मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका ‘टप टेन’ समाचार

बिहीबार, ११ जेठ २०८०, २० : ५०
बिहीबार, ११ जेठ २०८०

आज मिति २०८० साल जेठ महिनाको ११ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

१. शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरणको बयान र थुनछेकमै कम्तीमा दुई साता लाग्ने भएको छ । चारवटा छुट्टाछुट्टै मुद्दा र ३० जना प्रतिवादी भएको कारण थुनछेक प्रयोजनकै लागि कम्तीमा दुई साता लाग्ने भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सह न्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहस सकिनै करिब दुई साता लाग्नेछ ।

थुनछेकका क्रममा ५ देखि ७ जना सरकारी वकिल र प्रतिवादीका तर्फबाट करिब ५० जना अधिवक्ताहरूले बहस गर्ने अनुमान गरिएको छ । यो सबै प्रक्रिया पूरा हुन करिब दुई साता लाग्ने सहन्यायाधिवक्ता नेउपानेले रातोपाटीलाई बताए ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएकाहरुको बारेमा थप अनुसन्धान भइरहेको बताएका छन् ।

२. भोटो जात्रा

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा बिहीबार ललितपुरको जावलाखेलमा सम्पन्न भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विशिष्ट व्यक्ति तथा सर्वसाधारणको उपस्थितिमा बिहीबार अपरान्ह रातो मत्स्येन्द्रनाथको भोटो देखाइएको हो । ललितपुरको जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो गुठी संस्थान, ललितपुर कार्यालयका प्रतिनिधिले देखाउने चलन छ ।

३. वैदेशिक रोजगारीमा बढ्दो ठगी

वैदेशिक रोजगारीमा जाने नेपालीहरू ठगिने क्रममा दिनप्रतिदिन बढिरहेको छ । चालु आर्थिक वर्ष १० महिनामा मात्र ७५ करोड भन्दा बढीको ठगी गरेको पाइएको छ ।

 वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गैर कानुनी रूपमा बिचौलिया तथा दलालहरूले बिचौलिया र एजेन्टहरूले ७५ करोड ७७ लाख भन्दा बढीको ठगी गरेको पाइएको हो । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा ठगीमा परेको भन्दै ९२५ उजुरी विभागमा परेका छन् ।

४. रेशम रिहाइको तयारी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको सजाय माफीका लागि राष्ट्रपति कार्यालयमा फाइन पुगेको छ ।

२०७२ भदौमा कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी भइरहेको हो ।

त्यसका लागि बुधबार राष्ट्रपति कार्यालयको कानुन शाखामा चौधरीको सजाय माफी सम्बन्धी २० वटा फाइल पुगेको राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले रातोपाटीलाई बताए ।

५. भारतीय विदेशमन्त्री र नेपाली राजदूतबीच भेट

भारतीय विदेशमन्त्री एस जयशंकर र भारतका लागि नेपाली राजदूत डा शंकर शर्माबीच भेटवार्ता भएको छ । शर्मा विदेशमन्त्री जयशंकरलाई भेट्न बिहीबार बिहान पुगेका थिए ।

सो क्रममा दुई देशबीचको गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन् । आगामी दिनमा यसलाई थप विस्तार गर्न दुबै पक्ष सकारात्मक बनेका छन् ।

६. रवि लामिछानेको आक्रोश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मुद्दा हालेर इरिटेट गर्ने काम भएको बताएका छन् । सर्वोच्च अदालतले बुधवार लामिछानेविरुद्ध मुद्दा दर्ता गरेपछि बिहीबार बिहान उनले सामाजिक सञ्जालबाट मुद्दा हाल्नु  र मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको बताएका हुन् ।

 ‘मुद्दा हाल्नु  र मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ,’ उनले भने ।

७. कर्णालीको प्राथमिकता

कर्णालीको आर्थिक वर्ष २०८०–०८१ को बजेटका प्राथमिकता, नीति र सिद्धान्त प्रस्तुत गरिएको छ । अर्थमन्त्री बेदराज सिंहले बजेट अधिवेशनको दोस्रो बैठकमा प्राथमिकता र सिद्धान्त प्रस्तुत गरेका हुन् । कर्णालीको गरिबी, भोकमरीलाई अन्त्य गर्दै समृद्ध कर्णाली सुखारी कर्णालीबासीको दिर्घकालीन लक्ष्यलाई संगाल्दै आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने छ ।

८. मेलम्ची पुर्ननिर्माण

२०७८ असार पहिलो साता अकस्मात् आएको बाढीले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणमा विनियोजन गरेको बजेटको न्यून खर्च भएको पाइएको छ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले गरेको स्थलगत अनुगमनबाट पुनर्निर्माणमा छुट्याइएको कुल बजेटको १५ प्रतिशत मात्रै खर्च भएको पाइएको हो ।

९. बजेट तयारी

संवैधानिक व्यवस्था अनुसार आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट जेठ १५ मा घोषणा हुँदै छ। जसअनुसार अर्थमन्त्री डा प्रकाश शरण महतले बढीमा १७ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेका छन् । चालु आर्थिक वर्षको बजेट खर्च, राजस्वमा आएको सङ्कुचनसँगै घटेको खर्च क्षमतालाई ख्याल गर्दै सरकारले बजेट ल्याउन लागेको हो ।

१०. यो पनि...

नेकपा माओवादी केन्द्रले ज्येष्ठ कम्युनिस्ट मञ्चदेखि विदेशबाट फर्किएका युवासम्मलाई सक्रिय बनाउने भएको छ । माओवादीको केन्द्रीय सल्लाहकार समितिको बैठकले ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय सल्लाहकार समिति र विदेशबाट फर्किएका युवालाई सङ्गठित गरेर सक्रिय बनाउने निर्णय गरेको हो ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता डा। मुकुल ढकालले पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानीको मुद्दा हाल्ने बताएका छन्। रास्वपा प्रवक्ता ढकाल र उपसभापति डीपी अर्यालले झन्डै ३ करोड रुपैयाँ लिएर आफूलाई समानुपातिक सांसद बनाएको श्रेष्ठले आरोप लगाएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त एवं जलस्रोतविद् सूर्यनाथ उपाध्यायले नेपाल भारतका बीचमा भएको सन् १९५० को सन्धि खारेज नगरे पनि नेपालले धेरै काम गर्न सकिने अवस्था रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभा अन्तर्गत रहेको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले देशको प्राथमिकता र आवश्यकताका आधारमा काम गर्न सन्धिले बाधा नपार्ने उल्लेख गरे ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समिति विस्तार रोकिएको छ । माउ पार्टी कांग्रेसका नेताहरुले वैशाख अन्तिम साता नेविसंघलाई पूर्णता दिइने तयारी थालेका पनि थिए  ।

रौतहटमा एक स्थानीय तहका हाकिमको किर्ते हस्ताक्षर गरी पेस्की फछ्र्यौट गराउन खोज्ने एक जना कर्मचारी पक्राउ परेका छन् ।

गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूदेव झाको किर्ते हस्ताक्षर गरी पेस्की फछ्र्यौट गर्न खोज्ने कर्मचारी राम नारायण सहनी पक्राउ परेका हुन् ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप