सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

८ महिनाकी छोरीको मृत्यु, सलले बेह्रेर एक्लैले गाडिन्; तुरुन्तै सुटिङमा पुगिन्, कोरियोग्राफ गरेकाे गीतले इतिहास रच्यो

मङ्गलबार, ०९ जेठ २०८०, १७ : १८
मङ्गलबार, ०९ जेठ २०८०

जसलाई कुनै पहिचान चाहिँदैन । जसको साथ पाएर कोही ‘हवा हवाई’ बने त कोही लाखौँ मुटुको धड्कन, जसले ७० एमएमको पर्दामा आगो लगाइदिइन् ।  त्यस कारण उनी त्यो पदक प्राप्त गर्ने पहिलो व्यक्ति हुन्, जुन उनी अघि कसैले पाएका थिएनन् । उनी ‘द मदर अफ कोरियोग्राफी इन इन्डिया’ को रूपमा परिचित भइन् । यहाँ सरोज खानको कुरा भइरहेको छ भन्ने कुरा धेरैले बुझिसक्नु भयो होला । ठुला– ठुला स्टारलाई आफ्नो इशारामा नचाउने सरोज खान, कसरी आफ्नो जीवनको इशारामा नाचिरहिन् । बलिउडमा उनी आएपछि कोरियोग्राफीको महत्त्व कसरी फेरियो ? चार सन्तानका पिताले १३ वर्षकी सरोज खानलाई धोका दिएर कसरी विवाह गरे र किन सरोज हिन्दु हुँदाहुँदै मुस्लिम बनिन् भन्नेबारे जानकारी दिँदै छौँ । ८ महिनाकी छोरीको मृत्यु हुँदा सरोज खानले रुने मौकासमेत पाइनन् त ?

सरोज खानले श्रोतालाई ध्यानमा राख्दै शास्त्रीय सङ्गीतलाई फरक ढङ्गले प्रस्तुत गरिन् । यति मात्र होइन, उनले भारतको लोकनृत्यलाई पर्दामा निकै सुन्दर ढङ्गले प्रस्तुत गरेर लोकप्रियता कमाइन् ।  उनको प्रतिभा देखेर फिल्मफेयर समेतले फरक विधामा अवार्ड दिन बाध्य भयो । अथाह सम्पत्ति कमाइसकेकी सरोज खानसँग कुनै बेला खानका लागि समेत पैसा थिएन । उनले कुनै बेला दिवाली मनाउनका लागि एक सुपरस्टारसँग दुई सय रुपैयाँ उधारो लिएकी थिइन् । भारतमा कोरियाग्राफीकी जननी नामले चर्चित भएकी सरोजले एक पटक काम पाउन छोडिसकेकी थिइन् । आज सरोज खानको निकै कठोर सङ्घर्ष र त्यसपछिको सफलताबारे कुराकानी गर्नेछौँ ।

३ वर्षको उमेरदेखि नै चलचित्रमा काम गरिन्

सबैभन्दा पहिले सरोज खानको सुरुवाती दिनको कुरा गरौँ । उनको जन्म २२ नोभेम्बर १९४८ मा मुम्बईमा भएको थियो । बाल्यकालमा उनको नाम सरोज किशनचन्द साधु सिंह नागपाल थियो । विभाजन पछि, उनको परिवार कराचीबाट भारत गए र मुम्बईको एक बस्तीमा बस्न थाले । सरोज करिब साढे दुई वा तीन वर्षकी थिइन् होला, उनी भित्तामा आफ्नो प्रतिबिम्ब देखेर हात खुट्टा हल्लाउने गर्थिन् । उनकी आमाले छोरी पागल त भइनँ भनेर सोच्थिन् । उनले छोरीलाई अस्पताल लगिन् । डाक्टरले छोरीलाई नाच्न मन लाग्छ भने नाच्न देऊ भनेर फर्काए । परिवार आर्थिक सङ्कटसँग जुधिरहेको थियो त्यसैले उनीहरुले सरोजलाई फिल्मी क्षेत्रमा संलग्न गराए । पहिलो पटक ‘नजराना’ फिल्ममा उनी श्यामाको भूमिकामा देखिइन् । त्यसपछि पाँच वर्षको उमेरमा उनी फिल्म ‘आगोश’ मा देखिइन् । फिल्मको एउटा गीतमा उनी सानी राधा बनिन् । त्यसपछि १० वर्षको उमेरमा उनले पहिलो ग्रुप डान्स मधुवालासँग गरेकी थिइन् । सन् १९५८ मा रिलिज भएको ‘हावडा ब्रिज’ मा उनी एक पुरुष बनेकी थिइन् । गीत थियो ‘आइए मेहरबान’ ।

बुवाको निधनपछि दुःखको पहाडले थिच्यो

रोजी रोटीका लागि दौड–धूप चलिरहेको थियो । त्यति नै बेला उनको बुवाको क्यान्सरका कारण निधन भयो । चार बहिनी र सबैभन्दा कान्छो एक वर्षका भाइ । स्थिति यस्तो थियो कि बिहानको खाए बेलुका खान पाइने हो कि होइन टुङ्गो थिएन । सरोज थोरै भए पनि कमाउने भएकी थिइन् । त्यसैले घर चलिरहेको थियो । १३ वर्षको उमेरमा सरोज खान कोरियोग्राफी तिर लागिन् ।

बी. सोहनलालको सहायकको रूपमा सुरु गरिन् काम

उनले आफूभन्दा सिनियर नृत्य निर्देशक बी. सोहनलालको सहायकको रूपमा काम सुरु गरिन् । उनले सरोजलाई निकै मेहनत गराउँथे र एउटै मुद्रामा घण्टौँ उभिन लगाउँथे । यहाँसम्म कि आँखाको नानी हल्लाउने समेत अनुमति हुँदैनथ्यो । यो कठिन तालिमका कारण नै सरोज खान निकै कम उमेरमा नृत्यका स–साना कला सिक्न सक्षम भइन् ।

जब ३० वर्ष जेठो बी. सोहनलालसँग सरोजले गरिन् विवाह

यति बेला बी. सोहनलालले सरोज खानसँग विवाह पनि गरे जो उमेरमा उनीभन्दा करिब ३० वर्ष जेठो थिए । १४ वर्षको उमेरमा सरोज खानले फिल्म ‘डा. विद्या’ को एउटा गीतको कोरियोग्राफ गरिन् । त्यो पनि आफ्नो जमानाकी सुन्दर वैजयन्ती मालासँग । १४ वर्षको उमेरमा नै उनले आफ्नो छोरा राजु खानलाई जन्म दिइन् । छोरा जन्मिएपछि उनले आफ्नो श्रीमानबारे त्यो वास्तविकता थाहा पाइन् जुन उनले सरोजसँग लुकाएका थिए । सोहनलाल पहिले देखि नै विवाहित मात्रै थिएनन् उनी चार सन्तानका पिता पनि थिए । त्यसपछि सरोजसँग उनको ठाकठुक सुरु भयो । सोहनले पनि आफ्नो दोस्रो विवाहलाई खासै महत्त्व दिइरहेका थिएनन् । यो त्यो समय थियो जब उनकी छोरी कुकूको जन्म भयो । तर उनका श्रीमानले सरोज र उनका दुई सन्तानलाई छोडेर सधैँका लागि मद्रास गए । 

जब २०० रुपैयाँ मागेर दिवाली मनाइन्

सरोज खान एक गीतमा ब्याकग्राउन्ड ट्रान्सफर थिइन् र गीतमा थिए शशि कपुर । उनी मेकअप रुम नजिकै उभिएका थिए । सरोज उनी भए ठाउँ गइन् र भनिन्, ‘भोलि दिवाली छ र मेरो घरमा केही पनि छैन । मेरो तलब सात दिन पछि मात्रै पाउनेछु । तपाईंले मेरो मद्दत गर्नुहुन्छ ? ’ त्यसपछि शशि कपुरले भने, ‘सरोज जी यति बेला मसँग दुई सय रुपैयाँ मात्रै छ । यो लिनुहोस् ।’

सरोज खानको सङ्घर्ष

सरोज खानले निकै सङ्घर्ष गरिन् । वर्ष थियो सन् १९६५, काखमा थिए सरोजका दुई वर्षका छोरा र करिब ८ महिनाकी छोरी । छोरी असाध्यै बिरामी थिइन् । श्रीमानले साथ छोडिसकेका थिए । त्यसैले उनी आफैँले सबै कुरा सम्हालिरहेकी थिइन् । एक दिन बिरामी छोरीको मृत्यु हुन्छ । आफ्नो छोरालाई सम्हाल्दै उनले मृत्युवरण गरिसकेकी छोरीलाई सलमा बेह्रेर अन्तिम संस्कार गरिन् । उनले छोरीको मृत्युमा राम्रोसँग रुनसमेत पाइनन् । त्यस दिन बेलुका रेल चढेर एउटा गीतको सुटिङका लागि निस्किइन् । पेट पाल्नुपर्ने बाध्यता, अत्यधिक तनाव र आघात बोकेर ‘हरे रामा हरे कृष्णा’ को सुटिङमा पुगिन् । उनले जुन गीत कोरियोग्राफ गरिन् त्यो अमर बन्यो । यो गीत थियो ‘दम मारो दम ।’

व्यापारी रोशन खानसँग गरिन् दोस्रो विवाह

फिल्म ‘गीता मेरे नाम से’ उनले  स्वतन्त्र कोरियोग्राफीको आफ्नो करियर सुरु गरिन् । यसैबीच उनले सन् १८७५ मा व्यापारी रोशन खानसँग दोस्रो विवाह गरिन् । यो विवाहबाट उनकी छोरी सुकैना खान छिन् । सरोजले काम गरिरहिन् तर उनले पहिचान पाउन धेरै समय कुर्नुपर्‍यो ।

‘हवा हवाई’ पछि आफ्नो पहिचान बनाइन्

फिल्म ‘नगीना’ सरोज खानका लागि कोसे ढुङ्गा साबित भयो । यो फिल्ममा सरोज खानले श्रीदेवीलाई ‘मे तेरी दुस्मन’ गीतमा नचाइन् जुन निकै हिट भएको थियो । अर्को वर्ष सन् १९८७ मा रिलिज भएको ‘मिस्टर इन्डिया’ मा उनले एक पटक पुनः श्रीदेवीलाई नै कोरियोग्राफ गराइन् । कोरियोग्राफ गरिएको गीत थियो ‘हवा हवाई’ । यो गीत पछि श्रीदेवीलाई ‘हवा हवाई’ नामबाट बोलाउन थालियो र यो गीतले नै सरोज खानलाई घर घरमा पहिचान दिलायो । त्यसपछि उनले कहिल्यै फर्केर हेर्नुपरेको छैन । 

saroj khansaroj khan1saroj khan2saroj khan3saroj khan4

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप