सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

‘गुण्डाको इन्काउन्टर हुन्छ भने बलात्कारीलाई फाँसी किन हुँदैन ?’

शनिबार, २६ फागुन २०७४, १३ : १२
शनिबार, २६ फागुन २०७४

काठमाडौँ–ग्रीन सिटी अस्पतालको बेड नम्वर ८८ । अस्पताल प्रशासनको २४सै घण्टा निगरानीमा छ ।

आफन्त कसैसँग बोल्न सक्ने अबस्थामा छैनन् ।

बेड नम्वर ८८ मा भेट्न जानेको जतिबेला पनि भीड नै छ ।

तर, हत्तपत्त कसैलाई पनि भेटन अनुमति छैन ।

भेट्न जानेमा विभिन्न संघसंस्थाका प्रतिनिधि छन् ।

मिडियाकर्मी पवन पुग्छन् त्यहाँ ।

बेड नम्बर ८८ मा छिन् ‘गुडिया’ ।

हो, उनको उपनाम राखिएको छ, ‘गुडिया’ ।

यसको पनि कारण छ, भर्खरै ८ बर्षकी भइन् ।

यी ‘गुडिया’ पीडाले विक्षिप्त छिन् ।

नयाँ मान्छे देख्नेबितिकै डराउँछिन् ‘गुडिया’ ।

साथमा अहिले आफन्त कोही पनि छैनन् ।

सबै नयाँ अनुहार नै छन् ।

तर, ‘गुडिया’ कोही पुरुष देख्दा बढी त्रसित हुन्छिन् ।

मानसिक रुपमा उनलाई ठूलो चोट पुगेको छ ।

छोरीको पीडामा मल्हम लगाउन आएका बाबु लालबहादुर मुखिया पर्सा गएका छन् ।

दैनिकी माछा मारेर चलाउथे उनी ।

‘गुडिया’ को परिवार आर्थिक रुपमा निकैै कमजोर छ । निकै दयनिय छ ।  

यता ‘गुडिया’ अस्पतालमा छिन् ।

बुवा उता श्रीमतीको ख्याल गर्न पर्सा गएको ३ दिन भयो ।

उनको आजभोली नै ७औँ सन्तान जन्मदै छ ।

‘गुडिया’ ले चाँडै नै भाइ वा बहिनी पाउँदैछिन् ।

तर, यो खुसी साट्न पाउने छैनन् ‘गुडिया’ ले ।

‘गुडिया’ लाई अस्पतालले भीआईपी वेडको ब्यवस्था गरिदिएको छ ।

सामान्य बेडमा भीडभाड देखिएपछि ‘गुडिया’ लाई भीआईपी वेडमा लगिएको थियो ।

‘गुडिया’ को हेरचाहको लागि रक्षा नेपालकी दुई कर्मचारी राखिएको छ ।

‘गुडिया’ पीडामा छट्पटाउँदै आफ्नो बाबालाई खोजिरहन्छिन् ।

म त्यहाँ पुग्दा सन्नाटा जस्तो थियो । मसँग पनि बोल्ने शब्द थिएनन् । 

‘गुडिया’ सँग एउटै मात्र शब्द थियो–बाबा । 

‘गुडिया’ लाई पीडा छ, यो थाहा छ । तर, उनलाई मेरो जीवनमा के भएको हो भन्ने चाहिँ थाहा छैन ।

‘गुडिया’सँग जे अपराध भयो ।

उनले समयमा उपचार गर्न पाइनन् ।

घटनाको चार दिनपछि उपचारका लागि काठमाडौँ ल्याईएको थियो ।

‘गुडिया’ को अनुहार मैले नजिकबाट हेरेँ ।

काँखमा राख्ने मन थियो । तर, अनुमति हुँदैन्थ्यो । म आफै पछि हटेँ ।

काँखमा राख्न नसकेपछि ‘गुडिया’ को पीडा मनमा राखेँ । मेरो मुटुको गति बढ्यो ।

सम्मालिएँ । अनि कुरा गर्न खोजेँ ।

‘गुडिया’ तिमी कहिले काठमाडौं आयौँ ?

नेपाली भाषा बुझिनन् ।

सहयोगीले सोधे –उनकै भाषामा ।

‘आइतबार’ ।

यत्ति मात्र बोलिन् ‘गुडिया’ ।

बुवा लालबहादुरलाई ‘गुडिया’ को जन्ममिति पनि याद छैन ।

‘गुडिया’ आठ बर्षकी भइन् ।

बुबाले त्यहीँ भनेका थिए ।

तर, जन्मदर्तामा ‘गुडिया’ को उमेर भने उमेर ७ वर्ष ३ महिना मात्रै छ ।

जीवन चलाउन कठिन छ । तै पनि लालबहादुरलाई छोरा चाहिएको छ ।

त्यसैले उनले ७औँ सन्तान पर्खिरहेका छन् ।

बेला बेला ‘गुडिया’ यताउति हेर्छिन् ।

टाउको उठाउने कोशिष गर्छिन् । ‘गुडिया’ कक्षा १ को विद्यार्थी हुन् ।

भविष्य राम्रो होस् भने बुवा लालबहादुरले छोरीलाई सरकारी विद्यालयमा भर्ना गरिदिएका छन् ।

अव फेरि पढाईमा कसरी फर्कने ?

‘गुडिया’ को मनमा त छैन होला । तर, मैले बारम्वार सोचिरहेँ ।

‘गुडिया’ को उपचार गराईरहेकी डाक्टर रुपा झालाई भेटेँ मैले ।

उनका अनुसार ‘गुडिया’ माथि ठूलो अपराध भयो ।

गोप्य अंगमा १५ टाँका र भित्री भागमा ७ टाँका लगाइएको छ ।

दिसा र पिसाब फेर्ने प्वाल च्यातिको छ ।

दिसा–पिसाबमा समस्या नहोस् भनेर तत्कालको लागि पाइप प्रयोग गरिएको छ ।

‘गुडिया’ लाई बिहीबारदेखि मात्रै थोरै खाना खुवाउन थालिएको छ ।

अहिलेसम्म बाहिरी चोट भाग ७० देखि ८० प्रतिशत निको हुँदैछ । ‘गुडिया’ लाई धेरै दुखाई छ ।

त्यसैले डाक्टरले राम्रोसँग भित्री घाउ हेर्न पनि पाएका छैनन् ।

योनीमा धेरै असर परेको छ । पाठेघरमा खासै असर नपरेको डा.झाले बताइन् ।

                                         डा‍. रुपा झा

तर, ‘गुडिया’ को उमेर सानै छ ।

भविष्यमा उनले सन्तान जन्माउन सक्छिन वा सक्दैनिन् ? डाक्टरहरु केही भन्न सक्दिनन् ।

दिसागर्ने भागसम्म चिरिएको छ । दीर्घकालीन रुपमा दिसा–पिसाव चुहिने समस्या भने देखिन सक्ने उपचारमा लागेका डाक्टरहरुले बताए ।

मैले ‘गुडिया’ को उपचारवारे थप जान्न चाहेँ ।

अस्पताल प्रमुख बीरबहादुर टण्डनले ‘गुडिया’ को उपचार निशुल्क हुने बताए । 

कतिपयले ‘गुडिया’ को भविष्यका लागि रकम जुटाउन थालेका छन् ।

खाता खोलेर पैसा जम्मा गर्न पनि थालिएको छ ।

अस्पतालकै पहलमा हिमालयन बैकमा ००२०७२४६२०००१८ नम्बरको खाता खोलिएको छ ।

एक जना व्यक्तिले एक कप चियाको पैसाले पीडित ‘गुडिया’ को जीवन र भविष्यलाई सहयोग पनि पुग्न सक्छ ।

शुक्रबारसम्म खातामा एक लाख ५ हजार रुपैयाँ पैसा जम्मा भइसकेको छ ।   

                                                                           अस्पताल प्रमुख बीरबहादुर टण्डन

नेपालको कानुनमा नाबालिका बलात्कारीलाई गर्नेलाई २० वर्ष जेल सजाय रहेको छ ।

तर, २० वर्ष पछि अपराधी निस्कने र त्यस्ता व्यक्तिले फेरि बद्लाको लागि सोही व्यक्ति अथवामाथि घट्ना दोहोर्याउने सम्भावना रहन्छ ।

यसैले होला यस्ता दोषीमाथि अधिकारकर्मीहरुले फाँसीको माग गर्दै आईरहेका छन् ।

तर, हाम्रो देशमा फाँसीको अनुमति छैन । हामीले पनि मानिसको बाँच पाउने अधिकारलाई सम्मान गर्नुपर्छ ।

शुक्रवार गृहमन्त्री रामबहादुर थापा बादल ‘गुडिया’ लाई भेटन अस्पताल पुगे । दोषीमाथि कारवाही हुने बताए ।
आबश्यक परे कानुन संसोधन गरेर भएपनि बलात्कारका दोषीमाथि कारवाही गर्ने सुनाए ।

रक्षा नेपालकी मेनुका थापाले गृहमन्त्रीसँग बलात्कार मुद्दावारे कानुन सच्याउनु माग गरिन् ।

रातोपाटीसँग कुरागर्दै रक्षा नेपाली अध्यक्ष थापाले भनिन्, ‘बलात्कृतको लागि दह्रो कानुन बन्न के मन्त्रीको छोरी नै बलात्कृत हुनुपर्ने हो ?

उनले भनिन्, ‘नेपालमा ‘इन्काण्टर’ गरिन्छ भने फाँसी किन हँदैन ?’

फागुन १६ गते पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर–५ निचुटामा आठ वर्षीया एक बालिकालाई तीन जना युवकले सामूहिक बालात्कार गरे ।
हो त्यहीँ सामूहिक बलात्कारमा पर्ने बालिका हुन् ‘गुडिया’ ।

निचुटाकै एक सामुदायिक विद्यालयको कक्षा १ मा अध्ययनरत ‘गुडिया’ लाई माछा दिने प्रलोभन दिएर तीन जना युवकले बलात्कार गरेका थिए ।

बलात्कारबाट गम्भिर घाइते भएकी ‘गुडिया’को वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरियो ।  

‘गुडिया’ विद्यालय सकाएर घर फर्किएकी बालिका आफनी एक जना साथीसँग बाख्रालाइ घाँस लिन भनि गाँउ नजिकको खेतमा गएकी थिइन् ।

खेतको नजिकैको पोखरीमा माछा मारिरहेका  तीन जना युवकले ती दुवै बालिकालाइ माछा दिने लालच देखाएर एकान्त स्थानमा लगे ।

                                           बालिकाकाे अवस्थाबारे जानकारी लिँदै गृहमन्त्री

जबर्जस्ती गर्न खोज्दा एक जना बालिका उम्केर भाग्न सफल भइन् ।

अर्की बालिकालाई ती युुवकहरुले कुटपिट र लछारपछार गर्दै पालै पालो बलात्कार गरेका थिए ।

‘गुडिया’ तीनै अपराधी सोचका मानिसहरुको शिकार भइन् ।

घाँस लिन घरबाट बाहिर निस्किएकी बालिका साँझ अबेर सम्म पनि घर नफर्किए पछि बालिकाका बुबाले खोज्दै जाँदा उनलाइ घर नजिकैको पर्तिमा अचेत अवस्थामा फेला पारेका थिए ।

बलात्कारमा संलग्न तीन जानै युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 

र, अन्तिमा
हामीले बालअधिकारका कुरा गरेको धेरै भयो । हामीले शान्ति सुरक्षाका कुरा पनि गरेका छौँ ।

अहिले समाजवादको सपना पनि सुनेका छौँ । दिनदिनै जसो बलात्कारको घटना बाहिर आएका छन् ।

पहिला ‘गुडिया’ बचाऔँ । बाँकी गर्दै जाउला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप