आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

चाकडी गर्ने र चाकडी माग्ने दुवै संगठनका शत्रु

मङ्गलबार, ०९ जेठ २०८०, ०९ : १८
मङ्गलबार, ०९ जेठ २०८०

हाकिममा हुँदै नभएको गुणको प्रशंसामा लामो माला गाँस्नु चाकडी हो । अझ स्पष्ट रूपमा, भविष्यमा अनुचित लाभ लिने हेतुले हाकिमले गलत काम गरेको अनुभूति हुँदाहुँदै सो कामलाई सही हो भनी उचाल्नु चाकडी हो । 

चाकडी गर्नेको मनोविज्ञान वा मनोवृत्तिको कुरा गर्दा, आफ्नो क्षमता र आफ्नो कर्ममा विश्वास नहुनुको उपज हो चाकडी गर्न मन लाग्नु । कर्म गरेर प्राप्त गर्ने हुती नभएकाहरुमा चाकडी मनोवृत्ति रहन सक्छ । यस्ता मानिसले कुनै पद, प्रतिष्ठा वा वस्तु सजिलै प्राप्तिका लागि हाकिम वा कुनै अधिकारप्राप्त व्यक्तिलाई अनावश्यक मान–सम्मान प्रकट गरी प्रभावमा पार्ने कोसिस गर्न सक्छन्, यसैको नाम हो चाकडी । 

संस्थामा चाकडी माग्ने समूह पनि हुन्छ, जसका कारण चाकडी बिक्छ । चाकडी माग्ने मनोविज्ञानको कुरा गर्दा कर्मचारीले चाकडी गरेको मन पराउनु र गरोस् भन्ने चाहनु हीनभावनाले ग्रसित मान्छेको रोगी मनोवृत्ति हो । जसलाई आफू हाकिम भएको माथि विश्वासै छैन, उसलाई बेलाबेला चाकडीको मात्रा दिएर विश्वास दिलाउनुपर्छ– हो तिमी ठूला हौ, तिमी हाकिम हौ ।  जरो कारणमै जाने हो भने क्षमता नभएका वा आफ्नो क्षमतामा विश्वास नभएका व्यक्तिले नै चाकडी खोज्छन् । 

नेपालका सार्वजनिक निकायमा चाकडी लिने र दिने संस्कार अलि बढी हुन्छ भन्ने आरोप लाग्ने गरेको छ, तर कर्ममा विश्वास गर्ने इमानदार र क्षमतावान् कर्मचारीले चाकडीलाई विश्वास गर्दैन ।

चाकडी गर्ने कर्मचारीले आफूलाई राम्रो देखाउन अरु इमानदार र क्षमतावान कर्मचारीविरुद्ध कुरा काट्न वा अफवाह फैलाउन सक्छ ।

तपाईं कुनै कार्यालय हाकिम हुनुहुन्छ र तपाईंलाई कुनै कर्मचारीले चाकडी गर्दै छ भने मख्ख पर्ने होइन, सावधान हुनुपर्छ । किनकि चाकडी गर्ने प्रवृत्तिका पछाडि देहायका तथ्य छन् । 

क्षमता नभएका कर्मचारीले आफ्नो कमजोरी लुकाउन चाकडी गर्छन् । कसैले चाकडी गर्दछ भने उसमा कार्य क्षमता छैन बुझ्नुपर्छ । संस्था र कामप्रति इमानदार नभएका दूषित व्यक्तिले चाकडी गर्छ । 

प्रभावमा पारी भविष्यमा आफ्नो पक्षमा अनुचित काम गराउने मनसाय भएका व्यक्तिले चाकडी गर्छन् । हाकिमबाट भएको गलत कामलाई पनि सही हो भनेर यिनीहरूले भ्रम सिर्जना गर्छन् । 

चाकडी गर्ने कर्मचारीले आफूलाई राम्रो देखाउन अरु इमानदार र क्षमतावान कर्मचारीविरुद्ध कुरा काट्न वा अफवाह फैलाउन सक्छ । इमानदार र क्षमतावान् कर्मचारी र हाकिमको बीचमा सधैँ अवरोध पार्ने पर्खालको रूपमा उसले काम गर्छन् । चाकडीबाज कर्मचारीले सिर्र्जना गरेको भ्रम हाकिमलाई पनि सही लाग्न सक्छ, जसले गर्दा हाकिमले आफू सच्चिने मौका पाउँदैनन् । सानो–सानो गल्ती महसुस नहुँदा संगठनमा ठूलो दुर्घटना हुन्छ । संगठनले ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ ।

यिनीहरूको अनुचित प्रभावले हाकिमलाई न्यायिक हिसाबले काम गर्न बाधा पर्छ ।

चाकडी गर्नेको कुरो एकातिर छ, संस्थामा चाकडी माग्नेहरू पनि भेटिन्छ । कुनै कर्मचारीले नमस्कार गरेन भनेर लिखित स्पष्टीकरण काटेको देखेका आँखा यिनै हुन् । नमस्कार एक विनम्रता हो, तर एउटा कर्मचारीले नमस्कार नगर्दा संगठनलाई कति र कसरी नोक्सानी भयो, बुझ्न सकिएन । यस्तो अवस्थामा एउटै कुरालाई नोक्सानी हुन्छ, त्यो हो हाकिमको अहंकारको नोक्सानी । अहंकार हुनु कसैका लागि पनि राम्रो होइन । यो त क्षति भएकै राम्रो हुन्छ । 

तपाईं मेरो चाकडी गर्नुहुन्न भने तपाईंको हित हुने काम मैले किन गरुँ ? भनी प्रश्न तेर्साएको सुन्ने कान यही हो । तपाईंले काम गर्ने संस्थामा चाकडी मागेको भेट्नुभएको छ भने यो अझ डरलाग्दो कुरा हो । किनकि चाकडी खोज्नुका पछाडि हीन भावनाले ग्रसित असक्षम नेतृत्व हुन्छ । एक–दुई चाकडीबाज कर्मचारीका कारण संस्था डुब्दैन, तर हीन भावनाले ग्रसित असक्षम नेतृत्वले संस्था डुबाउँछन् । 

समग्रमा, संगठनमा दुई–चार कर्मचारी चाकडीबाज हुनु सामान्य कुरा हो, तर नेतृत्वले चाकडीबाजको काम र कुरामाथि विचार नगरी चाकडीबाजकै हितमा काम गर्न थाल्यो भने यस्ता संस्थामा निष्ठावान र क्षमतावान् कर्मचारी निरुत्साहित हुन्छन् ।

सार्वजनिक कार्यालयमा एउटा आसन बडो प्रचलित छ – कुप्रासन । शरीर नै कुप्रो पारेर नमस्कार गर्ने आसन । अनि कुप्रासन पाउने मख्ख पर्छ । उसको अहंकारले आकाश छुन्छ । कुप्रासन दिनेलाई पनि थाहा छ, एक दिन उसले यो आसनको मूल्य पाउँछ । आदर गर्नुपर्छ, तर आदर माग्ने चिज होइन । आफूलाई कर्मचारीले कति सम्मान गर्छ भन्ने थाहा पाउनुपर्‍यो भने हाकिमले एकपटक राम्ररी उसको आँखामा हेरे पुग्छ । आदरको मात्रा नाप्न कुप्रासनमै भर पर्नुको कुनै अर्थ हँुदैन । वास्तवमै सम्मान गर्न लायक व्यक्तित्वले कसैले सम्मान गरोस् भनेर पर्खिएर बस्दैन । यस्ता व्यक्तित्व असल कर्म गर्नै व्यस्त हुन्छन् । महत्त्वपूर्णबाहेक तपसिलका कुराको मतलबै हुँदैन यस्ता व्यक्तिहरूलाई । 

हाकिमले गरेको गल्तीलाई गलत भयो भन्ने क्षमता उही कर्मचारीले राख्छ, जो इमानदार, क्षमतावान् छ र संगठनको हितमा काम गर्छ । यस्ता कर्मचारीकै कारण हाकिमले सच्चिने मौका पाउँछन् । संस्थामा ठूलो दुर्घटना हुन पाउँदैन । भइसकेको या हुँदै गरेको कामलाई हाकाहाकी गलत या सही भन्न सक्ने क्षमता भएका कर्मचारी हाकिम तथा संगठन दुवैका लागि लाभदायक हुन्छन् ।

समग्रमा, संगठनमा दुई–चार कर्मचारी चाकडीबाज हुनु सामान्य कुरा हो, तर नेतृत्वले चाकडीबाजको काम र कुरामाथि विचार नगरी चाकडीबाजकै हितमा काम गर्न थाल्यो भने यस्ता संस्थामा निष्ठावान र क्षमतावान् कर्मचारी निरुत्साहित हुन्छन् । जसको सीधा प्रभाव कार्यसम्पादनमा पर्दछ । चाकडीबाज कर्मचारीले मुख चलाउने हो, तर इमानदार र क्षमतावान् कर्मचारीले संस्था चलाउँछन् । चाकडीबाज संस्कार भएका संगठनमा इमानदार र क्षमतावान् कर्मचारी बस्ने वातावरण हुँदैन र बस्न रुचाउँदैनन् पनि । उनीहरू कसरी अर्को राम्रो कार्य वातावरण भएको संस्थामा जाने भनी सोच्न थाल्छन् । क्षमतावानले अवसर पाउँछन् र जान्छन् पनि । परिणामस्वरूप संस्थामा इमानदार र क्षमतावान् कर्मचारीको अभाव हुन्छ । शंकै छैन, निष्ठावान् र क्षमतावान् कर्मचारी नभएको संस्थाको प्रभावकारिता शून्य हुन्छ । जुन सबै पक्षका लागि असफल भएको अवस्था हो । यसरी चाकडी गर्ने र चाकडी माग्ने दुवै संगठनका शत्रु हुन् । तसर्थ कुनै पनि अवस्थामा, कुनै बहानामा चाकडी संस्कारको प्रवद्धन हुनु हुँदैन, संरक्षण हुनु हुँदैन । 

(लेखक नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकी मुख्य प्रबन्धक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मन्जु थापा
मन्जु थापा
लेखकबाट थप