सांसद माधव सापकोटाको प्रश्न : आरआर क्याम्पसका ५ सय विद्यार्थीको नतिजा के भएको हो ?
काठमाडौँ । माओवादी केन्द्रका सांसद माधव सापकोटाले त्रिभुवन विश्वविद्यालय र आरआर क्याम्पसको लापरबाही कारण झन्डै ५ सय विद्यार्थीको भविष्यमा नै प्रश्न चिन्ह खडा हुने स्थिति आएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भने– ‘आर आर क्याम्पस भन्छ, त्रिविको परीक्षा नियन्त्रण कार्यालयको गल्ती भयो, त्रिविको परीक्षा नियन्त्रण कार्यालय भन्छ, हाम्रो गल्तीले कमजोरी भयो । एकले अर्कोलाई दोषारोपण गर्ने र ५ सयभन्दा बढी विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्ने काम भइरहेको छ । २ वर्षअघि ढिला गरी परीक्षा भयो, त्यसको १ वर्षपछि नतिजा आयो तर ५ सय विद्यार्थीको नतिजामा अनुपस्थित देखियो ।’
यस्तै आन्तरिक शिक्षकले दिने नम्बरमा पनि तलबितल गर्ने काम भएको गुनासो आएको सापकोटाले बताए । उनले सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दोषी उपर गम्भीर कारबाहीको माग गरेका छन् ।