जीडीपीमा सबैभन्दा ठुलो हिस्सा बोक्ने बागमतीको आर्थिक वृद्धिदर ७७.७७ प्रतिशतले घट्यो
काठमाडौँ । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने केन्द्रीय तथ्याङ्क कार्यालयको अनुमान छ । वर्षको पहिलो र दोस्रो त्रैमासको वित्तीय स्थिति, आर्थिक उत्पादनलाई आधार बनाएर समग्र वर्षको आर्थिक सर्वेक्षण गरेको कार्यालयले यो वर्ष जम्मा २.१६ प्रतिशत हाराहारी मात्र आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ ।
यसै कूल गार्हस्थ्य उत्पादनलाई आधार मानेर मंगलबार प्रदेशस्तरीय योगदानको अनुमानित हिस्सा सार्वजनिक गरेको तथ्याङ्क कार्यालयले आर्थिक वर्षमा बागमती प्रदेशको योगदान कूल हिस्साको ३७.९५ प्रतिशत अर्थात् १९ खर्व ८१ अर्ब रुपैयाँ हुने अनुमान गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यस्तो अनुमान (संशोधित) करिब १८ खर्व १९ अर्ब रहेको थियो ।
तर, यता आर्थिक वृद्धिदरमा भने अघिल्लो वर्षको तुलनामा यस वर्ष बागमती प्रदेशले तीव्र सङ्कुचन व्यहोरेको छ । गत आ.व.मा कुल गार्हस्थ्य उत्पादनको वृद्धि दरमा ६.३० प्रतिशत योगदान गरेको यो प्रदेशको यो वर्ष जम्मा १.४५ प्रतिशत हाराहारी मात्र हुने प्रक्षेपण गरिएको छ । जुन प्रतिशतमा हेर्दा अधिकतम ७७.७७ प्रतिशतको सङ्कुचन हो ।
आर्थिक वर्ष २०७७/७८ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहेको थियो । यसो हुनुमा आर्थिक मन्दीको कारण होलसेल तथा रिटेल व्यवसाय, औद्योगिक उत्पादनसँगै कृषिमा समेत ह्रास आउनु रहेको तथ्याङ्क कार्यालयले जनाएको छ । कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको सबैभन्दा बढी योगदान २३.६५ व्यापार क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.३५ पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलापका क्षेत्रको रहेको छ ।
कुन प्रदेशको आर्थिक वृद्धिदर कतिले खुम्चियो ?
कोशी प्रदेश
चालु आर्थिक वर्षमा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब ८ खर्व ४९ अर्ब रुपैयाँ बराबरको योगदान हुने अनुमान छ । अघिल्लो वर्ष संशोधित अनुमान करिब ७ खर्व ८० अर्ब रुपैयाँ रहेको थियो । यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.८५ प्रतिशतको योगदान पुर्याउने अनुमान छ ।
तर यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर भने २.०५ प्रतिशत रहने अनुमान छ । अघिल्लो वर्ष यस्तो आर्थिक वृद्धिदर ५.४७ प्रतिशत रहेको थियो । तुलनात्मक रूपमा यस वर्ष समग्र प्रदेशको आर्थिक वृद्धिदर ३.४२ प्रतिशतको विन्दुले घट्ने देखिएको हो ।
यस प्रदेशमा सबैभन्दा बढी योगदान ३३.२ प्रतिशत कृषि क्षेत्रको (यहाँ कृषि क्षेत्र भन्नाले कृषि, वन तथा मत्स्यपालन समेतलाई जनाउँछ) रहेको छ भने सबैभन्दा कम योगदान ०.३ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।
मधेस प्रदेश
मधेस प्रदेशबाट यस आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा ७ खर्ब ७ अर्ब रुपैयाँ हुने अनुमान छ । गत आ.व.को संशोधित अनुमान करिब ६ खर्ब ५० अर्ब रुपैयाँ रहेको थियो । गत आ.व.मा राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको १३.१५ हिस्सा ओगटेको यस प्रदेशले यस आ.व.मा समेत १३.१५ योगदान पुर्याउने अनुमान गरिएको छ ।
प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धि दर भने यस वर्ष १.६९ प्रतिशत हुने अनुमान गरिएको छ । अघिल्लो वर्ष यस्तो आर्थिक वृद्धिदर ४.६३ प्रतिशत रहेको थियो । तुलनात्मक रूपमा यस वर्ष प्रदेशको आर्थिक वृद्धिदरमा २.९४ प्रतिशतको विन्दुले सङ्कुचन आउने प्रक्षेपण गरिएको हो ।
कृषि प्रधान मधेस प्रदेशको आर्थिक वृद्धिदरमा सबैभन्दा बढी कृषिको ३५.२५ प्रतिशत रहेको छ भने सबैभन्दा कम योगदान ०.२५ खानी तथा उत्खनन क्षेत्रको रहेको छ ।
गण्डकी प्रदेश
यस वर्ष गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा ४ खर्ब ८२ अर्ब रुपैयाँ हुने अनुमान रहेको छ । गत आ.व.मा संशोधित अनुमान करिब ४ खर्ब ३७ अर्ब रुपैयाँ रहेको थियो । गत आ.व.मा राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको ८.९ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आ.व.मा ९.० प्रतिशत योगदान पु¥याउने अनुमान छ ।
यस वर्ष समग्र प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ३.२६ प्रतिशत हुने अनुमान गरिएको छ । अघिल्लो वर्ष यस्तो आर्थिक वृद्धिदर ६.३५ प्रतिशत थियो । तुलनात्मक रूपमा यस वर्ष गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ३.०९ प्रतिशतको विन्दुले घट्ने देखिएको हो ।
कुल गार्हस्थ्य उत्पादनमा यो प्रदेशबाट सबैभन्दा बढी योगदान २५.९५ कृषि क्षेत्रको रहेको छ भने सबैभन्दा कम योगदान ०.३५ प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशको यो वर्ष कुल गार्हस्थ्य उत्पादनमा ७ खर्ब ६२ अर्ब रुपैयाँ हुने अनुमान छ । गत आ.व.मा संशोधित अनुमान करिब ६ खर्ब ९७ अर्ब रुपैयाँ रहेको थियो । गत आ.व.मा राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको हिस्सा १४.१५ प्रतिशत रहेकोमा यस वर्ष १४ प्रतिशत रहने अनुमान छ ।
यता प्रदेशको आर्थिक वृद्धिदर यस वर्ष २.०६ प्रतिशत रहने अनुमान छ । अघिल्लो वर्ष ५.०३ प्रतिशत रहेको थियो । तुलनात्मक रूपमा यस वर्ष लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदरमा २.९७ प्रतिशतको विन्दुले सङ्कुचन आउने देखिएको हो ।
कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको सबैभन्दा बढी योगदान २९.८५ कृषि क्षेत्रको रहेको छ भने सबैभन्दा कम योगदान ०.३५ प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशबाट यस वर्ष कुल गार्हस्थ्य उत्पादनमा २ खर्ब २१ अर्ब रुपैयाँ हुने अनुमान छ । गत आ.व. मा संशोधित अनुमान करिब २ खर्ब १ अर्ब रुपैयाँ रहेको थियो । गत वर्ष राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको ४.१५ हिस्सा ओगटेको यस प्रदेशले यस आ.व.मा समेत ४.१५ प्रतिशत योगदान हुने अनुमान छ ।
यता आर्थिक वृद्धिदरतर्फ भने यस वर्ष कर्णाली प्रदेशको १.९१ प्रतिशत रहने अनुमान गरिएको छ । गत आ.व. मा यस्तो आर्थिक वृद्धिदर ५.३२ प्रतिशत रहेको थियो । तुलनात्मक रूपमा समग्र प्रदेशको यस वर्षको आर्थिक वृद्धिदर ३.४१ प्रतिशतको विन्दुले खुम्चिन सक्ने देखिएको हो ।
कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशबाट सबैभन्दा बढी योगदान ३०.८५ कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२५ प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशबाट यस वर्ष कुल गार्हस्थ्य उत्पादनमा ३ खर्ब ७६ अर्ब रुपैयाँ हुने अनुमान छ । गत आ.व. मा संशोधित अनुमान करिब ३ खर्ब ४५ अर्ब रुपैयाँ रहेको थियो । गत आ.व.मा राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको ७.० प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आ.व.मा समेत ७.० प्रतिशतकै योगदान पु¥याउने अनुमान छ ।
यता आर्थिक वृद्धिदरतर्फ भने यस वर्ष सुदूरपश्चिम प्रदेशको १.७८ प्रतिशत रहने अनुमान छ । अघिल्लो वर्ष प्रदेशको आर्थिक वृद्धिदर ४.७८ प्रतिशत रहेको थियो । तुलनात्मक रूपमा यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर ३ प्रतिशतको विन्दुले घट्ने देखिएको हो ।
कुल गार्हस्थ्य उत्पादनमा समग्र प्रदेशको सबैभन्दा बढी योगदान ३३.४५ कृषि क्षेत्रको रहेको छ भने सबैभन्दा कम योगदान ०.१५ प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ । प्रस्तुत तथ्याङ्क उपभोक्ता मूल्यमा आधारित भई अनुमान गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म