प्रधानाध्यापक सरुवाको निर्णय फिर्तापछि विद्यार्थीको आन्दोलन फिर्ता
बारा । बाराको सुवर्ण गाउँपालिकाको नेरा मावि हर्दियाका विद्यार्थीहरूले प्रधानाध्यापक सरुवाको विषयलाई लिएर गरेको आन्दोलन फिर्ता लिएका छन् । पालिकाले प्रधानाध्यापकको सरुवा सम्बन्धी निर्णय फिर्ता लिएपछि आन्दोलन स्थगित भएको हो ।
गाउँपालिकाले जेठ ३ गते हर्दिया माविका प्रधानाध्यापक राम एकवाल प्रसादलाई नेरा मावि देवापुर बहुअर्वामा सरुवा गरेको थियो भने देवापुर बहुअर्वाका प्रधानाध्यापक चन्द्रेश्वर यादवलाई हर्दियामा सरुवा गर्ने निर्णय गरेको थियो ।
गाउँपालिकाको सो निर्णयको विरोध गर्दै आएका विद्यार्थीहरूले सोमबार अभिभावकसहित गाउँपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका थिए । गाउँपालिकाको कार्यालय तोडफोड गर्न आएका विद्यार्थी तथा अभिभावकलाई तितरबितर पार्न प्रहरीले अश्रु ग्याँससमेत चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
‘गाउँपालिकाले सरुवाको निर्णय फिर्ता लिएपछि बल्ल विद्यार्थीहरूले आन्दोलन फिर्ता लिएका छन्,’ बाराका प्रहरी प्रवक्ता पुरुषोत्तम पौडेलले भने ।
आन्दोलन नियन्त्रण लिने क्रममा ५ जना प्रहरी घाइते भएका छन् । भागदौडमा करिब १३ जना विद्यार्थीसमेत सामान्य घाइते भएको स्थानीयले जनाएका छन् ।
सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवले विद्यार्थीहरुलाई उचालेर केही व्यक्तिले व्यक्तिगत स्वार्थ पूरा गर्न आन्दोलन गराएको आरोप लगाए । गाउँपालिकाको शिक्षा समितिको जेठ ३ गतेको निर्णय अनुसार सबै विद्यालयमा शिक्षाको स्तर राम्रो बनाउन यसअघि कार्यरत रहेका शिक्षकहरुलाई पालिकाभित्रकै अन्य विद्यालयमा सरुवा गरिएको उनको भनाइ छ ।
पालिकाका शिक्षा शाखा अधिकृत विद्यानन्द प्रसाद यादवले पालिकाभित्र जम्मा २३ वटा सामुदायिक विद्यालयमध्ये ३ वटा मावि रहेको बताउँदै शिक्षा समितिले गरेको निर्णय अनुसार नै २ जना प्रधानाध्यापक र ७ जना सहायक प्रधानाध्यापकको सरुवा गरिएको जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले महासचिव पोखरेल र भियतनाम कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलबिच भेटवार्ता
-
धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुँदै
-
प्रधानमन्त्री ओली अभिव्यक्तिप्रति चिनियाँ राजदूतको असन्तुष्टि
-
सुदूरपश्चिम रोयल्स र सूर्य प्लाईबिच सम्झौता
-
राष्ट्रपतिलाई उपराष्ट्रपतिले धम्की दिएपछि...
-
सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्ष स्थानमा कायमै