बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

विश्व टेनिसबाट बिदा लिने तयारीमा कीर्तिमानी खेलाडी नाडाल, फ्रेन्च ओपन पनि नखेल्ने

शुक्रबार, ०५ जेठ २०८०, ०९ : ०७
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौं । विश्व टेनिसका महान खेलाडीमध्ये एक हुन्, राफेल नाडाल । उनी विश्व टेनिसका कीर्तिमानी खेलाडी पनि हुन् । पुरुष एकलतर्फ सबैभन्दा बढी ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जित्ने कीर्तिमान स्पेनिस खलाडी नाडाल र सर्बियन खेलाडी नोभाक योकोभिचको नाममा छ ।

नाडाल र योकोभिचले हालसम्म २२-२२ वटा ग्रान्डस्लाम प्रतियोगिताको एकल उपाधि जितेका छन् । ३६ वर्षीय नाडालले तत्काल २३ ग्रान्डस्लाम उपाधिका लागि प्रयास नगर्ने भएका छन् । उनले निकट भविष्यमा सुरु हुने ग्रान्डस्लाम प्रतियोगिता ‘फ्रेन्च ओपन’बाट आफ्नो नाम फिर्ता लिएका छन् ।

नाडालले १९ वर्षपछि फ्रेन्च ओपन नखेल्ने निर्णय लिएका हुन् । फ्रेन्च ओपन मे २८ देखि जुन ११ तारिखसम्म हुँदैछ । उनी लामो समयदेखि नितम्बको चोटको समस्याबाट पीडित छन् । सोही कारणले उनले प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन् । उनले फ्रेन्च ओपनको उपाधिमात्र हालसम्म १४ पटक जितिसकेका छन् । यो आफैमा कीर्तिमान हो । त्यसैले नाडालले ‘किङ अफ क्ले’ उपनाम पनि पाएका छन् ।

फ्रेन्च ओपनमात्र होइन, उनले सन् २०२४ को सिजनपछि सक्रिय खेलजीवनबाट नै सन्न्यास लिने योजना बनाएको बताएका छन् । ‘म त अहिले नै सक्रिय खेलजीवनबाट सन्न्यास लिन चाहन्न । तर, मेरो शरीर भने अब मलाई लामो समय टेनिस कोर्टमा सक्रिय भएको देख्न चाहँदैन,’ उनले भनेका छन् ।

त्यसैले उनले सन् २०२४ पछि आफू टेनिस कोर्टमा सक्रिय नहुने संकेत गरेका हुन् । ‘सम्भवतः सन् २०२४ मेरो सक्रिय खेलजीवनको अन्तिम वर्ष हुनेछ । अब लामो समय मलाई मेरो स्वास्थ्यले साथ देलाजस्तो लाग्दैन,’ उनले भनेका छन् ।

नाडालले हालसम्म ७० वटा एटीपी उपाधि चुमेका छन् । कुनै समय उनी लगातार २ सय ९ सातासम्म विश्व वरीयताको पहिलो स्थानमा रहन सफल भएका थिए । सबैभन्दा लामो समयसम्म विश्व टेनिस वरीयताको पहिलो स्थानमा रहने खेलाडीहरुको सूचिमा उनी छैटौं स्थानमा पर्छन् ।

ग्रान्डस्लाम प्रतियोगितामा पुरुष एकलतर्फ उनले १४ फ्रेन्च ओपनका अतिरिक्त यूएस ओपनको ४ तथा अस्ट्रेलियन ओपन र विम्बल्डनको २-२ उपाधि जितेका छन् । उनले पछिल्लो पटक सन् २०२२ मा फ्रेन्च ओपन र अस्ट्रेलियन ओपनको उपाधि चुमेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप