काठमाडौँ । चार हजार दुई सय मिटरको उचाईमा रहेको प्रसिद्ध धार्मिकस्थल पाँच पोखरी पुग्दा यो दृश्य देखेपछि जोकोही रमाउँदै भन्छन्,‘ स्वर्ग छ भने यही नै हो ।
पाँच पोखरी गाउँपालिका वडा ३ भोताङको छिम्ती गाउँ बजारबाट झन्डै दुई दिनको पैदल यात्रा कष्ट सुन्दर पाँच पोखरीको दृश्यले पूरा भुलाइदिन्छ । भिर काट्दै बनाइएको ‘एडभेन्चर’ (२२किलोमिटर) पदमार्गबाट नोस्याम, तप्खर्क, तोरपुली हुँदै लौरी विनायक, भूमेदेवको भिरको कलात्मक द्वारले स्वागत गर्छन् । ।’
सिन्धुपाल्चोक जिल्लामा अवस्थित ५ वटा पोखरीहरूको समूह तथा हिन्दू धर्मको महत्त्व बोकेको धार्मिकस्थल हो पाँच पोखरी। इन्द्रावतीको उद्गमस्थलका रूपमा रहेका यी पाँच पोखरी सबैका बेग्लाबेग्लै नाम छन्– भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड।
यसको धार्मिक पक्ष खोतल्दै जाने हो भने स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ। पाँच पोखरी ताल सुन्दरताका हिसाबले मात्रै नभएर धार्मिक हिसाबले पनि उत्तिकै प्रख्यात छ। जनैपूर्णिमाको दिन सिन्धुपाल्चोकको सदरमुकाम चौतारा र मेलम्ची नगरपालिका दुवैतिरबाट जान सकिने पाँचपोखरी क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्दछ।
पाँच पोखरीमा रहेको शिवको मन्दिरलाई मनोकाङ्क्षा पूरा गर्ने मन्दिरको रूपमा लिइन्छ। पाँचपोखरीमा अवस्थित नजिकै रहेको महादेवको मन्दिर परिसरमा रहेको पोखरीमा नुवाइधुवाइ गरेर पाँच वटा पोखरी परिक्रमा गरेमा पापमोचन हुने र मनले चिताएको पुरा हुने जनविश्वास रहेको पाइन्छ ।
पाँचपोखरी रहेको स्थलबाट करिब एक घण्टाको उकालो यात्रा गरेपछि त्यो क्षेत्रको अग्लो डाँडामा पुगिन्छ ।मौसम खुलेको बेला सो डाँडाबाट हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
उचित प्रचार प्रसार नभएका कारण यो क्षेत्र पर्यटकीय गन्तव्यस्थल बन्न नसक्नुका साथै भौतिक पूर्वाधारको विकास समेत हुन सकेको छैन
। विशेष गरी पाँचपोखरीमा जनै पूर्णिमाको अघिल्लो दिन र मङ्सिर पूर्णिमाका दिन विशेष मेला लाग्छ ।
हेर्नुहोस् हिउँले ढपक्कै ढाकेको पाँचपोखरी
प्रतिक्रिया