मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘डाकिनी’ सीमित हलमा मात्र रिलिज हुने

मङ्गलबार, ०२ जेठ २०८०, १८ : ०६
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो ‘डाकिनी’ । निर्माता कम्पनी षट्कोण आर्टस्ले फिल्म ५, ६ वटा हलमा मात्र रिलिज हुने जानकारी दिएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्माता म्याक्स दिपेश खत्रीले फिल्मलाई व्यावसायिक प्रायोजनले भन्दा पनि चाहनेले हेर्न पाउन् भनेर रिलिज गर्न लागेको बताए । ‘हामीलाई फिल्मबाट कमर्सियल अपेक्षा छैन’, खत्रीले भने ‘आर्ट, अलि स्लो फिल्म मनपराउनेले हेर्न पाउन् भन्ने इच्छाले रिलिज गर्न लागेको हो ।’ उनले फिल्म धेरै अगाडि निर्माण भएपनि कोरोनाको कारण ५ वर्ष रिलिज ढिलो भएको सुनाए ।

फिल्मका निर्देशक खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) बौद्ध धर्मका ठूला गुरु समेत हुन् । रिम्पोछे अमेरिकादेखि नेपाल आउँदै छन् । उनको काठमाडौँ आगमनकै छेको पारेर फिल्मलाई रिलिज गर्न लागेको हो । फिल्म रिलिजसँगै रिम्पोछेको पर्यटन बोर्डमा ‘ब्यूटी इज अ ट्रयाप’ (सुन्दरता एउटा जाल हो) विषयमा मास्टरक्लास र बौद्धस्थित लिच्छवी हाउसमा ‘बुद्ध र भिखारी’ नाटक समेत मञ्चन हुने निर्माता खत्रीले जानकारी दिए ।

त्यस्तै कलाकार तथा फिल्मका अर्का निर्माता रबिन्द्र सिंह बानियाले ‘डाकिनी’ साढे नौ करोड खर्च गरेर बनाएको बताए । ‘हामीलाई पैसाको रिक्स नलिइकन फिल्म बनाउन पाए हुन्थ्यो भन्ने लाग्छ । पैसा उठाउन पनि पर्छ भन्ने कुराले हामी कति कुरोमा कम्परमाइज गर्छाै’, बानियाले भने, ‘निर्देशक खिन्से नोर्बुसँग विना कुनै प्रेसर काम गर्न पाएको बताए ।’ नोर्बुसँग काम गर्दाको अनुभव आफ्ना लागि विद्यालय सरह भएको उनको भनाई थियो । 

‘‘डाकिनी’ नेपाली टेष्ट अनुसारको फिल्म होइन । क्रिटिक्सहरुले फिलम यस्तो बनाउनु पर्छ भन्ने गरेका छन् नि । त्यो जस्तै यो फिल्म बनेको भएकोले पनि हामीले रिलिज गर्न लागेका हौ’, बानियाले भने  ।

कार्यक्रममा निर्देशक प्रदीप भट्टराइले फिल्म बुझ्नेका लागि ‘डाकिनी’ उपयुक्त भएको बताए । विश्वका प्रख्यात फेस्टिभलको चक्र पुरा गरेपछि रिलिज हुन लागिएको फिल्मको अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ दिइएको छ । यो फिल्मको नेपाली नाम डाकिनी हो । बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का प्रशस्तै मिथक र दन्त्यकथा छन् । यो फिल्म पनि यस्तै देवीको खोजीको कथामा छ । 

फिल्मको सबै सुटिङ पनौती र पाटनमा भएको हो । यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ । फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । भारतमा जन्मिएका यी दुवै तिब्बती मूलका हुन् । दुवैले अभिनय गरेको यो पहिलो फिल्म हो । कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियाँ लगायतका नेपाली कलाकारले समेत यसमा अभिनय गरेका छन् ।

काठमाडौँमा क्याफे चलाएर बसिरहेका तिब्बती मूलका युवालाई एक दिन सपनामा केही संकेत मिल्छ । एक दिन उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ– तिमी अब जम्मा ७ दिन बाँच्छौं । तर, जब उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ जुँगा र दाह्रा भएकी डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर फिल्मको कथा बगेको छ ।

निर्देशक रिम्पोछेको यो पाँचौं फिल्म हो । बौद्ध धर्मबारेका उनका प्रवचन जति चर्चित छन्, फिल्म निर्देशकका रूपमा पनि उति नै । सन् १९९९ मा उनले निर्देशन गरेको पहिलो फिल्म ‘द कप’ कान्स फिल्म फेस्टिभलमा देखाइएको थियो ।

निर्देशक मात्र होइन, छायांकार पनि उत्तिकै हाइप्रोफाइल छन् –मार्क लि पिङ बिङ । २१ अन्तर्राष्ट्रिय अवार्ड पाएका ताइवानका मार्कले सन् २००० मा वङ कर वाइको फिल्म ‘इन द मुड फर लभ’ का लागि कान्स फिल्म फेस्टिभलको ग्रान्ड टेक्निकल प्राइज पाएका थिए । एकेडेमी अफ मोसन पिक्चर एन्ड साइन्सेज (ओस्कार अवार्ड)का सदस्यसमेत रहेका मार्क लीले खिचेका केही चर्चित फिल्ममा ‘इन द मुड फर लभ’सहित द असासियन, रेनोयर, नर्वेजियन उड, फ्लाइट अफ रेड बलुनलगायत छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप