बिरानो सहरमा भुइँमान्छेको भोगाइ : मत दिएका मन्त्रीको बेवास्ता, बालेनको सरप्राइज !
काठमाडौँ । कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका वडा नम्बर ३, देखतभुलीका अक्बर कार्कीका लागि काठमाडौँ बिरानो सहर हो । सीमित आफन्त तथा साथीभाइ रहेको यो सहरप्रति उनको खासै लगाव र अपेक्षा छैन ।
तर, आफ्नो एउटा भोगाइले पछिल्लो समय काठमाडौँ सहरप्रति उनको दृष्टिकोण बदलिएको छ । उनी भन्छन्, ‘आफैँले भोट दिएर जिताएका जनप्रतिनिधिले बेवास्ता गर्दा काठमाडौँजस्तो ठाउँमा हामीजस्ता दूरदराजका सामान्य नागरिकले पनि सहजै सुविधा पाउन सकिने रहेछ, मैले त कल्पना पनि गरेको थिइनँ ।’
अक्बरलाई यस्तो अनुभूति गराएको घटनाचाहिँ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको एउटा निर्णय र त्यसको प्रभावकारी कार्यान्वयनले हो । जबकि उनले आफ्नो भोगाइ अघि त्यो निर्णय यति प्रभावकारी रूपमा कार्यान्वयन होला र आफूजस्ता सामान्य मानिसले त्यसको प्रतिफल पाइएला भन्ने कल्पना नै गरेका थिएनन् ।
‘नेता होस् त बालेनजस्तो’
अक्बरकी जेठी (सौतेनी) आमा धाना कार्की गत वैशाख ३१ गते घरमै अकस्मात बिरामी भइन् । ७३ वर्षीय धानालाई तत्काल उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा लगियो । चिकित्सकले धानाको मुटुमा समस्या देखिएको ठहर गरे । तत्काल उनलाई आइसीयुमा राखियो । चिकित्सकले बिरामीको अवस्था गम्भीर रहेको र उपचारका लागि काठमाडौँमै लैजान सुझाव दिए ।
‘काठमाडौँ लैजानका लागि हामी एम्बुलेन्सको खोजी गर्दै थियौँ तर चिकित्सकले बिरामीको अवस्था हेर्दा एम्बुलेन्सबाट लैजान सम्भव नहुने भनेपछि झस्कियौँ,’ अक्बरले भने, ‘त्यसपछि हामीले काठमाडौंका लागि प्लेनको टिकट लियौँ ।’
उनका अनुसार एम्बुलेन्समा लैजान कम्तीमा १५/१७ घण्टा समय लाग्ने र आइसीयुबाट निकालेर बिरामीलाई त्यति लामो समयसम्म राख्न जोखिम हुने भएकाले चिकित्सकले बढीमा ३÷४ घण्टाभित्रै सुविधासम्पन्न अस्पतालमा पुर्याइसक्ने प्रबन्ध गर्न भनेका थिए ।
जेठ १ गते बेलुकी ७ः२५ बजे उडान हुने भनिए पनि मौसमको गडबडीले केही ढिलोगरी विमान उडेको उनले सुनाए । त्यो विमानमा आफूहरुकै छेउमा देशकै केही दिग्गज नेतासमेत रहेको उनले बताए ।
‘राष्ट्रिय राजनीतिमा चर्चित रहेका नेताहरु देखेपछि मैले नमस्कार गरेँ । उहाँहरुले बल्लतल्ल नमस्कार फर्काउनुभयो,’ अक्बर भन्छन्, ‘गम्भीर बिरामी भएकी जेठी आमालाई सँगै राखेर किताबले हम्किरहेको थिएँ, अन्य यात्रीले के भएको हो भनेर सोधखोज गरे पनि उहाँ (नेता)हरुले कुनै चासोसमेत राख्नुभएन ।’
यो घटनाले नेताहरुमा मानवता भन्ने हुँदोरहेनछ भन्ने आफूले अनुभूति गरेको उनले बताए । विमानभित्र नेताहरूको त्यो व्यवहारलाई उनले धेरै महत्त्व पनि दिएनन्, किनकि उनलाई राति झण्डै १० बजे काठमाडौँ अवतरण गरेपछि जेठी आमालाई कसरी अस्पतालसम्म लैजाने भन्ने चिन्ता थियो ।
झट्ट उनले काठमाडौँ महानगरका प्रमुख बालेन शाहको केही दिनअघिको एउटा घोषणा सम्झिए । बालेनले वैशाख ३० गते फेसबुकमा लेखेका थिए, ‘काठमाडौंभरि २४ घण्टा नै १०२ मा कल परेर फ्री एम्बुलेन्स सर्भिस लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरेबापत कुनै शुल्क तिर्नुपर्ने छैन ।’
अक्बरका अनुसार उनले फेसबुकमा बालेनको पेज फलो गरेका छन् । उनले बालेनबारे चर्चा, समर्थन र विरोध पनि सामाजिक सञ्जाल र मिडियाबाट हेर्ने र बुझ्ने गरेका छन् । तर आफ्नो भूगोलसँग सम्बन्धित नभएकाले उनलाई ती सब कुराबाट त्यसअघि खासै फरक पर्दैनथ्यो ।
त्यसो त, नेताहरूको भनाइ र गराइमा धेरै भिन्नता हुन्छ भन्ने कुरा उनको मनमा चसक्क नबिझेको होइन । तै पनि अरू उपाय केही नभएपछि बालेनले फेसबुक पेजमा उल्लेख गरेको १०२ नम्बरमा विमानबाट उत्रिँदै गर्दा कल गरे ।
‘दुई घण्टीमै फोन उठ्यो । उताबाट बिरामीको नाम, मेरो नाम, ठेगाना, सम्पर्क नम्बर आदि सोधियो, मैले सबैकुरा बताएँ,’ अक्बरले भने, ‘त्यसपछि हामी अराइभल कक्षमा आएर आफ्नो सामान लिएर बाहिर निस्कियौं, त्यहाँ त एम्बुलेन्स आइसकेको रहेछ, मैले त यति छिटो एम्बुलेन्स आइसकेको हुन्छ भन्ने सोचेकै थिइनँ ।’
सोही एम्बुलेन्सबाट आफूहरू जेठी आमालाई लिएर गंगालाल अस्पताल पुगेको उनले सुनाए । एउटा बिरानो सहरमा सम्बन्धित सहरकै स्थानीय सरकार प्रमुखले आफूहरुजस्ता दुरदराजका जनताका लागि उपलब्ध गराएको यो सुविधा उनका लागि अविश्वसनीय थियो । त्यसैले उनले सोही रात अबेर फेसबुकमा स्ट्याटस लेखे । उनले जनतालाई बालेनजस्तै नेता चाहिएको धारणा फेसबुकमार्फत राखे ।
उनको यो स्ट्याटस सामाजिक सञ्जालमा भाइरल नै भयो । कतिले उनकै फेसबुक अकाउन्टबाट यो स्ट्याटस शेयर गरे भने कतिपयले ‘सामाजिक सञ्जालबाट’ भन्दै उद्धृत गरेर उनको स्टाटसमात्र कपी गरेर पोस्ट गरे ।
अहिले उनकी आमाको मुटुको शल्यक्रिया भइसकेको छ । मुटुमा ‘पेस मेकर’ राखिएको उनले जानकारी दिए । ‘समयमै अस्पताल ल्याउन पाइयो,’ शनिबार रातोपाटीसँग उनले भने, ‘जेठी आमालाई बचाउन पाइयो, अहिलेसम्म उहाँको अवस्था राम्रै छ, भोलि या पर्सिसम्ममा डिस्चार्ज गर्छन् होला ।’
‘बुबाको किरिया बसेको बेलामा समेत भोट दिन गयौं, तर तिनले नै वास्ता गरेनन्’
अक्बर गत मंसिर १० मा सम्पन्न निर्वाचनलाई यतिबेला सम्झिरहेका छन् । क्यान्सर रोगका कारण गत कार्तिक २५ गते उनको पिता उनको पिता डम्बरबहादुर कार्कीको निधन भएको थियो ।
पिताको किरिया बसेकै अवस्थामा उनी र उनको परिवार मतदानका लागि मतदान केन्द्रसम्म पुगेको थियो । उनी प्रतिनिधिसभा अन्तर्गत कञ्चनपुर क्षेत्र नम्बर २ का बासिन्दा हुन् । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका एनपी साउद उम्मेदवार थिए र उनी विजयीसमेत भए । साउद अहिले परराष्ट्रमन्त्री समेत छन् ।
साउदलाई मत दिन आफूहरू त्यतिबेला किरिया बसेकै अवस्थामा मतदान केन्द्रसम्म गएको तर आफूहरुलाई पर्दा तिनै जनप्रतिनिधिले सामान्य औपचारिकतासमेत निर्वाह नगरेको अक्बरको दुखेसो छ ।
‘कार्तिक २५ गते बुबा बित्नुभयो, मंसिर ४ मा चुनाव हुँदा हामी बुबाको किरियामा बसेका थियौँ,’ अक्बरले भने, ‘किरिया बसेको अवस्थामा पनि हामी उहाँलाई भोट दिन गयौं । बैतडीका कांग्रेस नेता उत्तर ऐरीले भनेका कारण हामी एनपी साउदलाई भोट दिन गएका थियौँ । नत्र हामी किरिया बसेको बेला भोट हाल्न के जानु र ? भनेर बसिरहेका थियौँ ।’
देशभरि नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारको लहर चलिरहेको समयमा आफ्नो निर्वाचन क्षेत्रमा त्यस्तो उम्मेदवार अरू कोही नभएकाले पुरानै पार्टी, पुरानै नेतालाई मत दिनुको विकल्प नरहेको उनको भनाइ छ । ‘तर नयाँ र पुरानाबीचको भिन्नता यतिबेला अझ राम्रोसँग बुझ्ने मौका पाइयो,’ उनले भने ।
परराष्ट्रमन्त्री साउद र उनको सचिवालय सदस्यलाई धेरैपटक फोन गरेको अक्बरले बताए । काठमाडौँ आउनु अघिदेखि आफूले सम्पर्कका लागि प्रयास गरेको तर काठमाडौँ आएर जेठी आमाको अप्रेसन भइसक्दासमेत पनि उताबाट कुनै ‘रेस्पोन्स’ नभएको उनले बताए ।
‘आउनु अघि पनि मैले उहाँ (एनपी साउद)लाई सम्झेर धेरैपटक फोन गरेको थिएँ तर फोन उठेन । न त कसैले रिप्लाइ गर्यो,’ अक्बरले भने ।
आफूहरुले कुनै ठुलो सहयोगको अपेक्षा गरेर एनपी साउदलाई फोन भने नगरेको अक्बरको भनाइ छ । ‘हामी मध्यम परिवारका हौं । केही माग्नै पर्ने अवस्था होइन,’ उनले भने, ‘जनप्रतिनिधिहरू ठाउँमा पुगेपछि भरोसा दिउन्, साथ दिउन् भन्ने चाहेको हो । सहजीकरण गरिदिएमात्र पनि हाम्रालागि ठुलो कुरा हुन्छ । बुबाको किरिया बसेको अवस्थामा हामीले उहाँलाई भोट दिएको हो, त्यो गुन त सम्झिनु हुन्छ होला भन्ने लागेको थियो ।’
उनले मतदान गरेपछि आफ्नो फेसबुकमा स्ट्याटस लेखेका थिए । त्यो स्ट्याटसमा आफूहरूको मतको अवमूल्यन नहोस् भन्ने अपेक्षा गरिएको तर त्यो अपेक्षा निरर्थक भएको उनले बताए ।
उनले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई पनि आफ्नो समस्याबारे जानकारी गराए । भानु कृष्णपुर–२ का बासिन्दा र आफूहरू कृष्णपुर–३ का बासिन्दा रहेका कारण पहिलादेखि नै चिनजान रहेको उनी बताउँछन् । आफूलाई परेको समस्याबारे भानुलाई जानकारी गराएको र भानुले कमसे कम ‘रेस्पोन्स’चाहिँ गरेको उनको भनाइ छ ।
यस अतिरिक्त कृष्णपुरका मेयर हेमराज ओझा र वडा तहबाट पनि आफूहरुलाई अस्पतालमा सहुलियतका लागि आवश्यक सिफारिस लगायतका काम सहजै भएको उनले बताए । उनले भने, ‘हाम्रो मेयरको सचिवालयमा फोन गरेर मैले मेरो भतिजलाई आवश्यक कागज बनाएर दिनुहोला भनेको थिएँ । जेहोस्, उहाँले सहजै काम गरिदिनुभयो ।’
‘दलका भन्दा स्वतन्त्र जनप्रतिनिधि बढी उत्तरदायी’
अक्बरका अनुसार स्थानीय तहमा दलका जनप्रतिनिधिको तुलनामा स्वतन्त्र जनप्रतिनिधि बढी प्रभावकारी र उत्तरदायी देखिन्छन् । धनगढी उपमहानगरपालिकाको प्रमुख गोपाल हमालबाट पनि उनी प्रभावित भएका छन् । हमाल स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए ।
जेठी आमाको उपचारका लागि काठमाडौँ आएकै बेला घरमा आफ्नी आमा बिरामी भएको अक्बरले सुनाए । ‘एमआरआइ गराउने सल्लाह भयो, तर धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एमआरआइ छ कि छैन भन्ने बुझ्न मैले त्यताकै चिनेजानेका केही जनप्रतिनिधिलाई फोन गरेँ,’ उनले भने, ‘कयौं पटक फोन गर्दा पनि कसैले वास्ता गरेन, तर धनगढी उपमहानगरको वेबसाइटमा गएर मैले मेयरको नम्बर खोजेँ, अनि उहाँलाई फोन गरेँ । उहाँले तत्कालै रेस्पोन्स गर्नुभयो र बुझेर खबर गर्छु भन्ने जवाफ दिनुभयो ।’
उनका अनुसार स्वतन्त्र रूपमा निर्वाचित जनप्रतिनिधिहरुको काम गर्ने तरिका नै बेग्लै हुने रहेछ । स्वतन्त्रहरु जनताप्रति उत्तरदायी बढी हुने रहेछन् भन्ने आफूले महसुस गरेको उनको भनाइ छ ।
दलका नेताहरु आफ्ना झोलेहरुकै सेरोफेरोमा रम्ने गरेको, सामान्य नागरिकको सुख–सुविधाप्रति बेवास्ता गर्दै आएको अक्बरको गुनासो छ । तर, बालेनले जस्तै निःस्वार्थ भावले सामान्य नागरिकको सुख–सुविधालाई हेरेर काम गर्ने हो भने त्यस्ता नेताहरूको झोला बोकिदिन सामान्य नागरिककै लाइन लाग्ने उनी बताउँछन् । उनले त्यस्ता नेताप्रति लक्षित गर्दै भने, ‘जनताको काम गरिदिनुभयो भने तपाईंहरुलाई झोलेको आवश्यकता नै पर्दैन, तपाईंलाई पर्दा जनताले नै झोला बोकिदिनेमात्र होइन, फूलमाला लगाएर घुमाउँछन् ।’
आफूले बालेनसँग भेट गर्नका लागि प्रयास गरिरहेको पनि उनले सुनाए । उनले भने, ‘मैले बालेन सरलाई भेटेरै धन्यवाद दिन चाहेको छु, यसका लागि उहाँलाई इमेल पठाएको छु ।’