आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
मेरी आमा

गणेश पुराण लगाएर जन्मेका गणेश तिमिल्सिना

‘अहिले पनि गाउँमा आमाले बनाएका धारा र सिँडी छन्’
आइतबार, ३१ वैशाख २०८०

बाबुआमाले गणेश पुराण लगाएर जन्मेका हुन्, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना । जन्मकथा आध्यामिक पृष्ठभूमिसँग जोडिए पनि गणेशको कर्मकथा पूरै वामपन्थी विचारधाराबाट प्रभावित र निर्देशित छ ।   

उनका आमा र बा दुवैको १२ वर्षको उमेरमा विवाह भएको थियो, २००२ सालमा । विवाह भएको १६ वर्ष (२०१८ साल)सम्म उनीहरुको सन्तान भएन । के कारणले सन्तान भएन भन्ने जान्न त्यतिबेला अहिलेजस्तो प्रविधिको विकास भएको थिएन । सन्तान नभएपछि परिवारमै निराशा छायो । गणेशकी आमा हिरादेवीले धर्मकर्ममा विश्वास गर्थिन् । सन्तानको कामना गर्दै उनी उपवास बस्न र पूजापाठ गर्न थालिन् । 

एकातिर आफैँलाई सन्तान नभएको पीडा छँदै थियो, त्यसमाथि समाजका केही मानिसले थारी भनेर कुरा काट्थे, घोँचपेच गर्थे । सन्तान हुने आशा र विश्वासमा उनीहरुले धेरैपटक गणेशपुराण लगाए । सन्तान होला भन्ने आशाले उनकी आमाले समाजसेवाका कार्य पनि गरिन् – बाटोघाटो, चौतारोे, पोखरी, पानीका धारा बनाउने, पदमार्गमा ढुंगाका सिँडीहरू हाल्ने आदि । ‘अहिले पनि गाउँमा आमाले बनाएका धारा र सिँडीहरू छन्,’ गणेश भन्छन् ।

WhatsApp Image 2023-05-08 at 11.02.02 २

अघिल्लो शुक्रबार (१५ वैशाखमा) रातोपाटीको ‘मेरी आमा’ स्तम्भका लागि कुरा गर्न हामीले तिमिल्सिनासँग समय लिएका थियौँ । हाम्रो भिडियो रेकर्डिङमा उनले आमालाई सम्झिए । 

परिवारमा गणेश जेठो सन्तानका रूपमा जन्मेका हुन् । चाखको छोरो भएकाले उनलाई हुर्काउन आमाले सक्दो मेहनत गरिन् । गाउँमा कसैले सुनाइदिएछ – कोदोको रोटीमा चिल्लो पनि नराखीकन खाए दूध धेरै आउँछ । जुन बेला पौष्टिक आहार आवश्यक थियो, त्यहीबेला उनले कोदोको रोटी मात्रै खाएकी थिइन्, यो उनको सायद छोरोलाई स्वस्थ बनाउने चाहना थियो । 

गणेशका बुवा (तुलसीप्रसाद पाध्या) पुरोहित थिए । पर्वतको मोदी गाउँपालिका– ७ मा उनीहरुको प्रशस्त जमिन थियो । उता, आमाको माइती पनि पण्डित खान्दान थिए । यसैले गणेशको पालनपोषणमा कुनै कमी भएन ।    

ganesh prasad timilsina (2)

आन्दोलन र आमा

पर्वतको राम्जाठाँटीस्थित पशुपति माविबाट एसएलसी पास गरेका गणेश २०३५–३६ सालको पञ्चायतविरोधी विद्यार्थी आन्दोलनमा सक्रिय रहे । २०३६ सालमा तत्कालीन नेकपा मालेको युवाहरुको संगठन रेडगार्डको सचिव, २०३७ मा अनेरास्ववियु पश्चिमाञ्चल क्षेत्रीय कमिटीको सदस्य, २०४० मा नेकपा मालेको सदस्य, २०४१ मा पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखराको स्ववियु सचिव हुँदै उनको राजनीति अगाडि बढ्यो ।

राजनीतिक जीवनमा बुवाको भन्दा आमाको ठूलो सहयोग र सदासयता रहेको गणेश बताउँछन् । बुवाले उनलाई आफूजस्तै पुरोहित बनाउन चाहेका थिए, तर उनी कम्युनिस्ट बन्न पुगे । एसएलसीपछि उनले पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा भर्ना भएर पढ्न थालेका थिए, त्यहाँ उनी राजनीतिक गतिविधिमा जोडिन पुगे । कहिलेकाहीँ उनीहरू सांगठनिक कामका लागि विभिन्न जिल्ला जानुपथ्र्यो । त्यतिबेला उनको गाउँबाट पोखरा पुग्न हिँडेर ८–९ घन्टा लाग्थ्यो । गाउँबाट पोखरा झरेका मान्छेलाई उनका बुवाले भन्थे– ‘मेरो छोरोलाई भेटेर आउनू’ । गणेश सांगठनिक कामले बाहिर भएका बेला बुवाले भनेका मान्छेसँग उनको भेट हुँदैनथ्यो । भेट नभएपछि उनीसँग बुवा खुबै रिसाउँथे । गणेश भन्छन्, ‘सांगठनिक काम नगरे हुन्थ्यो, बरु पुरेत्याइँ गरे हुन्थ्यो भन्ने बुवाको आग्रह रहन्थ्यो ।’

WhatsApp Image 2023-05-08 at 11.02.02

पुरोहित भएकाले पनि उनका बुवा केही परम्परागत सोचका थिए । कलेजबाट कहिलेकाहीँ घरमा जाँदा पोखरा फर्कनका लागि उनले बुवासँग पैसा माग्थे । बुवाले आज जाने होइन, साइत हेरेर जानुपर्छ भनेर रोक्थे । साइत हेर्ने कुरामा उनलाई विश्वास थिएन । ‘आमाले भने साइत हेर्न पर्दैन, जा भन्नुहुन्थ्यो । मलाई पैसा दिनका लागि पनि बुवालाई साइत चाहिन्थ्यो । आज साइत छैन, भोलि जालास् भन्नुहुन्थ्यो,’ गणेश भन्छन्, ‘म राजनीतिमा लागेको उहाँलाई त्यति मन परेको थिएन । जिल्ला–जिल्ला डुल्नलाई पैसा छैन भन्नुहुन्थ्यो । कहिलेकाहीँ त म रुँदै घरबाट निस्कन्थेँ । त्यस्तो बेला आमाले पैसा पठाइदिनुहुन्थ्यो ।’

उपवास, पूजापाठ गर्ने भए पनि उनकी आमामा उस्तो धार्मिक कट्टरता थिएन । उनको घरमा खेतीपातीको काम गर्न आउनेमध्ये दलित समुदायका धेरै हुन्थे । उनीहरुलाई खाना खाएको भाँडा मझाउने जस्ता कट्टर प्रकृतिका छुवाछुत आमाले गरेको गणेशले देखेनन् । आमामा यस्तो प्रगतिशील विचार कसरी आयो त ? आमा र मावलीकै प्रभावले आफूलाई वामपन्थी आन्दोलनमा लाग्न प्रेरित गरेको गणेश बताउँछन् । उनका मावली वामपन्थी विचारधाराका, मावली खलकले पञ्चायतकालमै गाउँमा प्रगतिशील मावि खोलेका थिए, नाम प्रगतिशील भएकाले राज्यबाट स्वीकृति पाउन निकै कठिन भएको थियो । गणेश भन्छन्, ‘माइती घरको प्रगतिशील विचारको प्रभाव आमामा पनि परेको हामी पाउँथ्यौँ, अनि आमाकै प्रभावले म र मेरो भाइ (भाइ पुष्प) सानैदेखि कम्युनिस्ट विचारप्रति डोरिएको अनुभूति गर्छौं ।’

दीनदुःखी, दलितहरुलगायतलाई दायाँ गर्ने सम्बन्धमा पनि बुवाको भन्दा आमाको मन भिन्न भएको उनी बताउँछन् । ‘हाम्रो घरमा काम गर्ने आउनेहरूका साना छोराछोरीलाई उहाँले भोको देख्न सक्नुहुन्थेन । आमाले उनीहरूलाई मिठो मसिनो दिँदा बुवाले किन दिएको भन्नुहुन्थ्यो, तैपनि आमाले दिनुहुन्थ्यो,’ उनी भन्छन् ।

ganesh prasad timilsina (8)

गणेशले विद्यार्थी जीवनमै चार वर्ष जेलमा बिताए । आईकम अध्ययन गर्दै गर्दा २०४२ साउन ४ गते उनी गिरफ्तारीमा परे, ०४६ साउनमा मात्रै उनलाई रिहा गरियो । यतिबेला उनले आमाबाटै सहयोग पाए । सांगठनिक कामले गाउँगाउँतिर हिँड्दा गणेशहरुले महिला समानताका कुरा, पुरुषबाट भएका दमन, पितृसत्तात्मक समाजका खराब पक्ष र त्यसलाई हटाउने कुरा गर्थे । गणेशका कुराले गणेशकी आमा पनि प्रभावित थिइन् । 

‘गाउँका आमाहरूले हाम्रा कुरा सुन्नुहुन्थ्यो । खराब पक्ष हटाउने कुरामा आमाहरू एकजुट हुनुहुन्थ्यो,’ गणेश भन्छन्, ‘०४६ सालको आन्दोलनका बेला मेरी आमाले घरमा आउनेलाई खाना खुवाउने, लुकाउने, पुलिसहरूबाट बचाउने समेत गर्नुभयो ।’

ganesh prasad timilsina (3)

आमाका दुःखसुख 

बोन म्यारो क्यान्सरले ७४ वर्षको उमेरमा गणेशकी आमाले संसार छाडिन् । क्यान्सर पुष्टि भएपछि डाक्टरले तोकेरै भनेका थिए– अब बाँच्ने भनेको त्यही ६ महिना हो । क्यान्सर तेस्रो स्टेजमा पुगिसकेको थियो । 

यो बीचमा गणेशले धेरै समय आमासँग सुखदुःखका कुरा गरे । आमाका कुनै इच्छा बाँकी छन् कि भनेर पनि सोधे । आमाबाट कुनै इच्छा प्रकट भएन । 

WhatsApp Image 2023-05-08 at 11.02.01

पुरुषवादी र धार्मिक समाजका कारण उनकी आमाले जीवनमा केही दुःख खेप्नुप¥यो । अन्नको अभाव वा गरिबीका कारण होइन, धार्मिक र सामाजिक मूल्य–मान्यताका कारण उनकी आमा जीवनमा धेरै समय भोकभोकै जस्तो बसिन् । सुरुमा सन्तान नभएकाले उपवासका नाममा र पछि बुवालाई कुर्ने नाममा । पुरेत्याइँको काममा घरबाट निस्केका बा घर फर्कने टुंगो हुँदैनथ्यो । खाना बनाएर आमाले निकै अबेरसम्म कुर्नुहुन्थ्यो । ‘बुवाले नखाएसम्म उहाँले केही पनि खानुहुन्नथ्यो,’ गणेश भन्छन्, ‘आमालाई ग्यास्ट्रिकले पनि दुःख दियो ।’

ganesh prasad timilsina (4)

यसमाथि उनकी आमालाई कामको सधैँ चाप रहन्थ्यो । बुवा पुरेत्याइँको काममा निस्कने हुँदा आमाले नै घर धान्थिन् । वस्तुभाउ, बालीनालीको सबै चिन्ता आमाकै टाउकोमा हुन्थ्यो । आमाको दुःखलाई सुनेका र नजिकबाट नियालेका गणेशलाई आमाले जीवन र जगत्को धेरै शिक्षा दिएकी छन् । ‘आमाले कसैलाई पनि हेलाहोँचोको व्यवहार गर्नुहुन्नथ्यो, यही नै हाम्रा लागि खास शिक्षा भयो,’ गणेश भन्छन्, ‘उहाँकै प्रेरणाले म राजनीतिमा लागेँ । जीवनको अन्तिम क्षणमा उहाँ भन्नुहुन्थ्यो– तिमीहरूले जे गरेका छौ, ठीक छ ।’

गणेशको बुझाइमा, आमालाई चित्रित गर्ने सीमित परिभाषा हुँदैन । ‘धेरैले गुमाइसकेपछि मात्रै आमाको गरिमा बुझ््छन् । आमालाई बुझ्ने भनेको जीवित हुँदा नै हो,’ गणेश भन्छन्, ‘परिवारको सम्पूर्ण पीडा सहने धर्ती हुन् आमा । जति पीडा सहेर पनि आमाले सन्तान र परिवारका लागि दिने योगदानको कुनै मूल्य हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया