आज २०८० जेठ २ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
रेशमको फैसला
टिकापुर नरसंहारका प्रतिवादी रेशमलाल चौधरीको जन्मकैदको फैसला सर्वोच्च अदालतले समेत सदर गरेको छ । मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जन्मकैद गर्ने उच्च अदालत दिपायलको फैसला सदर गरेको हो । त्यसैगरी प्रतिवादीमध्येका सिताराम चौधरी र गंगाराम चौधरीलाई भने सर्वोच्च अदालतले सफाई दिएको छ । उनीहरुलाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो ।
भारत भ्रमणबारे अन्योल
पूर्व राजा ज्ञानेन्द्र शाहले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेपछि नेपालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका बारेमा चासो व्यक्त गर्न थालेका छन् ।
अयोग्य लडाकुलाई रकम
अयोग्य लडाकुलाई २ लाख रकम दिने मन्त्रिपरिषद्को निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश कुमार रेग्मीले सो आदेश जारी गरेका हुन् । सर्वोच्चले अन्तरिम आदेशबारे छलफल गर्न जेठ ८ मा दुवै पक्षलाई झिकाएको छ । अन्तरिम आदेशबारे निर्णय हुनुअघि सो निर्णय यथास्थितिमा राख्न अदालतले भनेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेताले पार्टीको जिम्मेवारीबाट आफै अलग हुनुपर्ने बताएका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेताहरुले आफै राजीनामा नदिए पार्टीले निलम्बन गर्नुपर्ने धारणा राखेका छन् ।
१० समितिको पहिलो बैठक
मंगलबार प्रतिनिधि सभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्यो । २६ सदस्य रहेको समितिमा २३ जना सांसद उपस्थित भएका थिए भने पदेन सदस्य रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी उपस्थित थिए ।
‘ल्याक अफ ट्रस्ट’ देखियो
नेपालसँग दुईवटा क्षेत्रीय विमानस्थलसहित तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै गत वर्षदेखि सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थल र यसै वर्षदेखि सञ्चालनमा आएको पोखरा विमानस्थलसमेतले नेपाली उड्डयन जगतलाई हौसला प्रदान गरेको छ । यद्यपि, गत जनवरी १ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भने हालसम्म पनि एउटै अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन ।
बजेट निर्माणको ‘टाइमलाइन’
आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम जेठ ३ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने तयारी भइरहेको छ । संविधानतः जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीले अनिवार्य पेस गर्नुपर्ने प्रावधान छ ।
जसपा निर्णायक
‘यो बीचमा तीन वटा गेम भए । एउटा गेम हामी हार्यौँ दुई वटा जित्यौँ । उपराष्ट्रपतिमा गोल गर्यौँ, उपनिर्वाचनमा गोल गर्यौँ र एउटा चुनावमा हार्यौँ । त्यहाँ जुन टीमले जितेँ भनेको थियो, उपराष्ट्रपतिमा त्यसको जमानत जफत भयो, उपनिर्वाचनमा पनि नराम्रो गरी पराजित भएर भाग्यो ।’
चेतन कार्की बाँचेका छन्
यस सदावहार गीतका गीतकार चेतन कार्कीको भौतिक शरीर हामीमाझ नरहेको आज (२ जेठमा) दुई वर्ष पुग्दै छ । नेपाली चलचित्र क्षेत्रमा उनको योगदान उल्लेखनीय छ । उनले जीवनभर करिब ५० चलचित्रमा कथा, संवाद, निर्देशन, गीतलेखन र फ्लिमको प्राविधिक सल्लाहकारको काम गरेका थिए ।
बिनाको जब सिन्दुर नै पुछियो
कोरोना महामारीका कारण पहिलो पटक ‘लकडाउन’ हुनुअघि बिना कार्की दुबईबाट छोरा भेट्न नेपाल आएकी थिइन् । उनी श्रीमान् भोजराज सञ्जेलसँग दुबईमा बस्दै आए पनि ७ वर्षको छोरो इभान आफ्नो मावलीसँग नेपालमै थिए ।
राप्रपा बैठकमा रिसाए लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकमा भनाभन भएपछि केहीबेर बैठकको माहोल बिथोलिएको छ । बैठकमा आफ्नो धारणा राख्ने क्रममा एक केन्द्रीय सदस्यले अध्यक्ष राजेन्द्र लिङ्देन आफैँले यसअघि भनेको ‘चोर नेता’कै पछि लागेको आरोप लगाएपछि बैठकको माहोल बिथोलिएको हो ।
प्रतिक्रिया