धारापानीमा पर्यटकीय चहलपहल बढ्यो
बर्दिया । बर्दियाको राजापुर नगरपालिका–३ की बिन्दु चौधरी दाङको घोराही–५ धारापानीमा भेटिइन् । बिदाको सदुपयोग गर्दै उनी यहाँ घुम्न आएकी हुन् । चौधरीले भनिन्, “धारापानी साह्रै राम्रो ठाउँ रहेछ, यहाँ आएर मन आनन्दित भयो ।”
यस्तै तुलसीपुर–६ का यमलाल भण्डारी पनि साथीसँग धारापानी घुम्न आएका थिए । गर्मीमा शीतलता पाउने आशले उनी यहाँ आएका हुन्। पछिल्लो समय दाङको धारापानी आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
पाण्डवेश्वर महादेवधाम, धारापानी पर्यटकीय एवं धार्मिक क्षेत्र जोड्ने पुल निर्माण भएसँगै पर्यटकलाई सहज भएको छ । “बिदाको दिन परिवार र साथीभाइका साथ घुम्न आउनेको सङ्ख्या धेरै रहेको छ”, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले भने । दसैँ, तिहार, बिदाको समय र गर्मीमा शीतलताका लागि घुम्न आउनेको सङ्ख्या बढी छ । पूरै स्थल घुम्न लगभग एक घण्टा लाग्छ । प्राकृतिक मनमोहक स्थान भएकाले धारापानी सबैको रोजाइमा पर्न थालेको छ ।
“यातायातको सुविधा र घोराही बजारको नजिकै भएका कारण पनि पर्यटक यहाँ आउन थालेका छन्”, अधिकारीले भने । शिवरात्रि र साउनको सोमबार भक्तजनको घुइँचो नै लाग्छ । दैनिक पाँच सयभन्दा बढी आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । नजिकै सरयू गङ्गा बबई नदी र वरपर हरियाली वातावरण छ । धारापानीमा ५५ दशमलव पाँच फिट उचाइको पञ्चधातु मिश्रित त्रिशूल निर्माण गरिएको छ । अन्य जिल्लाबाट पनि यहाँ घुम्न आउने गरेका छन् । यहाँ एक सय आठ शिवलिङ्ग, एक सय आठ वरपिपल जोडी, एक सय आठ समीका वृक्ष, एक सय आठ तुलसीका मठ, ॐकार कुण्ड, पाण्डव शयनशिला र विभिन्न देवी–देवताका मन्दिर यहाँ रहेका छन् । दाङ उपत्यकाको अवलोकन धारापानीबाट गर्न सकिन्छ ।
पाण्डवेश्वरधाम धारापानीको पर्यटन विकासका लागि विभिन्न पूर्वाधार निर्माण गर्न गुरुयोजना तयार भएको छ । गुरुयोजनाअनुसार हाल धामबाट करिब दुई किलोमिटर दक्षिणतर्फको डाँडामाथि सुनकोटडाँडासम्म सिँढी र मन्दिर निर्माण गर्न लागिएको अध्यक्ष अधिकारीले जानकारी दिए । बृहत् गुरुयोजनामा धारापानी वरपरको वनक्षेत्र संरक्षण गर्ने, मन्दिरको उत्तरतर्फ करिब चार बिघा क्षेत्रफलमा नौका शयरका लागि ताल बनाउने, सुनकोटडाँडामा ३१ क्विन्टलको घण्ट निर्माण गर्ने योजना छ । सुनकोटमा षड्केश्वरी भगवती मन्दिर पुनःनिर्माण गर्न थालिएको छ ।
धारापानीमा पञ्चधातुमिश्रित त्रिशूल निर्माण भएपछि पर्यटक बढीजसो आकर्षित भएका हुन् । पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिले भग्नावशेष अवस्थामा रहेको मन्दिरको संरक्षण गरेको छ । सुनकोटबाट दाङ उपत्यका, देउखुरीलगायत ठाउँ तथा हिमशृङ्खलासमेत स्पष्ट देख्न सकिन्छ ।
पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्ने काम गुरुयोजनाअनुसार अगाडि बढेको धाम व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिए । सुनकोटस्थित भगवतीको मन्दिरसम्म चार हजार नौ सय ६३ सिँढी बनाउने काम आर्थिक अभावले ओझेलमा परेको छ । पाण्डवेश्वर मन्दिरभन्दा उत्तरतर्फको बबई नदीको छेउमा जलाशय बनाइएको छ । घोराही बजारबाट सो स्थान नौ किलोमिटर टाढा पर्छ । “आर्थिक अभावले गुरुयोजना अनुसारका काम अघि बढ्न सकेका छैनन्”, उनले भने । चुरे पहाडको फेदीमा अवस्थित धारापानी समुद्री सतहबाट छ सय ३३ मिटर उचाइमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’