शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्वार्ता : मेरो दाबी महासचिवमा हो : आरती लामा

आइतबार, २७ फागुन २०७४, ११ : ४४
आइतबार, २७ फागुन २०७४

नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको छ । पार्टी एकतासँगै यिनका भातृ सङ्गठनहरू पनि एकता प्रक्रियामा सामेल हुने छन् । पछिल्लो समयमा अखिलको अध्यक्ष नविना लामा सङ्घीय संसदमा समानुपातिकमा सांसद भएपछि अध्यक्ष पद रिक्त हुने भएकाले अहिले अखिलमा अध्यक्ष हुनका लागि फेसबुक अभियान नै चलेको छ । सचिव आरती लामासँग समसामयिक विषयमा गरिएको सङ्क्षिप्त कुराकानी :
 

अखिलमा अहिले उठेको पुनर्गठनको कुरा के हो ?
अहिले उठेको पुनर्गठनको कुरा सङ्गठनको पुनर्गठन गर्ने भनेको हो । सङ्गठनको अध्यक्ष नविना लामा सङ्घीय सांसदमा समानुपातिकबाट सांसद बन्नुभयो । अब सङ्गठनको पुनः गठन गर्नुपर्छ । यो अध्यक्षमा मात्र सीमिति रहँदैन, अन्य पदमा पनि हुन्छ । त्यही भएर पुनः गठन भनिएको हो । 

पुनर्गठन सङ्गठन र पार्टीले गर्ने होला होइन् र ? तर तपाईंको सङ्गठनका जिम्मेवार नेताहरूले स्वघोषित रूपमा आफूलाई अध्यक्ष र संयोज भन्दै सामाजिक सञ्जालमा अभियान चलाएको देखियो नि ?
हो, हामी एक कम्युनिस्ट पार्टीका सदस्य हौँ । कम्युनिस्ट पार्टीको भगिनी सङ्गठनका सदस्य हाँै । यसकारण सङ्गठनको पुनर्गठन पनि सङ्गठनको विधि, विधान र पद्धति अनुसार नै हुन्छ । 
अर्को तर प्रमुख कुरा भनेको हामी आपूmलाई कम्युनिस्ट पार्टीका सदस्य हौँ भन्ने तर व्यवहार भने अहिलेको उपभोक्तावादको गर्ने । यो अखिलको विधि विधान र पद्धतिमा नभएको काम भइरहेको छ । जुन दुखद् हो । आफैलाई म यो पदको भन्दै सामाजिक सञ्जालमा अभियान चलाउनु ठीक होइन । सङ्गठनमा बहस छलफल चलाउनु ठीक हो । 

हाम्रो सङ्गठनको अध्यक्ष नै गरिमामय संसदको सदस्य हुनुभएको छ । यो हाम्रो लागि गौरवको विषय हो । हाम्रो सङ्गठनको अध्यक्ष नै सांसद हुँदा यस सङ्गठनको मर्यादा ओज अझै बढेको छ । यो गरिमा ओजलाई बचाउनु थप चुनौती थपिएको छ । तर हाम्रो सङ्गठनका जिम्मेवार साथीहरू नै आफूलाई स्वघोषित रूपमा  सामाजिक सञ्जालमा पद बाँढेर अभियान चलाइरहेको देख्दा हामी कतातिर जाँदै छौँ भन्ने लाग्न थालेको छ । के हामी साँच्चै अखिलको नेता तथा कार्यकर्ता नै हौँ कि उपभोक्तावादका अनुयायी ? 

पार्टी एकताको घोणापछि अनेरास्ववियुुुभित्र पनि नेतृत्व परिवर्तन गर्ने अनि मात्र  एकतामा जाने प्रसङ्ग उठेको हो  ?
एकदमै स्वाभाविक रूपमा नेतृत्व परिवर्तनको कुरा उठेको छ । मेरो विचारमा एकता प्रक्रियामा जानुअघि अखिलमा नयाँ नेतृत्व आउनुपर्छ । किनकि हाम्रो महाधिवेशन सम्पन्न भएको २ वर्ष पूरा भइसकेको छ । यसको नियमित अधिवेशन भएर नयाँ नेतृत्व आउनुपर्ने समय पनि बितिसकेको छ । अर्को कुरा पार्टी एकता तीव्र रूपमा अगाडि बढिरहेकाले अब महाधिवेशन गरेर नेतृत्व चयन गर्ने परिस्थिति छैन । त्यस अर्थमा आम कार्यकर्ता पङ्क्तिको मनोविज्ञान बुझेर नेतृत्व परिवर्तन मात्र हैन, सङ्गठनको हरेक तहमा रहेका कार्यकर्ताको उचित व्यवस्थापन गरेर मात्र एकतामा जानुपर्छ । एकताअघि नयाँ नेतृत्व आवश्यक छ । 
    
    अहिले अखिलमा उपाध्यक्षहरू मात्रै होइन, सचिवहरू पनि संयोजक बन्ने भनेर मिडियाबाजीमा उत्रिरहेको देखिन्छन् नि ?
मैले माथि नै भनिसकेँ, हामी एक जिम्मेवार, विचार भएको र समाज परिवर्तन गर्ने अभियानमा लागेको सङ्गठनका सदस्य हौँ । यसको गरिमाको ओज महत्व बुझ्न सकेन भने हुने यस्तै हो । जुन भइरहेको छ । 
तपाईंले किन सामाजिक सञ्जालमा म फलानो पद भन्दै अभियान नचलाएको त ?
म अहिले सङ्गठनको सचिव हुँ । मैले के गर्ने, के नगर्ने थाह छ । सामाजिक सञ्जालले कसैलाई पद दिने होइन । सङ्गठनको विधि विधान छ । हुने पनि त्यही अनुसार हो ।  नेताको योग्यता क्षमता अनुसार जिम्मेवारी दिने कुरा हो । यसका लागि मेरो मूल्याङ्कन सङ्गठन र पार्टीले गर्ने हो । 

जहाँसम्म मेरो पदमा दाबीको कुरा छ, मैले अध्यक्षमा दाबी गर्न नैतिक रूपमा दिँदैन भन्ने लाग्छ । तथापि अहिले अध्यक्षकै दाबी गरिरहेकाहरू सँगसँगै म अखिलको केन्द्रीय कमिटीमा प्रवेश गरेकाले एकाध व्यक्तिबाहेक अरूभन्दा जुनियर पनि होइन । अहिलेका केहीँ उपाध्यक्षहरू बाहेक सबै साथीहरू रामकुमारी झाँक्री अखिलको अध्यक्ष हुँदासँगै केन्द्रीय कमिटीमा आएका थियौँ । त्यसकारण प्रष्ट भन्नुपर्दा म महासचिवको स्वभाविक दाबेदार हुँ ।

भनेपछि महासचिव हुने लाइनमा हुनु हुन्छ ?
मेरो दाबी छ । जुन स्वभाविक छ । तपाईंले सोध्नुभएकाले मेरा सङ्गठनमा रहने दाबी बारे भनेकी हुँ । तर सामाजिक सञ्जालमा अभियान चलाउदिनँ ।
बनाउने त सङ्गठनको विधि र विधानले हो । मेरो मूल्याङ्कन सङ्गठनले नेतृत्वले गर्ने हो । मैले सङ्गठनका लागि गरेको काम, मेरो क्षमताको आधारमा नेतृत्व दिने कुरा हो । हो, आफूले कुन ठाउँमा दाबी गर्ने भन्ने पनि यही आधारमा हो । मैले पनि स्वभाविक रूपमा महासचिवको दाबी गरेकी हुँ । 

पार्टी एकता हुँदा तपाईंको सङ्गठन पनि एकता हुन्छ, यही तरिकाले एकीकृत सङ्गठन चल्ला त ?
चल्दैन । हामीले त विचारमा बहस गर्ने भन्छौँ । विचारबिनाको कुनै पनि सङ्गठन चल्दैन । विधान विधिमा हो सङ्गठन चल्ने । यो कुरा मानेन भने ती आफै पछाडि पर्छन् । एकीकृत सङ्गठन भनेको अब नयाँ तरिकाले बन्ने हो । यो सम्पूर्ण विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने सङ्गठन हो । यो समाजवादको सहयात्री सङ्गठन पनि हो । यसकारण यो सङ्गठनले आफूलाई अबको समय अनुसार बनाउनुपर्छ । 

भनेपछि अहिलेसम्म अखिल समयअनुसार चलेको छैन ?
छ, भएर नै त हिजो सामन्तवादका विरुद्ध लडेको हो । यो सङ्गठन नेपालमा भएका सबै राजनीतिक परिवर्तनको बाहक नै बनेको छ । प्रजातन्त्रका लागि लडेको हो । गणतन्त्रका लागि लडेको हो । अब देश समृद्धि र समाजवादको यात्रामा जाँदा आफूलाई यसको बाहक बनाउनु पर्छ । अझै आफूलाई परिष्कृत गरेर जानुपर्छ । यो गर्न अखिल सक्षम छ । 

अन्त्यमा केही भन्नु छ ?
अखिल यो देशको परिवर्तन बाहक सङ्गठन हो । अनुशासित सङ्गठन हो । विचारमा चल्ने सङ्गठन हो । यसको यो गरिमा र ओजलाई सबै अखिलका नेता कार्यकर्ताहरूले बचाऔँ । यही हो मेरो भन्नु । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप