रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष १० समाचार
आज २०८० जेठ ७ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान प्रतिवेदन बुझाइएन; तीन दिन थपियो म्याद, भुटानी शरणार्थी प्रकरणमा ओलीको टिप्पणी– सरकारले जुँगामा ताउ लगाउनुपर्ने कारण देख्दिनँ, नीति तथा कार्यक्रममाथि छलफल सुरु; सत्तारुढ दलकै सांसदले राखे संशोधन प्रस्ताव, नीति तथा कार्यक्रमभन्दा लामो ओलीको सम्बोधन, बागमती सरकारले बल्ल पायो पूर्णता, नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाणलाई जोगाउन चलखेल, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा एमालेको समर्थन लगायत छन् ।
१. नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान प्रतिवेदन बुझाइएन; तीन दिन थपियो म्याद
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आइतबार अनुसन्धान प्रतिवेदन बुझाउन सकेन । कतिपय प्राविधिक कुरा मिलाउन बाँकी रहेकाले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउन नसकिएको प्रहरीले जनाएको छ । योसँगै प्रहरीले पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणसहितका आरोपितलाई थप तीन दिन हिरासतमै राख्न जिल्ला अदालतबाट म्याद लिएको छ ।
२. भुटानी शरणार्थी प्रकरणमा ओलीको टिप्पणी– सरकारले जुँगामा ताउ लगाउनुपर्ने कारण देख्दिनँ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भुटानी शरणार्थी प्रकरणमा काम गरेँ भनेर जुँगामा ताउ लगाउनुपर्ने कारण नदेखेको बताएका छन् । आइतबार संसद् बैठकमा बोल्दै ओलीले भुटानी शरणार्थी प्रकरण पहिलेदेखि नै आफू समाधान गर्न लागेकाले गृहमन्त्रीले उधुम हल्ला गर्न नहुने बताए ।
३. नीति तथा कार्यक्रममाथि छलफल सुरु; सत्तारुढ दलकै सांसदले राखे संशोधन प्रस्ताव
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसदमा छलफल सुरु भएको छ । यस क्रममा सत्ता पक्षकै सांसदले नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव राखेका छन् । नेपाली कांग्रेसका सांसदद्वय दिलेन्द्रप्रसाद बडु र श्यामकुमार घिमिरेले संशोधन प्रस्ताव गरेका हुन् ।
४. नीति तथा कार्यक्रमभन्दा लामो ओलीको सम्बोधन
नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा झण्डै दुई घण्टाभन्दा बढी समय विभिन्न विषयमा धारणा राखे । उनले नक्कली भुटानी शरणार्थी प्रकरणदेखि सरकारको नीति तथा कार्यक्रमका बारेमा समेत टिप्पणी गर्न भ्याए । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दाभन्दा बढी समय उनले संसदमा आफ्ना धारणा राख्न खर्चिएका थिए ।
५. बागमती सरकारले बल्ल पायो पूर्णता
बागमती प्रदेश सरकारले आइतबार पूर्णता पाएको छ । राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा बनेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलको गठबन्धन अनुरुप बागमती सरकारले बल्ल पूर्णता पाएको हो ।
६. नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाणलाई जोगाउन चलखेल
नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव पछिल्ला दिनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणको बचाउमा उत्रिएका छन् । पूर्व गृहमन्त्री खाणका विश्वासपात्र यादव यतिबेला खाणको प्रतिरक्षाका लागि दिलोज्यान दिएर लागेको देखिन्छ । पार्टीभित्र र बाहिर खाणको बचाउमा उनी खरो रूपमा उत्रिएका छन् ।
७. संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा एमालेको समर्थन
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण र मेलमिलाप आयोग ऐनमा संशोधन सम्बन्धी विधेयकमा एमालेको पूर्ण समर्थन रहने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित १४ औं राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
८. यौन व्यवसायी महिलासँग मञ्जुरीबिनाको शारीरिक सम्बन्ध जबरजस्ती करणी ठहरिने
सर्वोच्च अदालतले हालै गरेको एक फैसलामा महिला यौन व्यवसायी भए पनि उनले मञ्जुरी नदिए त्यस्तो कार्य जबरजस्ती करणी नै हुने ठहर गरेको छ । २०७९ चैत ६ गते सर्वोच्च अदालतबाट भएको फैसलामा महिला यौन व्यवसायी भए पनि उनको पूर्ण मञ्जुरी नभई करणी गरिए त्यस्तो कार्य जबरजस्ती करणी हुने ठहर गरेको हो ।
९. उत्तरी नाकाबाट भित्रियो रासायनिक मल
नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यस वर्ष पनि रासायनिक मल भित्रिन सुरु भएको छ । तातोपानी नाकाबाट पछिल्लो सातादेखि करिब ३५ हजार टन रासायनिक मल भित्रिएको हो । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट रासायनिक मल ल्याएको छ ।
१०. नेपालका नर्सिङ कलेज बन्द भएपछि भारतले सीमा क्षेत्रमा धमाधम कलेज खोल्दै
चिकित्सा शिक्षा आयोगले पूर्वाधार नपुगेको भन्दै नर्सिङ कलेजहरूलाई नयाँ विद्यार्थी भर्ना गर्न रोक लगाएपछि नेपालमा सञ्चालित अधिकांश नर्सिङ कलेज धमाधम बन्द हुने अवस्थामा पुगेका छन् । नेपालमा कलेज बन्द भएसँगै ती विद्यार्थीलाई लक्षित गरी नेपाल–भारतका सीमावर्ती क्षेत्रमा धमाधम कलेज खुल्न थालेका छन् । नेपाल–भारत सीमा क्षेत्रमा १५७ नर्सिङ कलेज खुलेका छन् ।