ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपनअघि लय गुमाएका अल्कारज
काठमाडौँ । उपाधिको दाबेदार मानिएका स्पेनिस युवा खेलाडी कार्लोस अल्कारज इटालियन ओपन टेनिसको तेस्रो चरणमै पराजित भएका छन् । विश्व टेनिस वरीयताको पहिलो नम्बरमा उक्लने तयारीमा रहेका अल्कारजलाई सोमबार राति भएको खेलमा हंगेरीका २३ वर्षीय फाबियन मारोसनले हराएका हुन् । फाबियन १ सय ३५औं वरीयताका खेलाडी हुन् ।
उक्त खेलमा खेलमा फाबियन ६—३, ७—६ (७/४) अंकले हराए । इटालियन ओपनलाई निकट भविष्यमा हुने ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपनको तयारीका रूपमा लिइन्छ । फ्रेन्च ओपन सुरु हुनुभन्दा २ साताअघि भोगेको नमिठो पराजयले अल्कारज दबाबमा परेका छन् । उनी फ्रेन्च ओपनमा पहिलो वरीयताका खेलाडीको रूपमा सहभागी हुनेछन् ।
हाल विश्व टेनिस वरीयताको दोस्रो स्थानमा रहेका अल्कारज में २२ तारिखमा पहिलो वरीयतामा उक्लने छन् । हाल वरीयताको पहिलो स्थानमा सर्बियन खेलाडी नोभाक योकोभिच छन् ।
इटालियन ओपनमा सहभागी हुनुअघि अल्कारजले बार्सिलोना ओपन र म्याड्रिड ओपनको उपाधि जितेका थिए । अल्कारजले सन् २०२२ मा अर्को ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपनको उपाधि पनि जितेका थिए । निरन्तर प्रतियोगिताहरूमा सहभागी भएको कारण आफू थकित बनेको अल्कारजले बताए । ‘मलाई आरामको आवश्यकता छ । एकपछि अर्को प्रतियोगितामा सहभागी भएका कारण म थकित बनेको छु । अब फ्रेन्च ओपनमा सहभागी हुनुअघि म केही समय आराम गर्न चाहन्छु,’ उनले भनेका छन् ।
अल्कारजले आफ्ना हंगेरियन प्रतिद्वन्द्वीको पनि प्रशंसा गरे । ‘वास्तवमा उनले (फाबियन मारोसन)ले सुरुदेखि नै मलाई गतिलो चुनौती दिएका थिए । उनले उत्कृष्ट टेनिस खेल, म उनको खेलबाट प्रभावित छु,’ खेलपछि अल्कारजले भनेका छन् । अल्कारजले छिट्टै नै फाबियन मारोसन विश्व टेनिस वरीयताको माथिल्लो १ सय खेलाडीभित्र पर्ने विश्वास पनि व्यक्त गरे । ‘उन (फाबियन मारोसन)को खेल स्तरीय छ । मेरो विचारमा उनी छिट्टै विश्व टेनिस वरीयताको १ सयभित्र पर्नेछन्,’ उनले भने ।
फाबियनले अब अर्को खेलमा क्रोएसियन खेलाडी बोर्ना कोरिकको सामना गर्नेछन् । उनले यसअघि एटीपी टुर प्रतियोगितामा कुनै पनि खेल जितेका थिएनन् । उनी पहिलो पटक मुख्य प्रतियोगिताका लागि छनोट भएका हुन् ।
‘आज सबै कुरा मैले चाहेजस्तै भयो । अल्कारजजस्तो प्रभावशाली खेलाडीलाई हराउँछु भनेर मैले सोचेको थिइन । त्यसैले पनि यो खेल मेरा लागि धेरै अर्थमा महत्त्वपूर्ण छ,’ उनले भने ।
तेस्रो वरीयतामा आसिन रसियन खेलाडी ड्यानिल मेदभेदेभ भने प्रतियोगिताको प्रिक्वार्टरफाइनलम प्रवेश गरेका छन् । २७ वर्षीय ड्यानियल स्पेनका बेर्नाब जपाटा मिराल्सलाई ३—६, ६—१, ६—३ अंकले हराउँदै अन्तिम १६ मा प्रवेश गरेका हुन् ।
इटालियन ओपन टेनिसको इतिहासमा सन् १९९४ पछि पहिलो पटक कुनै पनि स्पेनिस खेलाडी प्रतियोगिताको अन्तिम १६ सम्म पुग्न सकेनन् । अर्को खेलमा स्पेनका एलेज्यान्ड्रो डेभिडोभिच फोकिनालाई हराउँदै आन्द्रे रब्लेभ पनि अन्तिम १६ मा पुगे ।
उक्त खेलमा छैटौं वरीयताका रसियन खेलाडी रब्लेभ ७—६ (१०/८), ६—३ अंकले विजयी भएका हुन् । वर्षाका कारण पुरुष एकलतर्फको ३ वटा खेल भने प्रभावित भएको थियो । वर्षाका कारण महिलातर्फका केही खेल पनि प्रभावित भएका छन् ।
महिला एकलतर्फ पोल्यान्डकी ईगा स्विटेक अन्तिम १६ मा पुगेकी छन् । महिलातर्फ विश्व वरीयताको पहिलो स्थानमा रहेकी २१ वर्षीय स्विटेकले अन्तिम १६ मा डोना भेकिचसँग प्रतिस्पर्धा गर्नेछिन् । डोना इटालिन ओपनकी साबिक विजेता खेलाडी हुन् । उनी ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपन च्याम्पियन पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु