बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सुजित र डिना उत्कृष्ट खेलाडी

बुधबार, १० जेठ २०८०, २० : ५२
बुधबार, १० जेठ २०८०

काठमाडौँ । मकवानपुरकी डिना गोपाली र काठमाडौँका सहनचन्द्र शाहले बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा स्वर्ण पदक जितेका छन् । हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा बुधबार सम्पन्न एथलेटिक्समा १ सय मिटर दौडमा महिलातर्फ डिनाले र पुरुषतर्फ सहनचन्द्रले स्वर्ण जितेका हुन् ।

निर्धारित दूरी पार गर्न सहनचन्द्रले ११.८६ सेकेन्ड र डिनाले १४.१९ सेकेन्ड समय लगाए । पुरुषमा चितवनका आशिष राउत र मकवानपुरका गौरव मोक्तानले क्रमशः रजत र कांस्य पदक जिते । महिलामा भने भक्तपुरकी स्वागता खाइजुले रजत र चितवनकी रोजिना गुरुङले कांस्य पदक जिते ।

यसैगरी १० हजार मिटर दौडमा महिलातर्पm सिन्धुपाल्चोककी निनु तामाङले स्वर्ण जितिन् । उनले ४७.१ मिनेट समय निकालिन् । दोलाखाकी सोनु घोतानेले रजत र धादिङकी लक्ष्मी थापाले कांस्य पदक प्राप्त गरे । सोही विधाको पुरुषमा सिन्धुपाल्चोककी मिङ्मार सिङ्गीले ३६ मिनेट दुई सेकेन्डका साथ स्वर्ण जिते । काठमाडौँका धर्म महर्जन र पवनकुमार साह क्रमशः रजत र कांस्य पदक जित्न सफल भए ।

महिला ४ सय मिटर दौडमा रामेछापकी भगवती खड्काले स्वर्ण जितिन् । उनले एक मिनेट ९ सेकेन्डमा दूरी पूरा गरिन् । ललितपुरकी रजिना दुलालले रजत र नुवाकोटकी आस्था राईले कांस्य पदक जिते । सोही विधाको पुरुषमा चितवनका अमृत बोटले ५४.१३ सेकेन्डका साथ स्वर्ण पदक प्राप्त गरे । काभ्रेका प्रदीप माझीले रजत र सिन्धुलीका कर्णवीर अधिकारीले कांस्य पदक जिते ।

४ गुणा ४ सय मिटर रिलेमा महिलातर्फ भक्तपुर, चितवन र दोलखा क्रमशः शीर्ष तीन स्थानमा रह्यो । पुरुषमा सिन्धुलीले स्वर्ण जित्यो भने चितवन र मकवानपुरले क्रमशः रजत र कांस्य जिते । पुरुष ट्रिपल जम्पमा चितवनका सुजित महतोले स्वर्ण जिते । उनले १३.१९ मिटरको प्रदर्शन गरे । चितवनकै सुदीप महतोले रजत र सिन्धुलीका रोशनकुमार दनुवारले कांस्य पदक पाए ।

सोही स्पर्धाको महिलामा चितवनकी आसिका गुरुङले ९.६७ मिटरको प्रदर्शनसहित स्वर्ण प्राप्त गरिन् । काभ्रेकी विजया गुरुङले रजत र प्रनिशा महतोले कांस्य पदक जिते । ज्याभलिन थ्रोको महिलामा चितवनकी अप्सरा श्रेष्ठले ३०.५० मिटरको प्रदर्शनसहित स्वर्ण जितिन् । रामेछापकी अनिता आले रजत र चितवनकी दिना सुनार कांस्य पदक जित्न सफल भए ।

सोही स्पर्धाको पुरुषतर्फ पनि चितवनकै दीपेश महतोले सफलता पाए । उनले ४९.४० मिटरको प्रदर्शनसहित स्वर्ण पदक जिते । मकवानपुरका सुमन योञ्जनले रजत र नुवाकोटका रूपेश राईले कांस्य पदक जिते । पुरुषतर्फ चितवनका सुजित महतो र महिलातर्फ मकवानपुरकी डिना गोपाली उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगितामा सुजितले ३ स्वर्ण र १ रजत पदक जिते । डिनाले २  स्वर्ण र १ रजत जितिन् । प्रतियोगितामा चितवन १३ स्वर्ण, ७ रजत र ९ कांस्यसहित टिम च्याम्पियन बन्यो । दोस्रो भएको सिन्धुपाल्चोकले ५ स्वर्ण, १ रजत र १ कांस्य जित्यो । रामेछाप र मकवानपुर संयुक्त रूपमा तेस्रो भए । दुवैले समान ३ स्वर्ण, ३ रजक र २ कांस्य पदक जिते ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप