सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

परिवारवादले राजनीतिमा ल्याएको क्षयीकरण

आइतबार, ०७ जेठ २०८०, १५ : ३१
आइतबार, ०७ जेठ २०८०

महाभारतमा राजा भरतलाई एक महाप्रतापी र राष्ट्रवादी राजाको रुपमा प्रस्तुत गरिएको छ । राजा भरत कुरु वंशका आदि पुरुष राजा दुष्यन्त र ऋषि पुत्री शकुन्तलाका छोरा थिए । भरतका ९ भाइ छोरा थिए । तर उनका सबै छोराको चाल चलन, बानी व्यहोरा र राजकीय ज्ञान आदि कमजोर भएका कारण यिनीहरुले राज्य सञ्चालन गर्न सक्दैनन् भन्ने लाग्यो भरतलाई । त्यसैले आफ्ना अयोग्य छोराहरुलाई राज्य नसुम्पेर ऋषि भारद्वाजका छोरा भुमन्यु नाम गरेका युवकलाई राज्य सुम्पेका थिए उनले । 

राजा भरतको यो कर्मबाट के प्रमाणित हुन्छ भने देश र जनताको हित चिताउने असल नेताले परिवार मोहमा राज्यको भविष्यमाथि खेलवाड गर्दैनन् । 

महाभारतको यो प्रसङ्ग यहाँ किन उल्लेख गरिएको हो भने नेपाली राजनीतिका शीर्ष पुरुषहरु उनीहरुका भाषण, अन्तर्वार्ता वा कुराकानीमा महाभारत, गीतालगायत धार्मिक ग्रन्थका उदाहरण प्रशस्तै दिन्छन् । 

तर व्यवहारमा ती उल्लेख गरिएका प्रसङ्ग आफू र आफूले नेतृत्व गर्ने दलमा कति लागु गरेका छन् भनेर हेर्ने हो भने त्यसको ठिक विपरीत पाइन्छ ।

नेपालको राजनीतिमा परिवारवादले अत्यन्तै गाँजेको छ । दलमा परिवारका मान्छे, लाभका पदहरुमा परिवारका मान्छे, उमेद्वार छनौटमा परिवारका मान्छे, ठेक्कापट्टा आदिमा परिवारका मान्छे । केमा बाँकी राखेका छन् र, खै हाम्रा नेताहरुले परिवार मोह ।

सर्वसाधारणको सन्तानले गाउँको वडा समितिदेखि सदस्यता लिदै दिनरात दलको लागि खट्दै बल्ल बल्ल गाउँसमितिमा पुग्दा नेताको सन्तान केन्द्रीय तहमा मनोनित भैसक्छन् । 

राजनीतिमा परिवारवादको अर्थ एकाघरको सदस्य भन्ने मात्र लाग्दैन । नेताका आफ्नै सन्तान, श्रीमती, नातेदार, कुल कुटुम्ब, आफ्ना नीति, निर्देशन र भनाइहरु बिना प्रश्न, बिना शङ्का, बिना प्रस्टता हुबहु लागु गर्न तयार अन्धभक्त कार्यकर्ता र भनेको बेलामा बिना हिचकिचाहट आर्थिक सहयोग उपलब्ध गराउने चन्दादाता सबै परिवारका सदस्यभित्र पर्छन् ।

घरमुलीको लागि परिवारको सदस्य त्यो हो, जो उसको भान्छा कोठा, बैठक कोठा र शयन कक्षमा बेरोकतोक प्रबेश गर्ने हैसियत राख्छ । उसले फोन गर्दा घरमुलीले तुरुन्त उठाउँछ । अझ मुलीको गोप्य फोन नम्वरसमेत थाहा हुन्छ उसलाई । यो लेख राजनीतिमा परिवारवादमा केन्द्रीत छ । माथि उल्लेखित बर्गका सदस्यहरुलाई दलका पारिवारिक सदस्यमा राखिएको छ ।

एकै समयमा जन्मिएका एकजना सर्वसाधारणको सन्तान र एकजना नेताको परिवारका सन्तानको राजनीतिक प्रगति हेरौँ त । त्यो सर्वसाधारणको सन्तानले गाउँको वडा समितिदेखि सदस्यता लिदै दिनरात दलको लागि खट्दै बल्ल बल्ल गाउँसमितिमा पुग्दा नेताको सन्तान केन्द्रीय तहमा मनोनित भैसक्छन् । 

अनि त्यो सर्वसाधारणको सन्तानले वडामा टिकट पाउँदा नेताका परिवारका सन्तानले कम्तिमा पालिका प्रमुख, नभए प्रदेश वा प्रतिनिधि सभा सदस्यको टिकट पाउँछन् । 

राजनीति गर्नेको परिवारले लाभको पद पाउनै नहुने वा राजनीतिक दलको नेतृत्वमा पुग्नैै नहुने भन्ने होइन । मेरो गुनासो यति मात्र हो कि उमेरमा ऊ सँगैको तर दलमा योगदान उसको भन्दा बढी गरेको एक सर्वसाधारणको सन्तानले किन त्यो पद नपाउने भन्ने मात्र हो । 

आजको परिदृष्य कस्तो छ भने दलका नेता वा परिवारका सन्तान देशभित्र पनि राम्रो विद्यालयमा पढ्छन् र उच्च शिक्षाको लागि विदेश जान्छन् । ५/१० वर्ष उतै बिताउँछन् । पढ्छन् वा होटेल र पेट्रोल पम्पमा काम गरेर बस्छन्, उनीहरु नै जानून् । केही वर्षपछि पैसासमेत कमाएर फर्कन्छन् । अनि बाबुआमाको टेकोमा केन्द्रीय नेता बन्छन् र लाभको पद प्राप्त गर्छन् । 

अहिलेको राजनीतिक परिदृष्य हेर्दा कि आफ्ना एकाघरका सदस्य, कि नातेदार, कि चन्दादाता, कि आफ्नो कुलका सदस्य हुनुपर्छ राजनीतिमा अगाडि बढ्न । 

कसैलाई थाहा छैन कि उनीहरुले कहिले र कुन बेला कसरीे राजनीतिमा योगदान दिए । आफ्नो दललाई निर्वाचनमा जिताउन को कसको कतिपटक प्रचार प्रसारमा हिँडे र दललाई सङ्कट परेको बेलामा उनीहरु दलको पक्षमा सतिसाल झैँ उभिएका थिए वा थिएनन् । 

यस्ता कुरा थाहा पाउन पनि जरुरी छैन । किनकि उनीहरु त नेताका वा उसका परिवारका सन्तान हुन् । उनलाई यो सुविधा र अवसर दिनु पर्दछ । किनकि उनका अभिभावकले दलमा योगदान दिएका छन् ।

अहिलेको राजनीतिक परिदृष्य हेर्दा कि आफ्ना एकाघरका सदस्य, कि नातेदार, कि चन्दादाता, कि आफ्नो कुलका सदस्य हुनुपर्छ राजनीतिमा अगाडि बढ्न ।  त्यसपछि आउँछन् दलका कार्यकर्ता । दलका कार्यकर्तामा पनि पहिले भक्त, त्यसपछि आफ्नो निर्वाचन क्षेत्र, अनि मात्र अन्य इमान्दार कार्यकर्ता । 

यसरी नेपाली राजनीति परिवारवाद भित्र गुम्सिएको छ । त्यसैले, आफ्नै मेहनतले देशको नीति निर्माण तहमा पुग्छु भन्ने युवामा राजनीतिप्रति नै वितृष्णा उत्पन्न हुन थालेको छ ।

परिवारवादले दल, परिवार र समग्रमा देशलाई नै क्षति पु्याएको छ । परिवार मोहका कारण दलहरुले कस्तो क्षति ब्यहोरेका छन् भन्ने कुरा छिमेकी देशका प्रमुख भनिएका दलहरुका केही उदाहरण हेरौं ।

भारतमा कुनैबेला एकछत्र राज गरेको भारतीय राष्ट्रिय काँग्रेसको हालत नेहरु र गान्धीको परिवारवादले आज कहाँ पु्यायो । भारतकी इन्दिरा गान्धी र बेलायतकी मार्गरेट थ्याचर आफ्नो जमानाका शक्तिशाली राजनीतिज्ञ हुन् । इन्दिरा गान्धीले आफ्ना छोराहरुलाई उत्तराधिकारी बनाउन प्रयास गरी रहिन् भने मार्गरेट थ्याचरले आफ्नो उत्तराधिकारी आफ्नो पार्टीका वरिष्ट नेता जोन मेजरलाई बनाइन् । उनका छोरा मार्क थ्याचर र छोरी क्यारोल थ्याचर क्रमशः व्यापार र पत्रकारितामा लागे । नेहरुबाट आज राहुल गान्धीसम्म आइपुग्दा भारतीय राष्ट्रिय काँग्रेसको हालत के भएको छ, ब्याख्या विश्लेषण गर्नै पर्दैन । 

परिवारवादकै कारण भारतका विभिन्न प्रदेशहरुमा कुनै बेला अत्यन्त लोकप्रिय दलहरु मुलायम सिंह यादवको समाजवादी पार्टी, लालु यादवको राष्ट्रिय जनता दल, बाल ठाकरेको शिवसेना आज सत्ता भन्दा बाहिर छन् र आफ्नो अस्तित्वको लागि संघर्षरत छन् । 

विभिन्न कारण हुन सक्छ, भारतीय जनता पार्टीको उत्थानमा । तीमध्ये दललाई परिवार, नाता र दाताभित्र सङ्कुचन नगर्नु प्रमुख कारण हो भन्छन् भारतीय राजनीतिक विश्लेषकहरु । 

भारतीय जनता पार्टीका संस्थापक नेता अटल विहारी वाजपेयी अविवाहित भए पनि उनले नमिता भट्टाचार्यलाई छोरी बनाएका थिए । उनले नमितालाई भाजपाको नेतृत्वमा ल्याउने कहिल्यै प्रयास गरेनन् । त्यसैगरी, अर्का संस्थापक नेता लालकृष्ण अडवाणीका छोरा जयन्त अडवाणी र छोरी प्रतिभा अडवाणी पनि दलको कुनै महत्वपूर्ण नेतृत्वमा रहेको देखिँदैन । अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीका त छोरा छोरी नै छैनन्, दाजुभाइ, भतिजा भतिजी र नातेदारलार्ई पनि उनले त्यति प्राथमिकता दिएको देखिदैन । 

अर्को छिमेकी देश पाकिस्तानको परिदृष्य हेर्दा पाकिस्तान पिपुल्स पार्टीको नेतृत्व जुल्फीकर अली भुट्टोदेखि हालका परराष्ट्र मन्त्री विलावल भुट्टोकै वरपर घुमेको देखिन्छ । नवाज शरिफको पार्टीमा पनि आफू आमनिर्वाचन लड्न नपाउने भएपछि भाइ शेवाज सरिफलाई पार्टी मुखिया बनाए र अहिले सरकारको नेतृत्वमा उनै छन् । 

पाकिस्तानका प्रमुख दुई दलमा झाँगिएको यही परिवारवादको कारणले गर्दा राजनीतिको सामान्य अनुभव पनि नभएका एक क्रिकेटर इमरान खान राजनीतिमा उदाए र यी दुबै दललाई हराएर सँसदमा सबैभन्दा ठूलो दल हुँदै सरकार समेत बनाए ।  

बंगलादेशको राजनीति पनि दुई परिवार बीचमा सीमित छ । बंगलादेशका पहिलो राष्ट्रपति शेख मुजिवर रहमानकी छोरी शेख हसिना वाजेद अहिले प्रधानमन्त्री छिन् भने प्रतिपक्ष दलको नेतृत्वमा पूर्व राष्ट्रपति जियाउर रहमानकी श्रीमती खालिदा जिया छिन् । बंगलादेशमा पनि यदि समयमै यी दलहरु परिवारबाट बाहिर निस्केनन् भने अर्को दल आवश्यक भएको कुरा मुखरित हुन थालेको छ ।

गत वर्षदेखि आर्थिक सङ्कटको चपेटामा परेको श्रीलंकाको हालत पनि अरु देश भन्दा फरक छैन । राजापाक्षेको खलकले कुनै बेला राष्ट्रपति, प्रधानमन्त्रीलगायत सबै प्रमुख मन्त्रालयहरुको नेतृत्व गर्थे । हालका राष्ट्रपति बिक्रमासिँगे पनि श्रीलंकाका पूर्व राष्ट्रपति जेआर जयवर्धनेका भतिजा हुन् । यही परिवारवादको कारणले गर्दा दक्षिण एशियाको सबैभन्दा समृद्ध देश आज आर्थिक संकटमा फस्न पुग्यो ।

माथि उल्लेखित देशका जुन जुन राजनीतिक दलमा परिवारवाद हावी भयो, ती दलहरु क्रमशः ओरालो लाग्न थाले । जनताको विश्वास गुमाउन थाले र कुनैबेला स्वतन्त्रता र प्रजातन्त्रको लागि नेतृत्व गरेका दलहरु सत्ताबाट विमुख हुँदै गए । 

अब फेरि नेपालकै कुरा गरौँ । 

कुनै बेला राष्ट्रियता, प्रजातन्त्र, सामाजिक समानता, समावेशीता र सुशासनको उग्र वकालत गर्ने दलहरु आज कसरी परिवारवाद आफन्तवाद, नातावाद, चन्दावाद वा गणेशवादमा चुर्लुम्म डुबेका छन् भनेर ब्याख्या विश्लेषण गर्नै पर्दैन, सबैका सामु छर्लङ्ग छ ।

जब एउटा राजनीतिक दलमा प्रश्न गर्न पाईँदैन वा प्रश्न गर्नेहरुले उत्तर पाउँदैनन् वा उनीहरुलाई प्रश्न गर्ने ठाउँमै जानबाट बञ्चित गरिन्छ वा पाखा लगाइन्छ, तब त्यो दलमा तानाशाहको उदय हुन्छ  । 

जब एउटा राजनीतिक दल उसका आधारभूत सिद्धान्त, विचार र नीति सामान्य रुपमा पनि नबुझेका वा बुझ्न नचाहने वा नपर्ने कार्यकर्ता र समर्थकहरुले भरिन्छ । र, विचार तथा सिद्धान्त बुझेका कार्यकर्ता पाखा पारिन्छ, तब त्यो दल वास्तवमा राजनीतिक दल नभएर अराजकहरुको भीडमा परिणत हुन्छ । 

जब एउटा राजनीतिक दलमा साँझ, बिहान, घर परिवार नभनी दिन रात खट्ने इमान्दार कार्यकर्तालाई पाखा लगाउँदै सुकिला, धन भएका, उद्योगी, ब्यावसायीहरु, ठेकेदारहरु र बाहुबलीहरुको स्थान मजबुत हुँदै जान्छ । अनि त्यो दल राजनीतिक दल नभएर एउटा कर्पाेरेट कम्पनी बन्न जान्छ, जहाँ नाफा, फाइदा र स्वार्थका सम्बन्धहरु मात्र बाँकी रहन्छन् । 

नेपाली राजनीतिका खेलाडीहरु कोही विवाहित होलान्, कोही नहोलान्, कोहीका सन्तान होलान्, कोहीको नहोलान् । यसले परिवारवादको आधारभूत मान्यता, सिद्धान्त र ब्यवहारमा उनीहरुबीच खासै फरक छैन र देखिँदैन पनि । 

यी नेताहरुको भान्छा कोठा, बैठक कोठा र शयन कक्षमा पुग्ने र यिनीहरुको निर्णयमा प्रभाव पार्ने व्यक्तिहरु कि त श्रीमती हुन्, कि त छोराछोरी । कि ती ब्यक्ति नातेदारहरु हुन्, कि त सधैँ स्तुति गाउने भक्तजनहरु । त्यति पनि नभए ती ब्यक्तिहरु कि त गाह्रो साँगुरो पर्दा दान दातब्य दिने दानवीरहरु हुन् वा निर्वाचनको समयमा मैदानमा सिँगौरी खेल्ने बाहुबलीहरु हुन् । 

अरु ब्यक्ति त नेताले पेश गरेका विषयबस्तु र निर्णय सुन्छन् र ताली पड्काउँछन् । कसैले हिम्मत गरेर केही बोलीहाल्यो भने पनि सुनिदैन उनको कुरा । बरु राय बझाएको भनेर नेतृत्वको विरोधी करार गरिन्छ उसलाई । 

जब सरकारको नेतृत्व गर्ने वा दलको नेतृत्व गर्ने व्यक्तिमा सत्ता, शक्ति र सम्पत्तिको भोग जाग्न थाल्छ, अनि उसको निर्णय गर्ने प्रक्रियामा श्रीमती र सन्तानहरु, आफ्ना दाजुभाइ र नातेदारहरु वा आफ्ना अन्धभक्तहरु र दाताहरु हावी हुन थाल्छन् । अनि त्यो देशमा भ्रष्टाचार मौलाउँछ र कुशासन व्याप्त हुन्छ । 

जब देशको बागडोर सम्हाल्ने व्यक्तिहरुलाई यी र यस्ता व्यक्तिहरुले घेर्छन् र उसले जे जस्तो बोले पनि र निर्णय गरेपनि अन्धभक्त कार्यकर्ताहरु बादशाहको नयाँ कपडा भनेर नाङ्गो बादशाहलाई पनि वाह वाह क्या दामी कपडा भने जसरी ताली पिटिरहन्छन्, तब त्यो दलमा क्षयीकरण आउँछ, दलको नीति र सिद्धान्तमा क्षयीकरण आउँछ, अनि राजनीतिमै क्षयीकरण सुरु हुन्छ । 

त्यति मात्र होइन, सम्पूर्ण सरकारी कामहरु अपारदर्शी हुन्छन्, विकास निमार्णका कार्यहरु झारा टार्ने किसिमका हुन्छन् । कुशासन र भ्रष्टाचार मौलाउँदै जान्छ, यसको परिणाम देशमा केही मुठ्ठीभर व्यक्तिहरु धनी हुँदै जान्छन् र गरिवहरु झन् झन् गरिब हुँदै जान्छन् । दृष्यमा देशमा केही विकास भए जस्तो देखिन्छ, तथ्याङ्कमा प्रतिव्यक्ति आम्दानी बढे जस्तो देखिन्छ । तर गरिब र धनी बीचको खाडल डरलाग्दो तरिकाले बढ्दै जान्छ । 

यी र यस्तै अब्यवस्थाका कारण एक दिन सर्वसाधारण जनताले सहन नसक्ने अवस्था आइपुग्छ । जब जनताको विश्वास र धैर्यता टुट्छ, त्यसको विस्फोटन दुई प्रकारले हुन्छ । पहिलो भ्रष्टाचार, कुशासन र परिवारवादको पालनपोषण गर्ने दललाई आवधिक निर्वाचनमार्फत् हराएर र दोस्रो आन्दोलनमा उत्रेर । 

निर्वाचनको माध्यमबाट यस्ता दलहरुलाई सत्ताविमुख बनाउनु सबैभन्दा उपयुक्त र उन्नत उपाय हो । जनताले सत्ता, शक्ति र सम्पत्तिको प्रभावको समेत वास्ता नगरी कसरी आफ्नो अभिमत ब्यक्त गर्छन् भन्ने त पैशाख १० को उपनिर्वाचनको परिणामले देखाइ सक्यो । 

यदि अहिले सरकार सञ्चालन गर्ने र प्रतिपक्षमा रहेका पुराना र ठूला भनिने दलहरुले बेलैमा निर्मम र इमान्दार आत्मसमीक्षा गरेर वैचारिक र साङ्गठनिक रुपान्तरण, शुद्धीकरण र सुदृढीकरण गर्दै आमुल रुपमा सच्चिएनन् भने २०८४ को आम निर्वाचनमा मतपत्रमार्फत् सर्वसाधारण जनताले शान्त आँधीबेहरी ल्याउनेछन् । अनि त्यसबेला थाहा हुन्छ, कुन कुन दल कुन धरातलमा पुग्नेछन् भनेर । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बलराम तिमल्सिना
डा. बलराम तिमल्सिना
लेखकबाट थप