एसियाली खेलकुदका लागि २९ करोड बजेट माग
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आइतबार सम्पन्न ११६औं बोर्ड बैठकले आगामी एसियाली खेलकुद प्रतियोगिताका लागि सरकारसँग २९ करोड रुपैयाँ बजेट माग्ने निर्णय गरेको छ । राखेपका अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरी युवा तथा खेलकुद मन्त्रालयमार्फत उक्त रकम निकासाका लागि सरकारसँग सिफासिर गर्ने निर्णय गरिएको जानकारी राखेपका सदस्यसचिव टंकलाल घिसिङले दिए । बैठकले आगामी एसियाली खेलकुदका लागि पदकको उच्च सम्भावना भएका खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणको व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।
राखेप बोर्ड बैठकले आगामी एसियाली खेलकुदमा २८ खेलका २ सयभन्दा बढी खेलाडीलाई सहभागी गराउने गरी तयारी थाल्ने निर्णय गरेको छ । बैठकले एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने निर्णय पनि गरेको छ ।
यसैगरी बैठकले राखेपमा कार्यरत कर्मचारीहरुको बढुवाका सम्बन्धमा पनि विभिन्न निर्णय गरेको छ । बैठकले राखेपको पदपूर्ति समितिलाई पूर्णता दिन समितिमा २ जना विशेषज्ञका रुपमा चन्द्रकान्त पण्डित र बिजेन्द्र हमाललाई मनोनयन गर्ने निर्णय गरेको छ ।
बैठकले राखेप तथा राखेपअन्तर्गतका क्षेत्रीय तथा जिल्ला खेलकुद बिकास समितिमा कार्यरत कर्मचारीलाई राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को परिच्छेद ८ को नियम २४ को उपनियम (७) अनुरुप सम्पत्ती, दायित्व र संघीय संरचना बमोजिम प्रदेश तथा जिल्ला खेलकुद बिकास समितिहरुमा कामकाज गर्न परिचालन गर्ने निर्णय पनि गरेको छ ।
अर्को ब्यवस्था नभएसम्मका लागि कर्मचारी खटाउने अधिकार राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ५२ बमोजिम राखेपका सदस्यसचिवलाई प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यसका अतिरिक्त राखेपको संगठन संरचना तथा विनियमावलीका लागि उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गर्ने र उक्त कार्यदलले बैठक सम्पन्न भएको मितिले ४५ दिनभित्र अनिवार्य रुपमा प्रतिवेदन तयार गरी राखेपमा पेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।