उपाधि जित्ने आर्सनलको झिनो आशामाथि ब्राइटनको धक्का

लण्डन । प्रिमियर लिगको उपाधि जित्ने झिनो आशा बोकेको आर्सनललाई ब्राइटन एन्ड होभ अल्बियोनले ठुलो धक्का दिएको छ । आइतबार भएको खेलमा आर्सनल ब्राइटनसँग ०–३ गोलले पराजित भएपछि म्यानचेस्टर सिटी छ सिजनमा पाँचौँपटक उपाधि जित्ने नजिक पुगेको हो ।
अघिल्लो खेलमा सिटीले एभर्टनलाई ३–० ले हराएपछि आर्सनलले त्यसको जवाफ फर्काउनु पर्ने थियो । तर, टोली आफ्नै घरेलु मैदानमा लज्जास्पद हार बेहोर्न बाध्य बन्यो । आर्सनलले सबै गोल खेलको दोस्रो हाफमा खाएको थियो ।
खेलको ५१ औँ मिनेटमा जुलियो एनसिकोले ब्राइटनलाई अग्रता दिलाएका थिए । ८६ औँ मिनेटमा डेनिज उन्डाभले टोलीको अग्रता दोब्बर बनाए भने इन्जुरी समयमा पेर्भिस इस्टुपिनानले तेस्रो गोल थपे ।
अब आगामी आइतबार सिटीले आफ्नो घरेलु मैदानमा चेल्सीलाई हराए लिग उपाधिमाथि कब्जा जमाउनेछ । ३६ खेल पछि आर्सनलको ८१ अंक रहेको छ भने एक खेल कम खेलेको सिटीको ८५ अंक रहेको छ ।