रातोपाटी ब्रिफिङ : सक्कली भुटानी शरणार्थी नक्कली शरणार्थी प्रकरणमा पक्राउ !
काठमाडौँ । आज मिति २०८० साल जेठ महिनाको ४ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–
१. सक्कली शरणार्थी पक्राउ
नक्कली भुटानी शरणार्थीलाई अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा एक जना सक्कली भुटानी शरणार्थी पनि पक्राउ परेका छन् । भुटानी शरणार्थीका नेतासमेत रहेका टेकनाथ रिजाल बिहीबार पक्राउ परेका हुन् । यस्तै नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँ पनि पक्राउ परेका छन् । दुबै जनालाई बिहीबार अदालतबाट दुई दिनको म्याद दिएर प्रहरीले अनुसन्धान थालेको छ ।
२. प्रश्नको कठघरामा प्रधानमन्त्री
बिहीबारको प्रतिनिधिसभा बैठकको दृश्य अन्य दिनको भन्दा फरक थियो । बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २० जना सांसदले प्रश्न गरे भने प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर उनीहरुले सोधेका प्रश्नको जवाफ फटाफट दिए ।
खासगरी सांसदहरुले मुलुकका जल्दाबल्दा विषयमा संसदमार्फत प्रधानमन्त्रीको जवाफ माग्ने प्रयास गरे । सांसदहरुले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान, नागरिकता विधेयक, माओवादीका लडाकु शिविरमा भएको भ्रष्टाचार, नेपाली भूमि लिपुलेक फिर्ता गर्न सरकारले गरेको प्रयास लगायतका बारे प्रश्न गरेका थिए । कैलालीको टीकापुर घटना, शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय, मुलुकको बिग्रदो अर्थतन्त्र सुधारमा सरकारको प्रयास, किसानले भोग्ने मलबिउको समस्या र शिक्षाका नाममा नेपाली पैसा विदेशिनबाट रोक्ने उपाय लगायतका विषयमा सांसदले गरेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएका छन् ।
३. प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिँदै
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई मन्त्रीको नाम बुझाउने भएका छन् । वर्तमान सरकारमा दुईजना मन्त्री पाएको जसपाले शिक्षा मन्त्रीमा अशोक राइलाई पठाइसकेको छ भने अर्का एक मन्त्रीको नाम पठाउने तयारी गरेको हो । यससँगै प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाउनेछ ।
४. गृहमन्त्रीको तारिफयोग्य निर्णय
सुराकी परिचालन शीर्षकमा गृहमन्त्रीले दैनिक ५० हजार र सचिवले २५ हजारसम्मको खर्च फाँटबारी नदेखाई गर्न पाउने व्यवस्था हुँदा यसको व्यापक दुरुपयोग हुने गरेको बताइँदै आएको थियो । मन्त्रिपरिषद्बाटै यसबारे निर्णय भएपछि अब मन्त्री र सचिवले मनोमानी रूपमा बुझ्ने रकममा लगाम लागेको छ ।
बिहीबार बिहान माओवादी केन्द्रको प्रवास समन्वय समितिको टोलीसँगको भेटवार्तामा यसबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको निर्णयले सुराकीको नाममा हुने रकम दुरुपयोग अन्त्य भएको बताएका छन् ।
५. हिन्दुराष्ट्रको एजेण्डा
अमेरिकाले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता’ प्रतिवेदनले नेपाल र भारतमा तरङ्ग ल्याइरहेको बेला सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रभित्र धर्म निरपेक्षता वा हिन्दु राष्ट्रबारे जनमत संग्रहमार्फत निर्णय गर्नु पर्ने माग उठेको छ ।
६. प्रदेश सरकार
मन्त्रालय भागबण्डामा कुरा नमिल्दा सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार लामो समयदेखि अन्योलमा रहँदै आएको छ । तर, टीकापुर घटनाबारेको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलापछि नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा जाने वा नजाने भन्नेबारे उल्झनमा परेपछि मुख्यमन्त्री कमल बहादुर शाहलाई मन्त्रिपरिषद् विस्तारमा सहजता हुन सक्ने आकलन गरिएको छ ।
७. नेपाल एयरलाइन्सको निर्णय
राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले जेठ २९ गते देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियामा नियमित उडान सुरु गर्ने घोषणा गरेको छ । एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।
८. सेयर बजार
नेप्से सूचक बढेर १८ सय ७७ अंकको विन्दुमा उक्लिएको छ । आज नेप्से सूचक ३२.३० अंकले बढेर १८ सय ७७.३२ अंकको विन्दुमा उक्लिएको हो ।
९. ओलीको भनाइ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रधानमन्त्रीले प्रश्नको उत्तर दिएर मात्रै नपुग्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले देशको भविष्यलाई प्रभावित प्रश्नको उत्तर मात्र दिएर नपुग्ने भन्दै जनतालाई अनुभूति हुनेगरी परिणाम दिनुपर्ने बताएका हुन् ।
१०. यो पनि
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भूटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको बताएका छन् । बिहीवार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको नक्कली भूटानी शरणार्थी भ्रष्टाचार प्रकरणको बिरोध सभामा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् ।
सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह र पूर्वराजदूत केदारभक्त श्रेष्ठकी नातिनी शिवानी श्रेष्ठबीच इन्गेजमेन्ट भएको छ । दुई परिवारको सहभागितामा जेठ १ गते काठमाडौँमा एक समारोहबीच जयवीरसिंह र शिवानीबीच इन्गेजमेन्ट भएको हो ।
थप समाचार