बिलिनो, चर्को वा ठिक्क : कति खाने नुन ?
जेसिका ब्राउन / बीबीसी
गत वर्ष टर्किस शेफ नुसरत गोक्सेको एउटा भिडियो भाइरल भएको थियो । स्टेक (मासुको टुक्रा) मा नुन छर्कने शैली यो भिडियो भाइरल हुनुको मुख्य कारण थियो ।
मानिसमा नुनको क्रेज नौलो होइन । विभिन्न चेतावनीका बाबजुद, पूरा विश्वले नुनको प्रयोग अत्यधिक गर्छ । कहिलेकाहीँ त मानिसले याे विषयमा सबै सीमा पार गर्छन् ।
अहिले नुनलाई लिएर नयाँ तर्कहरू सिर्जना भइरहेका छन् । वर्षौँको अनुसन्धानलाई चुनौती दिइँदै छ । आफ्नो खानाबाट हटाउनका लागि नुन कुनै ‘भिलेन’ होइन भनेर धेरैले भनिरहेका छन् । यो हाम्रो स्वास्थ्यका लागि आवश्यक रहेको तर्क प्रस्तुत गरिन्छ ।
नुनको सबैभन्दा महत्त्वपूर्ण तत्त्व सोडियम हो । यो हाम्रो शरीरको लागि धेरै महत्त्वपूर्ण छ । मानव शरीरमा पानीको सही स्तर सिर्जना गर्नदेखि सोडियमले सबै अङ्गहरूमा अक्सिजन र अन्य पोषक तत्त्वहरू पुर्याउन मद्दत गर्छ । यति मात्र होइन, सोडियमले हाम्रो स्नायुमा बिजुली झैँ स्फूर्ति हाल्ने काम गर्छ । तर, ऐतिहासिक रूपमा नुनलाई कमै खान सल्लाह दिइँदै आएको छ ।
नेपालमा जुठो परेको बेला खाने खानालाई नुन बिना नै बनाइन्छ । यो तामसी भोजनको हिस्सा हो भनिन्छ । नेपालमा यस्ता धेरै मानिस होलान् जसले नुन बिनाकै खाना खान्छन् । तर यी उदाहरण सीमित छन् । हामीले शताब्दीयौंदेखि धेरै नुन खाँदै आएका छौँ । विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा धेरै गुणा बढी नुन खान्छौँ । नुनको खपत घटाउन सरकारका सबै प्रयास असफल भएका छन् ।
निर्देशिका अनुसार कुनै पनि व्यक्तिले दिनमा ६ ग्रामभन्दा बढी नुन खानु हुँदैन । बेलायतका प्रत्येक नागरिकले दैनिक औसत ८ ग्राम नुन प्रयोग गर्छन् । जबकि अमेरिकामा यो सङ्ख्या ८.५ ग्राम छ । नेपालमा औसतमा हामीले एक छाकमा दाल, तरकारी र अचार मात्र समावेश गरेर २-३ वटा तरकारी खाँदा १० ग्राम जति नुन खपत गरिरहेका हुन्छौं ।
बजारबाट आउने सबै वस्तुमा तोकिएको मापदण्डभन्दा बढी नुन पाइन्छ । रोटी, सूपलगायतका वस्तुमा नुन मिसिएको हुन्छ ।
समस्या त्यति बेला थप बढ्छ जब डिब्बामा बन्द गरिएका उत्पादनमा नुनको साटो सोडियमको मात्रा लेखिएको हुन्छ । यसले यस्तो लाग्छ कि हामी नुन कम खाइरहेका छौँ जबकी वास्तविकता योभन्दा विपरीत हुन्छ । नुनमा सोडियम र क्लोराइड आयनहरू पनि हुन्छन् । २.५ ग्राम नुनमा १ ग्राम सोडियम हुन्छ । तर, मानिसहरू सोडियमलाई नुनको मात्रा हो भनेर बुझ्छन् ।
अनुसन्धानले के भन्छ ?
अनुसन्धानले धेरै पटक प्रमाणित गरेको छ कि धेरै नुन खाँदा रक्तचाप बढ्छ । जसका कारण हृदयाघात र अन्य मुटु रोगको सम्भावना बढ्छ । धेरैजसो विज्ञहरू नुनको हानिबारे एकमत छन् । जब हामी धेरै नुन खान्छौँ, हाम्रो शरीरमा धेरै पानी जम्मा हुन्छ । यसको दबाब मिर्गौलामा पर्छ । मिर्गौलालाई यो पानी सफा गर्न धेरै मेहनत गर्नुपर्छ । लामो समयसम्म यस्तो हुँदा रक्तचाप बढ्ने समस्या हुन्छ । यसलाई हाइपर टेन्सन भनिन्छ ।
६२ प्रतिशत हृदयाघातको मुख्य कारण यही उच्च रक्तचाप हो । मुटुको नली अवरुद्ध हुनुमा ४९ प्रतिशत रोगको कारण पनि उच्च रक्तचाप नै हो ।
तोकिएको मापदण्डभन्दा दैनिक पाँच ग्राम बढी नुन खाँदा मुटु र धमनीसम्बन्धी रोगको जोखिम १७ प्रतिशतले बढ्छ । यस्तै, हृदयाघातको जोखिम २३ प्रतिशतले बढ्छ ।
नुनको मात्रा कम गर्नाले रक्तचापको समस्या कम हुने अनुसन्धानले देखाएको छ । दैनिक १.४ ग्राम कम नुन खाँदा रक्तचाप बढ्ने सम्भावनामा ४२ प्रतिशतले कम हुन्छ । खतरनाक हृदयाघातको सङ्ख्या पनि ४० प्रतिशतले घट्छ ।
अनुसन्धानमा मतभेद
तर यस्तो अनुसन्धानको समस्या यो हो कि रक्तचाप वा हृदयाघातको जोखिममा यो कमी नुन कम गर्दा मात्र हुन्छ भनेर निश्चित रूपमा भन्न सकिँदैन ।
नुन कम खाने मानिसहरू साधरणतया स्वास्थ्यका लागि सजग हुने मानिस नै हुन्छन् । उनीहरू नियमित रूपमा व्यायाम गर्छन् । धूम्रपान गर्दैनन् वा रक्सी पिउँदैनन् । पिए पनि निकै कम ।
बेलायतको वारविक युनिभर्सिटीका फ्रान्सेस्को क्यापुसियोले यति सीमित अनुभवका आधारमा शरीरमा नुनको प्रत्यक्ष प्रभाव मूल्याङ्कन गर्न सम्भव नभएको बताउँछन् ।
तर, यसरी, मोटोपना र धूम्रपानसँग सम्बन्धित कुनै अनुसन्धान छैन, जुन निश्चित रूपमा मानिसहरूको मृत्युको कारण हुन्छन् ।
सन् १९६० को दशकमा जापानी सरकारले मानिसहरूलाई कम नुन खान अपिल गर्न ठुलो अभियान चलायो । अभियानका कारण जापानका जनताको औसत नुन खपत प्रतिदिन १३.५ ग्रामबाट १२ ग्राममा घट्यो । यस अवधिमा हृदयाघातका कारण मृत्यु हुने र रक्तचापको गुनासोमा ८० प्रतिशतसम्म कमी आयो ।
फिनल्यान्डमा नुनको दैनिक खपत सन् १९७० को दशकमा १२ ग्राम थियो जुन सन् २००२ मा घटेर दैनिक ९ ग्राम रह्यो । फलस्वरूप हृदयाघातसमेत मुटुसम्बन्धी अन्य रोगमा ८० प्रतिशतसम्मको गिरावट आयो ।
यो अनुसन्धानलाई हरेक मानिसका लागि उचित ठहराउन सम्भव छैन । कारण यो हो कि प्रत्येक व्यक्तिमा नुनको प्रभाव फरक फरक हुन्छ । जात, धर्म, समुदाय, उमेर र बडी मास इन्डेक्सका आधारमा हरेक व्यक्तिमा नुनको प्रभाव फरक फरक हुन्छ । उच्च रक्तचापको पारिवारिक इतिहासले पनि यसमा महत्त्वपूर्ण भूमिका खेल्छ ।
नुन कम खानुका बेफाइदा
अहिले धेरै वैज्ञानिकहरूले थोरै नुन खाँदा पनि रक्तचापको समस्या हुनसक्ने बताएका छन् । दैनिक ५.६ ग्रामभन्दा कम नुन खाँदा पनि हृदयाघात हुन सक्ने उनीहरुले बताइरहेका छन् । यसको स्वास्थ्यमा नकारात्मक असर पर्नु निश्चित छ ।
एक लाख ७० हजार मानिसमा गरिएको अनुसन्धानका अनुसार दैनिक ७.५ ग्रामभन्दा कम नुन खाँदा मुटु रोगको जोखिम बढ्छ । अर्कोतर्फ, दैनिक १२.५ ग्राम नुन दैनिक खाँदा यो अवस्थामा सुधार हुन्छ । जबकी ब्रिटेनमा यो तोकिएको मापदण्डभन्दा दोब्बर नुन हो ।
कम नुन विरुद्ध अभियान चलाउने यस अनुसन्धानका नेता एन्ड्रयु मेन्टे ओन्टारियो विश्वविद्यालयमा पढाउँछन् । नुन कम खाँदा रक्तचापको समस्या कम हुने भए पनि यसले स्वास्थ्यमा प्रत्यक्ष फाइदा नपुर्याउने उनी बताउँछन् ।
एन्ड्रयु मेन्टेका अनुसार बिलिनो वा चर्को खानुको साटो हामीले बीचको बाटो रोज्नुपर्ने हुन्छ । धेरै नुन पनि विष हो र कम पनि हानिकारक । अर्थात् बीचको बाटोले नै जोगाउँछ ।
तर एन्ड्रयु मेन्टेको कुरामा सबै जना सहमत छैनन् । वारविक युनिभर्सिटीका क्याप्पुचियोले नुन कम खाँदा रक्तचाप कम हुने बताए ।
भन्छन् कि धेरै वा थोरै नुन खानुको सट्टा हामीले बीचको बाटो रोज्नुपर्छ। धेरै नुन पनि विष हो र कम नुन पनि हानिकारक छ। अर्थात् बीचको बाटो मात्र बाँकी छ । उनले धेरै नुन खान वकालत गर्नेहरूको अनुसन्धानलाई अधकल्चो भनेका छन् ।
ब्रिटिस न्यूट्रिशन फाउन्डेसनकी सदस्य सारा स्टेनरले नुनको मात्रा कम गर्नाले रक्तचाप देखि हृदयाघात सम्मका समस्याहरू कम हुने बताउँछिन् । दिनमा ३ ग्राम भन्दा कम नुन खाने मान्छे कमै होलान् । यो सङ्ख्या आफैमा खतराको सङ्केत हो ।
बाहिरको खानाले समस्या
सारा स्टेनर भन्छिन्, ‘आजको मितिमा यति थोरै नुन खान असम्भव छ । किनभने हामी बाहिरबाट धेरै चीजहरू किनेर खान्छौँ, जसमा धेरै नुन हुन्छ । बजारमा बिक्री हुने खाद्यवस्तुमा नुनको मात्रा घटाउनुपर्छ ।’
धेरै नुन खाएपछि नियमित व्यायाम गरेर यसलाई कम गर्न सकिन्छ भन्नेमा पनि विज्ञहरूको मत विभाजित छ ।
सारा स्टेनर भन्छिन्, ‘हरियो सागसब्जी, फलफूल, नट र दूधजन्य पदार्थ खाँदा नुनको खराब प्रभावलाई पनि कम गर्न सकिन्छ किनभने यसमा पोटासियम हुन्छ ।’
ल्यान्कास्टर युनिभर्सिटीका स्यु मेटियस भन्छन्, ‘हामीले डिब्बामा बन्द भएका र प्याकेज गरिएका सामानहरूमा नुनको बारेमा बढी चिन्ता गर्नुपर्छ । हामीले खानामा हालेर खाने नुन निकै कम हुन्छ । यसले हाम्रो दैनिकको आवश्यकता पुरा गर्छ ।’
स्यु म्याटियस भन्छन्, ‘चर्को र बिलिनो नुन, हाम्रो लागि दुवै ठिक होइन । धेरै नुनले हानी गर्छ । नुनलाई पूर्ण रूपमा बहिष्कार गर्नु पनि ठिक होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न दुङ्गानाले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन