शनिबार, २४ कात्तिक २०८१
ताजा लोकप्रिय

नीतिकथाः परोपकार

शुक्रबार, ०५ जेठ २०८०, १५ : २३
शुक्रबार, ०५ जेठ २०८०

महापुरुषहरू परहित र परोपकारको चिन्तन गर्छन् । उनीहरू आफूमाथि जस्तोसुकै विपत्ति आइपरे पनि त्यसको परवाह गर्दैनन् तर परोहितका मामिलामा भने सास छउन्जेल लागिरहेका हुन्छन् । यस्तैमा राजा विक्रमादित्य पनि पर्छन् । उनी हमेशा देशको कुनाकाप्चासम्म पुगेर मानव तथा पशुपक्षीको अवस्थाबारे जानकारी लिन्थे र हरेकको आवश्यकता पूरा गर्ने प्रयास गर्थे । 

एक दिनको कुरा हो उनी सदा झ्यैँ घुम्दै कुनै घना जङ्गलमा पुगेका थिए । समय बेलुकाको थियो । छिटो नगए दिन छँदै जङ्गल पार गर्न मुस्किल थियो । त्यसैले घोडालाई तेजसित दौडाउने विचार गरे तर भइदियो के भने ठीक त्यसैबेला पर कतैबाट जोडसँग गाई कराएको आवाज सुने । त्यसपछि उनले दरवार फर्कने विचार छाडी घोडालाई त्यतै दौडाए, जताबाट आवाज आएको थियो । 

वर्षातको समय भएकाले ठाउँ ठाउँमा बढी आएको थियो । खोलानालाको छेउछाउमा हिलो जमेकाले सजिलै हिँड्न पनि सकिँदैनथ्यो तर उनले त्यसको समेत परवाह नगरी घोडा दौडाउँदै लगे । अनेक किसिमको गाह्रो, अप्ठ्यारो र व्यवधान झेल्दै केही पर के पुगेका थिए एउटी गाई दलदलमा फसेको देखे । त्यसपछि उनी घोडालाई त्यहीँ छाडी उद्धारका लागि गाई भएतिर लागे तर गाई हिलोमा यति बढी फसेकी थिइन् कि जति नै प्रयास गर्दा पनि केही लागेन । यताउता हेरे कुनै सहयोगी पाइन्छ कि भनेर तर साँझ परिसकेकाले होला त्यताहुँदो कसैलाई पनि देखेनन् । तैपनि प्रयास भने जारी नै राखे । 

त्यत्तिकैमा गाईको आवाज सुनेर एउटा भोको सिंह मुख मिठ्याउँदै आइपुग्यो । सिंहलाई देख्ने बित्तिकै घोडा कता भाग्यो पत्तै भएन । उता विक्रमादित्य भने सुरक्षाका लागि कम्मरबाट तरबार निकालेर खडा भए । सिंह गाईलाई आक्रमण गर्ने प्रयास गथ्र्यो उनी रोक्ने प्रयास गर्थे । उनीहरूबीच निकै बेर घम्साघम्सी चल्यो तर  न सिंह भाग्यो न उनले हिम्मत हारे । ठिकै त्यही बेला नदी किनारमा रहेको एउटा ठुलो बरको रुखबाट सुगाको आवाज आयो । ऊ भनिरहेको थियो–

‘राजन् ! रात छिप्पिसकेको छ । त्यसैले गाईको चिन्ता छाडेर आफ्नो चिन्ता गर्नतिर लाग्नुहोस् । अहिले त सिंह एउटा मात्रै छ । एकै छिनपछि अरू पनि आउने छन् । त्यस्तै परे अन्य हिंस्रक जनावर पनि थपिने छन् । त्यतिबेला के गर्नुहुन्छ । जति नै बलशाली हुनुभए पनि एउटा तरवारको भरमा सबैको सामना गर्न सक्नुहुने छैन । यसै पनि गाईको जीवनको के भर छ । मत देख्दै छु उसको मृत्यु नजिकै आइसकेको छ । सिंहबाट बचाउन सक्नुभए पनि भोलि बिहानसम्म हिलोमा डुबेर गाई आफैँ मर्ने छिन् । अतः गाईलाई छाडेर कतै सुरक्षित स्थानतिर लाग्न विनम्रतापूर्वक आग्रह गर्दछु । चाहनुहुन्छ भने यही बरको रुखमा चढेर पनि रात बिताउन पनि सक्नुहुन्छ । उपकार त गर्नुपर्छ तर आफूलाई बचाएर मात्रै । जीवन रहे त्यस्ता उपकार कति गर्न सकिन्छ कति । जीवनै नरहे के गर्ने ?’

सुगाको कुरा सुनेर विक्रमादित्यले भने–

‘सुगा भाइ ! मेरो चिन्ताका लागि धन्यवाद छ तर बिन्ती छ यस्तो अनीतिको काम गर्न नउक्साउनुहोस् । म गाईलाई यस्तो हालतमा छाडेर जान सक्दिन । यस्तो गर्नु मेरो धर्म पनि होइन र नैतिकताले पनि दिँदैन । राजा हुँ सास छउन्जेल देशवासी सबैको रक्षा गर्नु मेरो कर्तव्य हो । प्राणै गए पनि आफ्नो दायित्व र कर्तव्यबाट विमुख हुन सक्दिन । आफ्नो प्राणको चिन्ता त सबैले गरेकै हुन्छ । पशुपक्षी तथा कीरा कमिलाले पनि गर्छन् । मानिस भएर पनि आफ्नो प्राणको मात्र चिन्ता गर्न थालेँ भने ती त्यस्ता निरीह प्राणी र ममा के नै फरक रह्यो र । जसले अरूको प्राणको लागि जीवन दिन पनि पछि पर्दैन त्यसैको जीवन धन्य हो । निर्धा र निमुखामाथि दया नगर्ने वा गर्न नसक्ने जीवन पनि के जीवन । थाहा छैन मेरो प्रयास सफल हुन्छ हुँदैन । यति बेला त्यतातिर हेर्ने फुर्सद छैन । त्यता हेर्ने मेरो काम हुँदा पनि होइन । मलाई त यति थाहा छ आफ्नो प्राण छउन्जेल आपतमा परेकी यी गार्ईको रक्षा गर्नुपर्छ ।’

यति भनेर सम्राट गाईको रक्षाका लागि पूरा रात जागा रहे । त्यत्तिकैमा बिहान उज्यालो हुन के लागेको थियो एउटा चमत्कार भयो । अहिले भरखरै देखिएको सिंह हेर्दाहेर्दै देवराजको इन्द्रको रूपमा खडा भए । सुगा बनेर बोल्ने पक्षी धर्मराज रहेछन् । उनी पनि सुगाको रूप छाडेर धर्मराजको रूपमा उपस्थित भए । जो गाई बनेर हिलोमा फसेकी थिइन् ती पनि साक्षात् माता पृथिवी रहिछिन् । उनले पनि दिव्यरूप धारण गरी दर्शन दिइन् । यस्तो अद्भूत चमत्कार देखेर राजा विक्रमादित्य हेरेको हे¥यै भए । त्यसपछि उनीहरू राजालाई विजयी हुने र यशस्वी बन्ने आशीर्वाद दिएर अलप भए । यस्तै सत्कार्यले गर्दा उनलाई भने मरेर गए पनि दुनियाँले अहिलेसम्म सम्झिरहेका छन् ।

संसारमा बाँच्न त सबै चाहन्छन् तर बचाई त्यस्तैको मात्र सार्थक हुन्छ, जो अरूका लागि बाँचेका हुन्छन् । आफ्नो लागि मात्र बाँच्नेहरू कताबाट उदाउँछन् र कता अस्ताउँछन् पत्तै हुँदैन । अरूका लागि बाँच्नेहरू भने मरेर गएपछि पनि बाँचिरहेका हुन्छन् । राजा विक्रमादित्य यस्तैमा पर्छन् ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप