आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

भन्सार जाँचपास भएर छिरेका गाडीमा ‘राजस्व अनुसन्धान’ आतंक

बिहीबार, ०४ जेठ २०८०, ०७ : ३४
बिहीबार, ०४ जेठ २०८०

काठमाडाैँ । गत आइतबार बीरगंज भन्सारबाट जाँचपास भएर नेपालतर्फ छिरेको मल्टीनेशनल कम्पनी ‘एडिडास’का तीन वटा सवारी साधन सशस्त्र प्रहरीले समात्यो । बीरगंजबाट काठमाडौंतर्फ उक्त कम्पनीको सामान बोकेर आउँदै गरेका ४ मध्ये ३ वटा गाडी यतिबेला राजस्व अनुसन्धान विभागको कार्यालयमा छन् । एउटा गाडी भने कम्पनीकै गोदाममा पुगेको छ ।

‘सशस्त्र प्रहरी बलले भन्सार जाँचपास भएर नेपाल छिरेका सवारीमाथि शंका उत्पन्न भएपछि समातेर राजस्व अनुसन्धानलाई बुझाएको छ,’ स्रोत भन्छ, ‘तर, एउटा सवारी भने विभागमा आइपुगेको छैन । उक्त सवारी कम्पनीकै गोदाममा पुगेर सामान अनलोड गरिसकेको अवस्था छ ।’

प्रधानमन्त्री कार्यालय मातहत रहेर काम गर्ने राजस्व अनुसन्धान विभागले भन्सार निकायमा हुने राजस्व छलीबारे छानबिन गर्छ ।

तर, आइतबार एडिडासका सामान बोकका तीन वटा ट्रक नियन्त्रणमा लिएसँगै बीरगंज भन्सार जाँचपासमा भने समस्या उत्पन्न भएको छ । ‘बीरगंज भन्सारबाट जाँचपास भएर छिरेका गाडीमाथि राजस्व अनुसन्धानले अनावश्यक दुःख दिइरहेको छ,’ एक भन्सार अधिकृतले भने, ‘हामीले भन्सार जाँचपास गरेर छाडेको जुत्ताको कच्चा पदार्थलाई राजस्वले शंकाको घेरामा राखेको छ ।’

खासगरी बीरगंज भन्सार कार्यालयबाट जाँचपास भएर छिरेका सवारीमाथि बढी नै संशय राखेपछि केही कन्टेनर सामान जाँचपास नै भएका छैनन् । ‘हाल बीरगंज भन्सार कार्यालयमा आएर बसेका करिब एक दर्जन कन्टेनरका जुत्ता, चप्पल लगायतका वस्तु जाँचपास भएको छैन,’ स्रोत भन्छ, ‘राजस्व अनुसन्धानले कच्चा पदार्थलाई पनि तयारी वस्तुकै रुपमा भन्सार लगाउनुपर्ने भन्दै अनुसन्धान सुरु गर्दा जाँचपास हुन सकेको छैन ।’

साउन यताका ७ महिनामा जम्मा १४८ वटामात्रै फर्म कारबाहीमा परेका थिए । जबकि माघ २३ गते यतामात्रै १८४ वटा फर्म कारबाहीमा परेका छन् । यस अवधिमा १२ करोड ७८ लाख रुपैयाँ धरौटी जम्मा भएको छ ।

यस बाहेक बीरगंज भन्सारका २ जना कर्मचारी काठमाडौं आउँदा समेत जनशक्तिको अभावमा जाँचपास हुन सकेको छैन । तर, योभन्दा धेरै आयातकर्ताले कच्चा पदार्थका रुपमा ल्याएको वस्तुलाई भन्सार कार्यालयले सोही बराबरको भन्सार दर लगाउँदै छाडेपछि थप अनुसन्धान गर्न राजस्व तम्सिएको थियो । यही कारण ४ लाख अमेरिकी डलर बराबरको सामान आयात गरेको एडिडासले २ करोड ९४ लाख रुपैयाँ बराबरको भन्सार तिरेको थियो ।

तर, भन्सार छलीको आरोपमा राजस्वले समातेर काठमाडौं ल्याएपछि समस्या सिर्जना भएको भन्सार विभाग निकट स्रोत बताउँछ । चालु आर्थिक वर्षमा राजस्व अनुसन्धान विभागले राजस्व छलीविरुद्धको कारबाही तीब्र बनाएसँगै यसप्रकारको आतंक सुरु भएको हो । चालु वर्षको साउनदेखि वैशाख महिनासम्ममा राजस्व अनुसन्धानले २९ करोड ९५ लाख रुपैयाँ धरौटी रकम जम्मा गरेको छ । यस अवधिमा विभागले ३३२ वटा फर्मले आयात गरेका सवारी साधानलाई कारबाही गरिसकेको छ ।

साउन यताका ७ महिनामा जम्मा १४८ वटामात्रै फर्म कारबाहीमा परेका थिए । जबकि माघ २३ गते यतामात्रै १८४ वटा फर्म कारबाहीमा परेका छन् । यस अवधिमा १२ करोड ७८ लाख रुपैयाँ धरौटी जम्मा भएको छ ।

यस्तै चैत ८ गते यतामात्रै ८९ वटा सवारी राजस्व छलीको आशंकामा कारबाहीमा परेका छन् भने २८ वटा सवारी विभाग परिसरमै छन् ।

राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारी भने भन्सार छलेर छिरेका मालबाहक सवारीलाई धमाधम कारबाही भइरहेको बताउँछन् । ‘एउटा वस्तु भनेर आयात गर्ने तर भित्र अर्कै वस्तु ल्याइएको हुन्छ,’ अधिकारी भन्छन्, ‘आयातकर्ताले भन्सार कर्मचारीलाई छलेर ल्याए पनि राजस्वले समात्छ ।’

राजस्व छल्ने मालबाहक सवारीलाई समात्न र कारबाही गर्न विभाग कटिबद्ध भएर लागिरहेको उनको भनाइ छ ।

भद्रपुर भन्सारमा सशस्त्रको त्रास

यसैबीच भद्रपुर भन्सार कार्यालयमा सशस्त्र प्रहरीले अनावश्यक दुःख दिँदा कपडा तस्करी भइरहेको भन्सार कार्यालयले जनाएको छ । विभाग स्रोतअनुसार गत आइतबारदेखि भद्रपुर भन्सार बिन्दुबाट लत्ताकपडा आयात सुरु भएको थियो । ‘यसअघि भन्सार छलेर तस्करी गर्ने समूहलाई फकाएर हामीले भन्सार जाँचपास गर्न राजी गरेका थियौं,’ स्रोत भन्छ, ‘तर, सशस्त्र प्रहरी बलले भन्सार जाँचपासबाट छिरेका मालबाहक सवारीलाई भन्सार गेट कट्नासाथ समात्ने प्रचार गरे ।’

सशस्त्र प्रहरी बलको उक्त प्रचारसँगै एक–दुई दिन भन्सार बिन्दुबाटै छिरेको लत्ताकपडा पुनः चोरी पैठारी हुन थाल्यो । ‘खासगरी सशस्त्र प्रहरी बलले भन्सार कर्मचारीले आधामात्रै भन्सार लिएर मालबाहक सवारी छाड्ने गरेको भन्दै त्यस्ता सवारीलाई गेटमै समात्ने भनेपछि आयातकर्ता पुनः चोरी पैठारीमा फर्किएका हुन्,’ भन्सार विभाग निकट स्रोतले भन्यो, ‘यसबाट राजस्व संकलनको लक्ष्य भेट्न समस्या पर्ने र तस्करी झनै मौलाउने समस्या सिर्जना भइरहेको छ ।’

वैशाखमा ३३ अर्बमात्रै राजस्व संकलन

राजस्व संकलन घटिरहेको समयमा वैशाख महिनामा पनि ५१ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । ५७ अर्बभन्दा धेरै राजस्व संकलन लक्ष्य लिएको भन्सार विभागले वैशाख महिनामा जम्मा ३३ अर्ब ७६ करोड रुपैयाँ संकलन गरेको छ ।

वैशाख महिनासम्म जम्मा ५ खर्ब ४८ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा यस अवधिमा ३ खर्ब १८ अर्ब ८१ करोड रुपैयाँमात्रै राजस्व संकलन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप