो साता पनिसेयर बजारका लागि उत्साहपूर्ण नै रह्यो । १८ सय ७७ अंकको विन्दुमाबाट सुरु भएको नेप्से सूचक यो सातामा ८१.८ अंकले बढ्दै १९ सय ५९.१२ अंकको विन्दुमा उक्लिएको छ ।

८. खेलकुद समाचार

आयोजक नेपाल काभा महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमामै पराजित भएको छ । कजाकिस्तानले नेपाललाई ३–२ सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका विभिन्न १० वटा क्लबले एन्फासँग असन्तुष्टि पोखेका छन् ।

९. प्रचण्डको भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको एजेन्डाबारे शुक्रबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । बैठकमा भ्रमणका क्रममा के–कस्ता एजेण्डालाई उठाउने भन्नेबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

१०. यो पनि

जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रवार प्रदीपलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज न्युजिल्याण्ड प्रस्थान गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुक्रवार वीर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनको महासभामा भाग लिएर शुक्रवार बिहान काठमाडौँ आइपुगेका मन्त्री बस्नेतले एक हप्ताभित्र बिरामीहरूले महसुस हुने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन् ।

सरकारले २२ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार गरिएको सरुवामा भाग्यमानी सहसचिव हुन्, कमल प्रसाद भट्टराई ।

गत वैशाख २० गते मात्रै भट्टराईको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय वा अन्तर्गत भनेर सरुवा गरिएको थियो । तर, मन्त्री सुदन किरातीले अनिच्छाकै कारण भट्टराई सरुवा भएको ठाउँमा जान पाएनन् । बरु सामान्यमै बसिरहे । 

नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन् ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप