केपी ओली र चन्द्र भण्डारीको भेट–‘मैले आमा बितेको २ महिनापछि मात्रै थाहा पाएँ’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सांसद चन्द्र भण्डारीलाई भेटेर स्वास्थ्यलाभ भएकोमा खुसी प्रकट गरेका छन् ।
बुधबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएर सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेका सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष ओली पुगेका थिए ।
भेटमा भण्डारीले ओलीलाई भने,‘मेरो बारेमा तपाईँले भन्नुभएको सुनेँ, गुल्मीमा पनि बोल्नुभएको सुनेँ । गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गर्नुभयो । थ्याङ्क यू सो मच ।’
ओलीसँगको कुराकानीमा उनले स्वास्थ्य लाभ भइरहेको र आमा बितेको दुई महिनापछि मात्रै थाहा पाएको सुनाएका थिए ।
सो भेटमा एमाले अध्यक्ष ओलीले भने, ‘तपाईँ फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो । निको भएर आएपछि भेट भयो । खुसी लागेको छ ।’
सांसद भण्डारीले नेपालमा जलन अस्पताल आवश्यक रहेको बताउँदै तत्कालै काम सुरु गर्न ध्यानाकर्षण गरेको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जनाएका छन् ।
सभामुख घिमिरेले एक साताअघि निवासमै गएर भण्डारीसँग भेट गरेका थिए । सभामुखले भण्डारीको इच्छाअनुसार नीति तथा कार्यक्रममा बोल्न विशेष व्यवस्था मिलाएका थिए ।
ओली र भण्डारीको साथमा रहेका सभामुख घिमिरेले भने,‘जलनबाट घाइते हुनुभएका माननीय चन्द्र भण्डारीलाई भेट्न एक साताअघि उहाँ आराम गरिरहनुभएको निवास पुगेको थिएँ । माननीयज्यूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा हुने इच्छा राख्नुभएको थियो । उहाँको इच्छाअनुसार संसद् सचिवालयलाई बोल्न विशेष व्यवस्था मिलाउन निर्देशन दिएको थिएँ । आज माननीयज्यूले सदनमै आएर सम्बोधन गर्नुभएको छ । उहाँलाई सम्बोधनपछि कार्यकक्षमा नै स्वागत गर्ने र पुनः स्वास्थ्यलाभको कामना गर्ने अवसर पाइयो । पुनः माननीयज्यूको स्वास्थ्य लाभको कामना गर्दछु ।’
गत पुस ३ गते सांसद भण्डारी आफ्नै घरमा ग्याँस लिकबाट भएको आगलागीमा परेका थिए भने सोही घटनामा परेर आमा गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री रोजगार कार्यक्रमः स्थानीय तहबाट निवेदन माग
-
राष्ट्रियसभाबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश’ स्वीकृत
-
रुसले गरेको आक्रमणमा चारको मृत्यु, अमेरिकी र बेलायती स्वयंसेवक भाग्यले बाँचे
-
संसद्मा ऊर्जामन्त्रीले भने– ‘कुलमान कानुनभन्दा माथि हो भने संसद्ले भनिदिनुपर्यो ’
-
कालिज पालनमा कामयाब गौरवको सङ्कल्प : कृषिसँग होमस्टे जोड्न चाहन्छु
-
टम ब्रुसले बनाए न्युजिल्यान्डको क्रिकेट इतिहासमा तेस्रो ठुलो एकल स्कोर