भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई धमाधम बयान लिइँदै, छाड्न नहुने दलका नेताहरुको प्रतिक्रिया
आज २०८० जेठ १ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर, बालकृष्ण लगायतसँग बयान, भ्रष्टाचारलाई गर्वित बनाउने टोपबहादुरको भावभङ्गी, राप्रपाको दस्तावेजमा दुई राजनीतिक कित्ताको चर्चा, नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्देश शर्माले मानेनन् स्वर परीक्षण गर्न, परिचय पत्र नवीकरण हुन नसकेको भुटानी शरणार्थीको गुनासो, शेष घलेसहित १८ जनालाई एनआरएनले काट्यो पत्र, देशी–विदेशी शक्तिले ‘रिभेन्ज’ लिएको बालकृष्ण खाणको गुनासो लगायत छन् ।
१. नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर, बालकृष्ण लगायतसँग बयान
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणसहितका आरोपितसँग सरकारी वकिलको कार्यालयमा बयान लिन सुरु गरिएको छ । आइतबार पक्राउ परेका रायमाझीलाई प्रहरीले सोमबार अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थप गरेसँगै बयान लिन थालेको हो ।
२. भ्रष्टाचारलाई गर्वित बनाउने टोपबहादुरको भावभङ्गी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएर लामो समय फरार रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी आइतबार पक्राउ परे । सोमबार प्रहरीले उनलाई जिल्ला अदालत काठमाडौं लगेर अनुसन्धानका लागि म्याद थप गरेको छ भने जिल्ला सरकारी वकिलको कार्यालयमा प्रारम्भिक बयानसमेत लिइएको छ । प्रहरीको गाडीबाट उत्रिएर केही कदम पैदल हिँड्ने क्रममा टोपबहादुर रायमाझीले प्रदर्शन गरेको भावभङ्गी भने अनौठो थियो । उनी हँसिलो मुद्रामा हात हल्लाएर अभिवादन गर्दै केही कदम हिँडेका थिए ।
३. राप्रपाको दस्तावेजमा दुई राजनीतिक कित्ताको चर्चा
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले पेस गरेको राजनीतिक प्रतिवेदनमा दुई राजनीतिक कित्ताको चर्चा गरिएको छ । बेथितिको निरन्तरतामा रमाउने ठुला तथा पुराना दल र अवस्थामात्र बदल्ने नयाँ दलको अवधारणा विद्यमान समस्याको निकासका लागि पर्याप्त नभएको राप्रपाको ठहर छ ।
४. नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्देश शर्माले मानेनन् स्वर परीक्षण गर्न
भुटानी शरणार्थीको कोटामा नेपाली नागरिकलाई अमेरिका पठाउने धन्दा चलाएर ठगेको आरोपमा सन्देश शर्मा थुनामा छन् । ठगीमा संलग्न मुख्य योजनाकार सन्देश शर्मा र पीडित मध्येका गजेन्द्र बुढाथोकीको बीचमा भएको ‘लेनदेन अडियो’ प्रहरीले बरामद गरेको छ । तर सो अडियोको ‘फरेन्सिक’ परीक्षणका लागि सन्देश शर्माले आफ्नो ‘स्वर परीक्षण’ दिन नमानेको अनुसन्धान अधिकृतले जनाएका छन् ।
५. परिचय पत्र नवीकरण हुन नसकेको भुटानी शरणार्थीको गुनासो
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्यहरू पक्राउ परिरहँदा खाँटी भुटानी शरणार्थीहरूले भने आफूहरू सबैको परिचयपत्र आठ महिनादेखि नवीकरण हुन नसकेको गुनासो गरेका छन् ।
६. शेष घलेसहित १८ जनालाई एनआरएनले काट्यो पत्र
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थाको लोगो दुरुपयोग बढ्दै गएको भन्दै कानुनी कारबाही गर्न प्रक्रिया अघि बढाएको छ । विशेषगरी एनआरएनए संस्थापनबाट विद्रोह गरेको एक समूहले निरन्तर उही लोगो र लेटर हेड प्रयोगमा ल्याएर भ्रम सिर्जना भएको भन्दै त्यसलाई निरुत्साहित गर्न कानुनी प्रक्रिया अघि बढाउन लागिएको संघले जनाएको छ ।
७. देशी–विदेशी शक्तिले ‘रिभेन्ज’ लिएको बालकृष्ण खाणको गुनासो
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गिरफ्तार गरेका पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले देशी–विदेशी शक्तिले आफूसँग ‘रिभेन्ज’ लिएको गुनासो गरेका छन् । आफूलाई भेट गर्न आउने नेता–कार्यकर्तासँग उनले यस्तो गुनासो गरेका हुन् ।
८. नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई छोड्न नहुने पक्षमा सत्तारुढ दलका नेताहरु
सत्तारुढ दलका नेताहरुले भ्रष्टाचार नियन्त्रणदेखि राजावादीहरु सलबलाएको विषयलाई मुख्य चुनौतीका रूपमा उठाएका छन् । सत्तारुढ दल निकट विद्यार्थी संगठनहरुले काठमाडौंमा सोमबार आयोजना गरेको ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम नेताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई छोड्न नहुने बताएका हुन् ।
९. सांसद अनशन बसेकोबारे संसदमा चर्चा
नेपाली कांग्रेसका सांसद दीपक गिरीले कांग्रेस सांसद सञ्जय गौतम ३ दिनदेखि बर्दियाको जब्दी पुलमुनि आमरण अनशनमा बसेकोबारे संसदमा चर्चा गरेका छन् । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद गिरीले आफ्नो क्षेत्र र मुलुकबारे काम गराउन अनशनमा बस्नुपर्ने अवस्था आएको बताए ।
१०. रेशम चौधरीको मुद्दा ‘हेर्दाहेर्दै’मा
कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दा सोमबार पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ । सोमबार सर्वाेच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः ‘हेर्दाहेर्दै’मा राखिएको हो ।