आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
संसदमा आरजुको अभिव्यक्ति

माननीयज्यू, नेपालमा हुने अपराधको छानबिन  सीबीआईले गर्ला र !

सोमबार, ०१ जेठ २०८०, १६ : ५६
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । जेठ १ गते सोमबार नेपाली काँग्रेसकी समानुपातिक सांसद आरजु राणाले भुटानी शरणार्थी प्रकरणसँग जोडेर बाहिर आएको अडियो छानबिनका लागि सीबीआई र साइबर क्राइम सेलमा निवेदन दिएको भन्दै संसदमै बोलिन् । तर ती निकायले पहिले निवेदन दर्ता नै आनाकानी गरेको बताइन् । 

सांसद डा. आरजु राणाले संसदमा गरेको सम्बोधनमा आफ्नो आफ्नो चरित्रहत्या मात्रै नभएर चरित्रमाथि बलात्कार नै भएको बताइन् । सांसद राणाले भनिन्, ‘मलाई साँच्चै भन्ने हो भने एज अ वुमन यो एउटा क्यारेक्टर असासिनेसन होइन, दिस इज रेप अफ माई क्यारेक्टर ।’

राणाले अगाडि भनिन्, ‘यो चैँ म एकदम कडाइका साथ भन्छु वुमनलाई पोलिटिक्समा आउँदाखेरी सबै कुरा हामीले बेहोर्न सक्नु पर्छ । म ब्यहोरिरहेको छु । तर सबै जनाको यो यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस् यो देशमा । योभन्दा अगाडि पनि धेरै महिलालाई सुसाइ गर्नलाई फोर्स गरिएको छ मिडियाले । म चैँ त्यो भिक्टिम हुने महिला होइन । बट दिस इज अ रेप अफ माई क्यारेक्टर ।’ 

राणाले सम्बोधनका क्रममा मिडियाकै कारण यसअघि पनि धेरै महिलाहरु आत्महत्या गर्न बाध्य भएको आरोप लगाउँदै फेक मिडियाको सुपरभिजन राज्यले गर्नुपर्ने बताइन् । 

तर नेपाली काँग्रेसकी सांसद तथा नेतृ आरजु राणाले निवेदन दिएको भनिएको सीबीआई भन्ने अनुसन्धान गर्ने निकाय नेपालमा छैन । सीबीआई भन्ने संस्था नेपालको नभएर भारत सरकारको एउटा विशिष्टीकृत अनुसन्धान गर्ने निकाय हो, जसले हाइ प्रोफाइल जोडिएका ठूला ठूला भ्रष्टाचार, आर्थिक हिनामिना र आतंकवाद सम्बन्धी घटनाको अनुसन्धान गर्छ । त्यसका लागि सरकारले दक्ष सरकारी कर्मचारी, प्रहरी प्रशासनका चुनिएका व्यक्तिहरुलाई साथमा लिएर काम लिन्छ । 

तर नेपालमा भएको अनुसन्धान गर्ने संस्था सिबिआई नभएर सीआइबी हो । नेपाल प्रहरीको एआइजीको नेतृत्वमा रहेको सीआइबी नेपाल प्रहरीकै एक अंग हो, जसले ठूला ठूला अपराधका घटना, वित्तीय अपराध लगायतका विषयमा अनुसन्धान गर्ने गर्छ । 

काँग्रेस सांसद राणाले भन्न खोजेको सीबीआई चाहिँ नेपालको सीआइबी हो । राणाले केन्द्रीय अनुसन्धान ब्यूरो अर्थात् सीआइबीमा निवेदन दिएपछि उक्त घटना सीआइबीको अनुसन्धानको दायरामा पर्ने नभई साइबर क्राइम हेर्ने साइबर ब्यूरो र प्रेस काउन्सिलको क्षेत्राधिकाभित्र रहेको विषय हो । 

सांसद राणाले साइबर सेलमा समेत उजुरी गरेको संसदमा बोलेकी छिन् । तर नेपालमा साइबर क्राइमको अनुसन्धान र अभियोजन गर्न साइबर सेल नभएर साइबर ब्यूरो भन्ने नेपाल प्रहरीकै एक अंग रहेको छ । डीआइजीको नेतृत्वमा रहने उक्त ब्यूरोले नै साइबर क्राइम लगायतका यस्ता विषयमा अनुसन्धान, रोकथाम र अभियोजन गर्ने काम गर्छ । सांसद राणाले संसदमा सम्बोधन गर्ने क्रममा प्रयोग गरेको सीबीआई र साइबर सेल दुवै भारतीय सरकारको मातहतमा रहेको अनुसन्धान र अभियोजन गर्ने निकाय हो । नेपालमा भने सीआइबी र साइबर ब्यूरो रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप