चेतन कार्की बाँचेका छन्– गीतहरुमा र चलचित्रको इतिहासमा
कान्छी हे कान्छी,
ए कान्छी केही त बोल न,
मनको कुरा खोल न,
म मादल घनघन घन्काउँछु,
तिमी जुरेलीजस्तै नाच न ...
(चलचित्र : कान्छी)
यस सदावहार गीतका गीतकार चेतन कार्कीको भौतिक शरीर हामीमाझ नरहेको आज (२ जेठमा) दुई वर्ष पुग्दै छ । नेपाली चलचित्र क्षेत्रमा उनको योगदान उल्लेखनीय छ । उनले जीवनभर करिब ५० चलचित्रमा कथा, संवाद, निर्देशन, गीतलेखन र फ्लिमको प्राविधिक सल्लाहकारको काम गरेका थिए ।
‘तीजको लहर आयो बरिलै’, ‘नेपालीले माया मार्यो बरी लै’, ‘नजाऊ न मलाई छोडी, दिल तोडी च्यान्टे मायालु’, ‘ढिकिच्याउँ ढिकिच्याउँ घरघर जाँतो’, ‘बहिनीको दया छ भने रोदीघर दाइ नाच्यो नभने’, ‘बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो’ जस्ता अमर गीतहरू उनका रचना हुन् ।
नेपाली समाजले उनलाई बिर्सन चाहेर पनि बिर्सन सक्दैन, उनी संस्कृतिसँगै जोडिएर आउँछन् । खासगरी हरेक वर्ष तीज आएसँगै उनका शब्द गुञ्जन थाल्छन्– तीजको लहर आयो बरिलै... ।
स्याङ्जाको बायाँटारीमा जन्मेका कार्कीले भारतको देहरादुनबाट शिक्षादिक्षा लिएका थिए । उनका बुवा ब्रिटिस आर्मी भएकाले उनलाई १९९९ सालमा देहरादुन लगियो, अध्ययनका लागि । त्यहीँबाट उनले बीएससी र हिन्दी साहित्यमा स्नातकोत्तर गरे ।
हामी प्रायःलाई बालापन बिताएको ठाउँ स्मरणीय लाग्छ । ललितपुरको जावलाखेल बसोबास गर्दै आएका कार्कीलाई वर्षको एकपटक आफूले बाल्यकाल बिताएको र शिक्षा लिएको ठाउँ देहरादुन पुग्नुपथ्र्यो, साथीभाइसँग भेटघाट गर्न । यसै सिलसिलामा २०७८ वैशाख १७ गते देहरादुनबाट फर्केका उनी कोरोनाबाट सङ्क्रमित हुन पुगेका थिए । सैनिक अस्पताल छाउनीमा उपचारकै क्रममा जेठ २ बिहान ८४ वर्ष (जन्म : १९९५ कात्तिक २२) को उमेरमा उनी अस्ताए ।
चलचित्र क्षेत्रमा काम गर्ने धेरैले कार्कीलाई पछ्याउँदै आए । उनीहरूले पनि सिनेमा बनाउने क्रममा पनि चेतन कार्की र प्रकाश थापाहरूलाई आदर्श मान्दै आए ।
नेपाली चलचित्रका आधार स्तम्भ
भारतमै उनलाई पढाइएको थियो– ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ । त्यसको प्रभाव उनमा जीवनपर्यन्त परिरह्यो । भारतमा शिक्षादीक्षा पूरा गरी उनी नेपाल फर्किए । राम्रै अवसर पाइने आशाले आफू काठमाडौँ आएको उनले सुरजवीर वज्राचार्यसँगको अन्तर्वार्तामा बताएका छन् ।
काठमाडौँमा उनले केही वर्ष भौँतारिनुपर्यो । देहरादुनमा पढ्दा उनले फुटबल, भलिबल, बास्केटबल जस्ता खेलमा भाग लिने अवसर पाएका थिए । सन् १९५८ मा उनले स्टेट अफ यूपीबाट स्टेट नेसनल च्याम्पियनसिप (फुटबल) समेत खेले ।
काठमाडौँमा पुलिसले आफूलाई डीएसपी बनाइदिन्छौँ भनेर दुईवटा टुर्नामेन्ट खेलाएको तर जागिर नदिएको उनले अन्तर्वार्तामा बताएका छन् । त्रि–चन्द्र कलेजले पनि उनलाई लेक्चररको आश्वासन मात्र दियो । त्यसपछि उनी कृषि विभागअन्तर्गत मत्स्यपालन अधिकृतका रूपमा जागिर पाएका थिए । त्यहाँ पनि नातावाद, कृपावाद हाबी भएपछि उनले जागिरबाट राजीनामा दिनुपर्यो ।
२०२८ सालमा उनले तत्कालीन शाही चलचित्र संस्थानमा निर्माण अधिकृत हुने अवसर पाए । चलचित्र निर्देशक यादव खरेल तत्कालीन शाही नेपाल चलचित्र संस्थानमा अध्यक्ष हुँदा चेतनले जागिर सुरु गरेका थिए । खरेलका अनुसार साहित्य सिर्जनामा उनी पहिलेदेखि अब्बल थिए । ‘शाही नेपाली चलचित्र संस्थानमा म अध्यक्ष भएका बेला मत्स्यपालन अधिकृतको जागिर छाडेर निर्माण अधिकृतका रूपमा मसँगै काम गर्न आएका थिए,’ खरेल भन्छन्, ‘करिब दुई वर्ष मसँगै काम गर्दा पनि साहित्य सिर्जनाका काम भने निरन्तर गरिरहन्थे ।’
तत्कालीन समयमा नेपालमा चलचित्रसम्बन्धी ज्ञान भएको कोही नभएकाले हिरासिंह खत्रीलाई नेपाल ल्याइएको थियो । त्यसपछि फ्लिम अध्ययनका लागि दुर्गानाथ शर्माहरूलाई भारत पठाइएको थियो । खरेलका अनुसार फ्लिमसम्बन्धी सुरुका चरणमा स्टुडियो बनाउने, छायाङ्कनको वातावरण बनाउने काम कार्कीले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
करिब १० वर्ष चलचित्र संस्थानबाटै उनी चलचित्रको विकास र विस्तारमा समर्पित रहे । राजनीतिक चलखेल र चाकडीबाजका कारण उनले संस्थानबाट राजीनामा दिनुपरेको थियो । त्यसपछि उनी आजीवन चलचित्र क्षेत्रमै समर्पित भए ।
चलचित्रकर्मी तथा लेखक प्रकाश सायमी आफूले चलचित्रबारे जानकारी लिने क्रममा सबैभन्दा पहिले चेतन कार्कीको नाम पढेको बताउँछन् । ‘उहाँले लेखेका स–साना लेखबाट हामीले नेपाली चलचित्रको इतिहास पहिल्याउँथ्यौँ,’ सायमी भन्छन्, ‘नेपालमा कहिले फ्लिम बनाइयो, कहिले अङ्ग्रेजी फ्लिम आयो, राणाका दरबारहरूमा कसरी फ्लिम देखाइन्थ्यो, यी सबै कुरा उहाँले नै लेख्नुहुन्थ्यो । त्यसैले उहाँ हाम्रा लागि फ्लिम क्षेत्रको सूत्रधार पनि हो ।’
कार्की नियमित गजल लेख्थे । नेपाली, हिन्दी र उर्दू तीनवटै भाषामा साहित्य सिर्जनामा उनको राम्रो दख्खल थियो । यही कारण अरू लेखकभन्दा चेतन कार्की फरक लाग्छ सायमीलाई ।
उनले गीतकार कार्कीलाई २०२५ सालमा पहिलोपटक भेटेका थिए । त्यसपछि उनी निरन्तर सम्पर्कमा रहे । ‘उहाँ नेपाली चलचित्र जगत्को पहिलो पटकथा तथा संवाद लेखक हो,’ सायमी भन्छन्, ‘मैले चलचित्र पत्रकारिता सुरु गर्दा उहाँसँग धेरै सरसल्लाह गर्थें ।’ कार्कीलाई एउटा गुरु र अभिभावकका रूपमा सम्झन्छन् सायमी । २०७५ सालमा भएको चेतन कार्कीको अभिनन्दन कार्यक्रम सायमीले नै संयोजन गरेका थिए ।
चलचित्र क्षेत्रमा काम गर्ने धेरैले कार्कीलाई पछ्याउँदै आए । उनीहरूले पनि सिनेमा बनाउने क्रममा पनि चेतन कार्की र प्रकाश थापाहरूलाई आदर्श मान्दै आए । त्यसपछि मात्र अरू समकालीनहरू शम्भु प्रधान, यादव खरेल, तुलसी घिमिरेहरू आएको सायमी बताउँछन् ।
चलचित्रको निर्देशकको गुणात्मक क्षमतामा कार्की अब्बल रहेको सबैले स्विकार्छन् । ‘औसत फ्लिम निर्देशकभन्दा राम्रो हुनुहुन्थ्यो, उहाँका फ्लिम व्यावसायिक रूपमा त्यति सफल हुन पाएनन्,’ सायमी भन्छन्, ‘तर गीतकारका रूपमा उहाँ अतुलनीय व्यक्तित्व हुनुहुन्थ्यो ।’
कार्की नियमित गजल लेख्थे । नेपाली, हिन्दी र उर्दू तीनवटै भाषामा साहित्य सिर्जनामा उनको राम्रो दख्खल थियो । यही कारण अरू लेखकभन्दा चेतन कार्की फरक लाग्छ सायमीलाई । कार्कीले कुण्डलिनी भन्ने नयाँ विधा सुरु गरेका थिए । यस्तै उनले लेखेका केही नाटक र उपन्यास निकै स्तरीय छन् ।
हरेक व्यक्तिका फरक फरक क्षमता र विशेषता हुन्छन् । उनमा विशेष प्रतिभा थियो । ‘विशेषताका आधारमा हेर्दा हरेक व्यक्ति नै अन्तिम व्यक्ति लाग्छ मलाई,’ सायमी भन्छन्, ‘लोकगीत सङ्गीत क्षेत्रको पनि प्रशस्त ज्ञान थियो, आँधीखोले भाका, स्याङ्जाली भाकालगायत सबै कुराको ज्ञान थियो उहाँमा ।’ उनमा भएको गुण अहिलेका व्यक्तिहरूमा नपाइने बताउँछन् सायमी ।
तर त्यस्तो प्रतिभावको सही प्रयोग नेपाली समाजमा हुन सकेन किनभने कार्की शक्तिकेन्द्रहरूबाट सधैँ टाढा थिए कार्की । किनकि शक्ति केन्द्रको नजिक नभई केही हुन सक्ने अवस्था थिएन त्यतिबेला । ‘दुर्भाग्य नै भन्नुपर्छ पञ्चायत कालमा पनि उहाँ दरबारको नजिक हुन चाहनुभएन, बहुदल आएपछि पनि त्यतातिरका मानिसको नजिक हुन सक्नुभएन,’ सायमी भन्छन्, ‘नेपाल सङ्गीत नट्य प्रज्ञा प्रतिष्ठान भएको बेलामा उहाँ पहिलो कुलपति हुनुपथ्र्यो तर आफू नगई उहाँले अम्बर गुरुलाई सिफारिस गर्नुभयो ।’ उपकुलपति हुनुपथ्र्यो तर त्यहाँ पनि उनले अर्कोको नाम सिफारिस गरेको बताउँछन् सायमी । किन यस्तो गर्नुभएको भनेर प्रश्न गर्दा उनी प्रशासनिक क्षेत्रमा आफ्नो रुचि नभएको बताउँथे । यिनै कारणले पनि कार्की कुनै प्रज्ञा प्रतिष्ठानमा आउन पाएनन् ।
आफूले आत्म बेच्न नसकेकाले, चाकडी गर्न नसकेकाले जीवनमा पुग्नुपर्ने ठाउँमा पुग्न नसकेको उनको भनाइ थियो । ‘तर जीवनमा जे प्राप्त गरेँ त्यसमा म पूर्ण सन्तुष्ट छु,’ उनले उपरोक्त अन्तर्वार्तामा भनेका थिए ।
सिर्जना यात्रा
विद्यालयमा अध्ययन गर्दैगर्दा करिब १४ वर्षको उमेरमा उनको ‘आगे बढ ते जायेङ्गे हम’ भन्ने हिन्दी भाषाको कलेजको म्यागेजिनमा कविता प्रकाशन भएको थियो । कलेजमा गएपछि एउटा रोमान्टिक वातावरण पनि सिर्जना भयो । त्यो वातावरण अनुसारका कविता समेत लेखेको कार्कीले बताएका छन् ।
कलेज अध्ययन गर्दा कलेजले अल इन्डिया कविता प्रतियोगिता आयोजना गथ्र्यो, ‘कार्यक्रम जीवनका रङहरू’मा सुरजवीर वज्राचार्यसँग चेतन कार्कीले भनेका छन्– ‘इन्डियाका लब्धप्रतिष्ठित कवि तथा लेखकहरू हाम्रो कलेजको प्राङ्गणमा आएर कविता पाठ गर्थे । त्यो बेला हिन्दी भाषामा कविता प्रस्तुत गर्दै मैले कलेजको प्रतिनिधित्व गर्ने सौभाग्य पाएको थिएँ ।’ अर्थात् २००९ सालदेखि अर्थात् १४ वर्षको उमेरदेखि नै उनको लेखन सुरु भएको देखिन्छ । त्यसपछि कवि तथा लेखक भएँ भन्ने गौरव अनुभूति भएको थियो ।
कार्कीका ‘जून निदाउन सकेन’, ‘आत्मा बेचेको छैन’ जस्ता उपन्यास, ‘हनिमुन र ढलेको गिलास’, ‘हत्केलाले सधैँ सूर्य छेकिँदैन’, ‘हो देश मेरो पनि’, ‘बसिबियाँलो’, ‘माया–प्रीतिको चोखो कथा’जस्ता गीतसङ्ग्रह प्रकाशित भए । यी कृतिका साथै हिन्दीमा ‘कल्पना टुट चुकी है’ र उर्दूमा ‘दिल जिगर के टुकडे’ कविता सङ्ग्रह प्रकाशित भए ।
नेपाली चलचित्रको विकास, नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदानबापत उनले सम्मान पनि प्राप्त गरे– गोर्खा दक्षिणबाहु, शुभराज्याभिषेक पदक, रजत महोत्सव पदक, छिन्नलता पुरस्कार आदि । ‘अहिले नेपालमा प्रतिभाको कमी छैन, अवसरको पनि कमी छैन । अब १०४ वर्षको राणाशासनलाई गाली गरेर, पञ्चायतलाई गाली गरेर हुँदैन,’ कार्यक्रम ‘जीवनका रङहरू’मा दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘प्रत्येक क्षेत्रमा राजनीतिको कुविचार घुसेन भने नातावाद, कृपावाद, जातिवाद, थरवाद र गोत्रवाद भएन भने नेपाल चाँडै टपमस्ट देशमा पथ्र्यो ।’
आफूले आत्म बेच्न नसकेकाले, चाकडी गर्न नसकेकाले जीवनमा पुग्नुपर्ने ठाउँमा पुग्न नसकेको उनको भनाइ थियो । ‘तर जीवनमा जे प्राप्त गरेँ त्यसमा म पूर्ण सन्तुष्ट छु,’ उनले उपरोक्त अन्तर्वार्तामा भनेका थिए ।
नेपाली चलचित्र क्षेत्रका इतिहास निर्माता
२०२५ असारमा राजा महेन्द्रले नेपाली चलचित्र बनाउन भारतबाट हीरासिंह खत्रीलाई नेपाल बोलाएर नेपाली चलचित्रमा लेखकका रूपमा नियुक्त गरेपछि नेपाली चलचित्र निर्माणको सुरुवात भएको थियो । त्यतिबेला चलचित्र निर्माण गर्न दक्ष नेपाली कलाकार थिएनन् । त्यसैले भारतबाट झिकाइएको थियो ।
२०२८ सालमा शाही चलचित्र संस्थानको स्थापना भयो । त्यसमा यादव खरेल अध्यक्ष भए । अनि सो संस्थानमा कार्की निर्माण अधिकृतका रूपमा नियुक्ति भए । यसपछि सर्वप्रथम कार्कीले जनार्दन शर्माको नाटक ‘चेतना’मा आधारित भएर ‘परिवर्तन’ चलचित्रको पटकथा लेखे । हीरासिंह खत्रीले निर्देशन गरेको सो चलचित्रमा संवाद, गीत लेख्ने तथा सहायक निर्देशकको समेत भूमिका उनले निर्वाह गरेका थिए । परिवर्तन नेपाली साहित्यिक कृतिका आधारमा बनाइएको पहिलो चलचित्र थियो ।
सो अवधिमा कार्कीले मनको बाँध, कुमारी सिन्दूर, जीवनरेखा आदि चलचित्र निर्माण गरे । उनलाई निर्देशक हीरासिंहले दिल्लीतिर सँगै गएर चलचित्र क्षेत्रतिर लागौँ भनेका थिए तर उनी गएनन्, नेपालमै बसे । उनी स्वतन्त्र लेखनतर्फ लागे ।
‘गैरसरकारी क्षेत्रलाई चलचित्र निर्माणका लागि स्वीकृति दिन थाल्यो, मञ्जु राणाले जुनी फ्लिम बनाउन स्वीकृति लिइन्,’ कार्कीले सो अन्तरर्वार्तामा भनेका छन्, ‘त्यसपछि पोखराका एक हल मालिक भगवान दास श्रेष्ठले फ्लिम मलाई बनाउन अनुरोध गरेपछि ‘कान्छी’ चलचित्र निर्माण गर्यौँ ।’ बीएस थापाले लेखेको पटकथालाई पनि कार्कीले नै नेपाली परिवेश र नेपाली संस्कृतिसँग मिल्ने गरी सम्पादन गरेका थिए । कान्छी फ्लिमका गीत, डाइलग स्वरहरू आफ्नै रहेको उनले बताएका छन् । त्यो चलचलचित्र निकै सुपरहिट भएको थियो ।
यादव खरेलका अनुसार यो उद्योगलाई यहाँसम्म ल्याउनमा सुरुका दिनहरूमा धेरै ठूलो भूमिका चेतन कार्कीको थियो । उनका जति गीतहरू आएका छन्, ती स्तरीय छन् । उनमा भाषा र साहित्यको राम्रो ज्ञान थियो । साहित्यकार, गीतकार र प्रशासकको हिसाबबाट कुशल थियो । पटकथा लेखन, गीत लेखन जस्ता बहुआयामिक क्षमता उनमा थियो । नेपाली चलचित्रमा चेतन कार्कीलाई छोडेर इतिहास लेख्न नसकिने बताउँछन् खरेल ।