चेल्सीलाई हराउँदै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा

काठमाडौं । म्यानचेस्टर युनाइटेडले आगामी सिजनको युरोपियन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । इङ्लिस प्रिमियर लिगको बिहीबार राति खेलिएको खेलमा चेल्सीलाई ४—१ गोलले हराउँदै म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा स्थान बनाएको हो ।
इङ्लिस प्रिमियर लिगबाट च्याम्पियन्स लिगमा सहभागिता जनाउने ४ वटै टोलीको टुंगो लागेको छ । प्रिमियर लिगको उपाधि जितिसकेको म्यानचेस्टर सिटी, दोस्रो स्थानमा आसिन आर्सनल, तेस्रो स्थानमा आसिन म्यानचेस्टर युनाइटेड र चौथो स्थानमा आसिन न्युक्यासल च्याम्पियन्स लिगमा छनोट भएका हुन् ।
जारी सिजनको प्रिमियर लिगमा अब सबै टोलीले १÷१ खेल खेल्न बाँकी छ । म्यानचेस्टर सिटीको ८९, आर्सनलको ८१, म्यानचेस्टर युनाइटेडको ७२ र न्यूक्यासलको ७० अंक छ । तालिकाको पाँचौं स्थानमा आसिन लिभरपुलको ६६ अंक छ ।
प्रिमियर लिगबाट च्याम्पियन्स लिगमा ४ वटा टोली छनोट हुने प्रावधान छ । लिभरपुल र तालिकाको छैटौं स्थानमा आसिन ब्राइटन भने आगामी सिजनको युरोपा लिगको समूहगत चरणका लागि छनोट भएका छन् ।
घरेलु मैदानमा बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडका लागि कासेमिरो, एन्थोनी मार्सल, ब्रुनो फर्नान्डेज र मार्कुस रासफोर्डले १÷१ गोल गरेका थिए । चेल्सीका लागि भने एकमात्र गोल खेलको अन्त्यतिर फेलिक्सले गरेका थिए ।