१ अर्ब ४० करोड लगानीमा काठमाडौँको ठमेलमा खुल्यो होटेल
काठमाडौँ । वाराही हस्पिटालिटी अन्तर्गत काठमाडौँको ठमेलमा नयाँ होटेल ‘होटेल वाराही काठमाडौँ’ जेठ ७ गते (आइबार)देखि सञ्चालनमा आएको छ । फोर स्टार स्ट्यान्डर्ड होटेलमा आठ वटा सुइट र ७२ वटा डिलक्स रुम गरी ८० वटा रुम रहेका छन् ।
डिलक्स रुमको अफर शुल्क सय डलर रहेको वाराही हस्पिटालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले बताए ।
होटेलमा कफी सप, रेष्टुरेण्ट, बार, प्राइभेट डाइनिङ हल रहेका छन् । लाउन्ज र थिएटर सेटअपमा १२० जना अट्ने सभा हल केही हप्तामा तयार हुँदै छ ।
केशर महलको अगाडि चोकैमा रहेको होटेलको सातौँ तलामा ‘इन्फिनिटी स्विमिङ पुल’ रहेको छ । स्विमिङ पुलको मोहोडातर्फ नारायणहिटी दरबार रहेकाले मनमोहक दृश्य रहेको पौडेल बताउँछन् । साढे चार फिट गहिरो स्विमिङ पुल करिब १ हजार १०० स्क्वायर फिटमा फैलिएको छ ।
वाराही ग्रुपले व्यावसायिक कम्प्लेक्ससहितको होटेल निर्माण गरेको हो । कम्प्लेक्सको भुँइतलादेखि तीन तलासम्म अफिस र विभिन्न पसल रहने छन् भने बाँकी ६ तलामा होटेल रहेको छ ।
काठमाडौँको ‘मिड पोइन्ट’मा रहेको होटेल वाराहीबाट काठमाडौँ उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । वीर शमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैँचा र नारायणहिटी दरबार होटेलको आँगनमै भएको अनुभूति हुन्छ । त्यस्तै घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम शृङ्खला देख्न सकिन्छ ।
सपिङ कम्प्लेक्स सहितको होटेल निर्माण गर्न करिब एक अर्ब चालिस करोड रुपैयाँ खर्च भएको थापाले बताए । कम्पनीले पसल तथा अफिसका लागि बुकिङ पनि खुला गरेको छ ।
सपिङ कम्प्लेक्स सहित होटेल रहेको वाराही प्लाजाको आर्किटेक्टको काम ‘डिजाइन सेल’ का अरुण देव पन्त र अञ्जन श्रेष्ठले गरेका हुन् भने इन्टेरियर डिजाइनको काम सिद्धार्थ गोपालानले गरेका हुन् ।
नेपालली पर्यटनको ‘गोल्डेन ट्र्याङ्गल’ मानिएको पोखरा, चितवन र काठमाडौँ मध्ये यस अगाडि पोखरा र चितवनमा वाराही ग्रुपको ‘प्रिमियम प्रोपर्टी’ रहेको थियो । वाराही काठमाडौँको सुरुवातसँगै अब बाराहीले गोल्डन ट्र्याङ्गल भरी आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।
४ दशक अगाडि पोखराको लेकसाइडमा हरिप्रसाद पौडेलले ९ कोठा प्याराडाइज गेस्ट हाउस सुरू गरेका थिए, सोही होटेलमा पछि सुबिधा थप गरी होटेल वाराही नामाकरण गरिएको हो ।
पौडेलले हस्पिटालिटी क्षेत्रमा देखाएको बाटो पछ्याउँदै उनका छोराहरू विप्लव र वैभव सोही व्यवसायमा आबद्ध छन् ।
वाराही ग्रुपको लगानीमा चितवनमा वाराही जङ्गल लज, पोखरामा होटेल वाराही, व्यञ्जन रेस्टुरेन्ट, सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच बार एन्ड लज समेत सञ्चालनमा छन् ।
वाराही ग्रुपको नेतृत्वमा पोखराको सेदीमा पाँचतारे होटेल निर्माणाधीन छ, जहाँ १२ सय क्षमताको सभाहल समेत बन्दैछ । पब्लिक लिमिटेड कम्पनी रहेको वाराही सेदी लिमिटेड सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ)मा समेत जाने थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान