कांग्रेसका आधिकारिक इतिहासकार पुरुषोत्तम बस्नेत, जो तेस्रो भाग पूरा नगर्दै अस्ताए
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा कांग्रेसको इतिहासका लेखक पुरुषोत्तम बस्नेत २९ वैशाखमा निधन भयो । बीपी कोइरालासँग नजिक रहेका, नेपाली कांग्रेसको इतिहासको प्रारूप (भाग १ र २) लेखेका बस्नेत पछिल्लो समय ‘बीपी कोइराला मेमोरियल ट्रस्ट’मा सक्रिय थिए ।
२०१९ सालतिर ‘आमा’ शीर्षकको कविता प्रकाशित गरी लेखनमा प्रवेश गरेका बस्नेतले थुप्रै पत्रिकाका सम्पादक रहे । गोरखापत्र संस्थानमा अध्यक्ष समेत भएका बस्नेतको जन्म (१ मंसिर २००२) सोलुखुम्बुको लिखुमा भएको थियो । उनको निधनले नेपालको साहित्यिक तथा राजनीतिक क्षेत्रमा क्षति पुगेको छ । उनले पछिल्लो समय लेख्दै गरेको कांग्रेसको इतिहासको तेस्रो भाग पूरा हुन पाएन, उनै बस्नेतलाई उनका समकालीनले यसरी सम्झिए ः
‘कांग्रेसको आधिकारिक इतिहासकार’
तुलसी भट्टराई, वरिष्ठ साहित्यकार
उहाँका पिताजी मक्करध्वज बस्नेत सोलुखुम्बुमा असाध्यै ठूला जमिनदारका रूपमा चिनिनुहुन्थ्यो । उहाँले काठमाडौँको सिफलमा घर बनाउनुभएको थियो । उहाँका जेठा छोरा शिवध्वज, पुरुषोत्तम, प्रेमध्वज लगायत सबै छोरा राजनीतिमा हुनुहुन्थ्यो । उहाँ (पुरुषोत्तम) अध्ययनका लागि सानैमा काठमाडौँ आउनुभएको थियो ।
उहाँको प्रारम्भिक लेखन कविताबाट सुरु भएको हो । बिएल र एमएसम्मको अध्ययन गर्नुभएका उहाँले कथा, निबन्ध, इतिहास समेत लेख्नुभयो । उहाँ एक कुशल सम्पादक पनि हो – मुकुट, ईश्वरी, कल्पना, सङ्क्रान्ति, पूजा जस्ता साहित्यिक पत्रिका सम्पादन गर्नुभयो । राजधानी साप्ताहिक र नेपाल पुकार मासिकको सम्पादन पनि गर्नुभएको थियो ।
०२५ सालमा जेलबाट छुटेपछि बिपी कोइराला बनारस निर्वासित हुनुभएको थियो । त्यसको एक वर्षपछि २०२६ तिर पुरुषोत्तम बस्नेत पनि बनारस जानुभएको थियो, उहाँ धेरैजसो कोइराला निवासमै भेटिनुहुन्थ्यो । दुई–तीन दिनको अन्तरालमा उहाँसँग मेरो भेट हुन्थ्यो । बिपीले राजनीतिक क्लास लिनुहुन्थ्यो, त्यसमा हामी सधैँ सँगै हुन्थ्यौँ ।
बनारसमै २०२७ सालमा उहाँसँग मेरो भेट भएको थियो । बनारसमा ‘तरुण’ सम्पादन गर्दा म पनि उहाँसँगै थिएँ । उहाँ लेख्न र सम्पादन गर्न अत्यन्त सिपालु हुनुहुन्थ्यो । म पनि प्रेसमा काम गर्ने हुँदा उहाँ र म सधैँ प्रेसमै हुन्थ्यौँ । करिब ७ वर्ष प्रेससँग सम्बद्ध भएर बनारसमा हामी सँगै काम ग¥यौँ ।
बनारस बस्दा साथीभाइलाई कहिलेकाहीँ खर्चको अभाव हुन्थ्यो । त्यस्तोबेला उहाँले सहयोग गर्नुहुन्थ्यो । साथीहरूलाई चिया, खाजा खुवाउन सदैव अग्रसर हुुनुहुन्थ्यो । त्यसैले दिलका उदार व्यक्ति हुनुहुन्थ्यो । सबै साथीभाइलाई समेटेर लैजाने उहाँको सोच हुन्थ्यो ।
नेपाल आएपछि पनि गिरिजाप्रसाद कोइरालाको सचिवालय नै हेर्ने किसिमले काम गर्नुभयो । अरू व्यक्तिहरूसँग पनि उहाँको राजनीतिक छलफल भइरहन्थ्यो । त्यसैले नेपाली कांग्रेसको इतिहासको आधिकारिक लेखन उहाँको हो भन्ने हामी सबैको बुझाइ छ ।
जीवनका अधिकांश समय लेखनमा लाग्नुभयो । पार्टीका डकुमेन्टहरू लेख्ने काममा व्यस्त रहनुभयो । नेपाली कांग्रेससँग सम्बद्ध सामग्री र पार्टीको घोषणापत्र लेख्ने काम पनि उहाँले गर्नुभयो । कुनै सामग्री तयार पार्नुप¥यो भने पार्टीले उहाँलाई नै लगाउँथ्यो ।
पछिल्लो समय उहाँले नेपाली कांग्रेसको इतिहास तयार पार्ने क्रममा हुनुहुन्थ्यो । नेपाली कांग्रेसको इतिहासको प्रारूप भाग १ र २ भनेर विशाल विशाल ग्रन्थ प्रकाशित भइसकेका छन् । यी दुई ग्रन्थ १३ सय पृष्ठका छन् । पछिल्लो समय उहाँ त्यसैको तेस्रो भाग प्रकाशनको तयारीमा हुनुहुन्थ्यो । केही दिनअगाडि मसँग कुरा हुँदा यही असारतिर प्रकाशन गर्ने भन्नुहुन्थ्यो । बीपी कोइराला बनारस बस्दा छ, सात वर्ष सँगै बस्नुभएको र पुस्तक समेत प्रकाशन गर्नुभएकाले उहाँलाई कांग्रेसको आधिकारिक इतिहासकार मानिन्छन् ।
नेपालमा जनमत सङ्ग्रह भएपछि उहाँ नेपाल आएर राजनीतिमा लाग्नुभयो । पटकपटक जेल जीवन बिताउनुभयो । २०४२ सालको सत्याग्रहमा, २०४६ सालको आन्दोलनमा, २०६२÷६३ को आन्दोलनमा सक्रिय रूपमा सहभागी हुनुभयो । उहाँले एकपटक निर्वाचनमा पनि भाग लिनुभयो, तर विजय हासिल गर्नुभएन । पछि राष्ट्र सभाको सांसद् हुनुभयो । पछिल्लो समय उहाँ सक्रिय रूपमा बाहिर आउनुभएको थिएन । किनभने उहाँ नेपाली कांग्रेसको इतिहास लेखनमा लाग्नुभयो । कांग्रेसको इतिहास र अन्य लेखनमा उहाँलाई असाध्यै महत्त्वपूर्ण व्यक्तिका रूपमा मानिन्छ ।
अविवाहित उहाँ पछिल्लो समय आफ्नै कान्छा भाइ प्रेमध्वज बस्नेतसँग सिफलमा बस्दै आउनुभएको थियो । त्यो उहाँको आफ्नै पैतृक घर हो । कुनै रोगव्याधि नलागी, थला नपरी अचानक उहाँ बित्नुभयो । कसैलाई दुःख नदिई बित्नुभयो । यो पनि उहाँको राम्रो संयोग नै भन्नुपर्छ । उहाँ शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरूकै समकालीन हो । यो पुस्तामा राम्रो छवि बनाएर जानुभएको छ ।
बाहिर–बाहिर भाषण र अन्य काम गर्ने व्यक्ति त होलान्, तर अध्ययनशीलताको र लेखनका कुरामा अहिले उहाँको बराबर कोही छैन । पहिले प्रदीप गिरि हुनुहुन्थ्यो, अहिले त्यस्तो मान्छे छैन ।
‘राम्रो लेखक हो तर मेरो मित्र गइहाल्नुभयो’
ध्रुवचन्द्र गौतम, वरिष्ठ साहित्यकार
उहाँसँगको परिचय नै साहित्यिक नाताले भएको हो । उहाँ ‘मुकुट’ पत्रिकाको सम्पादक हुनुहुन्थ्यो, त्यस बखत मुकुट एउटा राम्रो पत्रिका मानिन्थ्यो । त्यस पत्रिकाका लागि मसँग पनि रचना माग्नुभयो । त्यसबेलाका नामी–नामी लेखकका लेख–रचना माग्नुहुन्थ्यो । उहाँ एक कुशल लेखक, सम्पादक हुनुहुन्थ्यो । त्यसैले उहाँलाई मैले चिन्दा त्यही ‘मुकुट’को सम्पादक पुरुषोत्तम बस्नेतका रूपमा चिनेँ ।
मुकुटको जमानापछि साहित्य लेखन कम भए पनि उहाँको साहित्यप्रतिको लगाव साहित्यकार बराबरकै थियो । त्यही कारण पनि उहाँसँग मेरो राम्रो सम्बन्ध थियो ।
उहाँको राजनीतिक पक्षबारे मैले पछि मात्र थाहा पाएको हो । उहाँले लोकतन्त्रका लागि धेरै काम गर्नुभएको छ । राजनीतिक व्यक्ति भए पनि साहित्यमा उहाँको योगदान रह्यो ।
उहाँ शान्त स्वभावको व्यक्ति हुनुहुन्थ्यो । ठूलो स्वरमा बोल्ने उहाँको स्वभावै थिएन । कम बोल्ने, मित्रहरूलाई सहयोग गर्ने, मसिनो स्वरमा बोल्ने मृदुभाषी हुनुहुन्थ्यो उहाँ । मसँग मात्र होइन, सम्पूर्ण साहित्यिक व्यक्तिहरूप्रति उहाँको सौहार्दपूर्ण सम्बन्ध थियो । भित्रबाट उहाँ राम्रो लेखक हो तर मेरो मित्र गइहाल्नुभयो । उहाँले नेपाली कांग्रेसको इतिहासजस्ता मोटा–मोटा किताब लेख्नुभएको छ ।
गोरखापत्र संस्थानमा उहाँले अध्यक्षका रूपमा काम गर्नुभयो । थोरै समय गर्नुभए पनि निकै राम्रो काम गर्नुभयो । उहाँ हुन्जेल मेरो अनुवाद स्तम्भ धारावाहिक रूपमा छापिएको थियो ।
सबै राजनीतिक व्यक्तिले उहाँलाई माया र सम्मान गर्थे । बीपी स्मृति प्रतिष्ठानमा उहाँले कोषाध्यक्ष भएर काम गर्नुभयो । म पनि त्यही संस्थामा आबद्ध भएकाले अझ निकट सम्बन्ध थियो । त्यसमा हुँदा मात्र होइन, अमलेख भन्ने संस्थामा आबद्ध हुँदा पनि राम्रै थियो । हाम्रो सम्बन्धमा कहिल्यै कुनै व्यवधान आएन । एउटा राम्रो साथी, राम्रो मान्छे राजनीतिक क्षेत्रमा पनि समर्पित र साहित्यलाई अत्यन्त माया गर्ने व्यक्तित्व हामीले गुमाएका छौँ ।
‘बीपीका सन्दर्भमा उहाँको अन्तर्वार्ता सँगालो निकाल्ने योजना अधुरो भयो’
रामचन्द्र पोखरेल, महासचिव, बीपी कोइराला मेमोरियल ट्रस्ट
२०१७ सालमा राजाले कु गरेपछि मेरो उहाँसँग सम्पर्क भएको हो । मेरा पिताजी स्व. गोवद्र्धन शर्मा जीवनको उत्तराद्र्धमा कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । त्यो बेला उहाँका दुवै आँखा बन्द थिए । बुवाले नै पहिलोपटक पुरुषोत्तमजीका बारेमा जानकारी दिनुभएको हो । मेरो र उहाँको भेट पञ्चायतकालको उत्कर्षमा काठमाडौँमै भयो ।
म त्यतिबेला दमौलीको एक स्कुलमा प्रधानाध्यापक थिएँ । असार–साउनमा विद्यालय बन्द हुन्थ्यो । त्यो समय पारेर हरेक वर्ष काठमाडौँ आउँथेँ, त्यस्तै समयमा उहाँसँग भेट भएको हो ।
जननायक बीपी कोइराला मेमोरियल ट्रस्ट स्थापना भएपछि उहाँसँग अझ बढी निकट हुने मौका पाएको थिएँ । त्यसमा उहाँ पनि संस्थापक सदस्य, म पनि संस्थापक सदस्यको हैसियतले अझ निकट भएर रह्यौँ । दैनिकजसो भेट हुन्थ्यो ।
उहाँ इन्ट्रोभर्स टाइपको हुनुहुन्थ्यो । बाहिर धेरै हाइफाई नगर्ने, मौन तरिकाले बस्ने, चाहिँदो कुरा मात्र गर्ने स्वभाव थियो । बढी कुरा गरेको कहिल्यै सुनिनँ ।
निधन हुनुभन्दा एक दिनअगाडि उहाँसँग संवाद भएको थियो । सो संवादमा साहित्य क्षेत्रको पुरस्कार कसलाई प्रदान गर्ने भन्ने विषयमा कुराकानी भएको थियो ।
ट्रस्टले हरेक वर्ष बीपीका बारेमा कलम चलाउने साहित्यकारलाई एक लाख एक हजार रुपैयाँको पुरस्कार दिने गर्छ । यस्तै, सेनानी सम्मान भनेर ५० हजार रुपैयाँले पुरस्कृत गर्छौं । यस सम्बन्धमा बैठक बस्ने सल्लाह भएको थियो ।
ट्रस्टमा साहित्यतर्फ दिने पुरस्कारबारे पुरुषोत्तम बस्नेतले हेर्नुहुन्थ्यो । यो वर्षका लागि कसलाई चयन गर्ने हो भन्ने विषयमा संवाद भएको थियो । दुई–तीन दिनभित्रै ट्रस्टको मिटिङ बसौँ भनेर उहाँले प्रस्ताव गर्नुभएको थियो, वैशाख २८ मा यो संवाद भयो, २९ गते उहाँ बित्नुभयो ।
राजनीतिक कारणले उहाँ बनारस पनि बस्नुभयो । बीपी नेपाल आउनुभएपछि पनि उहाँ निरन्तर बीपीको साथ–सम्पर्कमा रहनुभयो । बीपीका बारेमा उहाँसँग धेरै ज्ञान भएकाले बीपीका सन्दर्भमा उहाँकै मात्र अन्तर्वार्ता सँगालो निकालौँ भनेर प्रस्ताव गरेको थिएँ, त्यो पूरा हुन पाएन ।
बृहत् रूपमा उहाँका दुई पुस्तक (नेपाली कांग्रेसको इतिहासको प्रारूप भाग १ र २) प्रकाशन भइसकेका छन् । तेस्रो भाग पनि लेख्नुभएको छ, परिवारहरूसँग सोधखोज गर्दैछौँ । नेपाली कांग्रेसका लागि, नेपालको लोकतान्त्रिक आन्दोलनका लागि यी पुस्तकको ठूलो योगदान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर- १२ का वडाअध्यक्ष कामत पक्राउ
-
प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन
-
राम माधवलाई मात्र भेटेर दिल्लीबाट फर्किइन् परराष्ट्रमन्त्री आरजु
-
केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको निर्णयमा विप्लवले जनाए आपत्ति
-
रास्वपालक्षित कानुनमन्त्रीको टिप्पणी– सडक र सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो
-
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता