संसद् बैठक अनिश्चित : जलहरी सुन कि पित्तल सरकारले जवाफ दिनुपर्ने एमाले अडान
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेको अडानका कारण प्रतिनिधि सभाको अर्को बैठकको समय अनिश्चित भएको छ । शुक्रवार बसेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको कुरालाई लिएर एमाले सांसदले संसद् अवरुद्ध गरेका थिए । मध्यान्ह १२ बजे बैठक सुरु हुने बित्तिकै एमाले सांसदले संसद् अवरुद्ध गरेका थिए ।
जेठ १० गते बसेको प्रतिनिधिसभा बैठकमा सांसद दाहालले तत्कालीन एमाले सरकारको पालामा पशुपतिनाथको मन्दिरमा सुनको भनेर पित्तलको जलहरी राखेर भ्रष्ट्राचार गरेको आरोप लगाएका थिए । सोही विषयलाई लिएर शुक्रवारको बैठकमा एमाले सांसदहरूले दाहालको भनाइप्रति आपत्ति जनाउँदै पशुपतिमा राखिएको जलहरी सुनको हो कि पित्तलको भन्दै सरकारको धारणा मागेका थिए । साथै सांसद दाहालले भनेको कुरा संसद्को रेकर्डबाट हटाउन पनि सभामुखसँग माग गरेका थिए । आफ्नो पार्टी अध्यक्षलाई भ्रष्ट्राचारको आरोप लगाएपछि एमाले सांसदहरूले रोष्टम घेरेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि बैठक रोकेका थिए ।
त्यसपछि संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न पार्टीका संसदीय दलका नेताहरूसँग सभामुखले संवाद थाले पनि बैठक सञ्चालनको विषयमा सहमति जुट्न सकेन । सभामुखले अपराह्न ३ बजेका लागि अर्को बैठक बोलाए पनि एमाले र सरकारले राखेको अडानका कारण बैठक अघि बढ्न नसकेको हो ।
जलहरी सुन वा पित्तल हो, सरकारले प्रस्ट नपारी संसद् बैठक अघि बढ्दैन : सचेतक बर्तौला
सभामुखले राखेको बैठकमा एमालेले आफ्नो अडान कायम राखेको छ भने सरकार पनि एमालेले माग स्वीकार्ने पक्षमा देखिएको छैन ।
एमाले सचेतक महेश बर्तौलाले प्रतिनिधिसभाको बैठक राख्ने कुरा सरकारको हातमा रहेको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘हामीले के भनेका छौँ भने जलहरी सुनको हो कि पित्तलको हो भनिदिनुपर्छ । पशुपतिनाथको मन्दिरमा राखिएको जलहरी पनि के को हो भन्न नसक्ने सरकार यो भन्दा बढी नालायक के हुन सक्छ ? प्रतिपक्षी दलका नेताप्रति उहाँले जे आरोपित गर्न खोज्नुभयो अपमानजनक रूपमा । त्यो बेठीक हो भनेर उहाँहरूले भन्ने बित्तिकै बैठक चलिहाल्छ तर उहाँहरू त्यो तयारीमा हुनुहुन्न ।’
प्रमुख सचेतक बर्तौलाले यसबारेमा सरकारका मन्त्री, सत्ता पक्ष दलका सचेतकहरूसँग पटक पटक छलफल भए पनि सहमति हुन नसकेको बताए । प्रधानमन्त्री वा तालुकदार संस्कृति तथा पर्यटन मन्त्रालय, पशुपति क्षेत्र विकास कोषको रेकर्डमा पशुपतिको जलहरी फलामको छ कि, पित्तलको छ कि सुनको छ कि के छ त्यो सदनमा भन्नुपर्ने उनले बताए ।
बर्तौलाले भने– ‘त्यहाँ भ्रष्ट्राचार, अनियमितता भएको छ भने अख्तियारले अनुसन्धान गरोस्, छानबिन गरियोस्, प्रचलित कानुन बमोजिम दोषी ठहरिएमा कारबाही पनि गरियोस् त्यसमा हामीलाई आपत्ति छैन । तर पशुपतिमा राखिएको जलहरी सरकारको रेकर्डमा के छ ? सुनको हो कि पित्तलको ? त्यसका लागि राज्यको लगानी ३९ करोड लगानी भएको छ, पशुपति क्षेत्र विकास कोषको ३० करोड लगानी परेको छ, ४ करोड हाराहारी दाताहरूबाट आएको छ । १ सय २५ करोडभन्दा माथि हिन्दु धर्मावलम्बीहरूमाथि अनास्था राख्ने गरी जे कुरा राख्नुभएको छ यो सामान्य कुरा हैन ।’
यसबारेमा कुरा उठाउने सांसद प्रधानमन्त्रीको दलको भएकोले सरकारले यसबारेमा स्पष्ट जवाफ दिनुपर्ने आफ्नो मान्यता रहेको सचेतक बर्तौलाले बताए । प्रतिनिधिसभा बैठकको कामकारबाही अघि बढाउन सभामुख घिमिरेले पहल गरिरहे पनि सत्तापक्ष र प्रतिपक्षी दलबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको अर्को बैठक राख्ने समय अनिश्चित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रिमियर लिग खेल्न आइपुगे वाल्टन
-
एमाले महासचिव पोखरेल र भियतनाम कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलबिच भेटवार्ता
-
धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुँदै
-
प्रधानमन्त्री ओली अभिव्यक्तिप्रति चिनियाँ राजदूतको असन्तुष्टि
-
सुदूरपश्चिम रोयल्स र सूर्य प्लाईबिच सम्झौता
-
राष्ट्रपतिलाई उपराष्ट्रपतिले धम्की दिएपछि...