बालनिबन्ध : समन्वयवादको सिद्धान्त
प्रकृति जीवन हो, जगत् हो अनि जीवन र जगत्को आधार हो । संसार बनाउने, चलाउने, खेलाउने सबै यसैले हो । ऊ एकैसाथ एकबाट अनेक हुन पनि सक्छ अनेकबाट एक हुन पनि सक्छ । संसारमा ऊभन्दा शक्तिशाली कोही छैन । हामीले जसलाई भगवान् भनेर शक्तिशाली पात्रको कल्पना गरेका छौँ वा हुन्छौँ त्यो पनि आफैँमा प्रकृति नै हो । ऋषि मुनिहरूले सजिलोसँग बुझाउनका लागि उसका स्वरूप चित्रण गरेका हुन् ।
साङ्ख्य दर्शनले प्रकृतिमा तीन वटा सत्यलाई स्वीकारेको छ । अथवा यसलाई यसरी पनि भनौँ उसको तीन वटा स्वरूपलाई मानेको छ । यिनमा पहिलो प्रकृति आफैँ पर्छ । दोस्रोमा विकृति र तेस्रोमा न प्रकृति न विकृति पर्छ । यीमध्ये प्रकृति भनेको हरेक क्षण भिन्न रूपमा प्रकट हुने वा हुन सक्ने शक्ति हो । त्यस्तै विकृति भनेको प्रकृतिमा विकार आउँदा वा विकार उत्पन्न हुँदा प्रकट हुने वस्तु, चीज वा नतिजा हो ।
मानिलिनुस् दूध प्रकृति हो भने दही उसको विकृति हो । त्यस्तै दही प्रकृति हो भने घ्यु उसको विकृति हो । एउटै चीज वा अवस्था कहिले प्रकृति बन्छ कहिले विकृति बन्न पुग्छ । प्रकृति चल्दा वा चलाउँदा जुन स्वरूप खडा हुन्छ त्यही नै विकृति हो । यसैले संसार चलाएको छ, बोलाएको छ, बढाएको छ । यसलाई तपाईँ कार्य र कारणको खेल भन्न पनि सक्नुहुन्छ । कारणबाट कार्य बन्छ । पुनः त्यही कार्य नै अर्को कार्यको कारण बन्न पुगिरहेको हुन्छ । संसारका यावत गतिविधि यसैको निरन्तरता हो । यसैको शृङ्खलामा जोडिएको हुन्छ ।
न प्रकृति न विकृति भनेको पुरुष हो । साङ्ख्य दर्शनले यसैलाई पुरुषको संज्ञा दिएको छ, जसलाई तपाईँ ईश्वरको संज्ञा दिन पनि सक्नुहुन्छ, मानिसको संज्ञा दिन पनि सक्नुहुन्छ । प्रकृति नर्तकी हो, नाच्ने कला उसैसँग छ । यसमा कसैको वैशाखी चाहिन्न । न गुरुकै आवश्यकता रहन्छ तर पुरुषको सान्निध्य भने खोजेको हुन्छ । जबतक पुरुषको सामीप्य भेट्टाउन्न तबतक प्रकृति निष्क्रिय अवस्थामा रहन्छ । केही हराए जस्तो, कसैको पर्खाइमा बसे जस्तो, मुख अँध्यारो, व्यवहार अँध्यारो तर जब पुरुषको सामीप्य पाउँछ वा भेट्टाउँछ तब रमाएर यति बढी फुरफुर पर्छ कि आफैँ सक्रिय भई नृत्य सुरु गर्छ ।
प्रकृतिको धर्म विकृति हो, यसमा खेल्ने छुट उसैले पाउनुपर्छ, उसैलाई दिनुपर्छ । पुरुष अर्थात् मानिसको धर्म न प्रकृति न विकृति हो । यसको धर्म आफैँले निर्वाह गर्नुपर्छ तर व्यवहार हेर्नुभयो भने ठिक विपरीत देख्नुहुन्छ । उसले प्रकृतिको धर्ममाथि हस्तक्षेपको औजार चलाउने मात्र गरेको छैन वा हुँदैन न प्रकृति न विकृतिको अवस्थामा रहनुपर्ने आफ्नो धर्मप्रति विमुख हुनेसमेत गरेको छ । कसैले पनि प्रकृतिको गुण चलाउनु पनि हुँदैन र आफ्नो धर्मबाट विमुख हुने धृष्टता गर्नु पनि गर्नुहुँदैन तब मात्र संसार सुखद हुन्छ । जब मानिस प्रकृतिको धर्ममाथि हस्तक्षेप गर्न पनि पुगेको छ र आफ्नो धर्मबाट विमुख भएको पनि छ भने कसरी हुन्छ संसार सुखमय ?
हामी प्रकृतिको भएनौँ, प्रकृतिमा पनि रहेनौँ, प्रकृतिको पनि हुन सकेनौँ र विकृतिलाई पनि छाडेनौँ यही हो हाम्रो दुःख, यही हो दुःखको कारण । कारण दुःखद भएपछि कार्य दुःखद हुने नै भए । पुनः त्यही कार्य नै अर्को कार्यको कारण हुने भएकाले हाम्रा दुःख अभाव र अशान्ति अन्त्यहीन शृङ्खला बन्न पुगेको छ । यसबाट के प्रस्ट हुन्छ भने दुःखको कारण संसार होइन हामी नै हौँ र दुःख संसारमा छैन हामीभित्रै छ । भनाइको अर्थ हो द्वन्द्व तपाईँभित्रै छ । तपाईँलाई पनि द्वन्द्व आवश्यक छ । तपाईँको रोग, भोक, शोक निवारण गर्ने अचुक अस्त्र भनेकै यही हो ।
तपाईँका हरेक क्रियाकलापमा द्वन्द्व छ, द्वन्द्व हुन्छ । समाजमा द्वन्द्व छ, रगतका तोपातोपमा द्वन्द्व छ, प्राणको प्रत्येक स्पन्दनमा द्वन्द्व हुन्छ । द्वन्द्वले नै उसलाई उठाएको छ, चलाएको छ, बढाएको छ तर सङ्गति भने मिलाउनुपर्छ, मिल्नुपर्छ, मिलेको हुनुपर्छ । तपाईँ यसलाई द्वन्द्ववाद भन्न पनि सक्नुहुन्छ, द्वन्द्वात्मक समन्वयवाद भन्न पनि सक्नुहुन्छ ।
अहिलेसम्म द्वन्द्वलाई मात्र हेरियो, द्वन्द्ववादको मात्र कुरा गरियो तर सङ्गति मिल्नुपर्छ भन्नेतिर हेरिएन, हेर्ने कुरै गरिएन । त्यसैको प्रतिफल हामी आफैँ भोगिरहेका छौँ । हाम्रा रोग, भोक, शोकका मूल कारण भनेकै यही हो । प्रश्न उठ्न सक्छ सङ्गति मिलाउने भनेको के हो ? कसरी मिलाउने हो ? उत्तर सहज छ । केही पनि नगर्ने, हरेक काम होसमा गर्ने, होसपूर्वक गर्ने, सके आफूमा अरूलाई देख्ने नसके अरूभित्र आफूलाई खोज्ने, सकेसम्म केही पनि होइन, छैन भन्दै जाने, जसलाई वेदले नेतिनेति भनेको छ । नसके तिनैलाई जीवनको मूल आधार ठानी जतन गर्ने, सदुपयोग गर्ने, आदर गर्ने ।
यही नै द्वन्द्वात्मक समन्वयवाद वाद हो, द्वन्द्वात्मक समन्वयवादको सिद्धान्त हो । द्वन्द्व नैसर्गिक गुण भएकाले छाड्न त सकिन्न तर समन्वय गर्न भने सकिन्छ । त्यसैले अबको यात्रा त्यतैतिरको हुनुपर्छ । अन्यथा हामीले चाहेको सुख, शान्ति र आनन्द केवल चाहनामै सीमित हुनेछ ।