पतिलाई ‘सरप्राइज’ दिन फिल्म बनाएकी बिनाको जब सिन्दुर नै पुछियो
काठमाडौँ । कोरोना महामारीका कारण पहिलो पटक ‘लकडाउन’ हुनुअघि बिना कार्की दुबईबाट छोरा भेट्न नेपाल आएकी थिइन् । उनी श्रीमान् भोजराज सञ्जेलसँग दुबईमा बस्दै आए पनि ७ वर्षको छोरो इभान आफ्नो मावलीसँग नेपालमै थिए ।
नेपाल आएकै मौकामा बिनाले रमेश बाँनियासँग भेट गरिन् जसलाई उनले भाइटीका लगाइदिने गर्थिन् । कुरैकुरामा रमेशले फिल्ममा ‘डेब्यु’ गर्न चाहेको बिनालाई सुनाए ।
त्यसो त बिनाका पति भोजराजको पनि कलाक्षेत्रमा रुचि थियो । भोजराजले केही म्युजिक भिडियोमा अभिनय गरिसकेका थिए भने भविष्यमा कला क्षेत्रमा केही गर्ने सोच राख्थे ।
भोजराज र बिना छोरा इभानलाई पनि कलाक्षेत्रमा ल्याउन चाहन्थे । तर यसबारे उनीहरुले खासै योजना बनाइसकेका थिएनन् । त्यसका लागि उनीहरुसँग पर्याप्त समय थियो ।
रमेशले बिनालाई एक फिल्मको प्रोजेक्ट सुनाए । बिनालाई प्रोजेक्ट मनपर्यो । छोरालाई पनि अभिनयमा उतार्ने उद्देश्यले बिना उक्त फिल्ममा लगानी गर्न तयार भइन् ।
रमेशले बिनाको भेट निर्देशक रामराघव आचार्यसँग गराए । रमेश, बिना र रामराघव मिलेर फिल्म निर्माण अगाडि बढाए ।
नेपालमा बिनाले फिल्म निर्माण सुरु गरेकोबारे उनका पति भोजराज बेखर थिए । किनकि पतिलाई ‘सरप्राइज’ दिन चाहिन्थन् बिना ।
‘हामीबीच सरप्राइज आदानप्रदान भइरहन्थ्यो,’ बिनाले फिल्म निर्माणबारे पतिलाई थाहै नदिनुको रहस्य सुनाइन्, ‘बर्थडे होस् या एनीभर्सरी, हामी एक अर्कालाई सरप्राइज गिफ्ट दिन्थ्यौं, एउटा खास दिन त्यस्तै सरप्राइज गिफ्ट दिनका लागि मैले फिल्म निर्माणसँग सम्बन्धित कुनै पनि कुरा उहाँलाई सुनाएकी थिइनँ ।’
भोजराजको जन्मदिन मंसिरमा पर्थ्यो । बिना २०७८ मंसिरमा भोजराजलाई आफूले निर्माण गरेको फिल्म ‘सरप्राइज गिफ्ट’ दिन चाहन्थिन् ।
नेपालमा फिल्मको तयारी हुँदै गर्दा बिना फेरि दुबई फर्किइन् । दोस्रो लकडाउन अघि उनी छोरो लिन भनेर नेपाल आइन् । त्यतिबेला फिल्मको सुटिङ पनि सुरु भयो ।
‘एउटा गीतको मात्र काम बाँकी राख्दै सुटिङ सक्यौं’, बिनाले भनिन्, ‘एउटा गीत दुबईमा छायाङ्कन गर्ने र फिल्मको सरप्राइज उहाँ (भोजराज)लाई दिने मेरो योजना थियो । तर अगाडिको काम गर्न नपाउँदै मेरो सिन्दुर पुछियो, संसार उजाडियो ।’
आफू छोरो लिएर नफर्किदै दुबईबाट भोजराजलाई कोभिड–१९ संक्रमण भएको खबर आएको उनले सुनाइन् ।
‘उहाँको खबर सुन्ने बित्तिकै म दुबई उड्न कोसिस गरेँ । प्लेन बन्द भएकाले जान सकिनँ’, उनले भनिन्, ‘अस्पताल भर्ना भएको १३ औँ दिन उहाँको निधन भयो ।’
पतिको अन्तिम समयमा आफूले मुख हेर्न र छोरो देखाउन नपाएको मात्र होइन, श्रीमानलाई ‘सरप्राइज गिफ्ट’ दिने धोको पनि पूरा हुन नपाएकोमा भित्रभित्रै पिल्सिएकी छन् बिना ।
बिनाले पति भोजराजलाई ‘सरप्राइज गिफ्ट’ दिन भनेर निर्माण गरेको फिल्म हो– ‘ए साथी सुन’ ।
छोराजस्तै माया लाग्छ
फिल्म ‘ए साथी सुन’ आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा रमेशको अलावा वर्षा शिवाकोटी, आर्यन खड्का, सुशिल पोखरेल लगायतको अभिनय छ ।
लभस्टोरी, थ्रिलर तथा कमेडी जनरामा आधारित यो फिल्म इभान इन्टरटेनमेन्टको ब्यानरमा बनेको हो । फिल्मको ब्यानर पनि बिनाले छोराकै नामबाट राखेकी हुन् ।
रामराघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्ममा निर्माताको रुपमा बिनासँगै सन्तोषकुमार राई र टायम कट्टेल पनि जोडिएका छन् ।
फिल्म रिलिजका लागि कट्टेलले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । टायम कट्टेल राजनीतिक तथा व्यापारिक पृष्ठभूमिका पनि हुन् ।
फिल्मको प्रचारप्रसार त्यति तडकभडकका साथ गरिएको छैन । किनकि बिनामा फिल्म प्रदर्शनमा आउन लाग्यो भन्ने कुराले दिने खुशीभन्दा पनि फिल्मबारे केही थाहै नपाई श्रीमानको निधन भएकोमा भोगिरहेको पीडा कयौं गुणा बढी छ । केही दिनदेखि बिना, टायम र निर्देशक आचार्यले फिल्मको सामान्य प्रचारप्रसार गरिरहेका छन् । सोही क्रममा रातोपाटीसँग भेटिएकी बिनाले यो फिल्म आफूलाई छोराजस्तै लाग्ने सुनाइन् ।
‘श्रीमान्का लागि फिल्म बनाएको थिएँ । जसका लागि बनाएको थिएँ, उहाँ नै यो संसारमा हुनुहुन्न’, उनले भनिन्, ‘फिल्म रिलिज हुन लाग्दा मेरो ड्रिम प्रोजेक्ट पूरा भयो भन्ने लाग्छ । तर यो उपलब्धि मैले श्रीमान्लाई सुनाउनै पाइनँ ।’
बिना आफ्नो फिल्म दर्शकले मन पराउने विश्वास व्यक्त गर्छिन् । लगानी उठ्छ या उठ्दैन भन्ने चिन्ता उनलाई छैन किनकि उनले फिल्म पैसा कमाउने उद्देश्यले निर्माण गरेकी नै थिइनन् ।
‘मेरो फिल्म आफूलाई त राम्रो लाग्छ । दर्शकलाई के लाग्छ, भन्न सक्दिनँ’, उनले भनिन्, ‘फिल्ममा नेपाली समाजमा सुहाउने कथा छ । यस्तो फिल्म नेपालमा अहिलेसम्म बनेकै छैन ।’
फिल्म निर्माणमा अल्झिनु नपरेको भए पतिको अन्तिम अवस्थामा सायद उनी दुबई पुगिसकेको पनि हुन्थिन् । छोरो लिन भनेर नेपाल आएकी उनी फिल्म निर्माणका लागि केही समय व्यस्त हुनुपर्दा चाँडै फर्किन पाइनन् । पछि, जब पतिलाई कोभिड संक्रमण भएको खबर आयो, चाहेर पनि उनी दुबई जान सकिनन् । त्यसैले यो फिल्मको निर्माण उनको वियोगान्तक दाम्पत्य जीवनकथासँग पनि जोडिएको छ ।
‘कोभिडको समयमा कति महिलाले मेरोजस्तो पीडा भोग्नुपर्यो । उनीहरु सबैको लागि फिल्म हेरिदिनुस्,’ भावुक हुँदै उनले भनिन् ।
सम्झना रहिरहोस्
फिल्म रिलिज हुँदै गर्दा बिनाले धेरै मनिसबाट विभिन्न खालको प्रतिक्रिया पाउने गरेकी छन् । धेरैजसोले ‘योसँग टन्न पैसा रहेछ, फिल्म बनाई’ भन्ने गरेको उनको सुनाइन् ।
‘एउटा सिङ्गल महिला भएर जीवन बाँच्न सारै गाह्रो हुँदोरहेछ । श्रीमान् भन्दा श्रीमती अगाडि बितेको राम्रो हुँदोरहेछ’, उनले तीतो अनुभव सुनाइन्, ‘यो समाजमा महिलाले गरेको काममा कसैले राम्रो भन्दो रहेनछ ।’
कसैले साथ दियोस् कि नदियोस् जन्मदिने आमाबुबाको भने उनले राम्रो साथ पाएकी छन् । त्यसैले उनलाई अगाडि बढ्न आँट मिलेको छ ।
बिना भन्छिन्, ‘यो जुनीमा मात्र होइन, अबको सात जुनीमा पनि अहिलेकै आमाबुबा पाउँ ।’
श्रीमान् बित्दा फिल्म निर्माण पूरा भएको थिएन । जसका लागि फिल्म बनाएको हो, उही नभएपछि फिल्म पूरा नगरेको भए पनि हुन्थ्यो । तर उनले श्रीमान्कै यादका लागि भए पनि फिल्म पूरा गरिन् । फिल्मलाई पैसासँग तुलना गर्न चाहन्नन् उनी ।
‘मैले अहिले उहाँलाई दिन सक्ने भनेको यादहरु हो । एउटा डायरी पूरा भएन र कथा अधुरो भयो भने त्यो डायरीको के काम ?’, उनले भनिन्, ‘इभान इन्टरटेनमेन्ट हामी दुवैको सपना हो । यसको पहिलो प्रोजेक्ट पूरा गर्नुपर्छ भनेर गरेँ ।’
बिनाले आफ्नो ९ वर्षीय छोरो इभानलाई कला क्षेत्रमै ल्याउने सोच बनाएकी छन् । यो फिल्मलाई दर्शकले रुचाएमा यसको ‘सिक्वेल’ पनि बनाउने उनको योजना छ । तर फिल्म चलेन भने यही ब्यानरबाट अन्य प्रोजेक्ट थाल्ने उनी बताउँछिन् ।
‘ठुलो पर्दाको सकिनँ भने सानो पर्दाको काम गर्छु । आफूले नसके अरुको प्रोजेक्टमा ब्यानर प्रयोग गर्छु’, उनले थपिन्, ‘ब्यानर चलिरहनेछ ।’
जीवनको कुनै भर नहुने वास्तविकतालाई नजिकबाट भोगेकी उनले मानिसको मनमा छाप छोड्ने गरी कर्ममा आफूलाई समर्पित तुल्याउने प्रण गरेकी छन् । यसका लागि फिल्म क्षेत्र उचित माध्यम बनेको उनको भनाइ छ । ‘भोलिको दिन कसैले पनि देखेको छैन । आज म यहाँ छु । भोलि म नरहन पनि सक्छु’, उनले थपिन्, ‘फिल्मको बीचमा उहाँ (श्रीमान्) रहनु भएन । भोलि म नरहे पनि फिल्मले पछिसम्म सम्झाउँछ ।’
पतिलाई फिल्म निर्माणको विषय नसुनाएकोमा उनलाई यतिबेला पछुतो पनि छ । ‘जसका लागि फिल्म बनाएको थिएँ, उसैलाई यसबारे थाहा हुन पाएन,’ उनले भनिन्, ‘कसैलाई केही भन्नु छ भने सबै कुरा भनिहाल्नु पर्दाे रहेछ । मैले उहाँलाई फिल्मको कुरा सुनाउन पाएको भए उहाँले पनि आफ्नो चाहना र योजना भन्नु हुन्थ्यो कि !’
बिना र भोजराजको पहिलो भेट सिद्धार्थ बैंकमा भएको थियो । उनी बैंकको जागिरे थिइन् भने भोजराज ग्राहकको रुपमा बैंककमा आएका थिए ।
त्यसो त, बिनालाई हेर्न भनेरै भोजराज बैंकमा पुगेका थिए । भोजराजलाई बंैकमा पठाउने काम बिनाकी मितिनी आमाले गरेकी थिइन् ।
त्यो समय भोजराज पढाउँथे । भक्तपुरस्थित गठ्ठाघरमा रहेको एक विद्यालयका शिक्षक तथा सेयर होल्डर समेत थिए उनी ।
बिना भने जापान जाने तयारीमा थिइन् । भोजराजले आफूसँग विवाह गरे पनि कुनै चाहना मार्दिन भनेपछि बिना विवाहका लागि राजी भइन् । विवाह भएको तीन वर्षपछि छोरा जन्मियो ।
जीवन राम्रोसँग चल्दै थियो । अचानक भोजराजका स्कुलका मुख्य सेयर होल्डरले अरु नै आर्थिक गतिविधिमा फसेका कारण आत्महत्या गरे । मुख्य व्यक्तिको आत्महत्याले स्कुल बन्द भयो । भोजराजको सेयर पनि डुब्यो । त्यसपछि भोजराजलाई अर्काे स्कुलमा पढाउन जान मन लागेन ।
‘आफैँ सञ्चालक भएर काम गरेको व्यक्तिलाई अर्काको स्कुलमा पढाउन के मन लाग्थ्यो’, बिनाले भनिन्, ‘दुवैको विदेश जाने सोच भयो ।’
अष्ट्रेलिया जाने कोसिस गरे पनि भिसा नलागेको उनले खुलाइन् । अष्ट्रेलियाको भिसा नलागेपछि सजिलो गन्तव्य खोज्दै भोजराज ३ महिने टुरिष्ट भिसामा दुबई पुगे । त्यसको केही समयपछि बिना पनि १५ महिने छोरालाई माइतीको काखमा छाडेर दुबई उडिन् । उनी दुबई उड्नुको कारण पनि भोजराज थिए ।
‘फोनमा मसँग कुरा गर्दा उहाँ बनावटी खुसी देखाउनुहुन्थ्यो । सबै ठिक छ भन्नुहुन्थ्यो । उहाँको बोलीले मलाई ठिकठाक लाग्दै लागेन । भेटेर फर्किने भनेर दुबई गएँ’, बिनाले भनिन्, ‘काठमाडौंमा घर, गाडी भएको र इज्जत साथ बाँचिरहेको उहाँ दुबईमा डीएचएलका ठूलाठूला डब्बा लोड अनलोड गर्ने काम गर्नुहँुदो रहेछ ।’
श्रीमान्को हालत देखेर उनको मन अमिलो भयो । नेपालमा जतिनै ठुलो मानिस भए पनि विदेशमा त अर्काको गुलामी गर्नुपर्ने रहेछ भन्ने उनलाई महसुस भयो । श्रीमानले त्यसरी काम गर्ने, आफू नेपालमा बसेर त्यही पैसा खर्च गर्न उनको मनले मानेन । त्यसपछि उनी पनि त्यहीँ केही गर्ने निधोमा पुगिन् ।
बिनाले एउटा इन्टरनेसनल कम्पनीमा रिसेप्सनिस्टको जागिर पाइन् । भोजराजले ड्राइभिङ लाइसेन्स बनाए ।
‘दुबईको ड्राइभिङ लाइसेन्स पाउनु ठुलो कुरा रहेछ’, बिनाले अगाडि भनिन्, ‘१६ हजार दिराम खर्च गरेर तीन पटकको ट्रायलमा लाइसन्स बन्यो । तर काम मिलेन ।’
भोजराजलाई काम नमिलेपछि दुवैले सल्लाह गरेर मेनपावर कम्पनी खोले । त्यसपछि दुवैको लाइफ राम्रो थियो । बिजनेसको कारण उनीहरु पालैपालो नेपाल आउँथे ।
‘छोरा लिएर जान्छु भनेर आएको । जीवनमा बज्रपात भयो,’ उनले भनिन् । छोटो समयमै श्रीमान्को साथ छुटेपछि बिनाको जीवन लथालिङ्ग भयो । दुबईको व्यापार डामाडोल भयो भने व्यक्तिगत जीवन पनि पहिले जस्तो रहेन । जे भए पनि छोराका लागि भनेर उनी बाँचेकी छन् । कला क्षेत्रमै केही गर्ने श्रीमान्को हुटहुटीलाई उनी छोरामार्फत पूरा गराउने योजनामा छिन् । त्यही उद्देश्यको पहिलो कडीका रुपमा लिन्छिन् उनी नवनिर्मित चलचित्र ‘ए साथी सुन’ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे