मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : प्रहरीले बुझायो शरणार्थी प्रकरणको प्रतिवेदन, यी हुन् ३२ आरोपी

नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुबीच आरोप–प्रत्यारोप
सोमबार, ०८ जेठ २०८०, २० : ५४
सोमबार, ०८ जेठ २०८०

आज २०८० जेठ ८ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा चलाउने रायसहित प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन, नीति तथा कार्यक्रममाथि छलफलमा आरोप–प्रत्यारोप, लुम्बिनी मन्त्रिपरिषद् विस्तार, नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली र देउवामाथि पनि छानबिन गर्न माग, वनजंगल उपयोगको नीति ल्याउँदै सरकार, उपेन्द्र यादव बने जसपा संसदीय दलको नेता, तेस्रो मुलुकमा विद्युत बेच्ने तयारी भइरहँदा कर्णालीवासी अझै लोडसेडिङमा, बालकृष्णलाई हिरासतमा भेट्न गइन् मञ्जु लगायत छन् ।

१. नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा चलाउने रायसहित प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा चलाउने रायसहित प्रहरीले आइतबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रहरीले विभिन्न ७ जनाका सन्दर्भमा प्रतिवादीहरुले बयान दिए पनि प्रमाण जुट्न नसकेको भन्दै उनीहरुलाई जुनसूकै समयमा पक्राउ गर्न सकिने जनाएको छ ।

२. नीति तथा कार्यक्रममाथि छलफलमा आरोप–प्रत्यारोप
सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदमा छलफल जारी छ । सोमबार छलफलमा भाग लिँदै सांसदहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन् । विपक्षी दलका सांसदहरुले नीति तथा कार्यक्रमको आलोचना गर्दा सत्ता पक्षका सांसदहरुले विपक्षीमाथि नै प्रतिप्रश्न गरेका छन् । सत्ता पक्षका केही सांसदले भने नीति तथा कार्यक्रम कार्यान्वयनमा आशंका गरेका छन् ।

३. लुम्बिनी मन्त्रिपरिषद् विस्तार
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । सोमबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक–एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

४. नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली र देउवामाथि पनि छानबिन गर्न माग
नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ । सोमबार माइतीघर मण्डलामा भेला भई विद्यार्थी संगठनका नेताहरूले भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेका हुन् । सो प्रकरणमा तत्कालीन सरकारको नेतृत्व गरेका केपी शर्मा ओली र शेरबहादुर देउवामाथि पनि छानबिन हुनुपर्ने माग गरिएको हो ।

५. वनजंगल उपयोगको नीति ल्याउँदै सरकार
वनजंगललाई अत्यधिक संरक्षण गरिरहेको सरकारले उपयोगको नीति बनाउने योजना अघि सारेको छ । वनजंगलको स्रोत साधन प्रयोग गरेर रोजगारी वृद्धिदेखि अर्थतन्त्रमा योगदानसम्मको हिसाबकिताब गरेर उपयोगको नीति अघि बढाएको हो । 

६. उपेन्द्र यादव बने जसपा संसदीय दलको नेता
जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत चयन भएका छन् । सोमबार जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको निर्वाचन समितिको बैठकमा उपेन्द्र यादवको नाम दलको नेतामा सर्वसम्मत घोषणा भएको जसपा नेपालका सांसद प्रदीप यादवले रातोपाटीलाई जानकारी दिए ।

७. तेस्रो मुलुकमा विद्युत बेच्ने तयारी भइरहँदा कर्णालीवासी अझै लोडसेडिङमा 
पछिल्लो समय नेपालले भारत हुँदै बंगलादेशसम्म विद्युत बिक्री गर्ने योजनालाई निकै महत्त्वका साथ अघि बढाएको छ । नेपाल विद्युत बिक्रीका लागि उत्साहित भइरहँदा कर्णालीवासी भने अचम्मित भइरहेका छन् किनकि उनीहरु विद्युत पहुँचबाट टाढा छन् भने विद्युत उपलब्ध भएका ठाउँमा समेत अघोषित रुपमा लोडसेडिङ भइरहेको छ ।  

८. बालकृष्णलाई हिरासतमा भेट्न गइन् मञ्जु
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका आफ्ना पति बालकृष्ण खाणलाई सांसद मञ्जु खाणले भेटेकी छन् । उनले जिल्ला प्रहरी कार्यालयको हिरासतमा पति खाणसँग भेटघाट गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । 

९. बुटवल धागो कारखाना सञ्चालन कति सहज ?
सरकारले डेढ दशकदेखि बन्द रहेको बुटवल धागो कारखाना चलाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले बुटवल धागो कारखाना सञ्चालन गरिने जनाएको हो । २०६४ सालदेखि उत्पादन बन्द रहेको तथा २०६६ असोजदेखि कर्मचारीलाई अनिवार्य अवकाश दिँदै बन्द गरिएको यो कारखाना सञ्चालन गर्ने सरकारको योजना अहिलेमात्र नीति तथा कार्यक्रममा समेटिएको भने होइन ।

१०. आयात प्रतिबन्ध खुलेको ४ महिनापछि लय समात्दै वैदेशिक व्यापार
आयात प्रतिबन्ध खुलेको झण्डै ४ महिनापछि वैदेशिक व्यापारले लय समात्न थालेको छ । सरकारले २०७९ वैशाख दोस्रो सातादेखि विदेशी मुद्राको सञ्चिति जोगाउने लक्ष्यसहित आयातमा प्रतिबन्ध लगाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप