सञ्चारमन्त्रीलाई सम्पादकहरूको प्रश्न : यो गणतन्त्र ओलीको कि प्रचण्डको ?
काठमाडौँ । सरकारले यस वर्ष जेठ १४ देखि १६ गतेसम्म विविध कार्यक्रम गरेर गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ । यसैक्रममा गणतन्त्रलाई संस्थागत गर्न कार्यक्रमिक रूपमा के के गर्न सकिन्छ भन्ने विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मूलधारका सम्पादकहरुसंग बसेर छलफल गरेकी छन् । सोमबार बेलुका मन्त्री शर्मालाई मूलधारका सम्पादकहरूले यस्ता सुझाव दिए । सुझाव जस्ताको तस्तै:
गणतन्त्रलाई संस्थागत गर्न अहिले पनि छलफल हुनु आफैँमा डरलाग्दोः उमेश चौहान
प्रधान सम्पादक, कान्तिपुर राष्ट्रिय दैनिक
देशमा लोकतान्त्रिक गणतन्त्र आएको १५ वर्ष पुगेर १६ वर्ष लाग्दै छ । अझै गणतन्त्रलाई संस्थागत कसरी गर्न सकिन्छ ? गणतन्त्र कसरी बलियो बनाउन सकिन्छ भनेर छलफल गर्नु आफैमा डरलाग्दो भयो ।
गणतन्त्रले राम्रोसँग काम गर्न नसक्दा यसको प्रचारमा रमाउनु राम्रो हैन । मेरो बुवा ८० वर्ष पुग्नुभयो । मैले बुवाको राम्रो स्याहार सुसार नगर्ने, समयमा खाना नदिने बाहिर छिमेकीलाई मेरो बालाई नराम्रो भनौला है खबरदार भन्या जस्तै गणतन्त्रको प्रचार गर्नु हो ।
गणतन्त्रले जनतालाई राहत भन्दा आहत बढी दियो । सरकारले जनतालाई डेलिभरी दिन सकेको छैन । वीर अस्पतालमा गयो डाक्टर भेटिए औषधि हुँदैन, औषधि भेटिए डाक्टर हुँदैन । प्लेनमा चढ्दा मरिन्छ कि भन्ने भय छ । विद्यार्थी समयमै पुस्तक नपाएर वर्ष बित्छ ।
यस्तो डेभिलभरीले गणतन्त्र कसरी संस्थागत हुन्छ ? कसरी सबै जनताले मेरो गणतन्त्र भनेर अपनत्व लिन्छन् ? सरकारले सबैभन्दा पहिले डेलिभरीलाई नै ध्यान दिएमा गणतन्त्र थप संस्थागत गर्नु पर्दैन । सरकारले जनतालाई समयमै डेलिभरी दिन सके धेरै समस्या समाधान हुन्छ । जनताले त्यसपछि आफै अपनत्व लिन थालिहाल्छन् ।
सरकारले गणतन्त्रका दिन दिने पदक मजाक भइसक्यो । कतिपय यहाँ भएका अग्रजहरूले पदक लिन्न भनेर विज्ञप्ति नै जारी गर्नु पर्यो । जस्तो पायो, त्यस्तैलाई पदक दिँदा पदककै बदनाम भयो । कतै मैले यहाँ बोलेकै भरमा पदक दिइने पो हो कि भन्ने चिन्ता पो लाग्छ ।
तपाईँहरूले गणतन्त्र लडेर ल्यायौँ भन्दा भन्दा जनता वाक्क भइसके । हाम्रा हजुरबा र बुवाले पहिला यति धेरै दुःख गर्थे । नुन, तेल, लत्ताकपडा बोकेर यसरी घर ल्याउँथ्यौँ भनेको कथा सुन्दा सुन्दा अब यो भन्नुहुन्छ भनेर पहिल्यै थाहा पाएर केटाकेटी हुँदा चिमोटा चिमोट गरेर मजाक गरेजस्तै गणतन्त्र ल्याउन लडेको आन्दोलन भइसक्यो ।
गणतन्त्रलाई ब्राण्डिङ गर्नुपर्योः गुणराज लुईंटेल
सम्पादक, नागरिक राष्ट्रिय दैनिक
अब हामीले गणतन्त्र ल्याउन लडेका थियौँ भनेर मात्रै हुँदैन । अब भोलि के गर्ने भन्ने योजना र कार्यक्रम हुनु पर्यो । अहिले सूचना प्रविधिले निक्कै फड्को मारिसक्यो । भारतीय टेलिभिजनमा एआईले समाचार पढ्न थालिसकेको छ । हामीले सम्पादन गर्ने पत्रिका वा लेख्ने समाचार छोराछोरीले हेर्नै छाडिसके । पत्रिकामा आउने सूचना अन्तैबाट लिन थालिसकेका छन् । त्यसैले, सरकारले गरेका कामहरू फेसबुक टिकटकका माध्यमबाट बाहिर ल्याउनुपर्छ भन्ने लाग्छ । गणतन्त्रलाई ब्राण्डिङ गर्नुपर्यो ।
तपाईँहरूले हरेक वर्ष गणतन्त्र दिवस टुँडिखेलमा मनाउनु हुन्छ । केही थान मान्छेहरू दौरा सुरुवाल र ढाका टोपी लगाएर जान्छन्, सकियो । जनतालाई समेत टुँडिखेलभित्र पस्न दिइँदैन । बाहिरबाटै जनताले चाहाउनु पर्छ । गणतन्त्र जनताको व्यवस्था भनिन्छ, खोइ जनतासँग मनाएको ? खै गणतन्त्रमा जनताको सहभागी भएको ? अब गणतन्त्र दिवस मनाउँदा जनताकै बीचमा गएर मनाउनुपर्यो । त्यसपछि बल्ल जनताले मेरो गणतन्त्र भन्न थाल्छ ।
गणतन्त्रको स्वामित्व बलियो गरी लिनुपर्योः किशोर नेपाल
वरिष्ठ पत्रकार
सरकारी सञ्चार माध्यमलाई सरकारको प्रवक्ता बनाउनु भएन । राज्यको सञ्चार माध्यम बनाउनु पर्यो । सञ्चार क्षेत्रमा धेरै राजनीति भयो । यसमा धेरै राजनीति हुन दिनु भएन । गणतन्त्रलाई संस्थागत गर्न सकिएन । संस्थागत गर्न नसक्दा बलियो गरी कसैले स्वामित्व लिएन ।
यो कसको गणतन्त्र हो ? ओलीजीको हो कि प्रचण्डजी को हो ? कि गिरिराजबाबुले ल्याए, कसको हो त ? यो व्यवस्थाको बलियो गरी स्वामित्व लिन नसक्दा बेवारिसे जस्तै भयो । तपाईँहरू यो व्यवस्थाको स्वामित्व बलियो गरी लिने कि ?
यो व्यवस्थाप्रति जनतामा आत्मविश्वासै बढ्न सकेन । जनतामा आत्मविश्वास बढाउनु पर्यो । गणतन्त्र भनेको सबैभन्दा उत्कृष्ट व्यवस्था हो भन्ने बुझाउनु पर्यो ।
गणतान्त्रिक व्यवस्थालाई मजाकका रूपमा लियौँ: शिव गाउँले
प्रधान सम्पादक, अनलाइनखबर
मन्त्रीज्यूले पत्रकार र हाम्रो राम्रो सम्बन्ध हुनुपर्छ भन्नुभयो । मलाई लाग्छ मन्त्री र पत्रकारबीच यो भन्दा बढी सम्बन्ध हुनु हुँदैन । मिडियाले सरकारको आलोचनात्मक रूपमा समर्थन गर्नुपर्छ ।
अहिले हामी गणतन्त्रलाई कसरी संस्थागत गर्ने भन्दा पनि गणतन्त्रकै बदला लिई राखेका छौं । जस्तै मुलुकका नागरिकलाई गैरनागरिक बनाउन राज्यकै संलग्नता भएको देखियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा यो भन्दा अघि राज्यले नै संरक्षण गरेको देखियो । यो भन्दा बढी गणतन्त्रमा मजाक के हुन्छ ?
गणतन्त्रले राम्रा काम मात्रै गरे पुग्छ । संविधान र कानुनबमोजिम काम गरे पुग्छ । गणतन्त्रवादी हुँ भन्नेहरू नैतिकवान् र चरित्रवान् भए मात्रै पुग्छ ।
नेताहरूबाटै गणतन्त्र संकटमाः तीर्थ कोइराला
सम्पादक, एनएन टेलिभिजन
व्यवस्था आफैमा खराव भन्ने हुँदैन । व्यक्तिले आफ्नो कार्यशैली, व्यवहार सुधार गर्नुपर्यो । जनताले गणतन्त्रमा यस्तो हुँदो रहेछ भन्ने हुनुपर्यो । राजनीतिज्ञ भन्दा बढी कर्मचारीतन्त्र सक्रिय भयो । राजनीति अपाङ जस्तै भयो, बलियो गरी संस्थागत हुने गरी अघि बढेन ।
कतिपयले यो गणतन्त्र भन्दा पञ्चायत ठिक भन्छन् । मलाई त्यस्तो लाग्दैन पञ्चायतसँग गणतन्त्रको तुलनै हुँदैन । गणतान्त्रिक व्यवस्था अतुलनीय व्यवस्था हो । प्रधानमन्त्रीदेखि मन्त्रीहरूले गणतन्त्र सङ्कटमा छ भन्दा भन्दा साँच्चिकै सङ्कटमै छ कि क्या हो भन्ने मान्छेलाई पर्दो रहेछ । किन गणतन्त्र सङ्कटमा छ भन्नुपर्यो । यदि संकटै भए नेताहरूबाटै होला, नभए गणतन्त्र सङ्कटमा देख्दिन । गणतन्त्र भनेको कुनै वस्तु वा पदार्थ होइन । यो जनताले आफै महसुस गरेर अपनत्व लिने कुरा हो ।
कुनैबेला गणेशमान जीले शिशु प्रजातन्त्र भनेको भन्यै गर्नु हुन्थ्यो । भन्दा भन्दै माओवादीले सशस्त्र संघर्ष गर्यो । देशमा युद्ध भयो, अहिले गणतन्त्र आयो । त्यसैले, सबै गणतन्त्र संस्थागत गर्न आ–आफ्नो निकायबाट भूमिका खेल्नुपर्छ ।
जनताको अवस्था बदल्नमा लाग्नुपर्योः डा महेन्द्र विष्ट
सम्पादक, इमेज टेलिभिजन
गणतन्त्रलाई कहिलेसम्म संस्थागत गर्ने ? अहिलेसम्म संघीय सरकारदेखि प्रदेश सरकारले पूर्णता पाउन सकेका छैनन् । गणतन्त्र आफैमा राम्रो प्रणाली भएपनि संघदेखि प्रदेश सरकारले राम्रोसँग डेलिभरी दिन सकेका छैनन् । जनतालाई डेलिभरी दिने कुरामा सरकार केन्द्रित हुनुपर्यो ।
जनतामा गणतन्त्रप्रति स्वामित्व र आत्मविश्वास कमी देखियो । हरेक पेशा र व्यवसायका व्यक्तिले काम गरे राम्रो हुँदै जान्छ । व्यक्ति भन्दा प्रणालीलाई बलियो बनाउन लाग्नु पर्यो । गणतन्त्र दिवसका दिन कार्यक्रम मात्रै गरेर हुँदैन । जनताको अवस्था बदल्नमा लाग्नुपर्यो ।
सरकार डेलिभरीमा केन्द्रित हुनुपर्योः एकराज पाठक
प्रधान सम्पादक, रासस
सरकारले गर्नुपर्ने काम धेरै छ । मुख्य कुरा सरकार जनताको डेलिभरीमा केन्द्रित हुनुपर्यो । राससका एक जना पत्रकारले यो वर्ष समयमै पुस्तक आयो भनेर समाचार लेख्नुभयो । त्यो समाचार धेरै सेयर भयो र धेरै मन पराएको भित्र पर्यो । भनेपछि विद्यार्थीले समयमै पुस्तक पाउने कुरा कति महत्वपूर्ण रहेछ, जनताले कति खुसीले सामाजिक सञ्जालमा प्रचार गरे ।
अहिले जनतालाई केही चाहिएको छैन । आफूले पाउने सुविधाविना विना झन्झट पाए भयो । अरू केही चाहिँदैन । यस्तो बेला राज्यले जनतालाई दिन सक्ने सुविधा छिटोछरितो र सर्वसुलभ तरिकाले उपलब्ध गराए पुग्छ ।
गणतन्त्रमा जे गरेपनि हुन्छ भन्ने भयोः बबिता बस्नेत
सम्पादक, घटना र विचार
यो गणतन्त्र भन्ने साइकोलोजिकल कुरा रहेछ । मैले एक नारी देशको प्रमुख हुन्छ भन्ने त्यो बेला कल्पना समेत गरिन । गणतन्त्रमा महिलासमेत देशको प्रमुख हुन सक्ने रहेछन् ।
अहिले हामी गणतान्त्रिक व्यवस्थामा छौं । अहिले व्यवस्थित हुने भन्दा अराजकता बढी भयो । गणतन्त्रमा जसले जे भने पनि हुन्छ भन्ने भयो । एउटा कुनै विधि भएन । अब हामीले चाहेको गणतन्त्र यस्तो भन्ने देखाउन आवश्यक छ ।
गणतन्त्र ल्याउनेबाटै गणतन्त्र खतरा भयोः रोशन पुरी
महासचिव, नेपाल पत्रकार महासंघ
सबैभन्दा सुन्दर व्यवस्था गणतन्त्र हो । यो व्यवस्था ल्याउन धेरैले रगत पसिना बगाए । अझै केही मान्छे अपाङ्ग छन् । तर, जनताले चाहेको जस्तो गणतन्त्र हुन सकेन । गणतन्त्रवादीबाटै संस्थागत हुन सकेन । अहिले गणतन्त्रवादीहरूकै व्यवहारका कारण गणतन्त्र खतरामा छ भन्ने लाग्छ ।
गणतन्त्रको प्राण भर्न मिडियाकर्मी, लेखक, साहित्यकार, कलाकारलगायत सबै लाग्नुपर्ने देखियो । हामीले चाहेको गणतन्त्र यस्तो भन्ने देखाउनु पर्ने भयो । यो व्यवस्थामा सबै जातजाति क्षेत्र, लिङ्ग र समुदायले महसुस गर्ने खालको हुनुपर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास