रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार
आज २०८० वैशाख ३१ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ, नक्कली भुटानी शरणार्थी प्रकरण : फरार ३ जनाको खोजी; पक्राउ परेका १२ जना थप चार दिन हिरासतमै रहने, शीर्ष नेताहरुको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल, संसदीय समितिमा एमालेलाई पनि भागबण्डा, भ्रष्टाचारविरुद्ध नेविसंघ सडकमा; आरजुको बचाउमा तरुण दल, न्याय सेवाका कर्मचारीको सरुवामा ट्रेड युनियनको असन्तुष्टि, यी हुन् ‘मिस नेपाल’का २४ प्रतिस्पर्धी लगायत छन् ।
१. नक्कली भुटानी शरणार्थी प्रकरण : एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई थप चार दिन हिरासतमै राखिने भएको छ । आइतबार जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । यो प्रकरणमा पक्राउ पुर्जी जारी भएर फरार भएका पूर्वमन्त्री टोपबहादुर रायमाझी पनि पक्राउ परेका छन् । अन्य ३ जनाको भने प्रहरीले खोजी गरिरहेको छ ।
२. शीर्ष नेताहरुको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । तीन शीर्ष नेताबीच नक्कली भुटानी शरणार्थी प्रकरणबारेसमेत छलफल भएको बताइएको छ ।
३. संसदीय समितिमा एमालेलाई पनि भागबण्डा
संसदीय समितिको सभापतिमा नेकपा एमालेले पनि भागबण्डा पाएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि विषयगत समितिको भागबण्डा टुङ्ग्याइएको हो । योसँगै संवैधानिक परिषदसम्बन्धी विधेयक अघि बढाउन एमाले सहमत भएको छ ।
४. भ्रष्टाचारविरुद्ध नेविसंघ सडकमा; आरजुको बचाउमा तरुण दल
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थीसंघले आइतबार भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेको छ । कांग्रेसकै अर्को भ्रातृ संगठन नेपाल तरुण दलले भने कांग्रेस नेतृ आरजु राणाका सम्बन्धमा चरित्र हत्या हुने तथा अनर्गल प्रचार भइरहेको भन्दै आपत्ति जनाएको छ ।
५. नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउन जोड
राजधानीमा आइतबार नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ । कार्यक्रममा सहभागीहरुले यो प्रकरणमा मुछिएका सबैमाथि अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन् ।
६. न्याय सेवाका कर्मचारीको सरुवामा ट्रेड युनियनको असन्तुष्टि
न्यायसेवा कार्यरत कर्मचारीको सरुवामा प्रशासनले मनोमानी गरेको र आफू निकटकालाई सुविधा पुग्ने गरी सरुवा गरिएको भन्दै विभिन्न कर्मचारी संघ संगठनले विरोध जनाएका छन् । आइतबार नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन (एकीकृत) र सरकारी कर्मचारी संगठन नेपालले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सरुवाको विरोध गरेका हुन् ।
७. यी हुन् ‘मिस नेपाल’का २४ प्रतिस्पर्धी
‘मिस नेपाल २०२३’ को फिनाले आगामी १३ जेठमा हुँदैछ । ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने प्रतियोगिताका लागि २४ सुन्दरी भिड्नेछन् ।
८. बाल यौन दुरुपयोग मुद्दामा मदन राईलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
कृषि विज्ञसमेत रहेका खोटाङका मदन राईविरुद्ध बाल यौन दुरुपयोगसम्बन्धी अभियोगमा अनुसन्धान गर्न प्रहरीले ७ दिनको म्याद पाएको छ ।
९. राजमार्गमा सवारी साधनबाट अवैध असुली गर्दै आएका चार जना पक्राउ
पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा गुड्ने सवारी साधनलाई रोकेर जबरजस्ती अवैध रकम असुली गर्ने ४ जना पक्राउ परेका छन् । राजमार्गमा गुड्ने मालवाहक तथा खाली गाडीसँग अवैध रकम असुली गरिरहेको विषयमा रातोपाटी अनलाइनमा समाचार प्रकाशन भएपछि स्थानीय प्रशासनले कारबाही प्रक्रिया अघि बढाएको हो ।
१०. जेठ ४ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जेठ ४ गते प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तरका लागि सहभागी हुने भएका छन् । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीसँग प्रतिनिधिसभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँ हिरासत फिर्ता
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अपहरणमा संलग्न दुई आरोपी पक्राउ
-
नेपाल-जापान व्यापार सम्बन्ध सुधार्न निप्पोन चेम्बर एण्ड इन्डस्ट्रीज स्थापना
-
बेलबारीमा कुमारी बैंकले गर्यो उद्यमी प्रशिक्षण कार्यक्रम
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?