टोपबहादुर रायमाझीको बयान : छोरालाई हतकडी लगाएपछि मलाई पनि लगाउँछ भनेर भागेँ
काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीले आफ्नो छोरालाई पक्राउ गरी हतकडी लगाएको खबर सुनेकोले आफूलाई पनि पक्राउ गरी हतकडी लगाउँछन् भन्ने लागेर मन बिग्रिएको हुँदा केही अवधि सम्पर्क विहीन बनेको आफ्नो बयानमा बताएका छन् । रायमाझीले आफ्नो कदम रोकिएको मात्र तर आफै सम्पर्कमा आउने क्रममा रहेको पनि दाबी गरेका छन् ।
अधिकार प्राप्त सरकारी अधिकारी समक्षको बयानमा रायमाझीले सानु भण्डारीको घरबाट प्राप्त डायरीमा आफ्नो नाममा रकम दिएको भनिएको कुरामा कुनै सत्यता नरहेको बताएका छन् । उनले केशव दुलाल र सानु भण्डारीसँगको अफरमा ‘फ्रेस’ हुनका लागि मात्र हेलिकप्टरमा गोसाईंकुण्ड पुगेको जिकिर गरेका छन् ।
बयानमा रायमाझीले गृह मन्त्रालयमा इन्द्रजीत राईको कार्यकक्षमा राई, भण्डारी र दुलालबीच लेनदेनको विवाद भएको सुनेको स्वीकार गरेका छन् । कार्यकक्षबाट बाहिर आएपछि आफूले भण्डारी र दुलाललाई डुप्लिकेट काम त गरेको छैन भनेर उल्टै प्रश्न गरेको बताएका छन् ।
यस्तो छ रायमाझीको बायन :
केशवप्रसाद दुलालसँग सुजाता कोइरालाको घरमा जाने आउने क्रममा चिनजान भएको हो, प्रतिवादी सानु भण्डारी मेरो छिमेकी भएको हुँदा चिनजान भएको हो । टेक नारायण पाण्डे मेरो जिल्लावासी भएको र नेपाल सरकारको सचिव भएको हुँदा चिनजान भएको हो । ईन्द्रजीत राईसँग पार्टीको कामको सिलसिलामा चिनजान भएको हो । वालकृष्ण खाणलाई विद्यार्थी राजनीति गर्ने क्रममा चिनेको हुँ ।
भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी र दीर्घकालीन समाधानको उपायहरू पहिल्याउन बाल कृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन भएको सम्म जानकारी छ, सो बाहेक अन्य कुरा मलाई जानकारी भएन । मैले ईन्द्रजीत राईलाई चिनाई दिएको भन्ने कुरा सरासर गलत हो । ईन्द्रजीत राई र सानु भण्डारी बिचको लेनदेन विषयमा वहाँहरूले जान्ने कुरा हो, मलाई जानकारी छैन । निजले मलाई दिएको भनेको रकम बाट मैले कुनै रकम लिएको छैन, सन्दीप रायमाझीको खातामा जम्मा गरेको रकम सम्बन्धमा निजले नै स्पष्ट पार्ने छन् ।
सानु भण्डारीको घरबाट बरामद भई आएको डायरीमा मेरो नाम लेखि पटक पटक मलाई रकम दिएको भनी लेखिएको कुरामा सत्यता छैन, निजले के कुन प्रयोजनको लागी उक्त कुरा लेखेका हुन मलाई जानकारी भएन, सो रकम मैले लिएको छैन । मेरो छोरा सन्दीप रायमाझीसंग कम्पनीमा साझेदारीको कुरा सन्दीप रायामाझीले दिएको वयान बाट नै देखिन्छ । मलाई रकम दिएको भन्ने जति पनि विवरणहरू छन्, त्यसमा कुनै आधार र सत्यता छैन ।
निजले ठुलो रकमको चेक काटेर आफ्नै घरमा राखेको सवाल होस वा आफ्नो डायरीमा विभिन्न प्रकारका रकमहरु के–कुन प्रयोजनका लागी लेखेका हुन मलाई जानकारी भएन ।
केशव प्रसाद दुलाल र सानु भण्डारीले हामीहरूको भेटघाट नभएको धेरै समय भयो, व्यावसायिक साथीहरूले हेलीको व्यवस्था गरेका छन्, गोसाईंकुण्ड गई फ्रेस भएर आउनु पर्यो भनी मलाई प्रतिवादी केशव प्रसाद दुलालले आग्रह गरेको र मैले समय छैन भन्दा निजहरूले धेरै समय लाग्दैन जान आउन ३० मिनेट, १५ मिनेट घुम्न गरी जम्मा ४५ मिनेट मात्र हो भनेको हुँदा म निजहरूको कुरामा सहमत भई गोसाईंकुण्ड गई फोटो खिचाई फर्किएका हौँ ।
ईन्द्रजीत राईलाई मैले पहिलेदेखि चिनेका व्यक्ति हुन् । काम विशेषले गृह मन्त्रालय जाँदा मैले प्राय: इन्द्रजीत राईलाई नै बढी भेट्ने गरेको थिए । मिति २०७७।०९।१६ गते म आफ्नै काम विशेषले गृह मन्त्रालय गएको बखत स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजीत राईको कार्यकक्षमा छलफल हुँदा ठुलो स्वरमा आवाज आएको हुँदा म पनि निजको कार्य कक्षमा छिरे, त्यहाँ जाँदा इन्द्रजीत राई, सानु भण्डारी र केशव प्रसाद दुलाल बिच लेनदेन सम्बन्धी विवाद भएको सुनेको हुँ, कार्यकक्षबाट बाहिर आए पछि भण्डारी र केशव प्रसाद दुलाललाई डुप्लिकेट काम गरेका त छैनौ रु भनी सोध्दा निजहरूले हामी पूर्वका मानिस हौ, शरणार्थीका लागी पनि हामीले डुप्लिकेट काम गर्छौ होला भनी प्रति प्रश्न गरेका थिए । इन्द्रजीत राईलाई मैले परिचय गराई दिएको भन्ने कुरा सत्य होइन ।
बाँकी रहेका पीडित भुटानी शरणार्थीहरूको दीर्घकालीन समस्याको समाधान हुन् पर्दछ भन्ने मेरो धारणा रही आएको छ । गैह्र भुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यले नेपालको अन्तर्राष्ट्रिय छवि उपर अपमान हुन्छ भन्ने मलाई लाग्छ।