शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

खेलकुद क्षेत्रको विकास सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री जम्कट्टेल

आइतबार, ०७ जेठ २०८०, २१ : ४२
आइतबार, ०७ जेठ २०८०

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेलकुद क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन्  । आइतबार साँझ बागमती प्रदेशको राजधानी हेटौँडाको पिप्ले–क्याम्पा रङ्गशालामा दोस्रो प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले सरकारले खेल क्षेत्रलाई विशेष महत्त्व दिएर कार्यक्रमहरू ल्याएको बताए ।

उनले खेल र खेलाडीको विकाससँगै पूर्वाधार निर्माणमा पनि सरकारको ध्यान रहेको भन्दै खेलाडी क्षमता विकासका योजनाहरू ल्याएर काम गरिरहेको बताए ।

‘हामीले खेल क्षेत्रलाई विशेष महत्त्व दिएका छौँ । खेलकुद पूर्वाधार निर्माणदेखि खेलाडीहरूको क्षमता विकासमा सरकारले योजना ल्याएको छ’ उनले भने, ‘खेल क्षेत्रको विकासका लागि गत वर्षबाट सुरु भएको यस प्रतियोगिताको निरन्तरताबाट पनि हामीले खेलकुदलाई महत्त्व दिएको प्रमाणित हुन्छ । खेल पूर्वाधार निर्माणमा पनि सरकारले काम गरिरहेको छ । आजबाट सुरु भएको प्रदेश खेलकुद प्रतियोगितामा स्वस्थ प्रतिस्पर्धासहित जितका लागि सहभागी सबै खेलाडीलाई शुभकामना दिन चाहन्छु ।’ 

त्यस्तै कार्यक्रममा प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रदेश खेलकुद प्रतियोगिता खेलाडी उत्पादनमा महत्त्वपूर्ण हुनसक्ने बताइन् । उनले आगामी वर्षहरूमा पनि यस प्रतियोगितालाई निरन्तरता दिँदै नयाँ योजनाहरू सहित अघि बढ्ने तयारी रहेको बताइन् ।

बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा आइतबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न १३ वटा खेल विधामा ७९४ पदकका लागि २ हजार ५०२ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । गत वर्ष ८ वटा विधामा स्पर्धा भएकोमा यस वर्ष फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, उसु, जुडो, क्रिकेट, रग्बी, ब्याड्मिन्टन, पौडी र आईटिएफ तेक्वान्दोको खेल सञ्चालन हुँदैछ । 

एक हजार ७५ जना महिला र एक हजार ४२७ जना पुरुष गरी २ हजार ५०२ जना खेलाडी सहभागी हुने उक्त प्रतियोगितामा २१९ स्वर्ण, २१९ रजत र ३५६ कास्य गरी ७९४ पदका लागि प्रतिस्पर्धा हुनेछ । पदक विजेता खेलाडीहरूले नगद पुरस्कार समेत प्राप्त गर्नेछन् । प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः जनही नगद ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । 

 

प्रतियोगिताको अधिकांश खेलहरू हेटौँडामा नै हुने बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए । उनका अनुसार महिला तथा पुरुष फुटबल, एथलेटिक्स, महिला र पुरुष भलिबल, रग्बी, कराते, तेक्वान्दो, आइटिएफ तेक्वान्दो, बक्सिङ र ब्याड्मिन्टनका खेलहरू हेटौँडामा हुनेछ भने उसु र जुडो काठमाडौँमा हुनेछ । यस्तै पौडी ललितपुरमा र महिला तथा पुरुष क्रिकेट प्रतियोगिता चितवनमा हुनेछ । खेल पूर्वाधार नहुँदा पौडी, उसु, जुडो लगायतका खेल अन्य जिल्लामा गर्नुपरेको उनले बताए । 

प्रतियोगिताका लागि करिब ९ करोड ४२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति, आतिसबाजी तथा नेपाल आर्मी र नेपाल प्रहरीको प्रस्तुति एवम् झाँकीसहित प्रतियोगिताको उद्घाटन गरिएको थियो । प्रतियोगिताको उद्घाटनमा गायिका रचना रिमाल, एन्जिला रेग्मी, बाल गायक जेनिस उप्रेती लगायतले साङ्गीतिक प्रस्तुति दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप