आज २०८० जेठ ९ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
जानीबुझी रचिएको राज्यसंरक्षित अपराध
शरणार्थीहरुको लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले ३१ डिसेम्बर, २०१६ मै शरणार्थीहरुको सुरक्षित पुनर्वास कार्यक्रम समाप्त भएको जानकारी नेपाल सरकारलाई गराएको थियो । कार्यक्रम नै बन्द भइसकेको जान्दाजान्दै पनि गिरोहको साँठगाँठमा गृह मन्त्रालयका उच्च अधिकारीले पुनः भुटानी शरणार्थीहरुलाई तेस्रो मुलुकमा पुनर्वास गराउन सकिन्छ कि भनेर अध्ययन गर्न समिति बनाएको देखिन्छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अधिकार प्राप्त सरकारी अधिकारीसामु अधिकांश प्रतिवादीले इन्कारी बायन दिएका छन् ।
कांग्रेसको कम्ब्याक
नेपाली कांग्रेसले केन्द्र र ६ वटा प्रदेश गरी सात ठाउँमा सत्तामा ‘कम्ब्याक’ गरेको छ । गत वर्ष सम्पन्न स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट पहिलो दल बनेको कांग्रेसमाथि कोशी प्रदेशबाहेकको कार्यभार थपिएको छ ।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबाट ७५२ वटा पालिकामध्ये ३२९ पालिकामा कांग्रेसको नेतृत्व छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १० मा तत्कालीन पाँच दलीय गठबन्धनको साथ छाडेपछि कांग्रेस सत्ताविमुख भएको थियो ।
मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद्को बैठकले विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १२० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले विद्यालय शिक्षा क्षेत्र आयोजनका लागि शिक्षाका लागि विश्वव्यापी साझेदारी कार्यक्रमबाट प्राप्त हुने १९ दशमलव ७० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने समेत निर्णय लिएको सरकारका प्रवक्ता मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।
राष्ट्रिय सभामा प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रम गफको पुलिन्दा नभएको स्पष्ट पारेका छन् । मंगलबार संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा उठेका नीति तथा कार्यक्रममाथिको सवालमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् । मूलतः नीति तथा कार्यक्रम आर्थिक वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित भएको भन्दै शङ्का गर्नुपर्ने ठाउँ नभएको उनले बताए ।
यसबीच, आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रम संघीय संसद्को राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा बहुमतले सरकारको नीति तथा कार्यक्रम पास गरेको हो ।
विवादका बीच तीन जना मन्त्रीले लिए शपथ
जसपा नेतृत्वको मधेस प्रदेश मन्त्रिपरिषद् विस्तार भएको छ । माओवादी केन्द्रसहितका दलको असन्तुष्टिका बीच मुख्यमन्त्री सरोज यादवले नेपाली कांग्रेसका दुई र नेकपा एकीकृत समाजवादीका एकजनालाई मन्त्री नियुक्त गर्दै प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
उपेन्द्र यादव जनमतलाई किनारा लगाउने रणनीतिमा देखिन्छन् । सोहीअनुसार मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी हुँदा जनमतका मन्त्रीको जिम्मेदवारी खोसेर विनाविभागीय बनाइएको छ ।
प्रचण्ड सरकारले पायो पूर्णता
प्रचण्डले फागुन १६ गते, चैत १७ गते, वैशाख ३ गते , २१ गते र २४ गते फेरि मन्त्रिपरिषद् विस्तार गरे । आज आएर फेरि जसपाबाट मन्त्री थप्दै प्रचण्डले २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
परराष्ट्रको अल्झन कहिलेसम्म ?
वैदेशिक रोजगारीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै सरकारले श्रम गन्तव्य मुलुकको खोजी थालेको छ । हाल नेपाली श्रमिक वैदेशिक रोजगारीमा जाँदै गरेको गल्फ मुलुकबाहेक अन्य मुलुकमा नेपाली कामदार पठाउने बारेमा सरकारले विकल्प खोज्न थालेको हो ।
चुचुरोमा कामीरिता
पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरेका छन् । आज विहान ९ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २८औँ पटक सगरमाथाको सफल आरोहण गरेका हुन्।
सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरको काठमाडौँमा भव्य स्वागत गरिएको छ । बुढामगरलाई पर्यटनमन्त्री सुदन किरातीले अभिनन्दन समेत गरेका छन् ।
पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप
नेपालमा प्रत्येक वर्ष करिब २३ सय महिलामा पाठेघरको क्यान्सर हुने गरेको छ । जसबाट १५ सय महिलाले ज्यान गुमाइरहेको विभिन्न आँकडाले देखाउँछ । उता, विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्य राखेको छ ।
संघीय सरकारको व्यवहारमा पनि हेपिएको कर्णाली
अब राष्ट्रिय खेलकुदको १०औँ संस्करण सुरु हुन करिब डेढ वर्षमात्र समय बाँकी छ । तयारीका हिसाबले राष्ट्रिय खेलकुदजस्तो वृहत् प्रतियोगिताका लागि यो समय निकै कम हो । देशभित्रको खेलकुदलाई चलायमान बनाउन र खेलाडी उत्पादनका दृष्टिले सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता मानिन्छ, वृहत् राष्ट्रिय खेलकुदलाई ।
प्रतिक्रिया