नीतिकथा : युधिष्ठिरको परीक्षा
प्रसङ्ग महाभारतको हो । जतिबेला द्रौपदीसहित पाण्डवहरू स्वर्गारोहणको बाटामा थिए त्यतिबेला लेक लागेर सर्वप्रथम द्रौपदी ढलेकी थिइन् । उनी ढलेको देखेर सहदेवले त्यसको जानकारी दाजु युधिष्ठिरलाई गराए तर युधिष्ठिरले भने यतिबेला अरूको होइन आफ्नो ध्यान दिने समय हो भन्दै अघि बढ्ने शङ्केत गरे ।
अलि पर पुगेपछि सहदेव आफैँ ढले । युधिष्ठिरलाई यसको जानकारी नकुलले गराए तर उनले भने अहिले पनि आफ्नो ध्यान दिनु भन्दै अघि बढ्ने आदेश दिए । एवंरीतले नकुल र अर्जुन पनि क्रमशः ढल्दै गए । उनी चाहिँ बचेकालाई अघि बढ्ने इसारा गर्दै अघि बढे, बढी नै रहे । अन्त्यमा भीमसेन पनि ढले । यतिबेला पनि उनले त्यसको वास्ता नगरी यात्रा जारी राखे । निकै उचाइमा पुगेपछि कुनै एक देवदूत आएर विमानमा चढ्न आग्रह गरे । त्यति बेलासम्म एउटा कुकुर साथमै थियो, जसले सुरुदेखि नै पछ्याउँदै आएको थियो । देवदूतको आग्रह सुनेपछि उनले विनम्रतापूर्वक भने–
‘ठिकै छ मेरो कष्ट देखेर विमान लिएर आउनुभएको रहेछ खुसी लाग्यो तर यो कुकुर सुरुदेखि नै पछि लाग्दै आएको छ । यसलाई एक्लै छाडेर जान सक्दिन । त्यसैले यसलाई पनि साथमा लिएर जाने अनुमति चाहन्छु ।’
‘कुकुरलाई पनि साथमै लाने रे ?’ देवदूतले आश्चर्य मानेजस्तो गर्दै भने–
‘यो कसरी सम्भव हुन्छ ? विमान तपाईँलाई मात्र लिन आएको हो । मलाई यही आदेश छ । त्यसैले तपाईँबाहेक अरू कसैलाई पनि लान सक्दिन ।’
‘ठिकै छ त्यसो हो भने पनि केही छैन ।’ युधिष्ठिरले आफ्नो आशय प्रस्ट पार्दै भने–
‘आफ्नो मात्र हितबारे सोच्ने काम सितिमिति पशुपक्षीले त गर्दैन भने म त मानिस । मानव चोलामा जन्म लिएर पनि कसरी त्यस्तो सोच्न सक्छु । सात पाइला मात्र साथ दिने त साथी हुन्छ भन्छन् । यस बिचराले त सुरुदेखि नै साथ दिँदै आएको छ । त्यसैले यसलाई एक्लै छाडेर जान सक्दिन ।’
‘होइन राजन ! तपाईँले कुरा बुझ्नु भएन जस्तो लाग्यो ।’ देवदूतले थप तर्क गर्दै भने–
‘अहिलेको अवस्था नै त्यस्तै छ । साथ दिनेकै कुरा गर्नुहुन्छ भने पनि साथ दिने काम श्रीमती र भाइहरूले पनि गरेका थिए तर त्यतिबेला त केही भन्नुभएन । अहिले आएर कसरी यस्तो कुरा गर्नुहुन्छ ?’
देवदूतको कुरा सुनेर युधिष्ठिरले लामो सास फेर्दैै भने–
‘ठिक भन्नुभयो, उनीहरूले पनि साथमा दिएका थिए । साथ दिएकाले साथी नै थिए तर उनीहरू आफैँले छाडेर गएका हुन्, मैले छाडेको होइन । छाडेकै कुरा गर्ने हो भने पनि उनीहरूलाई मरेपछि मात्र छाडेको हुँ । किनकि मरेकालाई बचाउने शक्ति ममा थिएन तर यस कुकुरले अहिलेसम्म पनि साथ छाडेको छैन । जसले आफ्नो आश्रयमा रहेकाको देखभाल गर्न सक्दैन वा गर्दैन र आफ्नो हितको मात्र पछि लाग्छ भने त्यस्ताको जीवन धिक्कार छ । यस्तो काम न पहिले कहिल्यै गरेको थिएँ न अहिले नै गर्न सक्छु ।
डराएको मानिसलाई, आफ्नो भक्तलाई, मेरो कोही पनि छैन भनेर शरणमा आएकालाई, बलहीनलाई र प्राणको रक्षा गरिपाऊँ भन्नेलाई बेवास्ता गर्ने चेष्टा कहिल्यै गर्न सक्दिन । बरु प्राणै जाओस् मलाई त्यही प्रिय छ । मैले शरणमा आएकालाई डर देखाउनु, स्त्रीजातिको वध गर्नु, अर्काको धन हरण गर्नु र मित्रको द्रोह गर्नु यी चार कुरालाई जघन्य अपराधको कोटीमा राखेको छु र एउटा भक्तलाई त्याग्नु भनेको यी चार पाप बराबरको पाप हो भन्ने मेरा मान्यता छ । यस अर्थमा पनि यस कुकुरलाई छाडेर जाने कुरा आउँदैन ।’
यत्तिकैमा एउटा चमत्कार भयो । जब युधिष्ठिरले यस किसिमको अठोट व्यक्त गरे तब कुकुर एकाएक आफ्नो स्वरूप छाडी धर्मको रूपमा प्रकट भए र उनको प्रशंसा गर्दै भन्न लागे–
‘वत्स ! तिम्रो परीक्षा गर्न यस स्वरूपमा प्रस्तुत भएको थिएँ, पास भयौ खुसी लाग्यो । तिमीले जसरी कुकुरका निम्ति स्वर्गीय सुखसमेत त्याग्ने तत्परता देखायौ यस्तो काम स्वर्गवासीहरूले समेत गर्न सक्दैनन् । यतिबेला स्वर्गवासी कसैलाई पनि तिमी समान उपकारी देखिरहेको छैन । त्यसैले तिमीले उत्तम गति पाइसकेका छौ । विना हिचकिचाहट सशरीर स्वर्गमा गएर सुखभोग गर्न सक्छौ ।’
यति भनेर धर्म त्यतै अलप भए । देवदूतले उनलाई विमान राखेर स्वर्गतर्फ लगे ।
यस व्यास कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर आश्रितको संरक्षण गर्नु समान ठुलो धर्म अर्को छैन भन्ने कुरा भने सत्य हो । त्यसैको जीवन सार्थक हुन्छ, जसले अरूको हितमा ध्यान दिने गरेको छ । आफ्नो मात्र हितको कुरा गर्नेहरू कहिले उदाउँछन् र कहिले अस्ताउँछन् कसैले पनि वास्ता गर्दैन । अरूको हितको कुरा गर्नेहरूलाई भने मरेर गएपछि पनि सम्झिने धेरै हुन्छन् ।