कविता
सोकेसको मान्छे
शनिबार, ०६ जेठ २०८०, १० : ३४

तिमी आफ्नो अस्मिताको
रक्षा गर्न नसक्ने कठपुतली भएका छौ
किनकि तिमी सोकेसको मान्छे हौ
अरूले बिकाएका मान्छे हौ
आफै बिक्न नसकेर
अरूको फेर समाएर
सिँढी चढेका मान्छे हौ
साँच्चै तिमी सोकेसको मान्छे हौ ।
अरूको विचारमा आफ्नो विचार
मिलाउँदै हिँड्ने
तिमी शकुनीको मान्छे हौ
अरूको राज्यसँग
आफ्नो राज्यको परिभाषा खोज्ने
तिमी दुर्योधनका मान्छे हौ
साँच्चै तिमी जनताको
भावना नबुझ्ने
केवल मृत घोषित हुन बाँकी रहेको
निर्जीव मान्छे हौ ।
मेरो देशको कानुन कस्तो
एउटै काण्डमा
कसैलाई हतकडी त
कसैलाई सलामी छ
मेरो देश चलाउने सरकार छुट्टै छ
देश दुख्दा सरकारलाई दुख्दैन
जनता डुब्दा सरकारलाई छुँदैन
यो सरकार मृत भइसकेको
एउटा अजीव
परजीवी जस्तो भएको छ
साँच्चै भन्दा मेरो सरकार
सोकेसभित्र रहेको छ ।
भोजपुर